लक्ष्मणपुर आइसोलेशनबाट संक्रमितले गरे सहयोगको याचना


बाँके, ११ बैशाख ।

नरैनापुर गाउँपालिकाका जनप्रतिनिधि सहित आठ जनामा कोरोना संक्रमण भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीका अनुसार वडा नं. ३ का वडा अध्यक्ष, महिला वडा सदस्य सहित आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरस विरुद्धको दोस्रो डोज लगाएका दुई र एक डोज लगाएका दुई जनामा पनि कोरोना संक्रमण भएको प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए । उनले गाउँपालिका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रलाई पनि कोरोना संक्रमण भएको बताए । सवै संक्रमितलाई लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
यता, विपद ब्यवस्थापन समिति नरैनापुरका पूर्व संयोजक मिश्रसमेत रहेका सूचना अधिकारी मिश्रले गाउँपालिकामा संचालित १७ वटा क्वारेन्टाइनको ब्यवस्थापनमा रात दिन खटिदासमेत कोरोना संक्रमणबाट जोगिए पनि दोस्रो लहरको कोरोनाबाट जोगिन नसकेको जनाएका छन् ।
उनी फेसबुकमा लेख्छन्, ‘कोरोनाको हटस्पट बनेको नरैनापुरको क्वारेन्टाइन ब्यवस्थापनमा रात दिन खटिदा समेत सुरक्षित भएँ । क्वारेन्टाइनमा रहेका एक हजार एक सय ६३ जनाको ब्यवस्थापन गर्ने क्रममा विभिन्न बाधा अवरोधको सामना गर्दै मेरो नेतृत्वमा गाउँपालिकाको पदाधिकारी, स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक तथा सुरक्षाकर्मी, पत्रकार सबैको साझा सहयोगमा हटस्पट बनेका नरैनापुरबाट कोरोना नियन्त्रण गर्न सफल भयौँ । र, एक सय १८ जना संक्रमित हुँदा पनि हामी संक्रमणबाट बचेका थियौँ । यसपाली मैले कोरोना संक्रमणको दोस्रो चरणको खोप लगाए पनि संक्रमित हुनबाट बच्न सकेन ।’
मिश्रले सहयोगको याचना समेत गरेका छन् । भन्छन्, ‘सबै जनप्रतिनिधि, कर्मचारी शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायत सम्पूर्ण जनमानसले आ–आफ्नो तर्फबाट सहयोग गरि नरैनापुर गाउँपालिकालाई कोरोना मुक्त गाउँपालिका बनाउन म आह्वान गर्दछु ।’
उनले संक्रमितको उचित व्यवस्थापन गरि उपचारमा सहयोग गर्न सरोकारवाला निकायलाई बेलैमा ध्यान दिन आग्रह समेत गरेका छन् । ‘अहिलेको अवस्थामा भौतिक विकास भन्दा जीवन रक्षा महत्वपूर्ण हो । गाउँपालिकाले दैनिक सेवालाई केहि दिन स्थगित गरि विपद व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखी म र नरैनापुर गाउँपालिकाबासीको जीवनरक्षा गर्ने कार्यमा गाउँपालिकाले अहम भूमिका निर्वाह गर्नु हुनेछ भन्ने आशा गरेको छु,’ उनी अगाडी लेख्छन्, ‘कोरोनालाई जिते पश्चात् पुनःविपदको कार्यमा खटिने प्रतिवद्धता सहित आइसोलेशनको बसाईका क्रममा समेत २४ सै घण्टा फोन र म्यासेजको माध्यमबाट सहयोग गर्ने प्रतिवद्धता जनाउँदछु ।’



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *