‘७० वर्ष संघर्ष गरेका कम्युनिस्टहरू कमाउनिस्ट भए’

‘७० वर्ष संघर्ष गरेका कम्युनिस्टहरू कमाउनिस्ट भए’


६ मंसिर, काठमाडौं । आदरणीय पाठकहरु ! आज हामी ७२ वर्षका यस्ता व्यक्तित्वसँग यहाँहरुलाई साक्षात्कार गराउँदैछौं, जो आफ्नो जीवनकालमा अलिकति कम्युनिष्ट कार्यकर्ता, आधाउधि पत्रकार अनि अलि बढी जनवादी कविका रुपमा परिचित छन् । कम्युनिस्ट दर्शनबाट प्रभावित भएको मान्छे कसरी लोभलालचमा नफसी सादा जीवन बाँच्छ भन्ने दृष्टान्तका उनी ‘भ्यु टावर’ हुन् ।

उनी हुन्– काभ्रे, बनेपाका मोहन दुवाल ।

‘बनेपा, जनमत पत्रिका र मोहन दुवाल’ लाई छुट्टाछुट्टै राखेर हेर्न सकिँदैन । ७२ वर्षीय दुवाल बनेपामै रहेर चार दशकदेखि ‘जनमत’ साहित्यिक मासिक प्रकाशन गरिरहेका छन् । अहिले जनमतको २ सय ७७ पूर्णाङ्क प्रकाशन भइरहेको छ । लकडाउनका बेला पनि उनले प्रत्येक महिना पत्रिका निकाले ।

सक्रिय कवि र साहित्यिक पत्रकारको परिचय बनाएका उनी साहित्यिक पत्रकार संघको महासचिव छन् अहिले । यसबाहेक काभ्रे जिल्लाका क्याम्पस, स्कुल तथा सामाजिक संघ–संस्थाका विभिन्न पदमा छन् । उनका नाममा सात थान नेपाली कविता, दुई नेवारी काव्य, तीन मुक्तक र २९ थान सम्पादन कृति प्रकाशित छन् ।

जीवनको सुरुवाती चरणमा राजनीतिमासमेत सक्रिय रहेका उनले दुई दशक शिक्षणमा बिताए । पछिल्लो तीन दशक भने साहित्यिक पत्रकारिता नै उनको मूल अभिष्ट बनेको छ ।

साहित्यिक पत्रिका प्रकाशन–सम्पादन गरेर कहिल्यै नथाक्ने दुवालसँग वाम राजनीति र उनको भोगाइका विषयमा केन्द्रित रहेर बनेपा जनमत–चोकमा गरिएको कुराकानी :

विगत ५० वर्षदेखि साहित्यिक पत्रिका प्रकाशन र त्यसकै सम्पादनमा लागिरहन तपाईंलाई केले डोर्याएको छ ?

साहित्यिक पत्रिका प्रकाशन गर्दा आफू पनि प्रचारित हुँदै जाने र आफूजस्तै अन्य लेखकको सृजनासमेत प्रचार गर्न पाइने रहेछ । मेरो मनसँग टाँसिएको यही जाँगरले डोर्याएर म यो क्षेत्रमा छु । यसलाई आत्मबल पनि भन्न सकिएला !

एकपटक प्रेसको ऋण तिर्न श्रीमतीको दुई तोला सुन बेचेको छु । जनमत निकाल्न भएको खर्च त हो भनेर उति दुःख मानिनँ

सुरुमा साहित्यिक पत्रिका प्रकाशन गर्ने प्रेरणा के थियो ?

२०२३ सालमा ‘फसमफू लप्टे’ (हावाले उडाएको पात) भन्ने हातेपत्रिका बनेपाबाट निकालेको थिएँ । भर्खरै एसएलसी सकेर बसेको बेला, मलाई हातेपत्रिका निकाल्ने सोच आयो । त्यतिबेला जीवनको मार्ग नै यही काम बन्ला भनेर सोचेको थिइनँ । अब भने यही काममा असीम उत्साह र विश्वास जागृत भइसकेको छ ।

म बनेपामा छँदै ‘शारदा’का पुराना अंक खोजेर पढ्ने गर्थें । ‘रुपरेखा’ र ‘रचना’को  त निकै फ्यान थिएँ । न्युरोड पीपलबोट पुगेको बेला रचना र रुपरेखा पाएजति सबै अङ्क किन्थें । त्यहाँ छापिएका क्लिष्ट कविता मलाई मन पर्थ्यो । त्यतिबेलै पारिजात, द्वारिका श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, भूपी शेरचन, मोहन कोइराला ठम्याएर पढें । त्यतिबेलाका अरु साहित्यिक पत्रिका पनि सबै संकलन गरेको थिएँ ।

साहित्यिक पत्रिका पढ्दै जाँदा मलाई के लाग्यो भने, मेरो ठाउँबाट पनि यस्तै पत्रिका प्रकाशन गर्न पाए बनेपाको मात्र होइन जिल्लाकै उन्नति हुने थियो । मैले गरेको कामले सबैको हित हुने, साहित्यको पनि श्रीवृद्धि हुने ! यही सोचले पहिले हातेपत्रिका निकालें र त्यसपछि २०२७ ‘विगुल’ प्रकाशन थालें ।

‘विगुल’लाई त प्रशासनले हदैसम्म दमन गर्यो नि हैन ?

२०२८ को एक दिन विगुल काठमाडौंको प्रेसमा छापिँदै थियो । त्यस अंकमा विषेशतः शक्ति लम्सालको लेख र राल्फाली गीतहरू थिए । त्यहीबेला अञ्चलाधीश कार्यालयको टोली आएर छापिँदा छापिँदैको विगुल सबै जफत गरिदियो । जफतमात्र होइन, लगेर सबै जलाइयो । मैले एक प्रति पनि लुकाउन पाइनँ । अहिलेसम्म थकथक लागिरहन्छ ।

यसरी बिगुलको असामयिक अवशान भयो । पछि मैले ‘वेदना’ निकालें, ‘उत्साह’ सम्पादन गरें । अनि २०३९ मा विचारप्रधान ‘जनमत’ पाक्षिक र पछि जनमत साहित्यिक मासिक सुरु गरें ।

त्यो त प्रशासनले दिएको दुःख भयो । साहित्यिक पत्रिका प्रकाशन गर्दाका व्यक्तिगत दुःख पनि होलान् नि !

दुःख केलाई भन्ने एउटा कुरा होला ! तर, एकपटक प्रेसको ऋण तिर्न श्रीमतीको दुई तोला सुन बेचेको छु । जनमत निकाल्न भएको खर्च त हो भनेर उति दुःख मानिनँ ।

मेरो जागिर नहुँदा श्रीमतीको कमाइमा भर पर्नुपर्यो । दिनहुँ साहित्यिक गतिविधि, कार्यक्रम र पत्रिकाको काममा हिँड्दा थाहै नपाई धेरै पैसा खर्च भइसक्ने रहेछ । सामान्य पारिवारिक उल्झन त छँदैछ । अहिलेसम्म जीवनमा घर बनाएको छैन । पुर्ख्याैली घरमै बसिरहेको छु । २०७२ को भूकम्पमा विस्थापन हुनुपर्दा पनि अरु नेपालीकै दुःख समान मेरो पनि छ भन्ने सम्झेर दिन काटें ।

‘जनमत’ प्रकाशन गर्न काभ्रे जिल्लाको साथ बढी पाउनुभएको छ कि जिल्लाबाहिरको धेरै छ ?

सुरुवाती दिनमा जिल्लाबासी र जन्मभूमि बनेपाको धेरै साथ पाएँ । अहिले भने जिल्ला बाहिरका साहित्यप्रेमीको साथ पाएको छु । दार्जीलिङ, सिक्किमसम्म जनमत सहजै पुगेको छ । ‘जनमत कविता खण्ड’ १ र २ मा जिल्ला बाहिरका साथीहरूलाई सम्पादकमा राखें ।

बनेपाबाटै जनमतको २९ वटा जिल्लाको साहित्यिक विशेषांक प्रकाशन गरें । ती जिल्लाभित्रको साहित्यिक अवस्था, सृजना र समीक्षा प्रकाशन गरें । राष्ट्रिय ख्याति आर्जन गरेका देवकोटा, भानुभक्त, मोहनविक्रम सिंह, रमेश विकल लगायत ७७ जनाको व्यक्ति–विशेषांक पनि प्रकाशन गरेको छु ।

जीवनमा एकसमय बामपन्थी राजनीतिमा जीउज्यान दिएर लाग्नुभयो । तर, फेरि सधैंका लागि चटक्क छोड्नुभयो नि ?

मार्क्सवादी विचारसँग नजिक भएर राजनीति गरेको हुँ । त्यसैको आलोकमा साहित्य सृजना गर्ने, अन्यायविरुद्ध उभिने संकल्प गरेको हुँ । शिक्षण गर्दै थिएँ, साथीहरू र बनेपाबासीको जोडबलमा २०४९ को स्थानीय निर्वाचनमा संयुक्त जनमोर्चाबाट बनेपाको मेयरमा उठें । संयोग कस्तो भने, आफैं विद्यालय पढ्दाका प्रधानाध्यापक रामभक्त श्रेष्ठसँग चुनाव लड्नुपर्यो । गुरुले जित्नुभयो, मैले हारें !

यसपछि मैले भर्खरै स्थायी भएको माध्यमिक शिक्षकको जागिर पनि छाडें । तीव्र विवाद, खिचातानीको राजनीतिभन्दा पर साहित्यकै संसारमा समर्पित भएँ । अन्य केही लाभको गतिविधिमा लागिनँ ।

भनेपछि, अहिलेको राजनीतिसँग तपाईं सहमत हुनुहुन्न ?

अहिले कुनै पनि नेतालाई यो राम्रो छ भन्न सकिने अवस्था छैन । तपाईं कुनै एक ‘फिगर’लाई राम्रो भन्न सक्नुहुन्न्न । जो नेतृत्व गर्छ, ऊसँग चरित्र नै छैन । ७० वर्ष संघर्ष गरेका कम्युनिष्टहरू ‘कमाउनिष्ट’ भए ।

मेरो जीवनकालमा देखेको राजनीतिमध्ये सबैभन्दा खराब राजनीतिको युग अहिलेकै हो । कांग्रेसले डेमोक्रेसीको रक्षा गर्न सिकाएको हो नि । शेरबहादुर फालेर रामचन्द्र ल्याउने कर्म त सकिएको होइन ! कम्युनिष्टले जनवादको बाटो सिकाएको हो, जग्गा हडप्ने, भ्रष्टाचार गर्ने सिकाएको होइन ।

राजनीतिमात्र होइन, सामाजिक एकता र सद्भाव पनि उँधो लागेको हो ?

होइन, यो सबै राजनीतिले बिगारेको हो । हाम्रो सामाजिक सद्भाव जीवित भएर नै आजसम्म हाम्रो अस्तित्व रहेको हो । तर, जसले राजनीतिको हाँगो टेकेको छैन, ऊ त यो समाजमा उभिन नसक्ने भयो । उसको स्वर नसुनिने भयो । यो दलहरू मूल नेतृत्वले जानाजानी गरेको हो ।

डाक्टरलाई स्वास्थ्य सेवा गर्न दिने कि झोला बोकाउने ? संघ, संगठन र कार्यकर्ताको नियुक्तिले सम्पूर्ण राज्य ढाक्ने ?  हो, वर्गीय हकहितका लागि राजनीति हुनुपर्छ । तर, यति कुरुप अभ्यास हुनुभएन ।

तपाईले शिक्षण पेसा छाड्नुको कारण पनि त्यही थियो ?

शिक्षक हुँदा शिक्षक संघमा पनि थिएँ । पार्टीको राजनीति पनि गरें । तर, जागिर बीचमै छाड्नुपर्दा पेन्सन वा अन्य सुविधा पाएको छैन । केही पाएको छैन भनेर गुनासो गर्दिनँ । जागिरमा लागेर केही पाइनँ, राजनीतिमा केही पाइनँ, साहित्यमा पनि भनेको पाइनँ भन्दिनँ । यात्राको संघर्षमै आनन्द लिने बानी परिसकेको छ ।  धर्ममा त विश्वास गर्दिनँ । सबै मठ–मन्दिर जान्छु, तर कुनैमा पनि भित्र पसेर ढोगेको छैन ।

आफ्नै कर्म र बलबुँतामा विश्वास गर्ने स्वभावले धर्म मान्दिनँ भन्नुभएको हो ?

मलाई ईश्वर पनि आफैंसँग हुन्छ भन्ने विश्वास छ । मनमा खराब विचार आयो भने त्यो ईश्वरीय गुण होइन । राम्रो काम गर्ने चाहना राख्नु र त्यही मार्गमा हिँड्नु धर्मको बाटो हो । आत्मअनुशासनमा रहनु पनि यही मार्ग हो । मेरो ‘चण्डेश्वरी’ भन्ने कवितामा पनि यिनै कुरा प्रवाहित छ । त्यहाँ मैले भनेको छु– ‘सत् निष्ठाका बिम्ब–प्रतिबिम्ब हुन् चण्डेश्वरीहरू !’

आजसम्म बनेपा छाडेर अन्त जानुभएको छैन । बनेपासँग यति धेरै मोह किन  ?

मानिस बाध्यता र परिस्थितिले एक ठाउँबाट अर्को ठाउँ जान्छन् । तर, म ७२ वर्षदेखि यही माटोमा टेकिरहेको छु । यही माटोबाट सन्देश दिइरहेको छु । कवि देवी नेपालले अघिल्लो साता मेरो साहित्यलाई अविच्छिन्न चलिरहने आन्दोलनको संज्ञा दिए । मैले कवितामा ‘मेरो बनेपा’ भनेर श्रृंखला नै लेखेको छु । यसमा भनेको छु– म बनेपाको कर्तुतको विरोध गर्छु, बनेपाको सुन्दर कामको सम्मान गर्छु ।

आज मैले बनेपाबाट सकेको सरसहयोग पाएको छु, मैले पनि गरेको छु ।  यसैले प्रगतिका नाममा म बनेपा छाडेर जान सक्दिनँ ।

बनेपामा तपाई र तुलसीमेहरको प्रशंग जोडिन्छ, यसबारे बताइदिनु न…

मेरा पिताजी गणेशबहादुर दुवाल गान्धीवादी थिए । तुलसीमेहर श्रेष्ठ र पिताजी साथी भएकाले बनेपास्थित हाम्रो घरमा आइरहन्थे श्रेष्ठ । एकपटक बनेपा आउँदा तुलसीमेहरले केही भारतीय व्यक्तिहरूलाई पनि सँगै ल्याएका थिए । उनले मलाई धुलिखेल जाउँ भने । तर, भरखरै कम्युनिष्ट विचारका किताब पढ्दै गरेको मलाई भारतीय दलालको आरोप लाग्ला भन्ने डरले जान्नँ भनेँ । तर, धेरैपछि एउटा लेख नै लेखें, तुलसीमेहरका विषयमा । त्यो लेख प्रायश्चित गरिएको भने पनि हुन्छ । त्यस लेखमा मैले तुलसीमेहरको व्यक्तित्व र विचारलाई चिन्न सकिनँ भन्ने लेखेको छु ।

तपाईं प्रगतिशील साहित्यकारका रुपमा बढी चिनिनुहुन्छ । पछिल्लो दशकमा उठेको पहिचानको मुद्दालाई चाहिँ कसरी हेर्नुहुन्छ ?

मैले धेरैपटक पहिचानसँग जोडेर गरिने संघीयतामा विश्वास गर्दिनँ भनेको छु । अहिले त झन् जुनसुकै स्वरुपमा गरिने संघीय प्रणालीमा पनि विश्वास राख्दिनँ । यहाँ संघीयता र जातीयताको नाम केवल भोट पाउन नेताहरूले गरेको लामो अभ्यास हो । आज म बनेपामै बसे पनि देशकै लागि चिन्तन गर्छु । कुनै जाति, क्षेत्र, भाषा र कुनै स्थान विशेषको चिन्तन गर्नु मेरा कल्पना बाहिरको कुरा हो । म कुनै पनि आधारमा मानिसको भेद गर्दिनँ ।

तर, तपाईंले नेवाः समुदायको साथ त निरन्तर पाउनुभएको छ नि ?

म एक नेवार (नेपाल) मातृभाषी हुँ । नेवार भाषा उन्नति होस्, यो जाति बचोस्, ज्ञानमा अगाडि होस् भन्ने कामना गर्छु । यसको अर्थ साम्प्रदायिक होइन । जन्मले पाएको कुरामात्र हो । अहिले ‘मेरो नेपाल भाषामा माया–मोह’ भन्ने लेख लेख्दैछु । त्यसमा सबै कुरा विस्तारमा आउँछ ।

मैले एसएलसीमा पनि नेपाल भाषा लिएँ, आइएमा पनि त्यही पढें । जीवनको पहिलो पत्रिका नेपाल भाषामै निकालें । काभ्रेमा पहिलोपटक नेवारी भाषामा कवितासंग्रह निकालें । स्कुलमा नेपालीबाहेक अन्त मैले नेपाली पढेको छैन । नेपाली त सिक्दै जानेको हुँ  । जनकप्रसाद हुमागाईं, कृष्णप्रसाद पराजुलीसँग मिलेर काम गरें । त्यही संगतले नेपाली सिकें । आज मेरो साहित्यको मूल भाषा नेपाली बनेको छ ।

आफ्नो साहित्यिक जीवनमा एक हजारभन्दा बढी कविता धेरै लेख्नुभयो ? कविताको शक्तिले तपाईं प्रभावित हुनुभएको हो ?

पहिला म कविताको जटिल शैलीमा विश्वास गर्थें । ०२२ सालमा भएको युवा कवि गोष्ठीमा तेस्रो हुँदा निर्णायकमा वासु शशी र भवानी घिमिरे थिए । पुलिस क्लबमा भएको त्यो कार्यक्रममा म पुग्नेबित्तिकै एउटा चिठी थमाइयो । विद्रोही कविताका कारण अन्य कविहरूलाई झैं मलाई पनि पक्रन सक्छन् भनेर आयोजकले चिठी दिए भनेर म डराएँ । तर, होइन रहेछ । त्यसमा त म तेस्रो भएको जानकारी गराइएको थियो ।

अन्ततः त्यही पुरस्कारको पैसाले २०२३ मा ‘चु लिजाः गू स्वाँ’ कवितासंग्रह प्रकाशन गरें । तर, समयक्रममा मलाई सरल र जनवादी कविता ठीक लाग्यो । कविता आफ्नो शैलीमात्र प्रदर्शन गर्ने माध्यम होइन रहेछ । शिल्प र शब्दजालमात्र कविताको शक्ति होइन रहेछ । त्यसपछि मैले कवितामा समसामयिक विषय र न्यायको पक्षमा आवाज उठाउन थालें । अन्यायका विरुद्ध कविता एक्लो उभिन सक्नेरहेछ भन्ने बुझें । अनि जनताको कविता, जनताको निम्ति, जनताकै भाषामा लेख्न मन पराएँ ।

साहित्यमा सक्रिय हुन चाहने नयाँ पुस्तालाई के भन्नुहुन्छ ?

आजको पुस्ता प्रविधिमा अगाडि छ । प्रविधि र युगको मागलाई तादात्म्य मिलाएर नयाँ पुस्ता अगाडि बढोस् । यसका लागि अदम्य ‘स्पिरिट’ चाहिन्छ । तपाईंको बाटोलाई धैर्यले मात्र सञ्चालन गर्न सक्छ । साहित्यको बाटो सहज छैन । यहाँ क्षणिक समर्पणले प्रतिफल प्राप्त हुँदैन । ज्ञान र विचारका लागि तपाईंले कष्ट उठाउनै पर्छ ।

आफ्नो मूल कर्ममै सुख खोज्न सक्नुपर्छ । आज मलाई कसैले आफ्नो यात्राबारे सोध्यो भने म निर्भीक भएर भन्न सक्छु– ‘साहित्यिक पत्रिकाकै काममा जीवन बिताउन पाएर दंग छु !’



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *