सरकारी मूल्यमा बिक्दैन किसानको धान ?


बाँकेमा करिब १ लाख ५६ हजार ९ सय ५० मेट्रिक टन धान उत्पादन भएको अनुमान छ । जसमध्ये सरकारी दररेटमा सहकारीले २३ हजार खरिद गरेको छ भने कम्पनीले ४० हजार क्वीन्टल सीमा तोकेर खरिद गरिरहेको छ ।

धानका लागि मल अभाव हुँदा समेत गत बर्षको तुलनामा यस बर्ष २५ प्रतिशतले बाँकेमा धानको उत्पादन बढ्यो । उसो त बर्ष बर्ष फौजी किरा र नक्कली बिउका कारण उत्पादन अपेक्षित हुन सकेको थिए ।

बाँकेमा यस बर्ष ३६ हजार ५ सय हेक्टरमा धान खेती गरिएको थियो । एक हेक्टरमा करिब ४.३ मेट्रिक टन उत्पादन हुने गरेको अनुमान छ । जिल्लामा यस बर्ष करिब १ लाख ५६ हजार ९ सय ५० मेट्रिक टन धान उत्पादन भएको छ । मौसमको अनुकुलता, सिंचाईको सुविधा बढ्दै जाँदा तथा किराजन्य प्रकोप नभएकाले पनि यस बर्ष धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र बाँकेले जानकारी दिएको छ ।

पश्चिम नेपालको बाँके र बर्दिया धान उत्पादनमा प्रमुख जिल्लाका रुपमा मानिन्छन् । बाँकेमा उत्पादन भएको धान जिल्ला मात्रै नभएर विभिन्न जिल्लामा बिक्री गरिन्छन् । किसानको घर आँगनमै पुगेर व्यापारीले धान खरिद गर्दछन् । प्रत्येक बर्ष कोटा छुट्याएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानको धान खरिद गर्दै आएको छ । यस बर्ष सहकारीले पनि धान खरिद गरेको छ ।

सरकारले यस बर्ष समयमै धानको खरिद मूल्य तोकिदियो । तर, सरकारले तोकेको मूल्यमा किसानले धान भने बिक्री गर्न पाएनन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढिलो गरी धान खरिद सुरु गर्यो । कम्पनीले किन्ने धानको निश्चित सीमा हुने भएकाले किसान व्यवसायीलाई बेच्न बाध्य हुन्छन् । ऋण समेत लिएर खेती गर्ने किसानलाई गर्जो टार्न उत्पादन लगत्तै बेच्नु पर्ने बाध्यता हुन्छ । किसानसँग उत्पादित धान भण्डार गर्न क्षमता समेत हुँदैन ।

करिब १ लाख ५६ हजार ९ सय ५० मेट्रिक टन धान उत्पादनको अनुमान भएपनि सरकारी दररेटमा भने जम्मा ६३ हजार क्वीन्टल मात्रै सरकारी मूल्यमा बिक्री हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४० हजार क्वीन्टलको खरिदको सीमा तोकेको छ । बाँकेका १६ वटा सहकारीले २३ हजार क्वीन्टल धान खरिद गरेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्ज शाखा प्रमुख रामबहादुर विष्टले कुपन सिष्टमबाट धान खरिद भैरहेको जानकारी दिएका छन् । उनले माघ २६ गतेसम्मका लागि धान खरिद गर्न किसानलाई कुपन वितरण भैसकेको जानकारी दिएका छन् । प्रति किसान ५० क्वीन्टल मात्रै कम्पनीले धान खरिद गर्दछ । ‘ट्याक्टरमा ल्याएको किसानका केही परिणाम बढी भएपनि हामीले खरिद गर्दछौं’, उनले भने, ‘तर प्रति किसान ५० क्वीन्टल खरिद गर्ने सीमा रहेको छ ।’ हालसम्म २४ हजार क्वीन्टल धान कम्पनीले खरिद गरिसकेको छ ।

सरकारले मोटो धान प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ तोकेको छ । किसानले असोज अन्त्य देखि नै व्यापारीलाई धान बिक्री गर्न थालेका थिए । उनीहरुले सरकारले तोकेको समर्थित मूल्य भन्दा ८ सयसम्म कम लिएर धान बिक्री गरेका हुन् । ‘धान तयार भएपनि कहाँ राख्ने, पैसा पनि आवश्यक थियो त्यसैले सस्तोमै भएपनि बेच्नु पर्यो’, कार्तिकमा धान बेचेका राजेश अहिरले भने ।

जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले सरकारले तोकेको मूल्यमा नै सहकारीले धान खरिद गरिरहेको जानकारी दिएका छन् । सहकारीलाई संघीय सरकारले धान खरिद वापत १ सय १२ रुपैयाँ अनुदान दिने भनेको छ । तर, त्यो सुनिश्चित भै नसकेको सुवेदीले जानकारी दिए ।

कहाँ जान्छ धान ?

सरकारले हरेक बर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत धान खरिद गर्दछ । यस बर्ष नेपालगन्ज शाखा बाट मात्रै ४० हजार क्वीन्टल धान खरिद गरिंदैछ । सरकारले बाँकेमा खरिद गरेको धान पहाडी जिल्लामा लगेर बिक्री गर्दै आएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखा प्रमुख किसानबाट धान खरिद भएपनि त्यसको कुटाई गरी चामल पहाडी जिल्लामा रहेका कम्पनीकै बिक्री केन्द्र, डिपोहरुमा पठाउने गरिएको जानकारी दिएका छन् । धान कुटाईका लागि कम्पनीले टेण्डर गरिसकेको छ । पहाडी जिल्लासम्म धान ढुवानी गर्दा महंगो पर्ने भएकाले सरकारले ढुवानीमा भने अनुदान दिंदै आएको छ । त्यसले गर्दा पहाडी जिल्लामा चामलको मूल्य महंगिन पाउँदैन । ढुवानीको कार्य पनि ठेकेदार मार्फत नै हुने गरेको छ । कम्पनीले यस बर्ष माघको पहिलो साताबाट धान कुटानी सुरु गर्दैछ ।

यस बर्ष सहकारीले पनि धान खरिद गरेको छ । २३ हजार क्वीन्टल धान खरिद गरेको सहकारीलाई बजारमा बिक्री गर्न भने समस्या पर्ने देखिन्छ । व्यवसायीले किसानबाट यसअघि नै सस्तोमा धान खरिद गरेका छन् । जसका कारण सरकारी मूल्यमा खरिद गरेको सहकारीले बजारमा तोकिएको मूल्य पाउन गाह्रो पर्ने देखिन्छ । जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी बजारमा बिक्री नभए सहकारी मार्फत नै धान, चामल बिक्री गरिने बताउँछन् । ‘बजारमा उचित मूल्य नपाए खरिद गरिएको सबै धान कुटाएर एभरेष्ट कृषि सहकारी बैजनाथबाट बिक्री गरिनेछ’, उनले भने, ‘त्यसका लागि यसअघि नै सहमति भैसकेको छ ।’

The publish सरकारी मूल्यमा बिक्दैन किसानको धान ? appeared first on Nepalgunj News.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *