एन्टिजेन टेष्ट : दैनिक केही हजार होइन, हजारौं गरौं

एन्टिजेन टेष्ट : दैनिक केही हजार होइन, हजारौं गरौं


२८ जेठ, काठमाडौं । कोरोना संक्रमण गाउँतिर बढेपछि सरकारले कोभिड–१९ को परीक्षणका लागि एन्टिजेनको सहारा लियो ।

पीसीआर परीक्षण गर्ने प्रयोगशाला शहर केन्द्रित छन् । संक्रमण गाउँगाउँमा फैलिएकाले महामारी रोकथाम तथा नियन्त्रणका लागि एन्टिजेन परीक्षण उत्तम विकल्प हुने विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार प्रारम्भिक चरणमै संक्रमण पत्ता लगाउन सके कोभिड–१९ महामारी नियन्त्रण प्रभावकारी हुन्थ्यो ।

तर पीसीआर परीक्षण प्राविधिक रूपमा जटिल र धेरै महँगो विधि भएका कारण यो परीक्षण व्यापक बनाउन सहज छैन । त्यसैले उच्च भाइरस लोड भएको समयमा संक्रमण पत्ता लगाउने एन्टिजेन परीक्षणलाई विकल्प मानिएको हो ।

यो परीक्षण तीव्र रुपमा गर्नुपर्ने भएपाि कछुवा गतिमा भइरहेको विज्ञहरुको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले पनि त्यही देखाउँछ । दैनिक ४/५ हजार एन्टिजेन मात्र टेष्ट भइरहेको छ । बिहीबार कुल १५ हजार २३८ जनाको परीक्षण भयो, जसमध्ये एन्टिजेनमार्फत ५ हजार ३३७ छ ।

के हो एन्टिजेन परीक्षण ?

रिभर्स ट्रान्सक्रिप्सन पोलिमियर्स चेन रिएक्सन (आरटी–पीसीआर) टेष्ट प्रयोगशालामा मात्र हुन्छ । नाक र घाँटीको म्युकोसाभित्रको नमुना संकलन गरेर आरएनए परीक्षण गरिन्छ र सम्बन्धित व्यक्तिको शरीरमा रहेको भाइरस पत्ता लाग्छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना परीक्षणको लागि आरटी–पीसीआर विधिलाई विश्वसनीय मानेको छ । तर ग्रामिण भेगहरुबाट नमुना संकलन गरेर प्रयोगशालासम्म पुर्‍याउन र परीक्षणको रिपोर्ट पाउन नै समय लाग्छ ।

त्यसैले कोभिड–१९ संक्रमणको परीक्षणमा छिटो नजिता आउने एन्टिजेन टेष्टलाई पनि अनुमति दिइएको छ ।

एन्टिजेन टेष्टको नतिजा १५ देखि ३० मिनेटमा आउँछ । सम्बन्धित व्यक्तिको नाकको दुवै तर्फको फ्लुइडबाट नमुना संकलन गरिन्छ र किटमा राखिन्छ । एउटा रातो लाइन आए नेगेटिभ हुन्छ भने दुइटा आए पोजेटिभ मानिन्छ ।

पीसीआरको तुलनामा यसलाई पीसीआर परीक्षणमा चाहिने महँगो उपकरण र रिजेन्टहरू नचाहिने भएकाले एन्टिजेन तुलनात्मक रपमा कम खर्चिलो पनि मानिन्छ ।

खासगरी समुदाय स्तरमा परीक्षण गर्दा एन्टिजेन प्रयोग गरिन्छ । जसले संक्रमण छिटो पहिचान गरी संक्रमित व्यक्तिलाई समयमै अइसोलेट हुन सघाउँछ भने संस्थागत आइसोलेसन वा अस्पताल जानुपर्ने आवश्यकता छुट्याउन मद्दत पुग्दछ ।

महामारी रोक्ने सजिलो ‘टुल’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल कोरोना रोकथाम तथा नियन्त्रणका लागि एन्टिजेन परीक्षणलाई सजिलो टुलको रुपमा प्रयोग गरिएको बताउँछन् ।

‘देशभर ९२ वटा पीसीआर परीक्षण प्रयोगशाला स्थापना भएपनि सबै प्रयोगशाला शहर वा जिल्ला अस्पताल केन्द्रित छन्,’  उनले भने, ‘अहिले गाउँगाउँमा संक्रमण फैलिएको छ । यस्तो बेलामा छिटो र सहज रुपमा परीक्षण गर्ने विधि भनेकै एन्टिजेन परीक्षण हो । त्यसैले एन्टिजेन परीक्षणबाट संक्रमितको पहिचान गरेर उनीहरुलाई आइसोलेट गराउन सजिलो हुन्छ । जसले गर्दा समुदायलाई थप जोखिमबाट बचाउन सकिन्छ ।’

‘देशभर ९२ वटा पीसीआर परीक्षण प्रयोगशाला स्थापना भएपनि सबै प्रयोगशाला शहर वा जिल्ला अस्पताल केन्द्रित छन्,’  डा. कृष्ण पौडेलले भने, ‘अहिले गाउँगाउँमा संक्रमण फैलिएको छ । यस्तो बेलामा छिटो र सहज रुपमा परीक्षण गर्ने विधि भनेकै एन्टिजेन परीक्षण हो ।

मानौं, बाजुराका कुनै गाउँमा परीक्षण गर्नुपर्‍यो । एन्टिजेन सट्टा पीसीआर गर्ने भनिएको भए स्वाबलाई डडेलधुरा ल्याउनु पर्ने हुन्थ्यो । रिपोर्ट आउन तीन/चार दिन लाग्न सक्थ्यो । यदी कोही संक्रमित रहेछ भने उसले त्यो बेलासम्म धेरैलाई सारिसकेको हुन्छ ।

‘एन्टिजेन परीक्षण गरियो भने उच्च भाइरस लोड भएको समयमा संक्रमण पत्ता लगाउँछ । र, भाइरस लोड उच्च भएको समयमा अर्को व्यक्तिलाई सार्ने जोखिम बढी हुन्छ । त्यस्तो व्यक्तिहरुको पहिचान गरेर समुदायबाट अलग राख्न सक्यौं भने महामारी नियन्त्रण गर्न सकिन्छ’ प्रवक्ता डा पौडेलले भने ।

उनले अघि भने, ‘अहिले निषेधाज्ञा छ, गाडी चलेको छैन । यस्तो अवस्थामा परीक्षणका लागि जिल्ला अस्पतालमा आउन सम्भव छैन । त्यसैले एन्टिजेन परीक्षण उपयुक्त हुन्छ ।’

सरुवा रोग विशेषज्ञ डा शेरबहादु पुन पनि एन्टिजेन परीक्षणमार्फत द्रुत गतिमा संक्रमित पहिचान गर्न सकिने बताउँछन् । एन्टिजेनमार्फत परीक्षण गर्दा आधा घण्टाभित्रै रोग पहिचान हुने भएकाले महामारीमा यसको प्रयोग उत्तम हुने उनले बताए । ‘यो विधि ठूलो क्षेत्रमा परीक्षण गर्नका साथै बोक्न समेत सहज हुन्छ । टेस्ट गर्न धेरै दक्ष र ज्ञान भएको जनशक्ति पनि चाहिँदैन । सामान्य तालिम लिएका स्वयंसेवकले पनि जाँच गर्न सक्छन्,’ उनले भने, ‘एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पहिचान गरी संक्रमितलाई समुदायबाट अलग गर्न सघाउँछ । जसले गर्दा समुदायमा थप जोखिम हुनबाट बचाउँछ ।’

डा. पुनका अनुसार एन्टिजेन परीक्षणमा पोजिटिभ आए विश्वसनीय हुन्छ । यसलाई थप पुष्टि गर्न जरुरी पर्दैन । एन्टिजेन टेस्टको नतिजा नेगेटिभ छ, तर व्यक्तिमा कोरोनासँग मिल्दो लक्षण देखिएको छ भने पीसीआर परीक्षण गर्नुपर्छ ।

हजार होइन, हजारौं परीक्षण गरौं

संक्रामक रोग विशेषज्ञ डा जनक कोइराला पनि गाउँगाउँमा संक्रमण पत्ता लगाउन एन्टिजेन परीक्षण उत्तम विकल्प मान्छन् । नेपालको भौगोलिक बनोट, जनशक्ति एवं उपलब्ध स्रोत साधनको सीमितताका कारण पनि महामारी रोकथामका लागि एन्टिजेन परीक्षण उपयुक्त हुने उनको भनाइ छ ।

संक्रामक रोग विशेषज्ञ डा जनक कोइराला पनि गाउँगाउँमा संक्रमण पत्ता लगाउन एन्टिजेन परीक्षण उत्तम विकल्प मान्छन् ।

‘पीसीआर परीक्षण प्रयोगशाला शहर केन्द्रित छन् । तर संक्रमण अहिले गाउँगाउँमा फैलिएको छ । यस्तो जोखिम पूर्ण अवस्थामा पीसीआर परीक्षण कुरेर बस्नु उपयुक्त पनि हुँदैन,’ उनले भने, ‘बरु एन्टिजेन परीक्षणलाई अझ बढाऔं ।’

दैनिक ५० हजारभन्दा बढी एन्टिजेन परीक्षण गर्न सके संक्रमितको पहिचान गरी समुदायबाट अलग गरी आइसोलेसनमा राखेर उपचार अगाडि बढाउन सकिने उनको भनाइ छ । छिमेकी मुलुक भारतको दिल्लीमा समेत महामारी उच्चमा पुग्दा समुदायस्तरमा एन्टिजेन परीक्षण गरिएको डा कोइरालाको भनाइ छ ।

सरकारले पालिकाहरुमा एन्टिजेन किट पठाएको दाबी गरेपनि परीक्षण बढ्न नसकेका उनले बताए ।

भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले महामारी रोक्नका लागि एन्टिजेन परीक्षण अझै बढाउन पर्ने सुझाव दिन्छन् । पीसीआर परीक्षणमा सबैको पहुँच सम्भव नहुने भन्दै डा. पाण्डेले एन्टिजेन परीक्षणको विकल्प नभएको बताए ।

‘हजारमा होइन, सकिन्छ भने दैनिक लाखमा परीक्षण गर्न सके बढी प्रभावकारी हुनसक्छ,’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रणका पूर्वप्रमुख समेत रहेका डा पाण्डेले भने, ‘यो परीक्षण प्रभावकारी हो भनेर विश्वास दिलाउन सक्नुपर्छ, तब मात्र जनता आफैं परीक्षणका लागि जागरुक हुन सक्छन् ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेल पनि अपेक्षाकृत परीक्षण हुन नसकेको स्जीकार गर्छन् । ‘एन्टिजेन परीक्षण अझै बढाउनुपर्छ’ उनले भने, ‘सबै ठाउँमा फोन/इन्टरनेटको उपलब्धता नभएका कारण रिपोर्ट नआएको पनि होला ।’

के छ किटको उपलब्धता ?

मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार सुरुमा साढे दुई लाख एन्टिजेन किट अनुदानमा सहयोग प्राप्त भएको थियो । सरकारले पनि साढे २ लाख खरिद गर्‍यो । सरकारले खरिद गरेको एन्टिजेन किट प्रयोगकै क्रममा मित्रराष्ट्र तथा दातृनिकायबाट पनि सहयोग आउने क्रम बढेको उनले बताए ।

मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो समय विभिन्न देश तथा संघ संस्थाबाट १२ लाख ४५ हजार २५ एन्टिजेन किट अनुदान सहयोग प्राप्त भएको छ । अनुदानमा आएको किट अहिले प्रयोग भइरहेको र सरकारले ६ लाख एन्टिजेन किट खरिदका लागि प्रक्रिया अगाडि बढाइसकेको डा पौडेलको भनाइ छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *