संसद विघटनको कम्प जंगीअड्डामा पनि, सुरक्षामा पर्ने प्रभावबारे छलफल

संसद विघटनको कम्प जंगीअड्डामा पनि, सुरक्षामा पर्ने प्रभावबारे छलफल


५ पुस, काठमाडौं । नेपाली सेनाको जंगीअड्डामा आइतबार प्रिन्सिपल स्टाफ अफिसर्स (पीएसओज्) को बैठक चलिरहेको थियो । जंगीअड्डाका सबै विभागीय प्रमुख र अन्य जर्नेलहरु सहभागी बैठकका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको खबर आयो ।

लगत्तै जर्नेलहरुबीच ओलीको कदमबारे छलफल भएको स्रोत बताउँछ । विशेषतः प्रधानमन्त्रीको कदमपछि राष्ट्रिय सुरक्षामा पर्नसक्ने असरका विषयमा छलफल भएको स्रोतले बतायो । ‘यो विषय बैठकको एजेन्डा थिएन तर, समसामयिक घटनाक्रममा छलफल हुनु सामान्य र नियमित कुरा हो’, जंगीअड्डा स्रोतले भन्यो, ‘शान्ति, सुरक्षामा पर्न सक्ने प्रभावका बारेमा कुराकानी भएको छ ।’

अहिले शान्ति, सुरक्षा कायम गराउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिँदै आएको छ । तर, जिल्ला सुरक्षा समितिले आवश्यकता देखे प्रमुख जिल्ला अधिकारीको आदेशमा सेनालाई पनि खटाइने गरिएको छ । त्यस्तो अवस्था आउनसक्ने भएकाले सबै युनिटलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ ।

यसबीच, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले उच्च सतर्कता अपनाउन मातहतका इकाइहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीको पछिल्लो कदमपछि देशका विभिन्न भागमा प्रदर्शन र आन्दोलन बढ्ने विश्लेषणसहित ‘हाई अलर्ट’मा बस्न निर्देशन दिइएको हो ।

नेपाल प्रहरीका एक उच्च अधिकृतले भने, ‘स्थानीय प्रशासनसँग समन्वय गरेर पछिल्लो कदमले उपन्न हुनसक्ने परिस्थितिलाई सामना गर्नका लागि तयार रहन भनेका छौं ।’



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *