अक्सिजन अभावले धेरै अस्पतालमा ‘डिजास्टर’ हुन सक्छ

अक्सिजन अभावले धेरै अस्पतालमा ‘डिजास्टर’ हुन सक्छ


२६ वैशाख, काठमाडौं । अक्सिजनसहित उपचार गर्नुपर्ने कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालहरु समस्यामा परेका छन् । उनीहरुले अक्सिजन अभावकै कारण बिरामी उपचार गर्न नसक्ने स्थिति आएको सार्वजनिक रुपमै बताएका छन् ।

किस्ट मेडिकल कलेजका अपरेटिङ अफिसर अमिश पाठक अक्सिजन अभावले जुनसुकै बेला ‘डिजास्टर’ हुन सक्ने बताउँछन् । २ सय बेडको क्षमता भएपनि अक्सिजन अभावले बिरामी भर्ना गर्न नसकेको उनको दाबी छ ।

हाल किस्ट अस्पतालमा ५७ जना जटिल किसिमका संक्रमितले उपचार गराइरहेका छन् जसको लागि दैनिक २ सय ५० सिलिण्डर अक्सिजन आवश्यक पर्छ । तर अक्सिजन प्लान्टबाट माग बमोजिम अक्सिजन नपाएको उनी बताउँछन् ।

‘दैनिक १५/२० वटा अक्सिजन सिलिण्डरबाट हामीले कसरी संक्रमित बचाउन सक्नु ? ’ पाठक प्रश्न गर्छन्, ‘अक्सिजनको अभावले यहाँ बिरामी तलमाथि भयो भने त्यसको जिम्मेवार हामी हुदैनौँ, सरकार हुन्छ ।’

अक्सिजनकै अभावले अस्पतालको बेड खाली राख्नुपरेको र भर्ना नपाएर बिरामी रुँदै हिँड्नुपर्ने अवस्था भएको पाठकको भनाइ छ । उनका अनुसार, किस्ट अस्पतालले २ सय संक्रमितको उपचार गर्न सरकारसंग सम्झौता गरेको छ तर अक्सिजन अभावले आधा भन्दा धेरै बेड खाली छन् ।

‘बिरामी भर्ना मात्र गरेर अक्सिजन नै दिन सकेन भने ठूलो अपराध हुन्छ भनेर हामीले अहिले संक्रमितलाई भर्ना नै लिएका छैनौं, किनकी उहाँहरु अक्सिजन भएको अरु ठाउँमा भर्ना भएर बाँच्न सक्नुहुन्छ’ पाठक भन्छन् ।

ललितपुरको पाटन अस्पतालमा पनि अक्सिजन अभावले जुनसकै बेला दुर्घटना हुन सक्ने अस्पतालका कोभिड संयोजक डा. विमल पाण्डे बताउँछन् । उनका अनुसार, अक्सिजन अभावकै कारण अस्पतालले नयाँ बिरामी भर्ना लिएको छैन । ‘पहिले नै भर्ना भएकालाई अक्सिजन पुर्‍याउन नसकेर हामी तनावमा छौ । नयाँ बिरामी भर्ना गरेर अक्सिजन दिन सकिएन भने हामीलाई दोषी देखाइने भएकाले भर्ना गरेका छैनौँ’ पाण्डे भन्छन् ।

उक्त अस्पतालमा हाल ३ सय संक्रमितले उपचार गराइरहेका छन् । यहाँ दैनिक ५ सयदेखि ६ सय सिलिण्डर अक्सिजन आवश्यकता पर्छ । डा. पाण्डे भन्छन्, ‘विभिन्न उद्योगबाट २० देखि २५ सिलिण्डर ल्याएर धानिरहेका छौं, जुनसुकै बेला जे सुकै हुन सक्छ ।’

‘अक्सिजन नभएकाले बिरामीहरुलाई अस्पतालबाट निकाल्ने दिन आयो भने आश्चार्य मान्नुपर्दैन तर त्यसको जिम्मेवार सरकार हुन्छ’ ग्रिनसिटी अस्पतालका अध्यक्ष एलबी टण्डन भन्छन् ।

पाटनजस्तै वीर र शिक्षण अस्पतालमा पनि अक्सिजनको समस्या भएको त्यहाँ कार्यरत कोभिड फोकल पर्सनहरु बताउँछन् । टेकु अस्पतालमा भने शनिबारसम्म समस्या भएपनि आइतबारदेखि केही दिनको लागि व्यावस्थापन गर्न सकिएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारी बताउँछन् ।

‘हाम्रो अस्पतालमा हिजोमात्र अक्सिजन प्लान्टमा लिक्विड आएकाले केही दिनलाई समस्या हल भएको छ’ राजभण्डारी भन्छन् ।

ग्रिनसिटी अस्पतालमा पनि दैनिक २ सय ५० सिलिण्डर अक्सिजन कोभिड बिरामीलाई खपत हुन्छ । तर मागअनुसार अक्सिजन नपाएर बिरामीहरुको ज्यान जुनसुकै बेला तलमाथि हुने स्थिति आएको अस्पतालका अध्यक्ष एलबी टण्डन बताउँछन् ।

उनका अनुसार, अस्पतालमा ४० जना जटिल किसिमका संक्रमित भर्ना भएका छन् भने इमर्जेन्सी वार्ड भरिभराउ छ । यो अवस्थामा दैनिक २० देखि २५ वटा मात्र अक्सिजन सिलिण्डर प्राप्त भएकाले नयाँ बिरामी भर्ना लिन कठिन भएको टण्डन बताउँछन् ।

‘सबैतिर हारगुहार गरिरहेका छौँ, हारगुहार गरेर सधैं कसरी चल्छ ?’ टण्डन प्रश्न गर्छन्, ‘राज्यले नै निजी अस्पताललाई अक्सिजन दिन कडाइ गरेकाले नयाँ बिरामी भर्ना गर्न नसकेकाले धेरै बिरामी भर्ना नपाएर मरिरहेका छन् ।’

अक्सिजन अभावकै कारण मेडिकेयर अस्पताल, नेपाल भारत मैत्री अस्पताल, दीर्घायू गुरु अस्पताल एण्ड रिसर्च सेन्टर, हेल्पिङ हेण्डस् सामुदायिक अस्पतालले कोरोना संक्रमितलाई सेवा दिन नसक्ने भनेर संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

अन्य अस्पताल पनि यही अवस्थामा पुगेसकेको भए पनि भर्ना गरिसकेका संक्रमितलाई फिर्ता गर्न नमिल्ने भएकाले मात्र बाध्य भएर सेवा दिइरहेको ग्रिन सिटी अस्पतालका अध्यक्ष टण्डन बताउँछन् ।

‘अक्सिजन नभएकाले बिरामीहरुलाई अस्पतालबाट निकाल्ने दिन आयो भने आश्चार्य मान्नुपर्दैन तर त्यसको जिम्मेवार सरकार हुन्छ’ उनी भन्छन् ।

ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले आइतबार एक वक्तव्य जारी गरेर अक्सिजन अभावका कारण नयाँ विरामी भर्ना लिन असमर्थ भएको जनाएको छ । ओम अस्पतालले अन्य पूर्वाधार पर्याप्त हुँदाहुँदै पनि सरकारको नियन्त्रित कोटामा आउने अक्सिजनका भरमा थप बिरामी उपचार गर्न नसकिएको बताएको छ ।

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले पनि शनिबार यही व्यहोराको वक्तव्य जारी गरेको थियो । वक्तव्यमा उसले असहज परिस्थितिमा अक्सिजन आपूर्तिमा समस्या भएकाले नयाँ बिरामीको उपचार गर्न असमर्थ भएको जनाएको छ ।

पहिलेको तुलनामा अहिले चार गुणा बढी अक्सिजनको माग भएको ह्याम्स अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्मा बताउँछन् । अहिले भर्ना हुने सबै बिरामी अक्सिजन चाहिने मात्र भएकाले सबै अस्पतालमा अक्सिजनको माग बढेको उनको कथन छ ।

उनका भनाइमा ह्याम्स अस्पतालमा सबै बेडमा गरी दैनिक १ सय जनालाई अक्सिजन दिनुपर्छ । पहिले १ लिटर अक्सिजन दिनुपर्ने संक्रमितलाई अहिले सिकिस्त भएकाले १५ लिटरसम्म दिनुपर्ने अवस्था छ ।’ सबै अस्पतालमा अक्सिजनको हाहाकार भएकाले अहिले सप्लायर्सले १० देखि २० वटा सिलिण्डर मात्र दिने गरेको छ जुन अपर्याप्त छ’ डा. शर्मा भन्छन्, ‘अहिले क्षमता भन्दा माग बढी भएकाले उद्योगहरुलाई पनि समस्या छ ।’

ह्याम्स अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट भएपनि कोभिड भन्दा पहिलेको क्षमताको भएर अपुग भएको डा. शर्मा बताउँछन् । ‘अस्पताल, ग्यास उत्पादक सबैको क्षमता कोभिडभन्दा अगाडिको हो त्यसैले अहिले हाहाकार भएको हो’ डा. शर्मा भन्छन्, ‘उद्योगले २४ घण्टा काम गरेर आफ्नो जनशक्ति र स्रोत लगाउँदा पनि उत्पादन नै गर्न सकिरहेको छैन भने दोष कसलाई दिऊँ ?’

५२ संक्रमितको उपचार गरिरहेको ललितपुरको स्टार अस्पतालले विभिन्न उद्योगबाट दैनिक १० देखि २० सिलिण्डर ल्याएर धानिरहेको चिफ अपरेटिङ अफिसर डा. सन्देश जिसी बताउँछन् । उनी भन्छन्, ‘सबैतिर बिरामीको चाप यसरी बढ्यो कि सबै अक्सिजन उद्योगले माग धान्नै सकेनन् ।’

यी अस्पतालहरुले जुनुसुकै बेला अक्सिजन सकिएर ‘डिजास्टर’ हुन सक्ने चेतावनी दिइसक्दा गत शुक्रबार कौशलटारको भक्तपुर इन्टरनेशनल अस्पतालमा अक्सिजन अभावकै कारण २ संक्रमितको मृत्यु भयो, १२ जना संक्रमितलाई अन्य अस्पतालमा सारिएको थियो ।

माथि भनिएजस्तै कोरोना संक्रमितको उपचार गराइरहेका बयोधा, अल्का, केएमसी अस्पतालको कथा उस्तै छ । उनीहरुको एउटै स्वर छ, ‘अक्सिजन अभावले धेरै अस्पतालमा ठूलो ‘डिजास्टर’ हुन सक्छ, राज्यले छिट्टै सोच्नुपर्‍यो ।’

किन अभाव भयो अक्सिजन ?

बिरामीको चाप अत्यधिक बढेकाले अक्सिजनको अभाव भएको किस्टका सीओओ पाठक बताउँछन् । उनका अनुसार अहिले भर्ना हुने सबैलाई हाइफ्लो अक्सिजन दिनुपरेकाले यो अवस्था आएको हो ।

अक्सिजन उत्पादकको क्षमता कोभिड महामारी भन्दा पहिलेको भएको तर अहिले माग चार गुणा बढेकाले अक्सिजन अभाव भएको ह्याम्स अस्पतालका निर्देशक डा. शर्मा बताउँछन् ।

‘अक्सिजनको एउटा सिलिण्डरमा ६ हजार लिटर ग्यास अटाउँछ’ स्टार अस्पतालका सिओओ डा. जिसी भन्छन्, ‘पहिले १ लिटर अक्सिजन दिँदा हुने बिरामीलाई अहिले १५ लिटर दिँदा पनि पुग्दैन । त्यसैले अभाव भएको हो ।’

बिरामीको चाप, उत्पादनको क्षमता कम संगसंगै अक्सिजन सिलिण्डरको अभाव भएकाले पनि अक्सिजनको अभाव भएको पाटन अस्पतालका कोभिड फोकल पर्सन पाण्डे बताउँछन् । ‘केही दिनअघि धेरै मानिसहरुले उद्योगमै गएर सिलिण्डरमै घरमा लगेकाले पनि यो अवस्था आएको छ’ उनी भन्छन् ।

सबै कोभिड अस्पतालमा अक्सिजन प्लान्ट नभएकाले पनि अक्सिजनको अभाव भएको टेकु अस्पतालका निर्देशक डा. राजभण्डारी बताउँछन् । उनको अनुसार सबै अस्पतालमा आफ्नै अस्पताल प्लान्ट भएको भए यो हदको अभाव हुने थिएन । ‘अहिले संक्रमित यति धेरै जटिल छन् कि हाइफंलो अक्सिजन दिँदा पनि पुग्दैन, त्यसैले उद्योगले माग धान्न सकेका छैनन्’ डा. राजभण्डारी भन्छन् ।

अस्पतालको अवस्था नबुझिकन स्वास्थ्य मन्त्रालयको सिफारिस अनुसार मात्र अक्सिजन दिनु भनेकाले यो अभाव सिर्जना भएको ग्रिनसिटीका सञ्चालक टण्डन बताउँछन् । उनी भन्छन्, ‘हामीलाई दैनिक २ सय ५० सिलिण्डर अक्सिजन चाहिन्छ तर उद्योगले दैनिक २५÷३० वटा पनि दिन सकिरहेको छैन ।’

तनावमा अस्पताल सञ्चालक

शनिबार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिसबिना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई अक्सिजन नदिन अक्सिजन उद्योगहरुलाई परिपत्र गरेको छ ।

स्वास्थ्य तथा मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) ले शनिबार मात्र १० वटा अक्सिजन उद्योगलाई परिपत्र गर्दै अस्पतालहरुलाई मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन दिन भनेको छ । धेरै कोरोना संक्रमितलाई अक्सिजन आवश्यक परेको सन्दर्भमा बिक्री वितरणलाई व्यवस्थित गर्न यो निर्णय गरिएको एचईओसीको पत्रमा उल्लेख छ ।

मन्त्रालयको यो निर्णयले अस्पतालमा बिरामी जुनुसकै अवस्थामा तलमाथि पर्नसक्ने ग्रिनसिटीका टण्डन बताउँछन् ।

उत्पादकबाट ग्यास पाउन कठिन भइरहेको अवस्थामा मन्त्रालयको यो निर्णयले झन् गाह्रो पार्ने किस्ट अस्पतालका सिओओ पाठक बताउँछन् । ‘हामी बिरामीको उपचार गर्न तयार छौं, तर हामीलाई पर्याप्त अक्सिजन दिइएन र बिरामीको ज्यान तलमाथि भयो भने त्यसको जिम्मेवार को ?’ पाठक भन्छन्, ‘सबै अक्सिजन उद्योग सुरक्षाकर्मीले घेरेर राखेका छन्, हामी अक्सिजन लिन जाँदा धेरै पटक रित्तै फर्किएका छौं ।’

अक्सिजनको लागि रातभर विभिन्न उद्योगमा धाउदाँ समेत नपाएको ह्याम्स अस्पतालका निर्देशक डा. शर्मा बताउँछन् । ‘हाम्रा कर्मचारीहरु हप्तौंदेखि नसुति नसुति अक्सिजनको लागि दौडधुप गरिरहेका छन् तर भनेजति पाउन सकिएको छैन’ डा. शर्मा भन्छन् ।

स्टार अस्पतालका सीओओ डा. जिसी पनि सिलिण्डरको लागि हारगुहार गर्नुपरेको बताउँछन् । उनी भन्छन्, ‘सबै उत्पादकले सिलिण्डर छैन मात्र भन्न थालेका छन् ।’

मन्त्रालयले अक्सिजन दिनु भनेर सिफारिस गर्दा समेत उद्योगले दिन नसक्ने अवस्था आएको ह्याम्सका निर्देशक डा. शर्मा बताउछन् । ‘व्यक्तिले ग्यास लगेकाले मन्त्रालयले सिफारिस गरेकालाई मात्र दिनु भनेको होला तर अब उद्योगले पनि दिन सक्ने गरी उत्पादन नै गर्न सक्दैन’ उनी भन्छन् ।

स्रोतको समान वितरण गर्न खोजेका हौं : स्वास्थ्य मन्त्रालय

सरकारले भने अक्सिजनको धेरै अभाव भएकाले उपलब्ध स्रोतलाई समान वितरण र व्यवस्थापन गर्न मन्त्रालयले सिफारिस दिएको अस्पताललाई मात्र अक्सिजन दिने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी बताउँछन् ।

‘अक्सिजनको माग ज्यादा छ तर उत्पादनले धान्दैन, यो बेला थोरै भएको अक्सिजनमा पनि बदमासी या ठगी हुने डरले यस्तो गरेका हौं, अभाव साँच्चिकै छ तर यो बेला कसैलाई दोष लगाउन यस्तो निर्णय गरेको होइन, डा. अधिकारी भन्छन्, ‘हामीसंग भएको थोरै स्रोत कसरी धेरैलाई सहदुपयोग गर्ने र धेरै मानिस कसरी बचाउने भन्ने उद्देश्यले यस्तो निर्णय गर्न बाध्य भएका हौं ।’

अक्सिजन पर्याप्त भएको भए यस्तो निर्णय गर्नै नपर्ने उनी बताउँछन् । ‘हामीले अक्सिजन सिलिण्डरको अभाव हुन्छ भनेर डेढ महिनादेखि भनेका भन्यै थियौ तर सम्बन्धित निकायमा सुनुवाइ भएन’ अधिकारी भन्छन् ।

अक्सिजन अभावको समस्या समाधान गर्न केही थान सिलिण्डर र लिक्विड ग्यासको व्यवस्थापन हुन लागेको अधिकारी बताउँछन् । अक्सिजन सिलिण्डरको व्यवस्थापन भए त्यसलाई चाहिने अन्य उपकरणको अभाव हुन सक्ने उनको भनाइ छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *