चेनस्मोकर भट्ट

चेनस्मोकर भट्ट


ऊ एउटा जँड्याहा । उसको सम्पूर्ण पहिचान यही हो । तर केही वर्ष पहिले उसको अर्को पहिचान पनि थियो । ऊ मेरो दोस्त– प्रिय दोस्त थियो । तर आज ऊ मेरा लागि साथीसम्म रहेन । ऊ मेरो लागि पनि एक नामुद जँड्याहा हो । जसको घरघाट भट्टी हो ।

ऊ भट्टी पसे झैं म अक्सर चिया पसल पसिरहन्छु । हरेक दिन चिया पिउँदै गर्दा उसकाबारे केही न केही नयाँ प्रसङ्ग निस्किहाल्छ । गाउँका सबैले उसलाई जँड्याहाबाहेक अर्थोक केही भन्थेनन् र यसरी ऊ हामी सबैको जँड्याहा भयो ।

उसको र मेरो पहिलो चिनजान कसरी भयो त्यो मलाई याद छैन । हामी बालसखा थियौं । ऊ चुलबुले थियो । उट्पट्याङ गरिरहन्थ्यो । हामी काँक्रो, आँप चोर्न बारीबारी डुल्थ्यौं ।  समयसँगै हामी एकअर्काको मिल्ने साथी भयौं ।

सानैदेखि मलाई ऊ अजीव लाग्थ्यो । ऊ बेलाबखत अनौठा कुरा गथ्र्यो जसको छेउटुप्पो म केही भेट्टाउन्नथें । उमेरसँगै हामीमा यौवन थपिंदै गयो । उसैगरी हाम्रो प्रगाढता पनि बढ्दै गयो । एकदिन उसले मलाई सरप्राइज दिने भयो । हाम्रो गाउँमाथि एक डाँडा थियो । जहाँबाट वरपर गाउँ, कैयौं कोस परसम्म छर्लङ्ग देखिन्थ्यो । त्यही डाँडामा एक कहालीलाग्दो भीर थियो । त्यहाँ छेउ पर्दापनि मेरो सातो जान्थ्यो । त्यसको ठीक तल ‘झोलु’ नदी बाह्रैमास ठूलै गडगडहाटका साथ बहन्थ्यो ।

उसले भन्यो, ‘यार ! यो दुनियाँमा म दुई कुरालाई खुब प्रेम गर्छु । यो रक्सी र चुरोट अनि मेरी छोरी । माया त त्यसलाई पनि गर्थें तर छाडेर गइहाली । तर खै, ऊ गएकोमा मलाई पश्चाताप छैन ।

त्यो दिन मलाई सरप्राइज दिने भन्दै दिउँसोको दुई बजे डाँडाको जक्सनमा बोलायो । म गएँ । उसले दुईटा गिलास, छोइला, लेज र एक बोत्तल रक्सी काखी च्यापेर ल्याएको रहेछ । उसले सिल फोर्‍यो । दुई गिलास बराबर हुनेगरी भर्‍यो । मैले अल्मलिंदै घुटुक्क पारे । उसले सामान्य मुखाकृतिमै एक गिलास स्वाट्ट रित्तायो ।

मेरो टाउको रन्थनियो । कस्तो अजीव–अजीव लाग्यो । एकतमासका अनेकथरी सोच आए ।

त्यसपछिका महिनाहरूमा ऊ मलाई हप्ता–प्रन्ध दिनमा उसैगरी डाँडामा बोलाउँथ्यो । ऊ उसैगरी काखीका दुईपट्टि सिसी च्यापेर खस्याकखुसुक सितनसहित स्वाँस्वाँ गर्दै आइपुग्थ्यो ।

समयसँगै हाम्रो उमेर पनि बढ्यो । हामीले काम गर्ने भनेर एकै ठाउँमा जागिर गर्न थाल्यौं । एकैसाल हाम्रो बिहे पनि भयो र हाम्रा समान एक÷एक छोरी भए । ऊ काम सकिनासाथ सधैं भट्टी पस्थ्यो म भने कहिलेकाहीं मात्र उसको पछि लाग्थें । त्यसबेला ऊ मलाई भन्थ्यो, ‘तँलाई पिउन बहाना चाहिन्छ मलाई केवल चाहना ।’

अँ साँच्ची, ऊ चेनस्मोकर पनि थियो । ऊ भन्थ्यो ‘बरू खल्तीमा एक सुका नहोस् तर एक खिल्ली जरुर होस् । चुरोट नभएको खल्ती मलाई बेस्वादको लाग्छ ।’

ऊ आधा खाएर आधा मात्र भएपनि बगलीमा कहिल्यै चुरोट टुटाउँदैनथ्यो ।

हामी दुईले एकअर्कालाई निकनेम पनि दिएका थियौं । म उसलाई ‘चेनस्मोकर भट्ट’ भन्थें तर उसको थर भट्ट हैन । भट्टीको चिनारीमा मैले उसलाई भट्ट बनाइदिएको थिएँ । उसले मेरो नाम भने ‘क्याप्टेन’ राखेको थियो । यो उसकोे फेबरेट चुरोट ब्राण्डको तक्मा थियो । ऊ मलाई बारम्बार भनिरहन्थ्यो ‘ओ क्याप्टेन, माई क्याप्टेन, मैले तेरो नाम किन क्याप्टेन राखें तँलाई थाहा छ ? किनकि क्याप्टेन नसल्काउँदा र तँलाई नदेख्दा दिन खल्लो लाग्छ यार !’

बेलाबखत बोलिरहे पनि ऊ गम्भीर प्रकृतिको थियो । शान्त अनि गम्भीर । जति नै धोक्दापनि ऊ कसैलाई कहिल्यै ठूलो स्वर गरेर बोल्दैनथ्यो । लाग्थ्यो, उसमा रिस र आक्रोशको भावना लेस मात्र पनि छैन । ऊ खाएपछि एकोहोरोे हुन्थ्यो । कहिले आकाश हेरिबस्थ्यो । कहिले एउटा पात टिपी ओल्टाइपल्टाइ गर्दै घन्टौंसम्म त्यसैलाई सुमसुमाइरहन्थ्यो । गम्भीर भावमा कस्ताकस्ता कुरा गरिरहन्थ्यो जस्तो कि जीवन केका लागि ? मृत्यु कस्तो होला ? ऊ मलाई कहिलेकाहीं घाट लैजान्थ्यो र त्यहाँ लास पोलेको खरानीको टिका लगाइदिन्थ्यो अनि खितिती हाँस्दै भन्थ्यो, ‘अब तँलाई भूत लाग्छ, हेरिराख् ।’

बिस्तारै चियापसलमा ऊसँगै मेरो पनि कुरा काटिन थाल्यो । हामीलाई सबैले आँखा तर्थे । हामीबाट तर्कन खोज्थे । झर्कन्थे । त्यसैकारण मेरो घरझगडा बढ्न थाल्यो । श्रीमती मलाई सुतेपछि ‘जँड्याहाको बूढी भनेको कत्ति सुन्नु, गाउँका कसैले देखिसहँदैनन् । तिम्रो यस्तै चाला हो भने म झुण्डिएर मरिदिन्छु है !’ भन्दै गनगन गर्थी ।

केही समय मैले खासै वास्ता गरिनँ तर बिस्तारै मलाई पनि आफ्नो व्यवहार नराम्रो लाग्न थाल्यो । अब म भट्टी जान कम गर्न थाले । कहिलेकाहीं मपनि उसका साथ छिरेका बेला भने ऊ भन्थ्यो, ‘तैंले मलाई बिर्सिस क्याप्टेन ! तर मैले तलाईं बिर्सेको छैन, बुझिस् !’

मैले एकदिन उसलाई भनें, ‘भट्ट अब यो सब छाडिदिउँ यार, सधैं यसरी चल्छ र ?’

ऊ एकछिन गम्भीर भयो अनि भन्यो, ‘तँलाई थाहा छ म किन यतिविधि पिउँछु ! के मलाई थाहा छैन म आफैंलाई मारिरहेको छु ? तर यार, जब यो पिउँछु अनि मात्र लाग्छ म आफ्नो भएको छु । यसले नछुञ्जेलसम्म लाग्छ, म अर्काकै लागि बाँचिरहेको छु । यति लामो जीवन म अर्काको मात्र भएर कसरी बिताउन सक्छु !’

यही प्रश्न उसलाई बारम्बार गरिरहें । तर हरेकपल्ट यस्तैयस्तै गम्भीर कुरा गथ्र्यो  ऊ । त्यसैताक उसकी श्रीमती उसलाई छोडेर हिंडी । त्यसको केही दिनपछि उसले मलाई त्यहीं माथिको डाँडामा बोलायो । उसले ठूलै सिसी लिएर आएको रहेछ । मैले खान्नँ भने । उसले ‘पहिलो र अन्तिमपल्ट भन्दैछु मान्छस् भने मान्, नमाने नमान्’ भन्यो ।

मैले खान्नँ भन्न सकिनँ । खाँदै गर्दा उसले भन्यो, ‘यार ! यो दुनियाँमा म दुई कुरालाई खुब प्रेम गर्छु । यो रक्सी र चुरोट अनि मेरी छोरी । माया त त्यसलाई पनि गर्थे तर छाडेर गईहाली । ऊ हँुदा मलाई अधिक प्रेम गरी । मैले पनि सदा आफू भएर प्रेम गरें । ऊ पनि स्वतन्त्र छे आफ्नो जीवन रोज्न ।’

उसले थप्यो,  ‘सधैं एउटै गुँडमा बस्नुपर्छ भन्ने पनि त छैन । ऊ स्वतन्त्र थिई, स्वतन्त्र छे । मलाई उसलाई घृणा गर्न मन छैन यार । भन्न त गाउँले राँड, वेश्या तथानाम भनेको सुनें । तर ऊ मेरी प्रियसी हो, म बाँचुञ्जेल । के उसले दिएको त्यतिविघ्न माया म निमेषभरमै लतारिदिन सक्छु ?’

ऊ श्रीमतीलाई खुब माया गर्दथ्यो । यति म राम्ररी जान्दथें । भलै उसको प्रेम व्यक्त गर्ने तरिका अलिक भिन्न थियो तर ऊ सच्चाप्रेमी थियो ।

ऊ बारम्बार भनिरहन्थ्यो ‘म रक्सी चुरोट अनि छोरीलाई खुब माया गर्छु ।’ तर हरेकपल्ट उसले यसोभन्दा ऊ एकनाम छुटाउँथ्यो, मेरो नाम । ऊ मलाई खुब माया गथ्र्यो । तर उसले कहिल्यै तेरो माया लाग्छ भनेन । उसको केवल एक मात्र साथी म थिएँ । ऊ अरू कसैसँग नजिक भएको मैले कहिल्यै देखिनँ ।

०००

त्यसपछिका दिनमा ऊ वैरागी हुँदै गयो । जागिर छाडिदियो । हाम्रासँगै पढ्ने छोरीलाई झिकेर नजिकैको सरकारी विद्यालयमा हालिदियो । अब बिस्तारै उसको र मेरो भेट पातलिन थाल्यो । उसलाई वनवन डुली हिंडेको, घाटछेउ एक्लै टोलाइरहेको बारम्बार देखिरहन्थें । तर उसले रक्सी भने छोडेन । ऊ सदा एक्लै भट्टी पस्थ्यो र बर्रबराउँदै निस्कन्थ्यो ।

म चियापसल पनि पस्न छाडिसकेको थिए । तर बिस्तारै फेरि त्यहाँ जान थालें । हरेक दिन गाउँलेहरूले उसको नयाँ कुरा निकाल्थे अनि हाँसो उडाउथे । कोही त ‘आजकाल घ्याम्पेको साथ छाडिसकिस् कि क्या हो ?’ भनी ठाडै भन्थे ।

एकदिन घाटछेउ चुरोट उडाएर बसिरहेका बखत म उसको सामु गए । ऊ मलाई देखेर फिस्स हाँस्यो । शुरुमै म बोलें, ‘हेर ! छोरीका निम्ति भएपनि तैंले आफूलाई बदल्नुपर्छ । तँ यति निर्दयी र कर्तव्यहीन बाबु कसरी बन्न सक्छस् ?’

तर अहँ ऊ केही बोलेन । फिल्टरसम्म पुगेको चुरोटलाई एक लामो सर्को तान्यो र भुइँमा फाल्यो । जुरुक्क उठ्यो अनि भर्खर फालेको चुरोटको ठुटोलाई आफ्नो खुट्टाले किचिमिची हुने गरी कुल्चिंदै चुपचाप त्यहाँबाट हिंड्यो । मलाई वास्ता गरेन ।

त्यस घटनापछि ऊ मलाई साँच्चै नराम्रो लाग्न थाल्यो । उसको मुहारमा विगतमा भएको ओज बिस्तारै शिथिल हुँदै गइरहेको थियो । ऊ अचेल झन् गम्भीर र गुमसुम भई बसिरहन्थ्यो । त्यतिबिघ्न सम्झाउँदा पनि मैले भनेको केही नसुनेपछि मैले पनि ऊसँग बोल्न छाडिदिएँ ।

ऊ मलाई देखेर हाँस्न खोज्थ्यो तर म अर्कोतिर फर्किदिन्थें । मलाई ऊसँग नजर मिलाउन मन हुन्थेन । म उसलाई देख्दापनि वास्ता नगरी हिंड्न थालें । उसले कैयौंपल्ट बोलाउन खोजे झैं गर्‍यो तर म सदा उबाट तर्किरहें । ऊ जतिसुकै व्यथित देखिएपनि म ऊप्रति रूष्ट थिएँ । उसँग फर्केर बोल्न जाने कुनै चाहना नै बाँकी थिएन ममा ।

एक साँझ म चियापसल पुगे । चियापसलको सामुन्ने ऊ लडिरहेको रहेछ । कसैले पनि उसलाई उठाउन चाहेनन् । सबै पसल सामुन्ने बसेर उसलाई हेर्दै हाँसिरहेका थिए । पछाडिबाट कसैले ठूलो आवाजमा भनिरहेको सुनें– ‘घ्याम्पे पनि ढल्दा रहेछन् त !’

पसलमा ठूलै हाँसो गुञ्जियो । मैले उसलाई उठाउन त चाहें तर त्यहाँ त्यति धेरै मान्छेको अगाडि शायद मेरो अहम्ले होला, उसका पाखुरा तानेर उसलाई काँधमा उठाउन मैले सकिनँ । म लाचारजस्तो भएर उसलाई एकोहोरो हेरिरहेको थिएँ । उसको कानबाट लगातार रगत बगिरहेको थियो । उसको अनुहार कति छिट्टै चाउरिन थालेका थिए । उसको निधारले उसको सन्तापको भारीको प्रतीत दिइरहेको थियो ।

त्यसरात पहिलोपल्ट मलाई उप्रति अधिक दया लागेर आयो र आफैंमा पश्चाताप पनि । त्यतिबिघ्न लाचार र निरीह पनि ऊ हुनसक्छ भनेर मैले कहिल्यै कल्पनासम्म पनि गरेको थिइनँ ।

ऊ जुरुक्क उठ्यो । मलाई आएर हलुका अंकमाल गर्‍यो अनि बिस्तारै छुट्टिदै पुनः आफ्नै ठाउँमा गएर बस्यो । बगलीबाट एकछिन अघि मात्र ल्याएको नयाँ खाम झिक्यो । त्यसलाई टेबलमा राख्यो र भन्यो, ‘भन् साला यसमा के सम्बोधन लेखौं ?’

उसको र मेरो सम्बन्ध टाढा भएपनि मेरी छोरी अक्सर उसको छोरीसँग खेल्न, गृहकार्य गर्न भन्दै गइरहन्थी । यसमा मलाई पनि आपत्ति थिएन ।

एकदिन उसले मलाई घर आएर अनौठो कुरा सोधी ‘बाबा मलार्ई आयानाको बाबाले माया गरे झैं तपाई आयानालाई किन माया गर्नुहुन्न ?’ सानो उमेरमै उसले यसरी भन्छे भन्ने मेरो मनचित्तमा थिएन । उसको प्रश्नले मलाई धेरै दिनसम्म घोचिरह्यो ।

०००

आजभोलि अफिसमा बढी चाप छ । म कहिलेकाहीं मात्र घर आउन भ्याउँछु । कामदारसँगको लफडाले म केही महिनाका लागि बाहिर जानुपर्ने भयो ।

घरबाट हिंडेको दुई महिना कटिसकेको थियो । घरमा राम्ररी कुरा गर्न पाएको पनि थिइनँ । एक रात ढल्कन मात्र के लागेको थिएँ, बाहिर जँड्याहाहरू ठूलो स्वरमा कराउँदै हिंडेको आवाजले कान कोपर्‍यो । मैले एक झलक धेरैपछि मित्र भट्टेलाई सम्झिएँ ।

एकदिन उसले नशामै अंगे्रजी छाँट्दै भनेको थियो, ‘ह्यापिनेस इज जस्ट अ थट । इफ उई क्यान रिल्ली बिल्ड इट, उई क्यान नेभर बी अनह्यापी । बट इट्स नट द्याट इजी दो ।’

उसको यो कुरा अनायासै मेरो मानसपटलमा आयो । त्यस अधेंरीमा म थोेरै भएपनि मुस्कुराएँ । हो, आज धेरैपछि भट्टको खुब याद आयो ।

उसको एक अजीव तर गज्जबको सोख थियो । ऊ घोत्लिएर लेखिरेहको बारम्बार भेट्टाइरहन्थें । ऊ के लेख्थ्यो जान्दिनथें । मलाई नजिक देख्ने बित्तिकै ऊ लेख्न लागेको झटपट छोप्थ्यो र किच्च हासिदिन्थ्यो । उसले के लेख्थ्यो भन्नेबारे म विल्कुल अज्ञात थिए ।

एकदिन अचानक उसलाई के भयो मलाई थाहा छैन । हामी दुवै नशामा थियौं । ऊ मछेऊ आयो र हलुका अंकमाल गर्‍यो अनि छुट्टिएर पुनः आफ्नै ठाउँमा गएर बस्यो । उही मधुर बोलीमा सुस्त भन्यो, ‘तँलाई थाहा छ वर्षौंदेखि तँबाट म के लुकाइरहेको छु ? म तँबाट तेरै चिठ्ठी लुकाइरहेको छु यार ! तँ मलाई बारम्बार सोधिरहन्छस् नि के लेख्छस् भनेर । तँलाई थाहा छ मन हलुङ्गो, गरुङ्गो, बोझिलो जस्तोसुकै होस् मलाई यी भावना तँसँगै साटुँ झैं लाग्छ । फेरि बोलेर साटौं भने राम्ररी भन्न जान्दिन झैं लाग्छ ।

कहिले त लाग्छ, यी चिठ्ठी तलाई दिऊँ । फेरि लाग्छ, तैंले मलाई बुझ्नलाई यी नाथे चिठ्ठीको सहारा लिनु पर्दैन । तँजस्तो प्रिय मान्छे पाएर मलाई केही पाए झैं लाग्छ । तँ मबाट कहिल्यै अलगिएजस्तो लाग्दैन । शायद तैंले मेरो चिठ्ठी त्यो दिन पढ्न पाउलास् जुन दिन मलाई लाग्नेछ मैसँग भएको तँ छुटिएर टाढा पुगेको छस् ।’

अहो ! आज घरबाट हिंडेको तीन महिना कटिसकेछ । काम सक्न अझै लामो समय लाग्ने देखिएपछि जेसुकै होस् एकपल्ट घर पुगेर आउँछु भन्ने सोच आयो र तत्कालै भोलिपल्टको  टिकट काटें । उत्सुकता यति थियो कि ब्यागप्याक गरेर समयभन्दा निकै चाँडो विमानस्थल पुगें ।

गाउँ छिर्दा मध्यरात भइसकेको थियो । मेरो मुहारमा ठोक्किरहेको बतासमा आफ्नोपनको आभास थियो । म भित्रभित्रै गद्गद् भइरहेको थिएँ । घर पुगें । सबै सुतिसकेका रहेछन् । यति थाक्दा पनि निद्रा भने आएको थिएन । हटकेसमा मलाई प्रतीक्षा गरिरहेको खाना खाएँ । सुतिहाल्न मन भएन ।

म बाहिर गएदेखि मेरो नाममा आएका शिलबन्द चिठी त्यहाँ थुप्रिरहेका रहेछन् । यसो के–के रहेछन् हेरौं भनी सरसर्ती हेर्दै थिएँ । अचानक दुई महिना पहिलेको मिति भएको चिटिक्क पारेर ‘प्रापक’ लेखिएको एउटा चिठीमा मेरा आँखा अनायासै पुगे । झटपट खोली पढें । यस्तो लेखिएको रहेछ,

‘यार क्याप्टेन,

केही कुरा सुन्दर बनाउन खोज्दाखोज्दै पनि कुरुप बन्दो रहेछ । मेरो जीवन यस्तै भयो । अब यो कुरुपताको लागि संसारमा कहींकतै ठाउँ छ र ?’

चिठी यति मात्रै थियो । प्रेषकको नाम–ठेगाना केही नभएपनि यो कसको हो थाहा पाउन मलाई नामको जरुरत थिएन । मेरो मस्तिष्क रन्थनियो । यसको सार लगाउन मेरो दिमागको जोड पुगेन । म अनायासै काम्न थालें । झटपट उसको नम्बरमा फोन गरें । स्वीच–अफ रहेछ । मलाई के गर्ने, कसो गर्ने हुन थाल्यो । रातभर औडाहा मात्र भयो । ओछ्यानमा नपल्टिकनै रात बित्यो । बिहान झिसमिसेमै घरबाट निस्किएँ ।

गाउँभरि हल्ला रहेछ, ऊ करिब दुई महिनाअघि एक साँझ हतारिँदै स्वाँ…स्वाँ गर्दै माथि भीरतिर कुद्दै गरेको देखिएको थियो रे ! तर त्यसपछिको उसको रफ्तार कसैले देखेको खबर पाइएन ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *