सेनाको बख्तरबन्द गाडी सडकमा : नियमित अभ्यास कि मनोवैज्ञानिक सन्देश ?

सेनाको बख्तरबन्द गाडी सडकमा : नियमित अभ्यास कि मनोवैज्ञानिक सन्देश ?


२० माघ, काठमाडौं । सोमबार बिहानै म्यानमारमा सेनाले सत्ता कब्जा गरेको समाचार आयो । यसले धेरैलाई १९ माघ २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले चालेको निरङ्कुश कदमको झझल्को दियो ।

संयोग नै मान्नुपर्छ, राजा ज्ञानेन्द्रले राजनीतिक ‘कू’ गरेको १६ वर्ष पुगेकै दिन म्यानमारमा सत्ता कब्जा भयो, नेताहरुलाई नियन्त्रण लिइयो, अनि टेलिफोन र विद्युतसमेत काटियो ।

घटना त्यत्तिमा मात्र सीमित रहेन, सोमबार बेलुका अबेर नेपाली सेनाले बख्तरबन्द गाडीबाट काठमाडौंको चक्रपथ परिक्रमा गर्‍यो । सेनाले बुधबार काठमाडौंबाट काभ्रेको पाँचखालसम्म बख्तरबन्दको अभ्यास गर्दैछ ।

नेपाली सेनाले आइतबार नै यसलाई नियमित अभ्यास भएको भने पनि जनता र वुद्धिजिवी वर्गले यसलाई सहजरुपमा लिन सकेका छैनन् ।

म्यानमारको घटना १९ माघमै हुनुलाई संयोगको रुपमा लिन सकिएला तर सेनाले आफ्नो नियमित अभ्यासका लागि माघ १९ नै किन छनौट गर्‍यो ? १९ माघको वर्षगाँठलाई दृष्टिगत गरेर उसले यसलाई केही दिन अघि-पछि सार्न पनि त सक्थ्यो ।

प्रजातान्त्रिक व्यवस्था र सामान्य अवस्थामा सेना ड्रेससहित सडकमा आउनुलाई पनि समाजमा निकै संशयका साथ हेरिन्छ । तर बख्तरबन्द गाडी नै सडकमा योजनावद्ध ढंगले निकालिएको घटनालाई नेपाली समाजले त्यति सहजरुपमा लिन सक्दैन । यति मात्र होइन, यतिबेला देशको राजनीति एकदमै तरल रहेको छ ।

आफूले भने अनुसारको फैसला आएन भने प्रधानमन्त्री केपी शर्मा ओलीले संकटकालीन अवस्था घोषणा गरी सेना परिचालन गर्ने आशंका पनि राजनीतिक वृत्तमा बढिरहेका बेला सेनाको पछिल्लो अभ्यासले थप संशय पैदा गरेको छ ।

सामरिक मामिला विज्ञ गेजा शर्मा वाग्ले नेपाली सेनाले नियमित अभ्यास भनी स्पष्टीकरण दिए पनि म्यानमारको घटना, प्रतिनिधि सभा विघटनपछिको तरल राजनीतिक अवस्था र १९ माघको इतिहासले बख्तरबन्द सडकमा ल्याउनुलाई संयोगमात्र मान्न नसकिने बताउँछन् । उनी भन्छन्, ‘प्रतिनिधि सभा विघटन गरेपछि संकटकालीन अवस्थासमेत घोषणा र नेपाली सेना परिचालन हुनसक्ने चर्चा र आशंका भइरहेको घडीमा सेनाले उपत्यका लगायत देशैभरी गर्न लागेको अभ्यासले अर्थपूर्ण मनोवैज्ञानिक सन्देश दिन चाहेको देखिन्छ ।’

उनले व्यवसायिक र राष्ट्रिय सेनाले नियमित अभ्यास गर्दा जुन तहको आशंका सिर्जना भएको छ यसले सेनाको व्यवसायिक छविप्रति जनता र वौद्धिक समुदाय विश्वस्त हुन नसकेको देखिने बताए । वाग्लेले भने, ‘विकसित राजनीतिक घटनाक्रममा सेनाले मनोवैज्ञानिक सांकेतिक सन्देश दिन चाहेको देखिन्छ, जुन अर्थपूर्ण छ ।’



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *