साम्य हुँदै भारत-चीन तनाव : सम्बन्ध पूर्ववत अवस्थामा फर्केला ?

साम्य हुँदै भारत-चीन तनाव : सम्बन्ध पूर्ववत अवस्थामा फर्केला ?


११ फागुन, काठमाडौं । भारत र चीनबीच सीमा क्षेत्रमा झण्डै एक वर्षदेखि जारी तनाव पछिल्लो दुई साता यता कम हुँदै गइरहेको छ । सहमति अनुसार दुवै मुलुकले पान्गो त्सो तालबाट आफ्ना सेनालाई केही पछाडि हटाएका छन् र अन्य केही सेना पछि हट्ने प्रक्रिया सुरु भएको छ । अहिलेसम्मको अवस्था हेर्दा दुई मुलुकको सम्बन्ध अब सामान्यीकरणतर्फ उन्मुख हुनेछ ।

विगत १ वर्षदेखि गलवान उत्यकामा दुई देशका सेना आमन-सामने भए जसको भूराजनीतिक तरंग यस क्षेत्रमा मात्र सीमित रहेन, विश्वभर नै रह्यो । विश्लेषकहरुले अब तत्कालै दुई मुलुकको बीचमा द्वन्द्वको सम्भावना नरहेको र दीर्घकालीन रुपमा नै समस्या समाधान गर्न तयारी अगाडि बढाउन सुझाव दिइरहेका छन् ।

तनावको जरो के हो ?

भारत र चीनबीच लामो समयदेखिको विवादको जरो वैज्ञानिक ढंगले समाधान नगरिएको ३,४४० किलोमिटर लामो सीमा हो । अधिकांश सीमाको निर्धारण खोला, ताल र बाक्लो हिउँ भएको ठाउँमा भएकाले तल-माथि भइरहन्छ र दुई देशका सेनाबीच झडप हुने गरेको छ ।

यसका अतिरिक्त दुवै मुलुकले सीमा क्षेत्रमा विभिन्न खाले पूर्वाधारहरु निर्माण गरिरहेका छन् जसले पनि समय समयमा द्वन्द्व सिर्जना गरिरहेको छ । पछिल्लो समयमा भारत र चीन दुवैले सीमा क्षेत्रमा धमाधम पूर्वाधारहरु निर्माण गरिरहेका छन् । सीमामा आवश्यक पूर्वाधार मात्र होइन, सम्भावित सैन्य द्वन्द्वलाई लक्षित गरेर दुवै मुलुकले धमाधम पूर्वाधार निर्माण गरिरहेका छन् जसले पनि सीमा क्षेत्रमा तनाब बढाउँदै लगेको छ ।

यसै सिलसिलामा गत वर्षको जुन महिनामा २० जना भारतीय सैनिक र पाँच चिनियाँ सैनिकको मृत्यु भयो । तर, चीनले भने केही दिन अगाडि मात्रै आफ्ना ५ सैनिकको मृत्यु भएको सार्वजनिक गरेको छ । चीनले दुई देशको बीचमा रहेको तनाव थप नफैलियोस् भन्नका लागि आफ्नो तर्फ भएको क्षति तत्काल सार्वजनिक नगरेको उल्लेख गरेको छ ।

गलवान उपत्यकामा मात्र होइन, अन्य ठाउँमा समेत समय-समयमा झडप हुने गरेको छ । पछिल्लो पटक जनवरी २० मा सिक्किम क्षेत्रमा दुई देशका सेनाबीच सामान्य झडप भएको थियो । त्यस अगाडि सन् २०१७ मा त्रिपक्षीय भारत-भुटान-चीन सिमानामा दुई देशका सेना आमने-सामने भएका थिए । मानवीय क्षति नभएसम्म सो द्वन्द्व झण्डै ७५ दिनसम्म चलेको थियो र अनेकौं पटकको सैन्य र कूटनीतिक संवादपछि सो विषय हल भएको थियो ।

तर, गत वर्ष गलवान उपत्यकामा भएको झडप चाहिँ सन् १९७५ यता दुई मुलुकको विचमा भएको सबैभन्दा ठूलो झडप थियो । त्यतिवेला अरुणाञ्चल प्रदेशमा दुई देशको विचमा भएको सीमा विवादका कारण धेरै सैनिकको हताहती भएको थियो । त्यसयता गलवान उपत्यकामा सबैभन्दा ठूलो झडप भएको थियो ।

त्यस अगाडि सन् १९६७ मा सिक्किममा दुई देशबीचमा भएको झडपमा ८० जना भारतीय सैनिकको मृत्यु भएको थियो । सन् १९६२ मा भारत र चीनबीच युद्ध भएको थियो जसमा भारत पराजित भएको थियो । यी घटनाक्रम हेर्दा भारत र चीनबीच सीमाको कुनै पनि बिन्दुमा कुनै बेला द्वन्द्व हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन ।

उच्च तहको वार्ता र विश्वासको वातावरण

सीमा लगायतका दुई देशका विचमा रहेका विवादका कारण युद्धको नै अवस्था नआओस् भन्नका लागि केही वर्षयता उच्चस्तरमा वातावरण बनाउने पहल समेत भएका छन् । विशेषतः २०१७ मा दोक्लाम क्षेत्रमा दुई देशबीच ७६ दिनसम्म भएको द्वन्द्वपछि उच्च तहमा नै समझदारी कायम गर्ने पहल सुरु भएको हो ।

दोक्लाम विवादपछि दुई देशबीच रहेका समस्याहरुबारे खुलस्त र स्पष्ट छलफल गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङको बीचमा चीनको उहान शहरमा सन् २०१८ मा उच्चस्तरीय अनौपचारिक वार्ता भयो । सो अनौपचारिक र दुई नेताको एक्लाएक्लै भेटमा सीमा लगायतका दुई देशका विचमा रहेका विवादित विषयमा मात्र कुराकानी भएन, अन्य दक्षिण एसियाली मुलुकहरुमा समेत द्वन्द्व नभई मिलेर काम गर्ने सहमति समेत भयो ।

सोही भेटमा नै चिनियाँ राष्ट्रपति सीले ‘टु प्लस वान’ मोडल प्रस्ताव गरे । जसको मूल उद्देश्य दक्षिण एसियाली मुलुकमा भिडन्त नगर्ने बरु मिलेर काम गर्ने र संयुक्त विकासका परियोजनाहरु अगाडि बढाउने सहमति भयो ।

त्यसैगरी सन् २०१९ मा भारतमा मोदी र सीको विचमा दोस्रो अनौपचारिक शिखर सम्मेलन भयो । तर सन् २०२० मा कोरोना महामारी र गलवान उपत्यकाको घटनाका कारण अनौपचारिक सम्मेलन हुन सकेन । यति मात्र होइन, गत वर्ष तनाव उत्पन्न भएदेखि नै दुवै मुलुकले उच्चस्तरमा निरन्तर वार्ता गरे जसले कुनै अपि्रप घटना हुन पाएन । दुवै देशका रक्षामन्त्री र विदेशमन्त्रीको विचमा पनि निरन्तर कुराकानी भयो । त्यसबाहेक सैन्य तहमा पनि वार्ता भयो ।

भारत-चीन द्वन्द्व र साना मुलुकमा पर्ने असर

केही वर्षयता चीन र भारतका छिमेकी मुलुकहरुमा आर्थिक, राजनीतिक र सैन्य प्रभाव बढाइरहेको छ भने भारत आफ्नो परम्परागत प्रभाव कायम राख्न खोजिरहेको छ । दक्षिण एसियाली मुलुकहरुमा दुई देशले प्रभाव जमाउन प्रतिस्पर्धा गरिरहेका छन् ।

त्यसैले एसियाका दुई मुलुक भारत र चीनको विचमा द्वन्द्व बढ्दा नेपालसहित दक्षिण एसियाली मुलुकहरुमा पनि त्यसको प्रभाव पर्छ । दुवै मुलुकले नेपाल लगायत अन्य देशलाई आफ्नो पक्ष लिनको लागि प्रत्यक्ष र औपचारिक रुपमा आग्रह नगरे पनि पक्ष लिनको लागि अनौपचारिक र मनोवैज्ञानिक असर परिरहेको छ ।

दोक्लाम विवाद र पछिल्लो एक वर्षमा नेपाल लगायतका मुलुकले सो दबाबको महसुस गरे । यति मात्र होइन, भारत र चीनको विचमा बढेको द्वन्द्वकै विचमा भारत र चीनका उच्च सैनिक अधिकारीहरुले दक्षिण एसियाका साना मुलुकहरुको भ्रमण गरे र तनावको बारेमा कुराकानी गरे ।

यति मात्र होइन, हिमालय क्षेत्रमा दुई देशको विचमा द्वन्द्व बढेर युद्ध भयो भने त्यसले नेपाललगायत यस क्षेत्रका मुलुकमा सिर्जना गर्ने आर्थिक र मानवीय संकटको बारेमा समेत चिन्ता व्यक्त हुनु स्वभाविक थियो ।

भारत र चीनको द्वन्द्वका कारण नै केही भारतीय राजनीतिज्ञ र मिडियाले चीनको उक्साहटमा नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय उठाएको अभिव्यक्ति दिएका दिए ।

भारतीय नेता मात्र होइन, सैन्य अधिकारी समेतले चीनसँग द्वन्द्व बढेपछि त्यसलाई नेपालमा बढ्दो चिनियाँ प्रभावसँग पनि जोड्ने गर्दछन् । त्यसैले भारत र चीनको विचमा तनाव कम हुँदा नेपाल लगायतका यस क्षेत्रका साना मुलुकहरुका लागि सहज वातावरण निर्माण हुन्छ । त्यसैले यस क्षेत्रका साना मुलुकहरु भारत र चीनको विचमा सम्बन्ध सामान्य रहोस् र दुवै मुलुकसँग सन्तुलित र समदुरीको सम्बन्ध कायम राख्न चाहन्छन् । भारत र चीनबीचको सम्बन्ध सामान्य हुँदा भारतसँगको सीमा विवाद हल गर्न सहज वातावरण निर्माण हुन्छ ।

अहिले सुध्रेको सम्बन्ध कति दीर्घकालीन ?

अहिले दुई देशबीच निकै सम्बन्ध सुधार आए पनि पूर्णरुपमा विश्वस्त हुने अवस्था भने छैन । तर, कतिबेला के हुन्छ केही भन्न सकिने अवस्था छैन । तर, पछिल्लो पाँच वर्षको अवस्था हेर्दा के देखिन्छ भने जतिसुकै द्वन्द्व उत्पन्न भए पनि त्यो द्वन्द्वको तहमा नपुगोस् भन्नेमा दुवै पक्षले एकदमै होसियारी अपनाएका छन् । कुनै द्वन्द्व भए पनि तत्कालै सैन्य र कूटनीतिक तहमा वार्ता भइरहेको हुन्छ र त्यसलाई शान्त बनाइन्छ । सीमामा उत्पन्न कुनै पनि विवादले ठूलो युद्धको रुप नलिओस् भन्नका लागि दुवै पक्ष सावधान भएको देखिन्छ ।

त्यसैले विश्लेषकहरु यतिबेला अब दुवै देशले सीमा समस्या समाधान गर्न दीर्घकालीन ढंगले सोच्नुपर्ने सुझाव दिइरहेका छन् । वास्तवमा सन् २०२० को घटनाले द्विपक्षीय सम्बन्धमा नराम्रोसँग असर गरेको छ र यसमा मल्हम लगाउन निकै समय लाग्छ ।

सन् २०२० मा विभिन्न समयमा भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल र चीनको सम्बन्धलाई नराम्रोसँग असर गरेको बताएका थिए । दोक्लाम विवाद, गलवान र पछिल्लो पटक सिक्किम लगायतका क्षेत्रमा देखिएको झडपका कारण दुई देशको सम्बन्ध पूर्ववत अवस्थामा नै फर्काउनको लागि भने विश्वासको वातावरण बनाउनुपर्ने देखिन्छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *