नारायणी अस्पताल : न अक्सिजन प्लान्ट छ, न पाइपलाइन

नारायणी अस्पताल : न अक्सिजन प्लान्ट छ, न पाइपलाइन


१९ वैशाख, वीरगञ्ज । नारायणी अस्पतालको आईसीयू वार्डमा संक्रमितलाई हाईफ्लो अक्सिजन चल्छ । एक जना कोरोनाका बिरामी छटपटाइरहेका थिए । किनकि त्यतिखेर उनको अक्सिजन सिलिण्डर खाली भइसकेको रहेछ । खटिएका स्वास्थ्यकर्मीले हतार–हतार गरेर अर्को सिलिण्डर जोडे । बिरामीलाई राहत भयो ।

‘समयमै देख्यौं, त्यतिखेर बिरामीलाई बचाउन सफल भयौं,’ उपचारमा संलग्न चिकित्सकले भने, ‘तर भोलिपल्ट त उहाँ बित्नुभएछ ।’

वैशाख १६ गते बिहानको यो घटना नारायणी अस्पतालका लागि नौलो होइन । नयाँ भेरियन्टको कोरोना संक्रमितको शरीरमा अक्सिजनको कमी हुने समस्या देखिएको छ । तर ‘टर्सरी अस्पताल’ घोषित नारायणीमा अक्सिजन प्लान्ट त परको कुरा, अक्सिजन सर्किट समेत छैन ।

अक्सिजन सिलिण्डरबाट रेगुलेटरको सहायताले संक्रमितलाई अक्सिजन दिनुपर्छ । सकिएपछि खाली सिलिण्डर निकालेर अक्सिजन भएको सिलिण्डर जडान गर्नुपर्छ । दोस्रो भेरियन्टका संक्रमितलाई हाईफ्लो अक्सिजन लागिरहेको छ । ठूलो सिलिण्डर अक्सिजन ४/५ घण्टाका लागि त पुग्ने अस्पतालको भनाइ छ ।

अस्पतालका डा. उदयनारायण सिंह मृत्युदर बढी हुनुको एउटा कारण बिरामीलाई निरन्तर अक्सिजन दिन नसक्नु पनि भएको बताउँछन् । ‘अक्सिजन टुटाउनै नहुने संक्रमित छन् । कुनबेला अक्सिजन सकिन्छ ठेगान हुँदैन । तर सिलिण्डर फेर्नका लागि मात्रै भएपनि अक्सिजन नटुटाई हुँदैन,’ उनले भने, ‘पाँच मिनेट अक्सिजन नपाउँदा बिरामीलाई गाह्रो हुन्छ, तर एउटा सिलिण्डर फेर्न कम्तीमा १५/२० मिनेट लाग्छ, संक्रमितको मृत्यु बढी हुनुको कारण यो पनि एउटा हो ।’

आइसोलेसन वार्डभित्र मान्छे पठाएर अक्सिजन सिलिण्डर फेर्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने उनको भनाइ छ । ‘प्लान्ट लगाउन समय लाग्ला, तर सेन्ट्रल अक्सिजन सप्लाईका लागि दुई दिनमा पाइप जडान गर्न सकिन्छ,’  डा. सिंहले भने, ‘धेरै खर्च पनि नलाग्ने भएकाले अस्पताल व्यवस्थापनले यसमा ध्यान दिनुपर्छ ।’

गम्भीर प्रकृतिका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । नारायणीमा गम्भीर प्रकृतिका संक्रमितलाई मात्रै भर्ना लिने गरिएको छ । त्यसका लागि एचडीयू, आईसीयूसहित एक सय बेड छुट्याइएको छ ।

आइतबार अस्पतालमा उपचाररत ६२ जना संक्रमित ५ जना सिप्याप, ३ जना हाईफ्लो अक्सिजन मेसिनमा र २ जना भेन्टिलेटरमा छन् । बाँकी पनि हाईफ्लो अक्सिजनमा छन् ।

अस्पतालमा दैनिक २ सय सिलिण्डर अक्सिजन खपत भइरहेको छ । दैनिक ५० वटाका दरले ४ पटक खाली सिलिण्डर अक्सिजन भर्न पठाउनु परिरहेको अस्पतालले जनाएको छ । अस्पतालमा ११० वटा अक्सिजन सिलिण्डर छन् । अक्सिजन ‘स्याचुरेसन’ ४०–५० प्रतिशत हुने संक्रमितको संख्या बढी छ । जबकि सामान्य अवस्थामा मानिसको अक्सिजन स्याचुरेसन ९० प्रतिशतभन्दा माथि हुनुपर्ने चिकित्सकहरु बताउँछन् ।

अस्पतालका सूचना अधिकारी डा. सरोज सिंहका अनुसार सेन्ट्रल लेभलको अस्पताल भएर पनि नारायणीमा अक्सिजन पाइपलाइनसमेत नहुनु दुर्भाग्यपूर्ण भएको बताउँछन् ।

‘प्लान्ट लगाउन समय लाग्छ, तर अहिले कम्तीमा पाइपलाइन मात्रै हुन्थ्यो भनेपनि अक्सिजन सिलिण्डर ओसार्नु पर्दैनथ्यो,’ उनले भने, ‘सिलिण्डर ओसार्न छुट्टै मान्छे खटाउनु परेको छ । संक्रमित भएकै ठाउँमा गएर सिलिण्डर ल्याउने लाने गर्दा संक्रमणको जोखिम पनि छ ।’

अक्सिजन आवश्यक पर्ने संक्रमित बढेको खण्डमा सिलिण्डरको समेत अभाव हुने देखिएको छ । अक्सिजन सिलिण्डरका लागि महानगरपालिका र वीरगञ्ज उद्योग वाणिज्य संघले सहयोग गर्ने आश्वासन दिएको अस्पतालले जनाएको छ ।

अक्सिजन प्लान्ट जडानमा किन ढिलासुस्ती ?

गत वर्षको कोरोना महामारीमा नै नारायणी अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने चर्चा चलेको थियो । त्यसका लागि पर्सा क्षेत्र नम्बर २ का सांसद विमल श्रीवास्तवले संसदीय कोषबाट २ करोड रुपैयाँ विनियोजन गरेका थिए ।

वीरगञ्ज महानगरपालिकाले १ करोड ४७ लाख ९२ हजार रुपैयाँमा ठेक्का लगाइसकेको छ । त्यसको ठेक्का वयोधा मेडिकल टेक्नोलोजी प्रालि ललितपुरले हात पारेको छ । सम्झौता अनुसार कम्पनीले असार २० गतेसम्म प्लान्ट ल्याउनुपर्ने हुन्छ ।

चीनबाट ल्याउने प्लान्टको अर्डर भइसकेकोले ल्याउन मात्रै समय लाग्ने वीरगञ्ज महानगरपालिकाका इन्जिनियर राकेश साहले बताए । उनले प्लान्ट ल्याइसकेपछि जडान गर्न खासै समय नलाग्ने बताए । प्लान्ट ल्याउने मात्रै जिम्मा कम्पनीले पाएकाले अन्य आवश्यक सहयोग महानगरपालिकाले गर्ने नगर प्रमुख विजयकुमार सरावगीको भनाइ छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *