काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियामा जारी बिगबास लिग खेल्न त्यसतर्फ प्रस्थान गरेका छन् । उनी मंगलबार बिहान कतार एयरवेजबाट अष्ट्रेलिया गएको उनको व्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीले जानकारी दिएका छन् ।
सन्दीप कोरोना लागेपछि त्यता जान रोकिएका थिए । हालै उनको कोरोना नेगेटिभ आएको छ । सन्दीप अष्ट्रेलिया पुगेर १४ दिनको क्वारेन्टिन बसाइपछि मात्र लिगमा सहभागी हुनेछन् । सन्दीपले लिगका सुरुवाती ६ खेल गुमाउनेछन् ।
अहिले लिगमा सन्दीपको टोली होबर्ट हरिकेन्स ७ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ । मेलवर्न स्टार्स आठ अंकमा तालिकाको शीर्ष स्थानमा रहेको छ।
तेस्रो पटक बिगबास खेल्न लागेका सन्दीप यो संस्करण नयाँ टोली होबर्ट हरिकेन्सबाट लिग खेल्दै छन् । यसअघिका २ संस्करण सन्दीपले मेलबर्न स्टार्सबाट खेलेका थिए ।