एटीएमको शुरुवात गर्ने ‘एससीटी’ : नयाँ प्रविधिसहित नयाँ जोश

एटीएमको शुरुवात गर्ने ‘एससीटी’ : नयाँ प्रविधिसहित नयाँ जोश


२२ वैशाख, काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) डिजिटल बैंकिङका लागि ज्यूँदो इतिहास हो । नेपालमा एटीएम सेवाको शुरुवात गर्ने नेपाली ब्राण्ड नै एससीटी हो ।

सन् २००१ मा सञ्चालन अनुमति पाएको यसले कारोबार आरम्भ गर्न भने दुई वर्ष लाग्यो । सन् २००३ देखि व्यवसाय शुरू गरेको एससीटीले नै हिमालयन बैंकसँगको सहकार्यमा एटीएम सेवा सञ्चालनमा ल्याएको थियो ।

भुक्तानी सेवा अपरेटर (पीएसओ)को रूपमा नेपाल केन्द्रीय बैंकबाट इजाजत लिएर कारोबार शुरू गरेका विभिन्न वाणिज्य बैंकहरू, विकास बैंकहरू, पीएसपी (भुक्तानी सेवा प्रदायक) र नेपालका अन्य वित्तीय संस्थाहरूलाई विभिन्न प्रकारका कार्डहरू र भुक्तानी प्लेटफर्म प्रदान गरिरहेको छ ।

जतिबेला यसले सेवा शुरू गर्‍यो, त्यसबेला कार्ड व्यवसाय गर्ने हिम्मत कमै बैंकहरूको थियो । पछि कार्ड शुरू गरेकाहरूले पनि विदेशी कार्ड चलाए । त्यहीं पनि एससीटीले एकपछि अर्को व्यवसाय बढाउँदै गयो ।

‘शुरूमा कार्ड व्यवसाय गर्न सबै बैंकहरू सक्दैनथे तर पछि बजारमा निकै राम्रो प्रभाव बढ्दै गयो,’ एससीटीका निमित्त प्रमुख कार्यकारी अधिकृत दीपेश मास्के सुनाउँछन् ।

समय गुज्रिंदै जाँदा आवद्ध हुने बैंकहरूको संख्या थपिंदै गयो । एससीटी दिनप्रतिदिन अब्बल हुँदै गयो । नेपाली ब्राण्ड भएर एससीटीको जुन साख थियो त्यो केही वर्ष टिके पनि सदाबहार भने हुन सकेन ।

एससीटीले आफ्नो सेवा र पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रोसेरहरू, चीनको युनियन पे इन्टरनेशनल, अमेरिकाको पल्स नेटवर्क र भारतको एफएसएससँग सहकार्य गरी काम गरिरहेको छ ।

अन्तर्राष्ट्रिय कम्पनीसँगको प्रतिस्पर्धा, समय अनुसार नयाँ प्रविधिहरू भित्र्याउन ढिला गर्दा कम्पनीको व्यवस्थापन कमजोर भयो । एससीटी ओझेल पर्दै गयो ।

वित्त बजारमा अन्य विदेशी कार्डहरू भित्रन थाले । विदेशी कार्डहरू जति भित्रिंदै गए एससीटी कमजोर हुँदै गयो । एक हिसाबले भन्दा एससीटीले आफ्नो व्यवसायको निकै ठूलो हिस्सा गुमायो ।

नयाँ व्यवस्थापन, नयाँ जोश

समस्यामा रहेकै बेला नयाँ व्यवस्थापनले जिम्मा लिएपछि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार चिप बेसमा आधारित कार्ड बनायो । यसले विदेशी कम्पनीहरूसँग पनि सहकार्य गरेको छ ।

चीनको युनियन पे इन्टरनेशनलसँगको सहकार्यमा केही वर्षअघि एससीटीले अत्याधुनिक ‘कन्ट्याक्ट लेस’ कार्डको शुरुवात समेत गरेको थियो ।

कोमा नजिक पुरेर निस्क्रिय जस्तै बनेको एससीटी अहिले भने पुनः चम्किन थालेको छ । कम्पनीमा नयाँ व्यवस्थापन भित्रिएपछि एक किसिमको ‘चमत्कार’ नै देखिएको छ ।

ठूला वाणिज्य बैंक र विकास बैंक, बिजनेस हाउसहरूले लगानी भित्र्याएपछि नयाँ जोश र उत्साहले काम भइरहेको उनी बताउँछन् ।

कम्पनीमा अहिले हिमालयन बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक जस्ता ठूला वाणिज्य बैंकका साथै सांग्रिला, कामना सेवा, एक्सेल जस्ता विकास बैंकहरू र व्यावसायिक घराना आईएमई समूह र प्रभु समूहको सेयर होल्डिङ छ ।

कम्पनीको अध्यक्षमा अहिले प्रभु समूहकी कुसुम लामा रहेकी छिन् । जसले हालसालै नेपाल सरकारबाट नेशनल आईसीटी एक्सिलेन्स अवार्डबाट सम्मान पाएकी छिन् । उनको सूचना प्रविधि क्षेत्रमा लामो अनुभव र सीपबाट एससीटीलाई अझ ठूलो सहयोग पुग्ने विश्वास गरिएको मास्के बताउँछन् ।

कम्पनीको सञ्चालकहरूमा दीपक बोहरा, उज्ज्वल राजभण्डारी, शान्ता सिवाकोटी, दिनेश थकाली, रघुनाथ भण्डारी र सन्तराज बतास  छन् । यो टिमले बजारको विभिन्न डिजिटल पेमेन्टको आवश्यकतालाई बुझेर नयाँ योजनासहित एससीटीलाई मार्गदर्शन गरिरहेको छ ।

‘त्यही भएर हामीले डिजिटल पेमेन्टको कम्प्लिट इको सिस्टमलाई आवश्यक पर्ने सबै प्रकारका डिजिटल सेवाहरू एससीटीबाट शुरू गरेका छौं,’ उनले भने, ‘विभिन्न स्कीमा कार्डका सेवाहरू दिनेदेखि क्यूआर कोडमा स्मार्ट क्यूआरको सञ्चालन गर्दै प्लेटफर्म फर डिजिटल बैंकिङका सेवाहरू पनि शुरू गरेका छौं ।’

स्मार्ट क्यूआर एउटा एकीकृत र इन्टर अप्रेभल (अन्तर संस्था कारोबार) क्यूआर पेमेन्ट प्लेटफर्म हो । यसमा बैंक, वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकहरू आवद्ध छन् । जसले छोटो समयमा क्यूआर पेमेन्ट र मर्चेन्ट नेटवर्क ग्रो गराउन सफल भएको छ ।

चाँडै नै विभिन्न कार्ड प्रोडक्टसहित मल्टी युजर कार्ड समेत बजारमा ल्याउने तयारीमा रहेको मास्केले बताए ।

फैलाउँदै व्यवसाय

एससीटीले आफ्नो सेवा र पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रोसेरहरू, चीनको युनियन पे इन्टरनेशनल, अमेरिकाको पल्स नेटवर्क र भारतको एफएसएससँग सहकार्य गरी काम गरिरहेको छ । अमेरिकाको भिसा र भारतको एनपीसीआई (रुपे) सँग पहिलो चरणको सम्झौता भइसकेको मास्के बताउँछन् ।

एससीटी नेपालमा स्वदेशी विकसित भुक्तानी प्रणाली हो, जुन नेपाली उपभोक्ता, बैंक, पीएसपी, व्यापारीको इको–प्रणाली र अन्य घरेलु डिजिटल प्लेटफर्मको अपेक्षा र आवश्यकतालाई पूरा गर्न डिजाइन गरिएको हो । यसले अहिले आफ्नो नेटवर्कसमेत विस्तार गर्दै लगेको कम्पनीका सीईओ मास्के बताउँछन् ।

अहिले वाणिज्य बैंकहरूमा हिमालयन बैंक, एभरेष्ट बैंक, प्रभु बैंक, ग्लोबल आईएमई, मेगा बैंक, नविल बैंक, एनएमबि बैंक लगायतका यो नेटवर्कका सदस्य छन् । दर्जनभन्दा बढी विकास बैंक र फाइनान्स यस नेटवर्कका सदस्य भइसकेका छन् ।

नियामक निकायबाट अपेक्षा

अहिले एससीटीले क्यूआरलाई निकै प्राथमिकता दिएको छ । विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाको प्राप्तिमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकीकृत गर्न सक्ने गरी यस किसिमको क्विक रेस्पोन्स कोड पेमेन्ट प्लेटफर्म स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको सीईओ मास्के बताउँछन् ।

स्मार्ट क्यूआरको सञ्चालनमा आईएमई–पे, प्रभु–पे, क्यू–पे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक, ग्लोबल आईएमई बैंक र अन्तर्राष्ट्रिय संस्था युनियन–पे इन्टरनेशनलको समेत सहकार्य तथा साझेदारी छ ।

राष्ट्र बैंकले नगदरहित कारोबार प्रणालीको प्रवद्र्धन गर्ने नीति लिएको छ । राष्ट्र बैंकको यो नीतिलाई स्मार्ट क्यूआरले सहयोग पुग्ने उनले बताए ।

स्मार्ट क्यूआरको प्रयोगबाट ग्राहकलाई छिटो र सरल किसिमले क्यूआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाको उपयोग गर्न सजिलो हुनेछ ।

सीईओ मास्केका अनुसार विशेषतः यस क्विक रेस्पोन्स कोड पेमेन्ट प्लेटफर्ममा आबद्घ भएका बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरूले ईएमभीको स्टान्डर्ड स्टाटिक वा डायनामिक क्यूआर कोड जेनेरेट गरी स्वदेशी तथा विदेशी क्यूआरसी पेमेन्ट सर्भिसहरूको बीचमा पनि सहजै एकीकृत कारोबार गराउन सकिने व्यवस्था गरिएको छ ।

स्मार्ट क्यूआरको सञ्चालनमा आईएमई–पे, प्रभु–पे, क्यू–पे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक, ग्लोबल आईएमई बैंक र अन्तर्राष्ट्रिय संस्था युनियन–पे इन्टरनेशनलको समेत सहकार्य तथा साझेदारी रहेको हँुदा यसको बृहत्तर पहुँच छ ।

साथै युनियन–पे इन्टरनेशनलसँग आवद्ध खल्ती, मो–बैंक जस्ता विभिन्न भुक्तानी सेवा प्रदायकले पनि स्मार्ट क्यूआरको माध्यमबाट भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

क्यूआर पेमेन्टको प्रयोग पहुँच बढाउनका लागि अहिलेको सबैभन्दा ठूलो आवश्यकता भनेको विभिन्न क्यूआर कोड पेमेन्ट प्लेटफर्म सञ्चालकहरूको बीचमा एकीकृत र इन्टर अप्रेभल कारोबार हुन जरूरी रहेको सीईओ मास्के बताउँछन् ।

सबै भुक्तानी सेवा सञ्चालक र भुक्तानी सेवा प्रदायकहरू मिलेर काम गर्दा डिजिटल नेपालको नारालाई अझ सहज, सुलभ र थप सुविधासहित धेरैभन्दा धेरै नेपालीको पहुँचमा पुर्‍याउन सकिने र एससीटीको तर्फबाट आफूहरू सधैं तयार रहेको मास्के बताउँछन् ।

‘लाग्छ, नेपाल राष्ट्र बैंक र नेपाल सरकारले पनि यसलाई राम्ररी बुझेको छ र धेरैभन्दा धेरै नेपालीको बीचमा डिजिटल सेवा पुर्‍याउन एकीकृत र इन्टर अप्रेभल कारोबार गराउन अझ बढी पहल र प्रोत्साहन गर्नुहुनेछ’, उनले भने ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *