१४ फागुन, काठमाडौं । यो साता बजारमा प्रमुख हरियो तरकारीको भाउ अचाक्ली महँगो भएको छ । साताभर माछा मासु, खाद्यन्न र मसलाजन्य वस्तुको मूल्य भने स्थिर जस्तै रह्यो भने फलफूलको मूल्य केही मात्रामा बढेको छ ।
गत साताको तुलनामा यो साता बजारमा काउली, च्याउ, विभिन्न थरीका साग, गोलभेडा जस्ता हरियो तरकारीको भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
थोक मूल्य नै उच्च भएपछि खुद्रामा पनि हरियो तरकारीको भाउ उच्च हुने देखिएको छ । बर्डफ्लुका कारण बजारमा कुखुराको मासुको भाउ किलोमा १० देखि १५ रुपैयाँसम्मको उतार चढाव देखिएको राष्ट्रिय मासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गीले बताए ।
यो साता प्रमुख खाद्यन्न चामल, दाल, तेल लगायतको वस्तुहरुको मूूल्यमा खासै फरक नभएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । अघिल्लो साता किलोमा ५ रुपैयाँले घटेको चामलको मूल्य यथावत नै भएको संघका सदस्य ध्रुब अधिकारीले बताए ।
दैनिक प्रयोगमा आउने आउने हरियो तरकारीहरुको बढेको पाइएको छ । गत शुक्रबारको तुलनामा मौसमी तरकारीको मूल्य बढेको व्यवसायी गीता आचार्य बताउँछन् । काउली, साग, गोलभेंडा, च्याउ जस्ता तरकारीको भाउ बढ्नु स्वभाविक भएको उनको दाबी छ ।
‘अहिलेको मूल्य बढेको नभई किसानले गरेको लगानी अनुसारको स्वभाविक प्रतिफल हो, यति मूल्य नपाए किसानले खेती नै गर्दैनन्,’ कालीमाटी फलफल बजार संस्थाका अध्यक्षसमेत रहेका अचार्यले भने ।



यो साता झोले स्याउको भाउ किलोमा २० रुपैयाँले बढेको छ भने केरा दर्जनमा १० रुपैयाँले महँगो भएको छ । यस्तै दुवै प्रकारका अंगुरको भाउ किलोमा १० रुपैयाँले महँगो हुँदा सुन्तला र भुइँकटहरको मूल्य स्थिर छ ।
