सरकार किन खोल्दैन ठूला अस्थायी उपचार केन्द्र ?

सरकार किन खोल्दैन ठूला अस्थायी उपचार केन्द्र ?


३० वैशाख, काठमाडौं । कोरोनाका बिरामीले अस्पताल भरिभराउ छन् । बेड मात्रै होइन, छिंडी र पिंढीमा पनि ठाउँ खाली छैन । आईसीयू र भेन्टिलेटर त झन् खाली हुने कुरै भएन । बेड, आईसीयू, भेन्टिलेटर खाली नभएपछि नयाँ संक्रमितले उपचार पाउन मुस्किल जस्तै भएको छ । अक्सिजनको अभाव भएपछि अस्पतालले नयाँ बिरामी भर्ना लिन सकेका छैनन् ।

जसका कारण मृत्युदर उच्च बन्दैछ । यो कहालीलाग्दो अवस्थामा संक्रमितलाई उपचार दिलाउन के उपाय अपनाउन सकिन्छ  त ? यसबारे अहिलेसम्म सरकारले छलफल नै थालेको छैन । बरु सत्ताको खेलमा सरकार रुमल्लिएको छ । जनताको जीवनभन्दा राजनीतिक जित–हारको जोड–घटाउमा राजनीतिक दलहरू लिप्त छन् ।

जनताले सास फेर्न अक्सिजन नपाएर छट्पटिंदा पनि सरकार बरु यो समयमा उद्घाटनका कार्यक्रमहरू तय गर्दैछ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली निर्माण नै नसकिएको तीन हजार व्यक्ति अट्ने क्षमताको सभाहल उद्घाटन गर्ने तयारीमा छन् ।

नाम उल्लेख नगर्ने शर्तमा एक सरुवा रोग विशेषज्ञ यो सभाहल उद्घाटनको समय नभएको बताउँछन् । ‘प्रयोग गर्न मिल्ने हो भने त्यसलाई कोभिड–१९ को उपचार केन्द्रका रूपमा उद्घाटन गरे प्रधानमन्त्रीको दायित्व र मानवीयता देखिन्थ्यो,’ उनले भने, ‘हजारौं अटाउने सभाहल महामारीमा सम्मेलन गर्न काम आउँदैन, बरु त्यहाँ अक्सिजन र बेड राखेर उपचार थालौं ।’

सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदी महामारीमा सरकारले नै भिडभाड बढाउने गरी उद्घाटनका समारोह गर्नेभन्दा नागरिकको जीवन रक्षा गर्ने हस्तक्षेपकारी कदम चाल्न सुझाव दिन्छन् ।

****

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन अझै पनि हालको संकटलाई व्यवस्थापन गर्न सकिने बताउँछन् । ‘यसअघि हामी महामारीबाट बच्ने अभियानमा थियौं, अब हामी संक्रमितको ज्यान बचाउने गरी महामारीविरुद्ध होमिनुपर्ने बेला आएको छ,’ उनले भने, ‘यो समयमा संक्रमितको ज्यान बचाउन हामीले गर्न सक्ने अरू धेरै उपाय होलान्, तर म चाहिं मूल रूपमा ठूला अस्थायी उपचार केन्द्र खोल्नुपर्ने देख्छु ।’

तथ्यांकलाई हेर्दा कोरोना संक्रमित ८० प्रतिशत बिरामी होम आइसोलेसनमा गम्भीर अवस्थामा नपुगी ठीक भएका छन् । १५ देखि १८ प्रतिशत संक्रमितलाई अक्सिजन थेरापी नै आवश्यक पर्छ । ३ देखि ५ प्रतिशत संक्रमितलाई आईसीयू र भेन्टिलेटर आवश्यक पर्छ ।

अस्पतालमा बेड नपाएर, सास फेर्न अक्सिजन नपाएर जनता छट्पटिंदै छन् । शुक्रबार प्रधानमन्त्री भर्चुअल विधिबाट एक भव्य सभाहलको उद्घाटन गर्दैछन् । एक सरुवा रोग विशेषज्ञ भन्छन्, ‘यतिबेला त्यो हजारौं जना अटाउने सभाहलको काम छैन । यो सभाहल उद्घाटन गर्न सुहाउने समय पनि होइन । सकिन्छ भने बरु त्यहाँ अक्सिजन र बेड राखेर उपचार थालौं ।’

‘अस्पताल आउनेमध्ये ५० प्रतिशतलाई अक्सिजन थेरापीले नै ठीक गर्छ, त्यसमा अरू खालका मेडिकल केयरको योगदान न्यून हुन्छ,’ पुन भन्छन्, ‘अहिले अक्सिजन मात्रै लिंदा हुनेले अस्पतालमा बेड पाएका छैनन्, यसको समाधान अस्थायी उपचार केन्द्र बनाउनु नै हो ।’

त्यस्ता केन्द्रहरूमा हाइफ्लो अक्सिजनको व्यवस्था गर्नुपर्ने र त्यसो भएमा धेरै संक्रमितको ज्यान जोगाउन सकिने डा. पुन बताउँछन् । त्यस्ता उपचार केन्द्रमा संक्रमितलाई निगरानीमा राखेर ‘इन्टेन्सिभ केयर’ चाहिने बिरामीलाई अस्पतालमा पठाउन सकिने उनको भनाइ छ । यसले अस्पतालमा हुने चाप पनि घट्ने र अत्यावश्यक नभए पनि आईसीयू र भेन्टिलेटर ओगटिने अवस्था नआउने उनको दाबी छ ।

‘मैले एक वर्ष अघिदेखि नै यसका लागि तयार रहनुपर्छ भन्दै आएको हुँ,’ उनले भने, ‘अहिले पनि यसका लागि काम थाल्न सकिन्छ, चीन, बेलायत र अमेरिकाले केही दिनमै अस्थायी संरचना बनाएर उपचार गरेको उदाहरण छन्, नेपालमा गर्न नसकिने भन्ने होइन ।’

सेनासहित निजी क्षेत्रको सहयोग लिएर युद्धस्तरमा ठूला अस्थायी उपचार केन्द्र बनाउन सकिएमा त्यहाँ दिइने अक्सिजनसहित सामान्य चिकित्सकीय उपचारको सुविधाबाट धेरै संक्रमितले लाभ पाउने उनले बताए ।

०००

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक तथा सरुवा रोग विशेषज्ञ डा. बाबुराम मरासिनी सरकारले गाउँ र शहरका विभिन्न भागमा एक्सरेसहितका क्लिनिक र उपचार केन्द्रहरू चलाउनुपर्ने बताउँछन् ।

‘अस्पताल पुग्नु नपर्ने अवस्थाका संक्रमित पनि डरका कारण इमर्जेन्सीमा पुगिरहेका छन्, उनीहरूलाई त्यस्ता उपचार केन्द्रमा राखेर एक्सरे गरेर निमोनियाको अवस्था हेरेर उपचार गर्न सकिन्छ,’ उनले भने, ‘यस्तो पहलकदमी लिइयो भने अस्पतालमा हुने चाप आधा घटाउन सकिन्छ ।’

उनी पनि शहरका विभिन्न भागमा बन्दै गरेका ठूला सरकारी भवन, बनिसकेका मेडिकल कलेजका खाली भवन र होटलहरूलाई पनि उपचार केन्द्रका रूपमा प्रयोग गर्न सकिने बताउँछन् ।

‘निर्माणको अन्तिम चरणमा पुगेका सरकारी तथा सामुदायिकसहित निजी ठूला भवनमा अहिले बेड र अक्सिजनको व्यवस्थापन गरेर उपचार शुरु गर्न सकिन्छ,’ उनले भने, ‘आवश्यक स्वास्थ्य जनशक्तिको व्यवस्थापन गरेर यस्ता अस्थायी अस्पतालहरू बनाउने हो भने महामारीमा अकालमा ज्यान गुमाउन बाध्य हुनुपर्ने विडम्बनापूर्ण अवस्थामा कमी आउनेछ ।’

सरकारले चाहेमा यस्ता उपचार केन्द्रमा एक हप्ताभित्रै अक्सिजन प्लान्ट खडा गरेर अक्सिजन आपूर्ति गर्न सक्ने दाबी उनले गरे । ‘अस्थायी रूपमा राखिने उपचार केन्द्रमा गम्भीर बिरामी नहुने भएकाले अक्सिजन कन्सट्रेटर राखेरै पनि सेवा दिन सकिन्छ,’ उनले भने, ‘सरकारलाई यो समयमा केही करोड खर्चेर विदेशबाट अक्सिजन कन्सट्रेटरहरू झिकाउन केले रोक्छ ?’

संक्रमितलाई यो समयमा सुख–सुविधा नचाहिएको भन्दै उनले अस्थायी संरचनामा प्राणवायुको ग्यारेन्टी गरेर उपचार गराउन सके मृत्युदरमा कमी ल्याउन सकिने उनको मत छ ।

उनी सरकारले महामारीविरुद्धको लडाइँको सेनापति पनि चुन्नुपर्ने बताउँछन् । अहिलेका स्वास्थ्यमन्त्री र सचिवले महामारीविरुद्धको लडाइँको नेतृत्व लिन नसक्ने उनले दाबी गरे ।

‘यो महामारी विरुद्धको सेनापति को हो भन्ने थाहा छैन,’ उनले भने, ‘अरू देशले महामारी विरुद्ध लडाइँमा विशेषज्ञलाई निर्देशक तोक्नेदेखि प्रधानमन्त्रीको विशेष सल्लाहकारसम्म बनाएर प्रतिरोधको कदम चालेका छन्, हामीकहाँ त अहिलेसम्म प्राविधिक पक्ष बुझेका एकजना पनि व्यक्ति निर्णय, अनुगमन र हस्तक्षेप गर्ने स्तरमा छैनन् ।’

विशेषज्ञ शेरबहादुर पुन भन्छन्, ‘अस्पताल आउनेमध्ये ५० प्रतिशतलाई अक्सिजन थेरापीले नै ठीक गर्छ, त्यसमा अरू खालका मेडिकल केयरको योगदान न्यून हुन्छ । अहिले अक्सिजन मात्रै लिंदा हुनेले अस्पतालमा बेड पाएका छैनन्, यसको समाधान अस्थायी उपचार केन्द्र बनाउनु नै हो ।’

योजना बनाएर काम नगरेका कारण महामारी बढिरहँदा पनि जनताको जीवन रक्षाका लागि प्रभावकारी कदम चाल्न सरकार असफल भएको उनको दाबी छ । एक वर्षअघि नै साधारण, मध्यम र गम्भीर अवस्थाको सम्भावनालाई आँकलन गरेर फरक–फरक योजना तयार बनाइनुपर्नेमा यति गम्भीर अवस्था आउँदा पनि सरकार हात बाँधेर बस्नु लज्जाको विषय भएको उनले बताए ।

०००

अर्का सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदी पनि सरकारले सामुदायिक आइसोलेसन सेन्टर र सर्ज हस्पिटलहरू सञ्चालनमा जुटिहाल्नुपर्ने मत राख्छन् ।

‘सामान्य अवस्थामा संक्रमितहरू आइसोलेसन सेन्टरमा बस्न पाए भने समुदायमा हुने संक्रमणको दर घट्छ,’ सुवेदी भन्छन्, ‘सँगसँगै सामान्य मात्रामा अक्सिजन दिएर उपचार गर्न सकिने बिरामीका लागि सर्ज अस्पतालहरू बनाउनुपर्छ ।’

सरुवा रोग विशेषज्ञ डा. बाबुराम मरासिनीको मत छ, सरकारले महामारीविरुद्धको लडाइँका लागि सेनापति पनि चुन्नुपर्छ । अहिलेका स्वास्थ्य मन्त्री र सचिवले महामारीविरुद्धको लडाइँको नेतृत्व लिन सक्दैनन् ।

यस्ता स्थानमा खान, बस्न, सुत्न र शौचालयको प्रबन्ध गरेर यस्ता आइसोलेसन सेन्टर र सर्ज अस्पतालहरू खोल्न सकेमा आईसीयूमा परेको चाप घटाउन सकिने उनले बताए । अहिले अस्पतालका जनरल बेड खाली नहुँदा आईसीयूबाट झिक्न सकिने बिरामी पनि आईसीयूमै राख्नु परिरहेको भन्दै उनले सरकारले आइसोलेसन र सर्ज अस्पताल खोल्न ढिलाइ गर्न नहुने बताए ।

‘अस्पतालहरूमा कस्तो अवस्थासम्मका बिरामी राख्ने भनेर मापदण्ड पनि बनाइदिनुपर्छ,’ उनी भन्छन्, ‘अहिले शक्ति र पहुँचका भरमा आवश्यक नभए पनि अस्पतालका बेड ओगटेर बस्नेहरू धेरै छन्, सरकारी अस्पतालमा त्यो अवस्था झन् धेरै छ ।’

अस्पतालहरूमा अक्सिजन लेभल कम भएका, कमजोर अवस्थाका र बढी केयर आवश्यक पर्ने जटिल अवस्थाका बिरामीहरूलाई मात्रै राख्ने गरी सरकारले नै उचित मापदण्ड बनाएर नियमन गर्नुपर्ने उनको मत छ । सामान्य अवस्थाका बिरामीलाई अवस्था अनुसार होम आइसोलेसन, सामुदायिक आइसोलेसन सेन्टर र सर्ज अस्पतालमा राख्ने वैकल्पिक प्रबन्ध गर्न सकिने उनको मत छ ।

डा. सुवेदीले अक्सिजन व्यवस्थापनको सवाल उत्तिकै पेचिलो भएको बताए । सरकारले खरिद प्रक्रिया छोट्याएर भए पनि विदेशबाट अक्सिजन प्लान्टहरू जतिसक्दो छिटो आपूर्ति गरेर वितरण सहज गर्नुपर्ने उनको सुझाव छ । सरकारले चाहेमा नागरिकहरूको जीवन जोगाउन अत्यावश्यक उपकरणको आयात तत्काल गर्न असहज नभएको उनको टिप्पणी छ ।

‘थप संक्रमण फैलिन नदिन संक्रमित र सम्भावित संक्रमितलाई छुट्याउन आवश्यक छ,’ उनले भने, ‘यसका लागि टोल–टोलमा घुम्ती सेवामार्फत स्वाब संकलन गर्नुपर्छ, संक्रमितलाई आइसोलेसन र ट्रेसिङमा परेकाहरूको परीक्षण गर्ने सुविधा सहज बनाउनुपर्छ ।’



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *