‘कोरोना महामारीको भविष्यवाणी गर्न सकिन्न’

‘कोरोना महामारीको भविष्यवाणी गर्न सकिन्न’


न्यूयोर्कको माउन्ट सिनाई अस्पताल र जर्जियाको इन्ष्टिच्युट फर बायोमेडिकल साइन्समा काम गरिसकेका जीवाणु वैज्ञानिक डा. सुदीप खड्का हाल अमेरिकाकै मेयो क्लिनिकमा कार्यरत छन् ।

इबोला भाइरसको म्युटेसन, भेरियन्ट, मानव प्रतिरोध क्षमता र औषधिबारे महत्वपूर्ण अनुसन्धान गरेका उनी अहिले फैलिरहेको कोरोनाभाइरसको नयाँ भेरियन्टहरूले बनाउने संक्रमणको चक्र भने अझै रहस्यमै रहेको बताउँछन् । नेपालमा कोरोना महामारीको वास्तविक अवस्था बुझ्न जिन सिक्विनिङ गर्नुपर्ने उनको सुझाव छ ।

मेडिकल केमेस्ट्री एण्ड मोलिकुलर फर्मालोजीका विद्यावारिधि खड्कासँग अनलाइनखबरकर्मी सागर बुढाथोकीले फोन र इमेलमा गरेको कुराकानीको सम्पादित अंश ।

नेपालमा दोस्रो चरणको संक्रमण विस्तार हुनुमा कोरोनाभाइरसको नयाँ भेरियन्ट जिम्मेवार छ भनिएको छ । नयाँ भेरियन्टको उत्पत्ति कसरी हुन्छ ?

कोरोना लगायतका भाइरस समयक्रमसँगै परिवर्तन हुँदै जान्छन् । भाइरसको आनुवंशिकीमा स–सानो परिवर्तन आउनु स्वाभाविक र नियमित प्रक्रिया हो । भाइरस संक्रमण हुने क्रममा यसको जिनको प्रतिलिपिमा आक्कलझुक्कल केही गल्ती भएर नयाँ स्वरुपको भाइरस उत्पादन हुन्छ ।

जस्तो, एउटा तीन हजार शब्दको निबन्ध एक जनालाई सार्न लगाउने अनि त्यो कपी नै फेरि अर्को व्यक्तिलाई सार्न लगाउने अनि त्यो प्रक्रिया दोहोर्‍याइराख्ने हो भने समयक्रममा सार्ने व्यक्तिहरूले गरेका गल्ती, छुटपुटले गर्दा केही शब्द छुटेर, केही थपिएर, केही परिवर्तन भएर त्यो निबन्धको सार नै फरक हुन जान्छ । भाइरसको परिवर्तन पनि यस्तै प्रक्रिया हो ।

यी परिवर्तनहरू साधारणतया सामान्य र भाइरसको रोग लगाउने क्षमता वा रोगको प्रवृत्तिमा खासै फरक नपर्ने खालका हुन्छन् । कुनै परिवर्तन (म्युटेशन)ले भाइरसलाई कमजोर बनाउँछन् भने कुनैले अझै प्रभावकारी रूपमा फैलिन सक्ने बनाउँछ । सो भाइरसका कारण लाग्ने रोग पनि अझै चर्को वा मत्थर हुने हुन्छ । कुनै म्युटेशनले भाइरसलाई चाँडो फैलिने बनाउँछ । त्यस्तो भाइरस तीव्र रूपमा फैलिएर पुरानो स्वरुपको भाइरस हराउने हुन्छ ।

अहिलेका भाइरसहरू पनि त्यही प्रक्रियाबाट बनेका हुन् । अहिले संसारभर फैलिरहेका कोरोनाभाइरसहरू शुरुआती चरणमा चीनमा फेला परेको जस्तो छैन । थुप्रै परिवर्तन आएर नयाँ–नयाँ भेरियन्ट देखा परेका छन् ।

कोरोनाको युके र साउथ अफ्रिका भेरियन्ट चर्चामा छ । विश्वभर महामारीको नयाँ लहर ल्याउन यी भाइरस जिम्मेवार हुन् ?

युकेमा देखिएको भेरियन्टमा भाइरसको स्पाइक प्रोटिनमा म्युटेशन भएको पाइएको थियो । साउथ अफ्रिकामा पाइएको भेरियन्टमा थप अन्य म्युटेशन समेत पाइएको छ । दुवै भाइरसको जिनको अन्य भागमा समेत परिवर्तनहरू पाइएको छ ।

यी सबै कारणले गर्दा यी दुई भेरियन्ट पहिलेको कोरोनाभन्दा सहजै मानव कोषमा समाहित हुने र चाँडो फैलिन सक्ने अध्ययनले देखाएको छ । युकेमा एउटा र अफ्रिकामा दुइटा मात्र म्युटेशन भएको भने होइन । यी दुवै भेरियन्ट अन्य थुप्रै स्थानमा परिवर्तन भएका छन् । यी भाइरसको द्रुत विस्तार वा रोग लगाउने क्षमता वृद्धिमा स्पाइकको साथै अन्य म्युटेशनको पनि भूमिका हुन्छ ।

अहिले भारत र नेपालमा समेत युके र साउथ अफ्रिकामा देखा परेका कोरोनाका भेरियन्टले महामारी व्यापक भएको अनुमान गरिएको छ । युके भेरियन्ट त नेपालमा भेटिएकै छ । हाम्रोमा पुनः परिवर्तन भएर नयाँ बनिसकेको हो भन्ने निर्क्योल गर्न चाहिं थप अनुसन्धान गर्नुपर्ने हुन्छ । जसका लागि भाइरसको नमूनाको सम्पूर्ण सिक्वेन्स लिनुपर्छ । यो प्रविधि केही महँगो छ र नेपालमा उपलब्ध पनि छैन । तर अहिलेको महामारीको स्वरूप बुझ्न पनि अब सिक्वेन्स गर्नुपर्ने भएको छ ।

अहिले त संसारमा कोरोनाभाइरसका अन्य भेरियन्ट पनि देखापरेका छन् । तीमध्ये कुनै–कुनै भेरियन्ट पहिलेको भन्दा केही आक्रामक देखिएको छ । नयाँ भेरियन्ट देखिने प्रक्रिया नियमित चलिनै राख्ने हुँदा भविष्यमा देखा पर्ने भेरियन्ट कस्ता हुन्छन् र त्यसले कसरी यो संक्रमणको चक्रलाई प्रभावित पार्छ भन्ने कुरा महत्वपूर्ण हो ।

भाइरसको निरन्तर स्वरुप परिवर्तन कसरी भइरहन्छ ?

कोरोनाभाइरसको जैविक तत्व आरएनए करीब ३० हजार बेस (इँटाबाट पर्खाल बनेजस्तै भाइरसको जैविक तत्व आरएनए बेसबाट बनेको हुन्छ, जसलाई राइबोन्युक्लियटाइड पनि भनिछ) बाट बनेको हुन्छ ।

यी बेस चार प्रकारका हुन्छन् । एक प्रकारको बेसको स्थान त्रुटिपूर्ण रूपमा अर्को बेसले ओगट्दा आनुवंशिक परिवर्तन हुन्छ । कहिलेकाहीं कुनै स्थानमा भाइरसको जिनको प्रतिलिपि बनाउँदा बेस छुट्न गई केही भाग मेटिन्छ । कहिले कुनै–कुनै स्थानमा नयाँ बेस थपिन पुग्छ । कुनै स्थानमा फरक बेस राखिने, कुनैमा थपिने वा घट्ने अवस्थालाई भाइरसको म्युटेशन अर्थात् स्वरुप परिवर्तन भएको भनिन्छ ।

अर्को बुझ्नुपर्ने कुरा आनुवंशिक आरएनएबाट भाइरसको प्रोटिन कसरी बन्छ भन्ने हो । आरएनएमा यी बेसहरू एकपछि अर्को जोडिएर निकै लामो माला जस्तै गरी बसेका हुन्छन् । मानव कोषमा रहेको राइबोसोम भन्ने संयन्त्रले यही बेसको माला उपयोग गरेर तीन बेस बराबर एउटा एमिनो एसिड जोड्दै भाइरसको प्रोटिन बनाउँछ ।

यसरी तीन–तीन बेसको आधारमा बन्ने एमिनो एसिड २० प्रकारका हुन्छन् । राइबोसोमले पढ्ने तीन बेसको सिक्वेन्समा पहिलो, दोस्रो र तेस्रो स्थान कुन प्रकारको बेसले ओगटेको छ भन्ने कुरा कुन एमिनो एसिड रहन्छ भन्नेले निर्क्योल गर्छ ।

कुनै पनि स्थानमा साविकको नभई अर्को बेस आए एमिनो एसिड समेत परिवर्तन हुने सम्भावना रहन्छ । तर एउटै एमिनो एसिड पनि एकभन्दा बढी सिक्वेन्सले बन्न सक्ने हुँदा एक स्थानमा बेस परिवर्तन भए पनि एमिनो एसिड नै परिवर्तन हुन्छ भन्ने हुँदैन ।

यही एमिनो एसिड फेरि एकपछि अर्को थपिंदै गएर बन्ने भएकाले कुनै पनि बेसको स्थानमा परिवर्तन हुनासाथ भाइरसको प्रोटिनमा पनि परिवर्तन आउने सम्भावना रहन्छ ।

यसरी म्युटेसन भएर निस्किने फरक प्रकारका प्रोटिनको प्राकृतिक स्वरूप अनि तिनको गुण पनि फरक हुन सक्छ । प्रोटिन आफैं एउटा लामो एमिनो एसिडको माला जस्तो जेलिएर निश्चित आकार लिएर बसेको हुन्छ ।

कुनै एमिनो एसिडमा परिवर्तन आउँदा प्रोटिनको स्वरूपमा केही भिन्नता आउन सक्छ र यसको बनोट अनि कार्यमा साधारणदेखि अति गम्भीर परिवर्तन आउन सक्छ । यसरी म्युटेसन भएर भाइरसका नयाँ–नयाँ भेरियन्ट निस्कन्छन् ।

सबै नयाँ भेरियन्ट खतरनाक हुँदैनन् । अधिकांश म्युटेसन त स्वतः निमिट्यान्न हुन्छन् । यस्ता म्युटेसनले प्रोटिनको बनोटमा कुनै परिवर्तन ल्याउँदैन । प्रोटिन बन्दा एमिनो एसिड परिवर्तन भइहाले पनि त्यसको स्वरूप वा कार्यमा फेरिंदैन । अर्थात्, अधिकांश म्युटेसनले भाइरसको समग्र स्वरूप र त्यसबाट हुने रोगको प्रकारमा कुनै भिन्नता ल्याउँदैन ।

भाइरस तीव्र गतिमा फैलिने, गम्भीर रोग लगाइदिने, फरक अंगमा संक्रमण गरिदिने, नयाँ प्रकारको लक्षण देखाइदिने वा नयाँ जनावरमा संक्रमण गर्न सक्ने भेरियन्टसँग हो डराउनुपर्ने ।

त्यस्तो भाइरस स्पाइक प्रोटिन प्रयोग गरेर मानव कोषिकामा प्रवेश गर्छ । कोषिकामा रहने एञ्जिओटेनसिन कन्भरटिङ इञ्जाइम (एस २) प्रोटिनसँग अन्तरक्रिया गर्ने भाग परिवर्तन भए भाइरस अझै सजिलैसँग संक्रमण गर्न सक्ने बन्न पुग्छ ।

मानव शरीरले एन्टिबडी बनाउँदा स्पाइक प्रोटिन नै पहिचान गर्छ । भाइरस निस्तेज पार्ने न्यूट्रालाइजिङ एन्टिबडी स्पाइक प्रोटिनको बनोट पहिचान गर्ने गरी बनेका हुन्छन् । तर, स्पाइक प्रोटिनले स्वरूप परिवर्तन गर्दा यस्ता एन्डिबडीले यसको पहिचान नै गर्न नसक्ने हुन जान्छ । अर्थात्, शरीरमा बनेका एन्टिबडी स्वरूप परिवर्तन भएको भाइरस पहिचान गर्न नसकी काम नलाग्ने बन्छ ।

हाल प्रयोग भएका खोपहरू पुरानै भाइरसको स्पाइक प्रोटिन विरुद्ध एन्टिबडी उत्पादन गराउने गरी बनाइएका छन् । परिवर्तन भएर आउने नयाँ–नयाँ भेरियन्टमा यी खोपको प्रभावकारिता नहुने वा कम हुने सम्भावना रहन्छ ।

अहिलेसम्मको फैलावट र गति हेर्दा कोरोनाको नयाँ भेरियन्टहरूले कहिलेसम्म सताउला भनेर अनुमान गर्न सकिन्छ ?

भाइरसमा हुने अधिकांश म्युटेसनले खासै प्रभाव नपारे पनि कुनै कुनैले गम्भीर परिवर्तन ल्याउन सक्छन् । नयाँ भेरियन्टले जोखिम नल्याओस् भन्नको खातिर बेला–बेला समुदायमा भाइरसको नमूना संकलन गरी जिन सिक्विनिङ गरेर त्यसमा हुँदै गरेका परिवर्तन पहिचान गर्न आवश्यक हुन्छ ।

नयाँ भेरियन्ट कहिले र कहाँ देखिन्छ भनेर पूर्वानुमान गर्न अनि त्यस्ता भेरियन्टमा कस्ता परिवर्तन होलान् वा त्यसले लगाउने रोग कस्तो होला भनेर भन्न अहिल्यै सकिंदैन । संक्रमणको गति, संक्रमण फैलिएको जनसंख्या, भाइरस विरुद्ध प्रयोग गरिएका औषधि वा उपचार पद्धति, खोप इत्यादिको नयाँ भेरियन्ट नियन्त्रणमा ठूलो भूमिका रहन्छ ।

केही समयअघि नेपालमा संक्रमणदर घट्दा प्रधानमन्त्रीले भाइरसलाई जितिसकेको भन्ने उद्घोष गरेका थिए । दोस्रो लहर अपेक्षित हो कि आकस्मिक ?

विभिन्न कारणले बढ्दै गएको असावधानीका कारण नेपालमा कोरोना संक्रमणको नयाँ लहर अपेक्षित नै थियो । यो लहर केही पहिले नै आउँछ कि भन्ने थियो, तर ढिलै गरिआयो ।

महामारी कुनै एउटा कारणले मात्र फैलँदैन । भाइरसको परिवर्तित स्वरुप, वातावरणीय प्रभाव, सामाजिक कारण, जनस्वास्थ्य सेवाको जटिलता इत्यादिको पनि भूमिका हुन्छ । माथि भनिए जस्तै भाइरसको नयाँ भेरियन्ट विस्तार वा उत्पत्ति पनि प्रमुख कारण हुन सक्छ ।

गत केही महीनामा राजनीतिक सभा–सम्मेलन, उद्घाटन, विवाह, भोज निकै भए । त्यस्ता भेला–सहभागितामा भौतिक दूरी, स्वास्थ्य सुरक्षामा हेलचेक्र्याइँ भयो । त्यस्ता गतिविधि कोरोना सार्न उपयुक्त वातावरण बनाउन पर्याप्त थिए ।

अहिलेको लहर शुरू हुनुभन्दा अगाडि नेपाल र भारतमा निकै समय सबभन्दा प्रदूषित वायु रह्यो । त्यसले श्वासप्रश्वास प्रणालीमा असर गरेर थप दबाब सिर्जना गर्‍यो । पहिल्यै प्रदूषणले बिगारेको वातावरणमा कोरोनाले सहजता साथ संक्रमण गर्ने मौका पायो कि भन्ने छ । यो पाटोमा पनि वैज्ञानिक अनुसन्धान गर्नुपर्ने भएको छ ।

यो मौसम परिवर्तनको समय पनि हो । यो समयमा अन्य जीवाणुको पनि प्रकोपले श्वासप्रश्वास सम्बन्धी समस्या, ज्वरो, रुघाखोकी बढ्ने गरेकै हो । मौसमी रुघाखोकीका जीवाणुले संक्रमण गरेर कमजोर बनाएको श्वासप्रश्वास प्रणालीमा कोरोनाको प्रभाव परेको हो कि भन्ने अर्को पाटो पनि छ ।

अहिले प्रयोगमा रहेका खोपहरू कतिको प्रभावकारी देखिएको छ ?

खोपको प्रभावकारिता प्रतिशतमा मापन गरिन्छ । खोप लगाएका र नलगाएको जनसंख्या दाँज्दा लगाएका समूहमा संक्रमणको दर कम पाइन्छ । त्यसैलाई त्यो खोपको प्रभावकारिता भनिन्छ ।

जस्तो, खोप लगाएका एकहजार र नलगाएका हजार व्यक्तिलाई तीन महीनामा अवलोकन गर्दा खोप नलगाएका १०० जनालाई संक्रमण भएको छ अनि लगाएका १० जनालाई मात्र भएको छ भने खोपका कारण संक्रमण ९० प्रतिशतले घटेको मानिन्छ । यो आधारमा खोपको प्रभावकारिता ९० प्रतिशत मानिन्छ ।

अहिले प्रयोग भइरहेका खोपहरू कोरोनाका सबै भेरियन्टमा प्रभावकारी देखिएका छन् । साउथ अफ्रिकी भेरियन्टमा थोरै कम प्रभावकारी हो कि भन्ने छ । तैपनि, यसमा पनि प्रभावकारिता उल्लेख्य छ ।

खोपको प्रभावकारिता संक्रमण दरमा मात्र सीमित छैन । कोरोना संक्रमण हुनु एउटा पाटो हो । संक्रमणपश्चात हल्का, गम्भीर, अति गम्भीर वा मृत्यु हुनु त्यसका असर हुन् । खोपले सबै भेरियन्टका संक्रमणका कारण अति गम्भीर लक्षण नदेखिने अवस्था र मृत्युबाट जोगाउने देखिएको छ ।

अर्थात्, संक्रमण भइहाले पनि खोप लगाएका व्यक्तिले गम्भीर परिणाम भोग्नु वा मृत्युवरण गर्न पर्दैन । खोपले संक्रमणबाट शतप्रतिशत नजोगाए पनि मृत्युबाट शतप्रतिशत जोगाउने (अपवाद बाहेक) देखिएको छ । प्रमुख कुरा यही हो ।

खोप लगाएकाहरू पनि संक्रमित भइरहेका छन् नि ?

त्यसका केही कारक छन् । पहिलो त खोप लगाएका व्यक्ति स्वयंंका कारण संक्रमित हुने सम्भावना हुन्छ ।

खोप भनेको औषधि होइन, यसले संक्रमण निको पार्दैन । खोप लगाएपछि शरीरले कोरोना विरुद्ध एन्टिबडी बनाउन सिक्छ, बनाउन थाल्छ र कालान्तरमा त्यही एन्टिबडी प्रयोग गरेर भाइरसलाई निस्तेज पार्छ । शरीरले बनाउन थालेर पनि भाइरसलाई उल्लेख्य रूपमा वृद्धि हुन दिंदैन ।

खोप लगाउनासाथ शरीरले त्यस्तो गर्न भने सक्दैन । एन्टिबडी बन्न केही हप्तादेखि महीनासम्म समय लाग्छ । अहिलेका खोपको पूर्ण उपादेयता प्राप्त गर्न त दुइटै खेप लगाउनुपर्ने हुन्छ । खोप लगाए पनि शरीरले एन्टिबडी बनाउने प्रक्रिया शुरू नगर्दासम्म संक्रमण हुन्छ । र, बिरामी हुने सम्भावना रहन्छ ।

खोप लगाएको छोटो अवधिभित्रै संक्रमित समीप आएपछि हुने संक्रमण खोपको होइन सम्बन्धित व्यक्तिको त्रुटि हो ।

दोस्रो कुरा, अहिलेका खोपहरू लगाएपछि बन्ने एन्टिबडी र हाम्रो श्वासप्रश्वास प्रणालीको एन्टिबडीको फरकले पनि यसमा भूमिका खेल्छ । खोप लगाएपछि बन्ने एन्टिबडी र फोक्सोमा पाइने एन्टिबडी उस्तै हुन् । खोप लगाएपछि फोक्सोमा दुवै एन्टिबडी उपलब्ध हुन्छन् ।

हाम्रो उपल्लो श्वासप्रश्वास प्रणालीमा पाइने एन्टिबडीहरू भने केही भिन्न हुन्छन् । खोप लगाएपछि नाकदेखि घाँटीसम्म नयाँ एन्टिबडी उत्पादन हुँदैन । तसर्थ, उपल्लो श्वासप्रश्वास प्रणालीमा संक्रमणको सम्भावना रहिरहन्छ ।

स्वाब संकलन यही भागमा गरिने हुँदा टेष्टमा संक्रमित पोजिटिभ नै देखिन्छन् । यो पनि एउटा प्रमुख कारण हो, जसले गर्दा संक्रमित भए पनि खोप लगाएका व्यक्तिको फोक्सोसम्म संक्रमण फैलिन पाउँदैन र गम्भीर परिणाम भोग्न पर्दैन । यस्ता संक्रमितले अरूलाई सार्ने सम्भावना भने रहन्छ ।

तेस्रो, अहिलेका खोपहरू ताप मिलाएर भण्डारण र वितरण गर्नुपर्ने, लगाउँदा निश्चित प्रक्रिया पुर्‍याउनुपर्ने हुन्छ । यी सबको पालना भएन भने खोपको गुणस्तरमा ह्रास आएर काम नगर्ने हुन सक्छ । यी पनि मानवीय त्रुटिका पाटा हुन् । यस्ता त्रुटि रहन नदिन पर्याप्त उपकरण र तालिमप्राप्त जनशक्ति व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

अर्को कुरा, हामीकहाँ खोप लगाउने ठाउँहरूमा समेत दूरी कायम गर्न नसकेको देखिएको छ । यस्तो अवस्थाका खोप स्थलमा केही संक्रमित पुग्दा संक्रमण फैलन मद्दत पुगेको हुन सक्छ ।

केही व्यक्तिमा खोप लगाएको केही दिनभित्रै टेष्ट पोजिटिभ आएको सुनिएको छ । लक्षण वा पोजिटिभ देखिन केही समय लाग्ने हुँदा खोप लगाउने क्रममा वा खोप लगाउने दिनको आसपासमा संक्रमित भएको अनुमान गर्न सकिन्छ ।

खोपमै त्रुटि भएको वा नयाँ भेरियन्टका कारण खोपले काम नगरेको निर्क्योल हुन दुवै मात्रा लगाइसकेका व्यक्तिहरूमा मात्रा पूरा गरेको कम्तीमा दुई हप्तापछि संक्रमण देखिएको हुनुपर्छ । खोप लगाएका व्यक्तिहरूको पनि उपल्लो श्वासप्रश्वास प्रणालीमा भने कोरोना संक्रमणको सम्भावना रहन्छ नै ।

यसपालि बालबालिकामा धेरै संक्रमण देखिनुको कारण के हो ?

अधिकांश संक्रमण १८–६० वर्ष उमेर समूहमा देखिएको छ । पहिला पनि यही समूहमा धेरै देखिएको थियो । अहिले संख्यात्मक रूपमा बालबालिकामा संक्रमण धेरै देखिए पनि अनुपातमा यो समूह सानै छ ।

खोपले मात्र संक्रमण चक्र तोडिंदैन । तसर्थ, जति अप्रिय भए पनि लकडाउन वा सामाजिक सुरक्षा विधि नै तत्कालको लागि सबभन्दा उपयुक्त जुक्ति हो

फेरि हामी वास्तविक संक्रमित संख्याबाट टाढा छौं । अहिले टेष्ट पोजिटिभिटी रेट हेर्दा कुनै स्थानमा दुईतिहाइभन्दा ज्यादा देखिएको छ । औसतमा पनि ३० प्रतिशत भन्दा माथि छ । पोजिटिभिटी रेसियो ३ देखि ५ प्रतिशत हाराहारी भएको अवस्थामा मात्र महामारीको वास्तविक आकार आकलन गर्न सकिन्छ ।

अर्थात्, अहिले हामीसँग वास्तविक संख्यात्मक चित्र छैन । यो अवस्थामा निर्क्योल गर्नु अपरिपक्व हुन्छ । कति चाहिं भन्न सकिन्छ भने संक्रमित संख्या अहिले जानकारीमा आएको भन्दा धेरै गुणा ज्यादा छ ।

अन्य देशको तथ्यांक हेरेर नेपालको कोरोना विश्लेषण कसरी गर्न सकिन्छ ?

पटक–पटक व्यापक रूपमा संक्रमण फैलिएको युरोप–अमेरिका र हाम्रो अवस्था धेरै फरक छ । शुरुआती चरणमा युरोप–अमेरिकामा मृत्युदर उच्च देखियो । त्योबेला कोरोनाभाइरसबारे यथेष्ट जानकारी पनि थिएन । कस्ता व्यक्तिमा संक्रमण हुन्छ, उपचार कसरी गर्ने भन्ने ठोस अवधारणा नै बनेको थिएन । त्यसैले, अन्योलका बीचमा धेरै वृद्धवृद्धा र अन्य जोखिम समूहले ज्यान गुमाउनुपर्‍यो ।

दोस्रो लहरमा संक्रमित संख्या बढे पनि मृत्युदर बढेको छैन । जोखिम समूहलाई सुरक्षित राख्ने प्रयास, उपचार प्रविधिको विकास र सुरक्षा नीतिको पालनाले यो सम्भव तुल्यायो । नेपालमा त धेरैपछि मात्र कोरोना महामारी आइपुग्यो ।

पहिलो लहरमा १८–४० उमेर समूहका वैदेशिक रोजगारीबाट फर्केका वा उनीहरूको सम्पर्कमा भएकाहरूमा संक्रमण देखियो । स्वभावतः यो समूहमा मृत्युदर कम देखियो । यो समूह संक्रमणमुक्त भएलगत्तै  कोरोना समुदायमा फैलिन थाल्यो । दोस्रो चरणमा ६० वर्षभन्दा बढी उमेर समूहमा संक्रमण फैलिंदा मृत्युदर बढ्यो ।

अहिलेको लहरलाई तेस्रो भन्न सकिन्छ । अहिले युवा समूहमा अधिक संक्रमण देखिएको छ । यो समूहमा मृत्यु संख्या पनि बढेको पाइएको छ । समग्रमा मृत्युदर अझ बढ्ने देखिन्छ । साधारणतः संक्रमण पत्ता लागेको एक–दुई हप्तापछि मात्र संक्रमितको मृत्यु हुने हुँदा संक्रमण बढ्न थालेको एक–दुई हप्तापश्चात् मात्र त्यही अनुपातमा मृत्यु दर बढेको पाउँछौं ।

संक्रमण दर बढेको केही हप्ता मात्र भएको छ । अहिले पोजिटिभिटी रेट पनि निकै उच्च छ । तसर्थ केही समयपछि मृत्युदर पनि बढ्ने अनुमान गर्न सकिन्छ ।

नेपालमा संक्रमण विस्तार ढिला भए पनि पहिलेका लहरहरूबाट पाठ सिक्न र तयारी गर्न नसकेको स्पष्ट देखिन्छ । हामी त्यो अफसोचपूर्ण अवस्थामा छौं, जहाँ प्रत्येक लहरमा हालत खराब भएको छ ।

अहिलेको लहर कति लामो समयसम्म जाला, यसलाई रोक्न के–के  गर्नुपर्ला ?

यो चरणलाई रोक्ने भरपर्दो उपाय भनेको सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका उपायहरूको अवलम्बन नै हो । यसरी संक्रमणको साङ्लो तोड्ने हो । लकडाउन राम्रोसँग पालन भएको खण्डमा दुई हप्ताभित्रै संक्रमित संख्या उल्लेख्य मात्रामा ओरालो लाग्छ ।

खोप अभियानलाई निरन्तर पार्न सके संक्रमणको चक्र छिटो तोडिन्थ्यो कि ?

खोपले मात्र संक्रमण चक्र तोडिंदैन । फेरि, खोप खरीद, आयात र वितरणमा ठूलो समय र जनशक्ति लाग्छ । संक्रमण फैलिरहेको बेला त वितरण पनि चुनौतीपूर्ण हुन्छ । खोप लिएको अवस्थामा पनि भाइरस विरुद्ध प्रतिरोध क्षमता विकसित हुन केही हप्तादेखि महीनासम्म लाग्छ । खोप वितरण अभियान गतिलो भए अर्को चरणबाट भने जोगाउँछ ।

तसर्थ, जति अप्रिय भए पनि लकडाउन वा सामाजिक सुरक्षा विधि नै तत्कालको लागि सबभन्दा उपयुक्त जुक्ति हो ।

बालबालिकामा कोरोना संक्रमण बढिरहँदा उनीहरूका लागि खोप उत्पादन भएको छैन । बालबालिकाको लागि कहिले बन्ला खोप ?

बालबालिकामा चलिरहेको खोप परीक्षणहरूमा नतिजा आशलाग्दो छ । परीक्षणहरू पूरा भएर डोज निर्क्योल र प्रमाणीकरण हुन भने समय लाग्नेछ ।

बालबालिकामा कोरोना संक्रमण अरू उमेर समूहमा भन्दा कमै देखिएको छ । गम्भीर लक्षण र मृत्यु पनि निकै कम छ । कुनै पनि नयाँ भेरियन्ट उल्लेख्य रूपमा बालबालिकामा आक्रामक देखिएको छैन ।

कोरोनाको गम्भीर लक्षण वा मृत्युको जोखिम भने रहेकाले सावधानी अपनाउने कुरामा हेलचेक्र्याइँ गर्न हुँदैन । अहिले उपलब्ध तथ्यांक अनुसार यो भन्दा बढी बोल्नु अपरिपक्व हुन्छ ।

– प्रस्तुतिः सागर बुढाथोकी



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *