कोरोना संक्रमणसँगै बढ्यो मानसिक स्वास्थ्य समस्या

कोरोना संक्रमणसँगै बढ्यो मानसिक स्वास्थ्य समस्या


२२ वैशाख, काठमाडौं । होम आइसोलेसनमा रहेका काठमाडौंको चावहिल चुच्चेपाटीका विकास लामालाई आफ्नो लापरवाहीप्रति निकै ग्लानि भइरहेको छ ।

स्नातक चौथो सेमेष्टरका विद्यार्थी उनी साथीको दिदीको विवाहमा जाँदा कोरोना संक्रमित भए । विवाहमा सहभागी भएको एक हप्तामा कन्ट्रयाक्ट ट्रेसिङमा परेर स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

विकासलाई आमा र अरुले पनि यस्तो महामारीमा विवाहमा नजान भनेका थिए, तर उनी ‘केही हुँदैन’ भन्दै गए । ‘अहिले बडा पछुतो लागिरहेको छ,’ थकाइ, खोकी र शरीर दुख्ने लक्षण देखिएका उनले टेलिफोनमा भने, ‘मेरो लापरबाहीले धन्न आमालाई केही भएनछ ।’

मुटु रोगको उपचार गराइरहेकी उनकी आमा शान्तिमाया लामाको नेगेटिभ रिपोर्ट आएको छ । ‘केही हुँदैन, ‘मरे मरिन्छ, एक दिन मर्ने त हो नि,’ भन्ने अल्लारे सोचले लापरवाह बनेका विकास अहिले धेरै ग्लानि भइरहेको बताउँछन् ।

मनोचिकित्सकहरु यस्तो ग्लानि वा पछुतो बढ्दै गए मानसिक स्वास्थ्य बिग्रने बताउँछन् । उनीहरुका अनुसार सानो लापरवाहीको कारण ठूलो मानसिक तनावमा परिरहेकाहरु उल्लेख्य संख्यामा छन् ।

अहिले विकास र समिरको जस्तै लापरवाहीको कारण संक्रमण फैलने र मृत्यु संख्या पनि बढेको छ । मनोचिकित्सक नरेन्द्र ठगुन्ना आफूले कोरोना सारेको वा संक्रमण फैलाएको पुष्टि भएपछि कतिपय व्यक्तिमा गहिरो चिन्ता, ग्लानि र अपराधवोध हुने बताउँछन् ।

तीमध्येका एक हुन्, सामाखुशीका समिर पण्डित । उनीबाट कोरोना सरेको पुष्टि भएको उनकी ७३ वर्षीया हजुरआमाको गत साता मृत्यु भयो । दोस्रो लहरको जोखिम बढेसँगै ‘वर्क फ्रम होम’मा रहेका समिर साथीभाइ भेट्न निस्कने क्रममा संक्रमित भएका थिए ।

हजुरआमाको मृत्युपश्चात आत्माग्लानीको शिकार भएका उनमा अहिले पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (आघात जन्य घटनापछिको तनाव) देखिएको छ । उनी मनोचिकित्सकको नियमित परामर्शमा छन् ।

अहिले विकास र समिरको जस्तै लापरवाहीको कारण संक्रमण फैलने र मृत्यु संख्या पनि बढेको छ । मनोचिकित्सक नरेन्द्र ठगुन्ना आफूले कोरोना सारेको वा संक्रमण फैलाएको पुष्टि भएपछि कतिपय व्यक्तिमा गहिरो चिन्ता, ग्लानि र अपराधवोध हुने बताउँछन् ।

‘कोरोना महामारीको दोस्रो लहर द्रुत गतिमा फैलिएसँगै यसरी गहिरो ग्लानीवोध गर्नेको संख्या बढ्दो छ’, उनी भन्छन्, ‘योसँगै डिप्रेसन हुनेको संख्या पनि बढिरहेको छ ।’

सामान्य लापरवाहीको गम्भीर परिणाम आउँदा अपराधवोध गरेका, आफैंसँग रिसाएकाहरुलाई सान्त्वना दिने कोही भएन भने डिप्रेसन हुने डा. ठगुन्ना बताउँछन् ।

‘कोरोनाको विषयमा लापरवाह बन्दै नबनौं,’ उनी भन्छन्, ‘कथम्कदाचित कसैको लापरवाहीका कारण संक्रमित भइएछ वा कोही भएछन् भने पनि कसैलाई दोषीको रुपमा व्यवहार नगरौं ।’

महामारी बढेसँगै उपचार सुविधामा कमी भएको, मृत्यु संख्या बढेको जस्ता समाचारले उसैपनि भयभित बनाइरहेका संक्रमितहरुलाई थप कमजोर बनाउने भूल गर्न नहुने डा. ठगुन्ना बताउँछन् ।

मनोचिकित्सक सन्देश ढकाल जो कसैलाई ‘यो पटक त जोगिन सकिंदैन कि’ भन्ने लागिरहेको अहिलेको अवस्थामा संक्रमितहरुको मनोबल त्यसैपनि कमजोर रहेको बताउँछन् ।

‘गतवर्ष युवा र बालबालिकाहरुलाई केही हुँदैन भन्ने हल्ला चल्यो । नभन्दै युवा तथा बालबालिकामा कमै संक्रमण देखियो । दीर्घरोगी र वृद्घवृद्घामा ठूलो मानसिक तनाव थियो,’ डा. ढकाल भन्छन्, ‘अहिले कोरोनाले स्वरुप फेरेर बढी आक्रामक बन्दा सबै उमेर समूहमा मानसिक तनाव बढेको छ ।’

फ्रन्टलाइनमा रहेर काम गर्नेहरुलाई पनि यस पटक बढी नै त्रास छ । विशेषगरी स्वास्थ्यकर्मी र उनीहरुको परिवारमा मानसिक तनाव निकै बढेको मनोचिकित्सक करुणा कुँवर बताउँछिन् ।

‘स्वास्थ्यकर्मीहरु दिनरात संक्रमितको छेउमा बसेर उपचार गरिरहेका छन्,’ उनी भन्छिन्, ‘स्वास्थ्यकर्मीहरुलाई धमाधम संक्रमण भइरहेको समाचारले उनीहरुको परिवारलाई त्रसित बनाएको छ । उचित सेवा सुविधा र प्रोत्साहन पनि नहुँदा मानसिक तनाव बढेको छ ।’

कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाका कारण रोजगार गुमाउनेको संख्या ठूलो छ । कम्पनीहरुले कर्मचारी घटाउँदा बाँकी रहेकाको कार्यबोझ थपिएको छ । यी दुईथरीमा परेको ‘स्ट्रेस’का कारण पनि अहिले मनोचिकित्सकहरुको फोनको घन्टी बढी बज्न थालेको छ ।

जनस्वास्थको यो पक्षमा सरोकारवाला सबैले बेलैमा ध्यान दिन अत्यावश्यक भएको डा. कुँवर बताउँछिन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *