भारतले बनाएको कोरोनाको औषधि के हो ? कसरी काम गर्छ ?

भारतले बनाएको कोरोनाको औषधि के हो ? कसरी काम गर्छ ?


४ जेठ, काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात् 2-deoxy-D-glucose सार्वजनिक गरे ।

भारतको राष्ट्रिय औषधि नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डिया (डिसीसीआई) ले गत मे १ तारेखमै सिकिस्त तथा मध्यम अवस्थाका कोभिड १९ का विरामीलाई आकस्मिक प्रयोगका लागि यो औषधिलाई स्विकृति प्रदान गरेको थियो ।

पाउडरको रुपमा तयार पारिएको यो औषधि पानीमा घोलेर खानुपर्नेछ ।  कोरोना संक्रमणबाट गम्भीर विरामी परेकाहरुलाई अक्सिजनमाथिको निर्भरतामा कमी ल्याउन सघाउने भनिएको यो औषधि खुला बजारमा भने उपलब्ध भइसकेको छैन ।

औषधिको विकास

भारतको नयाँदिल्लीस्थित इन्स्टिच्यूट अफ न्युक्लिएर मेडिसिन एण्ड अलाइड साइन्सेस (आइएनएमएएस) ले टु–डिजी औषधिको विकास गरेको हो ।

हैदरावादस्थित डाक्टर रेड्डीज ल्याबोरेटरिज कम्पनीसँगको सहकार्यमा प्रतिरक्षा अनुसन्धान तथा विकास संस्था (डिआरडिओ) को प्रयोगशालामा यो औषधिको विकास गरिएको भारतको रक्षा मन्त्रालयले हालै एक विज्ञप्तीमा जनाएको छ ।

कसरी काम गर्दछ यो औषधिले ?

भारत सरकारका अनुसार यो औषधिमा रहेका अणुहरुले कोभिड १९ संक्रमणबाट अस्पताल भर्ना भएका विरामीहरुलाई छिटो निको हुन सहयोग पुर्‍याउने गरेको चिकित्सा परीक्षणका क्रममा देखिएको छ । साथै यो औषधि सेवनबाट कोभिड १९ का विरामीलाई बाहिरबाट अक्सिजन दिनुपर्ने आवश्यकता पनि कम हुन्छ ।

चिकित्सा परीक्षण

अर्को महत्वपूर्ण कुरा भनेको यो औषधि भाइरसले संक्रमित कोषहरुमा जम्मा हुन्छ अनि भाइरल सिन्थेसिस र ऊर्जा उत्पादन बन्द गरेर भाइरसको वृद्धि रोक्दछ । भाइरस संक्रमित कोषहरुमा मात्र यो औषधि गएर जम्मा हुने र संक्रमित कोषहरुमा भाइरसको थप वृद्धि रोक्ने क्षमता भएको हुनाले यो औषधि अद्वितीय भएको भारत सरकारको दाबी छ ।

भारतमा सन् २०२० को अप्रिलमा कोरोना महामारीको पहिलो लहर चलिरहेको बेला इन्स्टिच्यूट अफ न्युक्लिएर मेडिसिन एण्ड अलाइड साइन्सेस र प्रतिरक्षा अनुसन्धान तथा विकास संस्थाका वैज्ञानिकहरुले यो औषधिको पहिलो क्लिनिकल ट्रायल गरेका थिए । त्यसक्रममा औषधिमा रहेको अणुले कोरोना भाइरसविरुद्ध प्रभावकारी काम गरेको र भाइरसको वृद्धि रोक्न सफल भएको पाइएको थियो ।

त्यसपछि सन् २०२० को मे महिनामा भारतको केन्द्रीय औषधि मापदण्ड नियन्त्रण संस्थाले कोभिड १९ का विरामीमा टु–डिजी औषधिको दोस्रो चरणको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको थियो ।

प्रतिरक्षा अनुसन्धान तथा विकास संस्था र यसको औद्योगिक साझेदार डिआरएलले गत वर्षको मे र अक्टोबर महिनाको बीचमा ११० जना कोभिड १९ संक्रमितमा टु–डिजी औषधिको दोस्रो चरणको क्लिनिकल ट्रायल गरे ।

यो औषधिको प्रयोगबाट बाह्य अक्सिजनमा निर्भरताको दर ११ प्रतिशतले कम हुने अधिकारीहरूले बताएका छन्

दोस्रो चरणको चिकित्सा परीक्षण अन्तरगत पहिलो खण्ड अर्थात् फेज टु–ए भारतका विभिन्न ६ वटा अस्पतालमा र दोस्रो खण्ड फेज टु–बी विभिन्न ११ अस्पतालमा सम्पन्न गरिएको थियो ।

दोस्रो चरणको क्लिनिकल ट्रायल सफल भएसँगै भारतको सर्वोच्च औषधि नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरलले तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि गत वर्षको नोभेम्बर २० मा अनुमति दिएको थियो ।

तत् पश्चात् गत डिसेम्बरदेखि मार्चसम्ममा भारतका दिल्ली, उत्तरप्रदेश, पश्चिम बंगाल, गुजरात, राजस्थान, महाराष्ट्र, आन्ध्र प्रदेश, तेलंगाना, कर्नाटक तथा तमिलनाडुका विभिन्न २७ वटा अस्पतालमा भर्ना भएका २ सय २० जना कोभिड १९ का विरामीहरुमा टु–डिजी औषधिको तेस्रो तथा अन्तिम चरणको क्लिनिकल ट्रायल गरिएको थियो ।

दोस्रो चरणको क्लिनिकल ट्रायलमा कोभिड विरामीहरुमा टु–डिजी औषधि कत्तिको सुरक्षित हुन्छ र प्रभावकारी हुन्छ भन्ने परीक्षण गरिएको थियो । त्यक्रममा यो औषधि कोभिड विरामीहरुमा सुरक्षित हुने र औषधि सेवन पश्चात् विरामीहरु रोगका लक्षणहरुको उपचार प्रभावकारी हुनुका साथै निको हुने दरमा उल्लेख्य सुधार आएको प्रमाणित भएको थियो ।

तेस्रो चरणको क्लिनिकल ट्रायलका क्रममा टु–डिजी औषधि प्रयोग गरिएका कोभिड विरामीहरुमा रोगको लक्षणमा सुधार हुने दर उच्च रहेको औषधिको प्रयोगले विरामीलाई बाहिरबाट अक्सिजन दिनुपर्ने आवश्यकतामा समेत कमी आउने देखियो ।

कोभिड विरामीको हालसम्म अस्पतालमा हुने आम उपचारको तुलनामा यो औषधिको प्रयोगबाट बाह्य अक्सिजनमा निर्भरताको दर ११ प्रतिशतले कम हुने र विरामीलाई अक्सिजन थेरापीबाट छिटो बाहिर निकाल्न सकिने पनि क्लिनिकल ट्रायलबाट प्रमाणित भएको थियो ।

युवा तथा प्रौढ अवस्थाका विरामीमा मात्र नभइै ६५ वर्ष माथिका बिरामीहरुमा समेत यो औषधिको प्रयोगले अक्सिजनमा बाह्य निर्भरतामा कमी ल्याएको पाइएको छ ।

भारत सरकारका अनुसार टु–डिजी औषधि जेनेरिक मोलिक्यूलका साथै ग्लुकोजको एनालग भएको हुँदा सजिलै उत्पादन गर्न सकिन्छ र ठूलो परिमाणमा उपलब्ध गराउन सकिन्छ ।

इण्डियन एक्सप्रेसबाट



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *