प्लाज्मा बैंक : लिने धेरै, दिनेको अभाव 

प्लाज्मा बैंक : लिने धेरै, दिनेको अभाव 


२२ वैशाख, काठमाडौं । २०७७ सालको साउन तेस्रो सातातिर काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६० वर्षीय पुरुषको पहिलोपटक प्लाज्मा थेरापीबाट उपचार भयो । उनी संक्रमणमुक्त भएपछि प्लाज्माको प्रभावकारिता बारे नेपालमा पनि चासो बढ्न थाल्यो ।

साउनमा पहिलो उपचार भएपछि प्लाज्मा लिने र दिने क्रम बाक्लिन थाल्यो । त्योसँगै नेपालमा पनि विभिन्न अस्पतालमा प्लाज्मा थेरापीबाट उपचार शुरु हुनथाल्यो ।

कोरोना संक्रमण भएका व्यक्तिले दिएको प्लाज्माले अर्काे कोरोना संक्रमितलाई उपचार गराउन सकिन्छ भन्ने अवधारणाले चर्चा पाइरहेको बेलामा नेपालमा नै प्लाज्मा बैंकको अवधारणा विकास भयो ।

कोरोना कालभन्दा अघिसम्म ‘रगत चाहियो’ भन्ने हटलाइन सञ्चालन गरेको संस्थालाई लायन्स क्लब र रोट्र्याट क्लबले सहयोग गरे । त्यहींबाट भदौको पहिलो साता शुरू भयो ‘प्लाज्मा बैंक’को अवधारणा ।

अहिले फेसबुकमा प्लाज्मा बैंकको पेज तयार पारेर त्यसैको आधारमा प्लाज्मा लिने र दिनेबीच सम्पर्क गराउने काम चलिरहेको छ । यो एक गैरनाफामूलक अभियान हो । लाइफ बैंक, लायन्स क्लब, रोट्र्याट क्लब र हामी नेपाल भन्ने चारवटा संस्थाको संयुक्त प्रयासबाट प्लाज्मा बैंकको अवधारणा अगाडि बढेको लाइफ बैंककी प्रोजेक्ट म्यानेजर सृष्टि पियाले जानकारी दिइन् ।

उनीहरूको अभियान शुरू भएको भदौ महिनातिर हो । त्यतिबेला मान्छेमा प्लाज्माको बारेमा चासो बढिरहेको थियो । यो कत्तिको प्रभावकारी छ भन्नेमा चासो थियो । यही बेलामा उनीहरूले सञ्चालन गरेको यो अभियानमार्फत प्लाज्माको खोज्नेहरूको संख्या आकाशियो ।

प्लाज्मा बैंककी प्रोजेक्ट म्यानेजर सृष्टि पिया भन्छिन्– डोनर र रिक्वेस्टको हिस्सा हेर्दा १ बराबर १० को अवस्था छ । अर्थात् एक जना दाता बराबर १० जनाको माग आउने गरेको छ । हामीसँग कोरोना संक्रमितको यकिन तथ्यांक नहुँदा र लकडाउनका कारण पनि प्लाज्मादाता भेट्न मुस्किल भइरहेको छ ।

तर कोरोना संक्रमितसँग सम्पर्क नभएको र उनीहरू संक्रमणमुक्त भएको समयबारे थाहा पाउने यकिन मेकानिजम नभएका कारण दाताहरू पाउनै मुश्किल परेको बैंककी प्रोजेक्ट म्यानेजर सृष्टि पिया बताउँछिन् ।

पहिलो भेरियन्टको कोरोनाभाइरसको समयमा उनीहरूले ‘ब्लड बैंक’को अवधारणालाई अघि बढाउन सञ्चालन गरेका विभिन्न हटलाइन नम्बरलाई एउटैमा जोडेर सबैलाई प्लाज्मा बैंकको अवधारणामा केन्द्रित गराए ।

अक्टोबर महिनामा बैंकमा सबैभन्दा धेरै २३४ जनाले प्लाज्मा माग गरेर आवेदन भरे । सबैलाई माग पूरा गर्न सकिएन । जति सकियो त्यति व्यवस्थापन भयो । त्यसपछि विस्तारै कोरोनाका संक्रमितको संख्या कम हुँदै गयो । त्यसले गर्दा प्लाज्मा माग्नेको संख्यामा पनि कमी आयो ।

जनवरी महिनासम्म खासै माग आएन । त्यसपछि विस्तारै यसको माग बढ्दै गयो । अप्रिलको अन्तिमसम्म दैनिक तीन–चार वटासम्म आवेदन प्लाज्माको माग गर्दै आउने गरेको थियो ।

तर पछिल्लो समय २०–२५ वटासम्म प्लाज्माको माग आउने गरेको पिया बताउँछिन् । उनका अनुसार यो महिना शुरु भएको पहिलो तीन दिनमा मात्रै ४७ वटा प्लाज्माको माग आएको छ । तर यसमा प्लाज्मा दाताको संख्या भने अत्यन्त कम छ ।

‘डोनर र रिक्वेस्टको हिस्सा हेर्दा १ बराबर १० को अवस्था छ । अर्थात् एक जना दाता बराबर १० जनाको माग आउने गरेको छ,’ सृष्टि भन्छिन्, ‘हामीसँग कोरोना संक्रमितको यकिन तथ्यांक नहुँदा र कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनका कारण पनि प्लाज्मादाता भेट्न मुस्किल भइरहेको छ ।’

सृष्टि पहिलो चरणमा भन्दा दोस्रो भेरियन्टको कोरोना महामारीमा प्लाज्माको माग बढी भएको बताउँछिन् । गत फेब्रुअरीमा जम्मा दुई वटा प्लाज्माको माग भएको थियो ।

अप्रिलपछि अन्य अस्पतालमा समेत स्टक सकिएपछि अहिले प्लाज्मा बैंकमा यसको माग आकाशिएको उनी बताउँछिन् । अहिलेसम्म यो अभियानअन्तर्गत प्लाज्माको लागि ५३३ वटा आवेदन आएको थियो । त्यसमध्ये अहिलेसम्म १५० जनालाई मात्रै प्लाज्मा व्यवस्था गर्न सकेको सृष्टि जानकारी दिन्छिन् ।

कत्तिको प्रभावकारी छ प्लाज्मा ?

सृष्टि अहिले पनि प्लाज्माको प्रभावकारिताको बारेमा क्लिनिकल ट्रायल भइरहेको बताउँछिन् । तर यससम्बन्धी जानकारहरूको भनाइ भने फरक छ ।

भाइरोलोजिस्ट डा. सुदीप खड्काका अनुसार प्लाज्मा थेरापीको क्लिनिकल ट्रायल अमेरिकाको मेयो क्लिनिकमा गरिएको थियो । सो परीक्षणले उचित मात्राको गुणस्तरीय एन्टिबडी भएको प्लाज्मामा निश्चित मात्रा पुर्‍याएर प्रयोग गरेको खण्डमा संक्रमणको शुरुआती चरणमा जोखिम समूहमा रहेका व्यक्तिलाई उपचार गर्न सकिने निक्र्योल निकालेको थियो ।

अझ नियामक संस्था एफडीएले प्लाज्मा थेरापी प्रयोग गर्दा क्लिनिकल ट्रायलकै रूपमा पूर्ण रेकर्ड राखेर, उचित रूपमा एन्टिबडीको अध्ययन गर्दै, सकिन्छ भने एकरूपता ल्याउन पुलिङ गरेर अनि उचित केसमा मात्रै प्रयोग गर्ने भनेको छ ।

अहिलेको जस्तो उपचारकै लागि प्लाज्मा निकाल्दै संक्रमितलाई दिंदै गर्ने अभ्यास कुनै पनि रूपमा वैज्ञानिक छैन ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *