भरतमोहन अधिकारी फाउण्डेशनले ज्येष्ठ नागरिक पढाउने

भरतमोहन अधिकारी फाउण्डेशनले ज्येष्ठ नागरिक पढाउने


२२ वैशाख, काठमाडौं । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले ज्येष्ठ नागरिकका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

स्वर्गीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री एवं वरिष्ठ वामपन्थी नेता भरतमोहन अधिकारीको ८६ औं जन्म जयन्तीका अवसरमा बुधबार आयोजित भर्चुअल कार्यक्रम मार्फत शैक्षिक कार्यक्रम घोषणा गरिएको हो ।

फाउण्डेशनका तर्फबाट भरतमोहनकी पुत्री लीमा अधिकारीले ‘ज्येष्ठ नागरिकका लागि आधारभूत शैक्षिक कार्यक्रम’ घोषणा गरिन् । उनले निरक्षरताका कारण विभिन्न अवसरबाट बञ्चित ज्येष्ठ नागिरकका लागि उपयोगी हुने उद्देश्यले शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइन् ।

एक वर्षे शैक्षिक कार्यक्रम मार्फत निरक्षर ज्येष्ठ नागरिकालई सामान्य लेखपढ गर्न, हिसाब राख्न, मोबाइल फोन, इलेक्ट्रोनिक सामान र टेलिफोन प्रयोग गर्न तथा सडक संकेतबारे जानकारी लिन सक्ने बनाइने अधिकारीले बताइन् ।

पहिलो चरणमा ललितपुरको बुङ्मतीमा ज्येष्ठ नागिरकका लागि आधारभूत शैक्षिक कार्यक्रम सुरु गरिनेछ । तत्काल प्रदेश तीन र क्रमशः सातवटै प्रदेशमा ज्येष्ठ नागरिक आधारभूत शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखिएको उनले बताइन् ।

यसैगरी पहिलो चरणमा ६० वर्ष उमेर नाघेका ३० जना निरक्षर वृद्धवृद्धा छनौट गरेर कार्यक्रम सञ्चालन गरिने फाउण्डेशनले जनाएको छ । सार्वजनिक बिदाका दिनबाहेक हरेक दिन दुई घण्टाका दरले कक्षा सञ्चालन गरिने छ । कक्षामा एक को–अर्डिनेटर, नेपाली र स्थानीय भाषामा दख्खल राख्ने स्नातकोत्तर अध्ययन गरेका प्रमुख शिक्षक र प्लस टु अध्धयन गरेका सहायक शिक्षकको व्यवस्था मिलाइएको छ ।

अधिकारीले कक्षामा सहभागी हुने ज्येष्ठ नागरिकलाई शैक्षिक सामग्र्री, मोबाइल, बस, झोला र दिवा खाजाको व्यवस्था फाउण्डेशनले नै गर्ने घोषणा गरिन् । यस्तै प्रयोगात्मक सिकाइका लागि आवश्यकताअनुसार वृद्धवृद्धालाई शैक्षिक भ्रमणसमेत गराइने कार्यक्रम छ । सिकाइ मापन गर्न हरेक महिना आंशिक र १२ औं महिनामा अन्तिम परीक्षा लिइने छ । अन्तिममा प्रमाणपत्र समेत उपलब्ध गराउने फाउण्डेशनले जनाएको छ ।

कार्यक्रममा ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत संस्था एजिङ नेपालका निर्देशक प्रकाश गौतमले ज्येष्ठ नागरिकलाई राज्यले हेर्नुपर्छ भन्ने कामको पहिलो पाइला भरतमोहन अधिकारीका तर्फबाट सुरु भएको बताए ।

भरतमोहनले थालेको एक सय रुपैयाँ वृद्धभत्ता बढेर हाल तीन हजार पुगेको भन्दै उनले उक्त कामका कारण अधिकारी सदैव जीवित रहने उल्लेख गरे ।

ज्येष्ठ नागरिकलाई सशक्तीकरण गर्न अध्ययन जरुरी रहेको स्पष्ट गर्दै गौतमले विदेशमा रहेका सन्तानलाई फोन गर्न र आएको फोन फर्काउन नसक्नेको संख्या धेरै रहेको बताए । ‘आमाबाबु निरक्षर हुँदा छोराछोरीलाई पनि समस्या हुने गरेको छ’, गौतमले भने, ‘ज्येष्ठ नागरिकलाई बोझ सम्झने सामाजिक मनोविज्ञान झाँगिएकाले यस्तो कार्यक्रम प्रभावकारी हुने विश्वास हामीलाई छ ।’

कार्यक्रममा शिक्षाविद गोविन्द गजुरेलले भरतमोहन अधिकारीको नाम लिनेवित्तिकै ज्येष्ठ नागरिकको अनुहार अगाडि आउने बताए । ज्येष्ठ नागरिक, एकल महिला, सुत्केरी भत्ताजस्ता सामाजिक सुरक्षाका सवालमा भरतमोहन अधिकारीले थालेका प्रयास अहिले समाजको अभिन्न अंग भएको गजुरेलले उल्लेख गरे ।

वृद्धवृद्धाका लागि मात्र नभई महिला सशक्तिकरणमा समेत भरतमोहनको योगदान रहेको चर्चा उनले गरे । महिलाका नाममा जग्गाको रजिस्ट्रेसन पास गर्दा लाग्ने शुल्कमा छुट दिने भरतमोहनको नीतिले महिलालाई सम्पत्तिको मालिक बनाएको उनको भनाइ थियो ।

शिक्षाविद जनकराज तुलाधरले परिवर्तित सन्दर्भमा ज्येष्ठ नागरिकलाई प्रविधि प्रयोगमा जटिलता रहेकाले शिक्षाले घरमा सीमित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने विश्वास व्यक्त गरे । फाउण्डेशनकी अध्यक्ष एवं भरतमोहन अधिकारी पत्नी सविता अधिकारीले स्वर्गीय भरतमोहनमा ज्येष्ठ नागिरकप्रति ठूलो आस्था, विश्वास र सदभाव रहेको स्मरण गरिन् ।

‘आफ्नो गाऊँ आफैं बनाऔं, गाउँगाउँमा सहकारी, घरघरमा भकारी, वृद्धभत्ता, एकल महिला भत्ता जस्ता कार्यक्रमले भरतमोहन जनताका बीचमा लोकप्रिय हुनुहुन्छ’, उनले भनिन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *