शव व्यवस्थापनमा सेना : मुस्किलको घडीमा मलामी

शव व्यवस्थापनमा सेना : मुस्किलको घडीमा मलामी


३ मंसिर, वीरगञ्ज । पर्सामा ३० चैत २०७६ मा तीन जना भारतीय जमातिमा पहिलो पटक नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको थियो । कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा संक्रमित संख्या थपिँदै गएर ३१ जेठमा १२७ जना पुग्यो । त्यसबेलासम्म कोरोनो संक्रमणबाट कसैको मृत्यु भएको थिएन ।

२८ जेठमा वीरगञ्जको घण्टाघरमा भेटिएको वेवारिसे शवको स्वाब निकालेर पीसीआर परीक्षण गर्दा ३१ गते संक्रमण पुष्टि भयो ।






यो पनि पढ्नुहोस
बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि, पर्सामा थपिए ५ जना संक्रमित

कोभिड–१९ का मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७७ ले कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको थियो । त्यसअनुसार, सेनाको चण्डी प्रसाद गणले वीरगञ्ज महानगरपालिका– १६ ईनर्वास्थित सिर्सिया नदी किनारमा पहिलो शव व्यवस्थापन गर्‍यो ।

असार महिनामा कोरोना संक्रमितको मृत्यु भएन । आइसोलेसनमा संक्रमित घटिरहेका थिए । निषेधाज्ञा पनि हटेपछि बजारमा भिड बढ्दै थियो । त्यसको असर साउनमा देखियो । लक्षणसहितका संक्रमित बढ्न थाले । संक्रमितको मृत्यु हुने क्रम सुरू भयो । ६ साउनमा वीरगञ्ज– ६ माईस्थानका ७० वर्षीय वृद्धको मृत्यु भयो ।






यो पनि पढ्नुहोस
४३ औं व्यक्तिको मृत्यु : समुदायमा कोरोना संक्रमणको संकेत !

त्यसको भोलिपल्ट सेनाको टिमले तिलावे खोलाको बगरमा लगेर उनको शव जलायो । ९ साउनमा २ जनाको शव वीरगञ्ज– ३१ बेल्वास्थित ठूली चौर वन क्षेत्रमा व्यवस्थापन गरियो । कोरोना संक्रमितको शव गाउँ नजिकै गाडेको भन्दै स्थानीयले विरोध जनाए । त्यसबेला एकै दिनमा दुई–तीन जना संक्रमितको मृत्यु भईरहेको थियो । शव व्यवस्थापनमा भने स्थानीयले बखेडा झिक्न थालेका थिए । विरोधको सामना गर्नुपरेपछि सेनाले नेपाल प्रहरीको सहयोग लिएको थियो । बिरोध गर्नेहरूले प्रहरीसँग झडप समेत गरेका थिए ।






यो पनि पढ्नुहोस
पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापन टोली र स्थानीयबीच झडप, ७ प्रहरी घाइते

तोकिएको ठाउँमा स्थानीयले विरोध गरेपछि चण्डी प्रसाद गणले १२ साउनको मध्यराति एउटा शव तिलावेको बगर र १५ साउनमा दुईवटा शव निजगढ फाष्ट ट्रयाक जंगल क्षेत्रमा लगेर गाड्यो । ‘शव व्यावस्थान स्थलको टुंगो नहुँदा जता लग्दा पनि स्थानीयले विरोध गर्दा सुरूका दिन निकै कष्टपूर्ण रहे’, सेनानी प्रभव बिक्रम शाह भन्छन्, ‘राति वन वा खोला किनारमा शव व्यवस्थापन गरेर फर्कदा विहान भइसक्थ्यो ।’

मुस्किलको घडीमा मलामी

विरोध हुन छोडेपछि सेनाको टिमले १६ र १८ साउनमा ३/३ वटा शव वीरगञ्ज–३१, बेल्वा ठूलीचौर वन क्षेत्रमा व्यवस्थापन गर्‍यो । त्यसपछि भने संक्रमितको शव गाउँघरमै लगेर धार्मिक परम्परा अनुसार जलाएको सेनानी शाह बताउँछन् ।

उनकाअनुसार, पर्सास्थित चण्डी प्रसाद गणको टिमले हालसम्म ५४ जनाको शव व्यवस्थापन गरेको छ । जसमध्ये ३७ वटा शव गाडियो भने १७ शव जलाइयो । मृतकमध्ये ४० जना पुरुष थिए भने १४ जना महिला ।

सरकारी कार्यविधिमा परिवारजनलाई समेत पीपीई सेट नलगाई संक्रमितको शव नछुन भनिएको थियो ।

यस्तो मुस्किलको घडीमा सेनाले धेरै प्रशंसनीय काम गरेको वीरगञ्जका अनिल वर्णवाल बताउँछन् । जनता समाजवादी पार्टी (जसपा) पर्साकी नेतृ रम्भा मिश्र संक्रमितको शव व्यवस्थापवन गरेर सेनाले भाइ–छोराको भूमिका खेलेको बताउँछिन् ।

 

शव व्यवस्थापनका तीतामिठा अनुभव

कोरोना संक्रमितको शव व्यवस्थापन आफैंमा चुनौतिपूर्ण काम हो । थोरै असावधानी भए आफू, परिवार र समाजमा संक्रमण फैलनै जोखिम छँदैछ ।

शव व्यवस्थापनका क्रममा सेनाले त्यसबाहेक पनि केही तिता अनुभव संगालेको छ । चण्डी प्रसाद गणका गणपति प्रमुख सेनानी मदनजंग राणा पर्सामा सरोकारवालाहरूले शव व्यवस्थापन स्थल तोक्न नसक्दा सुरूमा निकै हैरानी भएको सुनाउँछन् । ‘स्थानीयले त सडक प्रयोगमा समेत अवरोध गरे’, उनी भन्छन्, ‘पहिलो शव सीमा क्षेत्रमा लगेर गाड्दा भारतीयहरूले समेत विरोध गरे ।’

फेरि, नयाँ महामारी भएका कारण संक्रमणसम्बन्धी ज्ञान पनि थिएन । शव बाहन नहुँदा एम्बुलेन्समै शव बोक्नुपर्ने बाध्यता थियो । प्रमुख सेनानी राणा भन्छन्, ‘कतिपय बेला पूर्ण पीपीई सेट र डेढ–बडी व्याग पाउन नै मुस्किल पर्‍थ्यो ।’

पछिल्लो समय मृतकका आफन्तको अनुरोधमा गाउँघरकै घाटमा लगेर संक्रमितको शव व्यवस्थापन गर्ने गरिएको छ । शव व्यवस्थापन गर्नु अघि सेनाले सलामी दिने गरेको छ । यसले आफन्तजनलाई ठूलो आत्मा सन्तोष दिने गरेको छ ।

गाडी नजाने घाटमा सेनाले नै शव बोकेर लैजान्छ । पहिले डेडबडी व्यागको अभाव हुँदा यो काम निकै जोखिमपूर्ण हुने गरेको सेनानी शाह बताउँछन् ।

उनका अनुसार, कोरोनाकालको जिम्मेवारी निर्वाह गर्ने क्रममा चण्डी प्रसाद गणका ८३ जना संक्रमित भए । जसमध्ये ८२ जना क्वारेन्टिन–आइसोलेसन व्यवस्थापन लगायतमा खटिँदा संक्रमित भएका हुन् । सबभन्दा जोखिमयुक्त कामको रुपमा हेरिएको संक्रमितको शव व्यवस्थापनमा खटेकामध्ये एकजना मात्र संक्रमित भएका छन् ।

शव जलाउँदा तीन घण्टासम्म पीपीई लगाएर बस्नुपर्ने हुन्छ । ८ साउनमा तिलावे नदीमा शव जलाउने क्रममा एकजना जवानलाई निकै अप्ठ्यारो भएर मास्क खोलेका रहेछन् । पछि उनैमा कोरोना संक्रमण देखिएको थियो ।

शव व्यवस्थापनमा सेनानी शाहसहित २५ जना खटिएका छन् । यो टिमलाई ‘फ्रन्टलाइन हिरोज’को रुपमा पर्साको प्रकृति सेवा प्रतिष्ठानले सम्मान पनि गरेको छ । प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहले नेपाली सेनाको यो टोलीलाई जति सम्मान गरेपनि कम हुने बताए ।

तस्वीर सौजन्य : नेपाली सेना



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *