लोक सेवामा चार पटक नाम निकाल्ने सह–सचिव बराल केहि महत्वपुर्ण टिप्सहरु।

लोक सेवा आयोगले सञ्चालन गरेको सहसचिवको गत वर्षको लिखित परिक्षा पास गरेपछि महेश बरालले सामाजिक संजालमा परिक्षाको अन्तिम चरण बाँकी नै रहँदै आफ्नो खुशी व्यक्त गरे । सामान्यतया अन्तिम नतिजा जे पनि हुन सक्ने परिक्षाको बीचैमा त्यसरी खुशी साट्दाका जोखिम पनि थिए र उनि त्यसको जानकार नहुने कुरै भएन, तै पनि उनले आफुलाई रोक्न सकेनन् । बरालले सहसचिवको परिक्षा उत्रीर्ण गरेपछि आफुले परिक्षाको लागि तैयार गरेको विषयवस्तुलाई सामाजिक संजाल युट्यूवको माध्यमबाट इच्छुक श्रोता र दर्शकमा पुर्याएका छन् । आज हामी, हाल पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत उनै महेश बरालसँग गरिएको कुराकानीको सारसंक्षेपः

लोक सेवा आयोगको परिक्षा पूर्ण रुपमा उत्रीर्ण नहुदै किन त्यसरी खुलाशा गर्नु भएको हो? कारण के थियो ?

मैले फेसवुकमा लिखित परिक्षाको नतिजामा सफल भएको कुरा व्यक्त गरेको थिएँ । त्यो मेरो आत्मसम्मान संग जोडिएको विषय थियो । मैले १२ हजार परिक्षार्थी प्रारम्भिक चरणमा सहभागि हँुदा शाखा अधिकृतको परिक्षामा ७७ सिटमा नाम निकालें । पछि, उपसचिवको परिक्षामा पनि करिव ७०० परिक्षार्थी सहभागि हुँदा १७ सिटमा नाम निकालें तर करिव १५० परिक्षार्थी सहभागि हुने परिक्षामा १२ सिटमा पर्न सफल भइनँ । यसबाट मलाई आत्मविश्वास हराए जस्तो भएको थियो । अतः उक्त लिखित परिक्षाको नतिजाले अन्तिम नतिजा जे भए पनि मलाई आत्मविश्वास र आत्मसम्मान फिर्ता दिलाएको थियो । यसको अतिरिक्त नोकरी अवधिको हिसावले पेन्सन पनि भै सकेको कारणले म सो परिक्षामा सफल नभएको भए वैकल्पिक पेशामा जाने पनि सोच वनाई रहेको अवस्था थियो ।

तपाई तीनै तहमा लोक सेवा आयोगको खुल्ला परिक्षाबाट उत्रीर्ण हुनु भएछ होइन त? प्रशासन क्षेत्रमा यस्तो क्षमतालाई कस्तो रुपमा लिइन्छ?

त्यति मात्र होइन, मैले निजामती सेवाको सुरुवात सहायक तहबाटै गरेको हुँ । मैले केही बर्ष गृह मन्त्रालयमा कम्प्यूटर अपरेटर भएर पनि काम गरें । त्यो समेत जोड्दा चार पटक लोक सेवा आयोगको परिक्षामा सफलता मिल्यो भन्नु पर्छ । शाखा अधिकृतको परिक्षामा तीनवटा सेवा समूहमा नाम निस्किएको थियो । उप सचिवमा ४ वटा विज्ञापनमा नाम निस्कियो । साथै, उप सचिव तहमा एक पटक अन्तरवार्तामा असफल भएको पनि अनुभव छ । लिखित परिक्षामा असफल भएका त अरु कति अनुभव छन् कति । प्रशासनिक क्षेत्रमा यस्तो व्यक्तिहरुलाई युवा प्रशासक र केही नयाँ सोच तथा दृष्टिकोण भएको प्रशासकको रुपमा लिइन्छ । जुनियर साथिहरु, केही सिक्न पाइने आशमा नजिक हुन खोज्दछन् । सिनियरहरुले भने, कितावी ज्ञान भएको तर अनुभव नभएको भनी हेलाँहोचो पनि नगर्ने होइनन् । पछिल्लो समयमा भने, ३० बर्ष देखी ४० बर्ष बीचका युवाहरु नै सह सचिवमा उतीर्ण हुने गरेकोले, नेपाल सरकारको सचिव हुनको लागि शाखा अधिकृतको अलावा, उप सचिव वा सह सचिवमा एक पटक खुला (खुला तथा आन्तरिक) परिक्षा उत्रीर्ण हुनै पर्ने जस्तो अवस्था सिर्जना भएको छ ।

माथिको प्रसंगमा तपाईले लोक सेवा आयोगको परिक्षाको विकल्पमा सोचिरहेको पनि वताउनु भयो । के सोच्दै हुनुहुन्थ्यो त्यतिबेला ?

यो फास्ट ट्रयाक भनिने लोक सेवा आयोगको परिक्षा प्रणालिका धेरै गुणहरु छन् । म आफैं पनि यही बाटोबाट उच्च प्रशासकको तहमा पुगेको छु तर यसका केही कमजोरीहरु पनि छन् । जस्तैः यसले आफ्नै साथिलाई कुनै दिन आफ्नो हाकिम बनाई दिन्छ । आफुले ज्ञान तथा अनुभवमा कमजोर ठानेको साथि परिक्षामा सफल हुन्छ र दैनिक उसको लेक्चर सुन्नु पर्छ । कर्मचारीहरु व्यवसायिकताको विकास गर्न भन्दा अर्को तह उक्लनको लागि तैयारी गर्न थाल्छन् । सुगममा बस्ने तथा नीतिगत तहमा काम गर्ने अवसर पाउने र जनस्तरमा काम गर्न पर्नेहरुको अवसरहरु फरक पर्दै जान्छन् । यही कारणले यो परिक्षा प्रणालीले एक प्रकारको असन्तुष्टि, आक्रोश र भित्र भित्र फ्रस्ट्रेशन पनि विकास गरि रहेको हुन सक्छ । माथिको प्रसंगमा, त्यति वेला मेरो उमेर ४३ बर्ष थियो र सरकारी सेवामा पेन्सन पनि भै सकेको थियो । अतः मैले कुनै व्यवसाय वा अर्को कुनै नोकरी थालनी गर्न ढिला भैसकेको थिएन । त्यसैले त्यो आत्मसम्मान सहित निजामती सेवा त्याग्न सक्ने विकल्पमा टेकेर त्यसो भनीएको थियो ।

अहिले त नोकरी त्याग्ने सोचाइमा हुनुहुन्न नी ?

होइन, छैन । अव निजामती सेवामा नै रहने अवस्था त त्यही नतिजाले पनि टुङ्गो लगाइदियो । तपाईले, यो विषयमा ज्यादा जोड दिनु भयो । यसलाई अलि खुलेर वताउन चाहन्छु । मैले शाखा अधिकृतको परिक्षा पास गर्दा म २७ बर्षको थिए, जो हाम्रो जस्तो निजामती सेवाको प्रणाली अपनाएको मूलुकको अधिकृत कर्मचारीको लागि सेवा प्रवेशको सही उमेर हो । शाखा अधिकृतको नियुक्ति वुझेको दिनमा मलाई मेरा अग्रजहरुले नेपाल सरकारको सचिव पदमा स्वतः पुग्ने हिसाव दिएका थिए र म पनि विश्वस्त थिए । समय क्रममा, त्यसमा काला वादलको तहहरु लाग्दै लाग्दै गयो । सचिवको पदहरुलाई विभिन्न क्लष्टरमा बाँडियो, त्यसै गरी, विभिन्न सेवा र समूहका कर्मचारीहरुलाई वरिष्टता सहित प्रशासन सेवामा समायोजन गरियो । हामी वढुवाको संघारमा पुगेको बेला अवकाश सम्बन्धी उमेरको हद वढाउने विषय पनि आयो, साथै, बीचमा आएको २४(घ)१ भनिने वढुवा पाएका अन्य केही सेवाका साथिहरुको समायोजनको पनि विषय उठ्यो । यसले, गर्दा मैले सेवा आरम्भ गर्दा स्पष्ट देखिएको मार्गमा कैयौं अवरोधहरु आए । मैले एक तह खुल्लामा उप सचिव पास गर्दा पनि सचिव हुने अवस्था टाढिदै गयो । निजामती सेवाको मूल्य मान्यताले यस्तो हुनु हुदैन, निजामती सेवा अनुमानयोग्य हुनु पर्छ भन्छ । तर भएन । यो गंभीर विषय हो, तर यसमा धेरै चिन्तन भएको पाइदैन । मैले त पार लगाए, तर मेरा कैयौं साथिहरु यही मानसिक दवावमा छन् । हो, यो परिवेशमा मैले त्यो अभिव्यक्ति दिएको थिए ।

अव तपाईको युट्यूव च्यानल तर्फ फर्कौ, तपाईलाई यु–ट्यूवर भन्न मिल्ने हो?

हाँसो । त्यसो नभनम् होला । मैले आफ्नो भनाई राख्नको लागि सूचना प्रविधिले दिएको यो माध्यमको प्रयोग गरेको हो । मैले यसलाई मनिटाइज गरेको पनि छैन । भन्नाले, त्यसबाट एक पैसा पनि कमाउने मेरो उद्देश्य छैन । मलाई मेरो कुराहरु भन्नु थियो, सामाजिक संजालमा युट्यूवमा भिडियो राख्न सकिन्थ्यो, राखें । त्यति नै हो । त्यसैले मेरा भिडियोहरुमा मैले लाइक, शेयर गर्नुस पनि भनेको छैन । साथै, युट्यूवमा ज्यादा भनिने शब्दहरु, सब्सक्राइव गर्नुस, वेल आइकन थिच्नुस भनेर पनि भनेको छैन तर एक बर्षमा पनि एक हजार सब्सक्रइवर भएन भने भिडियो स्वत हट्छ भन्ने सुनेको छु, त्यसैले, त्यति चाँही पुगिदिए हुन्थ्यो भन्ने लाग्छ ।

दर्शकहरुबाट कस्तो रेस्पोन्स पाउनु भएको छ ?

म सन्तुष्ट नै छु । सब्सक्राइवर करिव ९०० पुग्नु भएको छ साथै धेरै हेरिएको भिडियो २३०० जनाले सम्म हेरेको अवस्था छ । त्यसो त, खरिदार, नासु तथा शाखा अधिकृत एवं अरु सेवातर्फको तैयारी गर्ने भाई वहिनीहरुलाई मेरो सामाग्री लक्षीत होइन । प्रशासन सेवाको उप सचिव र सह सचिवको तैयारी गर्ने व्यक्तिहरुलाई यो प्रयास लक्षीत हो । त्यसैले यसमा कन्टेन्ट पनि मैले सकेसम्म गुणस्तरीय दिएको छु र मेरा दर्शक पनि त्यही लेवलका छन् जस्तो लाग्छ तर शाखा अधिकृत तथा सहायक तहको परिक्षाको तैयारी गर्ने भाई वहिनीहरुले पनि फुर्सदका समयमा यि सामाग्रहरु सुन्ने गर्नु भयो भने विषयबस्तुको ज्ञान सम्बन्धी दायरा फराकिलो बन्ला । देशको सार्वजनिक प्रशासन तथा विकास व्यवस्थापनको विषयमा हासिल हुने वृहत्त ज्ञानले त्यस्ता भाइवहिनीहरुपनि लाभन्वित हुन सक्छन् भन्ने आशा राखेको छु ।

प्रतिकृयाको स्वरुप चाहिँ कस्तो हुँदो रहेछ त तथा भिडियो हेर्ने टिप्स केही छन् की?

यो मेरो पहिलो प्रयास नै हो । मैले जम्मा ३५ वटा भिडियो शेयर गरेको छु । शुरुमा भिडियोको सम्पादनमा सुझावहरु पाएको थिएँ । त्यसलाई केही सुधार गरें । केही साथिहरुले टपिक पनि राख्नुस् न भनी सुझाव दिनु भएको थियो । त्यो गरें । थम्व नेल पनि डिजाइन गरेर एक जना साथिले पठाउनु भएको थियो । त्यसको प्रयोग गर्न पाएको छैन । मुख्यतः मेरो प्रयास, मैले दिने सामाग्रीको कन्टेन्टमा छ, भिडियोको आउटलुकमा होइन । विषयबस्तुमा अलिकति पनि तैयारी नगरेको व्यक्तिलाई कतिपय विषय र शब्दावलीहरु नयाँ हुन सक्दछन् र भिडियोमा विषयबस्तु पस्कने गति छिटो भएको आभाष हुन सक्छ भने, राम्ररी तैयारी गरेका, र सानो सानो मार्जिनले असफल भएका साथिहरुलाई कतिपय विषयहरु जानेवुझेको नै भएकोले, कतिवेला नयाँ विषय सिकौंला भनी कुर्नु पर्ने अवस्था पनि हुन सक्छ । तर मेरो मान्यता के हो भने, स्कुल तथा कलेजको कक्षा कोठामा वाहेक, परिक्षाको तैयारी गर्ने सवै कक्षाहरुमा सहभागिहरुको ज्ञान तथा अनुभवको स्तर स्वतः फरक हुन्छ नै । यसैले कसैलाई विषयबस्तु आधारभूत तहको लाग्छ भने कसैलाई विल्कुलै नयाँ हुन जान्छ, र स्पीड समाउन कठीन पर्न जान्छ । यिनै पृष्ठभूमीमा, मेरो सुझाव के छ भने, एउटा हेराईमा भिडियोको विषय वुझिएन भने दुई वा तीन पटक सम्म पनि हेरौं । अझ, भिडियो हेर्नु पूर्व सम्बन्धित विषयमा आफुले पहिले वनाएको नोट छ भने, त्यसको अध्ययन गरी वा अन्य स्रोतहरुको सामान्य अध्ययन गरी यि भिडियोहरु हेरियो भने विषयवस्तु गहिराईमा पुगेर बुझ्न मद्दत पुग्नेछ ।

सम्झना लाएक राम्रो र नराम्रो प्रतिक्रिया के के छन्?

एक जना साथिले मलाई फोन गरेर तपाइलाई मैले राम्ररी चिन्न सकेको रहेनछु । तपाई पास त हुनु भयो, औशत नै होला तपाईको नलेज भन्ने लागेको थियो तर तपाइको ज्ञानको गहिराई देखेर म ज्यादै प्रभावित भए र तपाइँलाई राम्ररी चिने भन्नु भो । यस्तो प्रतिकृयाले मन रमाउँछ । नकारात्मक टिप्पणी खासै गरेनन् । केही साथिहरुले भिडियोमा सवै कुरा पक्कै भन्नु भएको छैन, केही विषय बाँकी छ होला, नोट पाउँ भन्नु भएको थियो । यसरी नोट माग्ने साथिहरुको लिष्ट लामो छ ।

यो प्रतिस्पर्धात्मक परिक्षाको तैयारीको विषयबस्तु भएकोले पनि होला, साथिहरु अरुभन्दा एक कदम अगाडि वढ्न चाहेको हुने रहेछन् र म सँग नोट तथा थप विषयवस्तुहरु माग गर्ने गर्दछन् । यो अवस्था मेरो लागि भने कठीन परिस्थिति हो । एक त आफुसँग भएको सामाग्री कुनै लाभको अपेक्षा नगरी सार्वजनिक गरेको मैले केही साथिलाई मात्रै थप सामाग्री प्रदान गर्न मेरो सार्वजनिक प्रतिवद्धताले रोक्दथ्यो अर्को, म केही साथिलाई मात्रै कोचिङ क्लास चलाउने गरी समय व्यवस्थापन गर्न सक्ने अवस्थामा थिइन ।

के तपाईको प्रशंसा गर्ने साथिले तपाईको बारेमा सही विश्लेषण नै गरे त?

यस्तो प्रश्नले मलाई धेरै गंभीर वनाउँदछ । मानिसहरुले यसलाई आत्मरति पनि भन्लान् । तर मेरो पनि व्यक्तिगत मान्यता के हो भने, मसँग जति ज्ञान छ, म त्यति व्यक्त गर्न सक्दिन भन्ने नै हो । एक त लोक सेवा आयोगको परिक्षामा उत्तर लेख्दा ज्ञानको मात्रै होइन, सिपको पनि भूमिका हुन्छ । विषयको उठान, लेखन शैली, अक्षरको आकार, कपिमा लेखिएका लिपीहरु, व्याकरण आदि कुराको थोरै भने पनि प्रभाव पर्छ नै । मेरो कमजोरी के भनेः लेखाई ढिलो, व्याकरण कमजोर र अक्षर नराम्रो । यि तीन अवगुणले म पछि परें भन्ने मेरो मनमा थियो । त्यसैले, मैले मेरा समकालिन साथिहरुलाई मेरो वुझाइ यस्तो छ भनेर पनि सार्वजनिक गर्ने निधो गरेको थिएँ । मेरो प्रयास मेरा समकालिन साथिहरुलाई एक प्रकारको चुनौति नै पनि हो तर सफलताले गर्दा नै मलाई यो चुनौति पस्कन सहज भयो । परिक्षामा असफल भएको भए मैले यस्तो भावना मनमा नै गुम्स्याएर राख्थें होला ।

तपाई त्यो नोट कुनै संगालोको रुपमा वा पुस्तकको स्वरुपमा किन प्रशासन गर्नु भएन त?

आफ्नो नोट अध्यावधि गरी आवश्यक सम्पादन गरी, कितावको रुपमा सार्वजनिक गर्नु सवैभन्दा सजिलो माध्यम हुन सक्दथ्यो । यसबाट नाम तथा दाम दुवै प्राप्त हुन सक्दथ्यो, तर मैले फरक बाटो रोजें । यसमा मलाई २ वटा कुराले रोक्यो । पहिलो, मेरो सामाग्री कुनै अनुसन्धानको निश्कर्ष थिएन । मैले प्राज्ञिक वाहेको विषयवस्तु प्रकाशन योग्य ठानिन । दोस्रो, मैले तैयारीको क्रममा जे जति पुस्तकहरु पढें र आफ्नो नोट वनाउँदै गएँ, कुन विषय कुन पुष्तकबाट साभार गरेको भनेर स्रोत टिपोट गरिन । आज मैले त्यो सामाग्री छाप्दा कसैको पुस्तकको पानाको पाना साभार हुन सक्थ्यो । नेपालमा चल्ला, तर यस्तो कार्य प्राज्ञिक क्षेत्रमा स्वीकार्य हुदैन, त्यसैले म यो गर्दिन भनेर गरिन । मेरा केही अन्य साथिहरुले पनि मेरो जस्तै बाटो अपनाएका छन्, जस्तै एक जना मित्रले आफ्नो सवै नोटको पिडिएफ भर्सन फेसवुकबाट सार्वजनिक गर्नु भएको छ । लोकसेवा आयोगको तैयारी गर्ने विषयमा व्यापारिकरण नहोस्, अध्ययन सामाग्रीको पहूँचमा व्यक्तिको आर्थिक अवस्थाले प्रभाव पार्न नसकोस्, सवैले अवसर पाउन भन्ने पनि उद्देश्य हो ।

लोक सेवा आयोगको लागि तैयार गरिने सामाग्री प्राज्ञिक विषय पनि त होइन नी?

ठीक भन्नु भो, यो न त विश्वविद्यालयको पाठ्य पुष्तकको लेखाई हो न थेसिस् । हाम्रोमा त विकीपिडियाको पेजका पेज सारेर पनि किताव निकालिएको छ । त्यता नजाउँ । मैले आफुले गर्ने र नगर्ने कुराको सीमा तय गरेको छु, मलाई स्रोत विनाको सामाग्री प्रकाशन गर्न मन लागेन । केही पैसा कमाइन्थ्यो होला, किताव लेखक पनि भइन्थ्यो होला । तर मैले त्यो बाटो रोजिन र मलाई पछुतो छैन ।

कति समयको अन्तरालमा नोट बनेको थियो तपाईको?

राम्रो प्रश्न गर्नु भो । लोक सेवा आयोगको तैयारीको विषयबस्तु नै बृहत छ । जस्तै, प्रशासनका सिद्धान्तहरु, लगायतका सैद्धान्तिक पक्ष बर्षौ बर्ष परिवर्तन हुदैन तर बार्षिक वजेट, आवधिक योजना, नीति, कानुन परिवर्तन हुन्छन् । हाम्रोमा त संविधान नै परिवर्तन भै रह्यो । ठीक त्यसै गरी, मेरो विषयबस्तु संग्रह पनि सैद्धान्तिक विषयमा मैले शाखा अधिकृत तैयारी गर्दा कै नोटबाट साभार गरेको हो । अरु विषयबस्तुहरु सालवसाली रुपमा अपडेट गरेको थिए । म सँग त्यस्तो ८–१० वटा नोटबुक छन् । कुनै विषय कतै कुनै कतै छ । त्यसैले मैले साथिहरुलाई यो हो नोट भनेर दिने विषयवस्तु नै छैन र सबै दिँदा साथिहरु नै अल्मलिने अवस्था हुन्छ । त्यसैले जुन माध्यम मैले अपनाए, त्यो विषयबस्तु वाड्नको लागि उत्कृष्ट माध्यम हो मेरो हकमा ।

तपाईको भिडियो सिरिज ३५ मा आएर राकियो नी, अव थप भिडियो आउँदैन ?

हो, मैले पछिल्लो केही महिना भिडियो वनाउन पाएको छैन । यसमा २ वटा कारणहरु रहे । पहिलो, गत चाडवाडको समयमा कोभिडको कारणले सेमी लकडाउन पनि थियो । केही समय निकाल्न सकेको थिए । हाल व्यस्तता वढेकोले समय पाएको छैन । दोस्रो उप सचिव र सह सचिवको परिक्षा कहिले हुन्छ भन्ने पनि एकीन हुन सकेन । पहिले अदालतमा मुद्दाले र पछि आयोगमा पदाधिकारीको अभावले हाल यो अनिश्चित छ । परिक्षाको तालीका आए पछि म यहाँहरुको बीचमा पुन आउने छु भनी मेरा स्रोताहरुलाई भन्न चाहन्छु ।

अबको विषयबस्तुहरु के के हुनेछन्?

विषयहरु धेरै नै बाँकी छन् । पाठ्यक्रमअनुसार नै जान त सकिदैन होला, ज्यादा सोधिएका प्रश्नहरुको सेरोफेरोबाट अगाडि बढ्नु पर्छ । मैले चाँहि, निजामती सेवा, सार्वजनिक सेवा प्रवाह, स्थानीय तहको सवालहरु, तीन तहका सरकारको समन्वय, सुशासन, प्रशासन सुधार लगायतका विषयहरुलाई अवको प्राथमिकतामा राखेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *