५१ बर्षकी हजुरआमाले जन्माईन् नातिनी


एजेन्सी । सामान्यतया कुनै पनि महिलाले जन्माउने भनेको आफ्नै सन्तान हो । अर्थात प्राय सबै महिलाले आफ्नै सन्तान जन्माउँछन । तर वैज्ञानिक उपलब्धीहरुका कारण यो कथन अबं सत्य सावित नहुने अवस्था आइसकेको छ । शारीरिक असक्षमताका कारण एउटी महिला बच्चा जन्माउन सक्दिनन् । अनि उनको बच्चा उनकी आमाले जन्माइदिन्छिन । अर्थात एक हजुर आमाले आफ्नै छोरीको बच्चा जन्माउँछिन । अझै यसो भनौं, एक हजुर आमाले आफ्नै गर्भबाट नातिनी जन्माइन ।

झट्ट सुन्दा यो केही अचम्म पनि लाग्न सक्छ । तर बच्चा जन्माउने यो प्रकृया सहज बनिसकेको छ । आफ्नो बच्चा अर्काको गर्भबाट जन्माउने यो प्रविधिलाई सरोगेसी भनिन्छ । आफ्नो बच्चा जन्माउन आफ्नै आमाको गर्भ प्रयोग गरिएको यो घटना अमेरिकाको हो । अमेरिकाको शिकागोमा बस्दै आएकी ५१ बर्षीया जुलीले आफ्नो गर्भबाट आफ्नै छोरीको छोरी जन्माएकी हुन । अर्थात आफ्नी छोरी ब्रिएनाको गर्भ धारण गरी नातिनी जन्माएकी हुन । भर्खरै नातिनी जन्माएकी जुलीकी २९ बर्षीया छोरी ब्रिएना लकउडले आमा बन्ने थुप्रै प्रयासहरु गरिन ।

४ बर्षको अन्तरालमा दुई पटक गर्भधारण गरिन । तर बच्चा जन्माउन सकिनन् । यस क्रममा लकउडको अप्रेशन पनि गर्नु पर्यो । यसबाट उनले गर्भधारण गर्नै नसक्ने अवस्था आयो । यो घटनाबाट ब्रियना लकउड धेरै दुखी भइन । डाक्टरले उनलाई सरोगेसी उपाय अपनाउन सल्लाह दिए । यसपछि ब्रिएनाकी आमा जुलीले नै आफु सरोगेट आमा बन्न तयार भएको बताइन । सरोगेसी प्रविधिबाट गर्भधारण गरेदेखि छोरी जन्माउनेसम्मका सबै जानकारी ब्रिएनाले आफ्नो ईन्स्टाग्रामबाट अपडेट गर्थिन ।

ब्रिएनाले बताए अनुसार उनकी आमा जुली एक रकस्टार हुन । त्यसैले उनी ५१ बर्षको उमेरमा पनि स्वस्थ छिन र गर्भ धारण गरी यही नोभेम्बर २ मा एक स्वस्थ छोरी जन्माउन सफल भएकी हुन । आफ्नी आमाबाट पाएको यो माया र सहयोगका कारण ब्रिएनाले आफुलाई अत्यन्तै भाग्यमानी ठानेको प्रतिकृया दिएकी छिन । जुलीले शिकागोस्थित इलिनोसिस अस्पतालमा नातिनी जन्माएको युएसए टुडेले जनाएको छ ।

सरोगेसी भनेको एउटा यस्तो सम्झौता हो, जुन निसन्तान दम्पत्ती र एक स्वस्थ महिलाबीच हुन्छ । यो प्रकृयालाई बच्चा जन्माउनका लागि अर्कै महिलाको गर्भ भाडामा लिने भनेर पनि बुझ्न सकिन्छ । अर्काको भ्रुण आफ्नो गर्भमा धारण गरी बच्चा जन्माइदिने महिलालाई सरोगेट मदर भनिन्छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *