विस्मृतिले थलिँदै गीतकार भैरवनाथ रिमाल

विस्मृतिले थलिँदै गीतकार भैरवनाथ रिमाल


४ पुस, काठमाडौं । चैत्र २०७६ को लकडाउन अगाडिसम्म चाबहिल बुलबुले बस्ने भैरवनाथ रिमाल टोल वरिपरि घुमिरहेका भेटिन्थे । छरछिमेकमा फुलेका फूलहरू हेर्थे, पत्रिका पढ्दै घाम ताप्थे र घर फकन्र्थे ।

८५ वर्षीय रिमालले कान सुन्न छाडेको ६ दशक बढी भइसक्यो । पछिल्ला पाँच दशक त उनी ठ्याम्मै सुन्न नसक्ने भए । तैपनि एउटा स्रष्टाको मनले घरमा धुमधुम्ती बस्न मान्दैनथ्यो । उनी बाहिरफेर निस्किरहन्थे ।

घरमा बस्दा पनि उनलाई भेट्न नयाँ–पुराना पुस्ताका संगीतकार, साहित्यकार तथा पत्रकारहरू आइरहन्थे । रिमाल उनीहरूसँग मस्त गफिन्थे । कान नसुने पनि प्रष्ट बोल्न सक्ने रिमालका रसिला कुरामा सबैजना भुलिन्थे ।

पछिल्लो आठ महिनायता भने रिमाल विस्मृति (अल्जाइमर्स) ले थलिएका छन् । घरबाहिर हिँडडुल गर्न सक्दैनन् । परिवारका सदस्यलाई पनि कहिले चिन्ने, कहिले नचिन्ने अवस्थामा छन् । सयौं कालजयी गीत र कविताका यी स्रष्टाले डायरीका पाना भर्न सकेका छैनन् । समाजले पनि बिस्तारै भुल्दै गएपछि उनी नितान्त एक्लो बनेका छन् ।

जिन्दगी लेख्ने गीतकार

भैरवनाथ रिमालले आफ्नो साहित्यिक नाम ‘कदम’ राखेका छन् । जनमानसले उनलाई कवि ‘भैरवनाथ रिमाल कदम’ भनेर नै चिन्दछन् । एकदर्जन कविता संग्रह र एक हजारभन्दा बढी गीतका सर्जक रिमालका अहिलेसम्म आठ सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् ।

नारायणगोपालको स्वरमा बज्ने ‘जुन फूल मैले चाहेको थिएँ’ तथा अरुणा लामाको स्वरमा बज्ने ‘उदास मेरो जीवन कथा’ गीतका सर्जक रिमालले जीवनका ७० वर्ष गीत र कविता लेखनमै बिताए ।

पछिल्लो पाँच वर्षदेखि भने उनले लेख्न सकेका छैनन् । तर, पनि कापी–कलम पाउनसाथ केही कोर्न थालिहाल्छन् ।

हामी रिमालको घरमा पुग्दा उनलाई घाम ताप्न छतमा लगिएको थियो । त्यहाँ हामीले उनलाई कलम र कापी दियौं ।

केहीबेर घोरिएपछि रिमालले कलम बेसरी समाए अनि आफ्नो हस्ताक्षर गरिदिए । आफ्नो नाम लेख्न पाउँदा उनी निकै खुसी देखिन्थे । नाम लेखेको केहीबेरमा उनले आफ्नो प्यारो उपनाम ‘कदम’ पनि लेखिहाले । अनि केही बेरपछि कापीमा थपे– ‘मैले केही लेख्यै छैन ।’

यसबाट उनको लेख्ने–पढ्ने मोह अझै रहेको देख्न सकिन्थ्यो । बुबाको अक्षरप्रतिको मोह देखेर रिमालका एकमात्र छोरा अभिषेक पनि छक्क पर्छन् । उनका अनुसार पिताले जस्तो आपतमा पनि गीत लेखिरहे । अस्पताल बस्दा पनि गीत लेखे । यात्रामा हिँड्दा पनि लेखिरहे ।

अभिषेक भन्छन्, ‘अहिले बुबाले मलाई पनि चिन्नहुन्न । तर, लेख्न मज्जाले सक्नुहुन्छ । किताब–कापी देख्ने बित्तिकै खुसी हुनुहुन्छ ।’

बिरामी अवस्थाका गीतकार रिमाल अहिले छोरा अभिषेक, बुहारी विद्या र नाति–नातिनासँगै चाबहिल बुलबुलेमा आफैंले बनाएको घरमा बसिरहेका छन् । उनका चार छोरी र एक छोरा छन् ।
बुहारी विद्याका अनुसार पछिल्लो छ महिनायता रिमालको होश निकै हराएको छ । ‘बीचमा एक महिनाजति अलिक ठीक थियो । अहिले फेरि होश गुमेको छ’, विद्या भन्छिन्, ‘यस्तो अवस्थामा पनि बुबाको बोली प्रष्ट छ । हरेक शब्दको सही उच्चारण गर्नुहुन्छ ।’

रिमालले लेखेका दर्जनौं गीत र कविता चर्चित भए । तर, विडम्बना आफूले लेखेर श्रोतको मनमा बसेका गीत रिमाल आफैंले सुन्न पाउँदैनन् । यो नै उनको जीवनको बिडम्बना हो ।

त्यो दुर्घटना !

रिमालको जीवनमा २०१० साल कहिले बिर्सन नसक्ने वर्ष बन्यो । त्यो दिन दुर्घटना नभएको भए सायद उनको जीवनले अर्कै मोड लिन सक्थ्यो । उनका गीतमा यतिका दुःख वेदना नहुन पनि सक्थे ।
कैलाश भण्डारीले लेखेको रिमालको जीवनी–पुस्तकमा त्यो दुर्घटना यसरी उल्लेख गरिएको छ–

रिमाल एक दिन महाराजगञ्जमा साइकलबाट कतै जाँदै थिए । यस्तैमा तीनवटा सवारीसाधन, दाउरा बोकेर हिँडेको भरिया र रिमालको साइकल एक आपसमा जुधे । दाउराको भारी र बाहनमुनि रिमाल थिचिए । त्यसक्रममा साइकलले ब्रेक रिमालको कानमा पस्यो र उनी गम्भीर घाइते भए । केही महिनाको उपचारमा अन्य चोट त ठीक भयो । तर, उनको कानले विस्तारै सुन्न छोड्यो । केही वर्ष अलिअलि सुन्थ्यो तर पछि केही पनि नसुन्ने भयो ।

दुर्घटनापछि रिमालको जीवनले यु–टर्न लियो । उनी आफू बोल्न त सक्थे तर अरुले बोलेको नसुन्ने हुँदा लेखेर बोल्न लगाउँथे ।

यसपछि रिमालका एकपछि अर्का दुःख र वेदनामिश्रित गीतहरू आए । उनले राष्ट्रिय गीत तथा भजन पनि नलेखेका होइनन् । तर, स्रोताले उनका अवसादका गीत नै रुचाइरहे । रिमालले पनि जीवनको गीत सृजना गर्न कहिले कलम रोकेनन् ।

दुर्घटनापछि पनि साना–ठूला रोगले रिमाललाई चापिरह्यो । छोरा अभिषेकका अनाुसार घेरै चुरोट खाने बानीले रिमालको एकपटक आन्द्रा नै काट्नुपर्यो । मोतिबिन्दुको अपरेसन गरियो । अभिषेक भन्छन्, ‘बिरामी भइराखे पनि उहाँमा असीम आत्मविश्वास हुन्थ्यो । यसैले स्वस्थ्य रहँदा बुबाको उर्जा देखेर सबैजना छक्क पर्थे ।’

गायक दीप श्रेष्ठ पनि रिमाललाई उर्जाशील गीतकार मान्छन् । श्रेष्ठका अनुसार छोटो समयमा पनि धेरै गीत सृजना गर्न सक्ने क्षमता भैरवनाथ रिमालसँग छ ।

रिमालको शब्दमा दीप श्रेष्ठले एक दर्जन गीत गाएका छन् । दीप भन्छन्, ‘एकै भावमा गीत नलेखी राष्ट्र, राष्ट्रियता, प्रेम–प्रणय र वेदनाका फरक–फरक शैलीका गीत लेख्ने एकमात्र गीतकार रिमाल हुनुहुन्छ ।’

भैरवनाथका दुई दर्जन बढी गीतमा संगीत गरेका संगीतकार शुभबहादुर, कदमलाई नेपाली संगीतले पाएको विशिष्ट गीतकार मान्छन् । शुभबहादुरका अनुसार आफ्नो जीवनको वेदना पनि अरुलाई छुन सक्ने गरी गीत लेख्ने कुशलता रिमालमा छ ।

संगीत बुझ्न सक्ने क्षमता रिमालमा रहेको शुभबहादुरले बताउँदै आएका छन् ।

देवकोटाका प्रियपात्र

भैरवनाथ रिमालको जन्म काठमाडौंस्थित ठमेल गल्कोपाखामा १९९३ माघ २ गते भएको हो । पिता गोपीनाथ रिमालले अर्को बिहे गरेपछि बालक भैरवनाथ र उनी आमा यमुनादेवीलाई दुःख दिन थालियो ।

घरको किचलो सहन नसकी ११ वर्षका बालक भैरवनाथ एकदिन विद्यालयबाट घर नफर्किकन आफ्ना सानोबुबा लक्ष्मीप्रसाद देवकोटाको घर पुगे ।

नातामा महाकवि लक्ष्मीप्रसाद देवकोटा रिमालका सानोबुबा पर्थे । देवकोटाको संर्सगले नै आफ्नो मन कवितातर्फ लहसिएको स्वीकार्छन् रिमाल । देवकोटा पनि बालक भैरवनाथलाई आफूले लेखेको साहित्य सार्न लगाउँथे । यसैले गर्दा भैरवनाथले सानैमा साहित्य बुझ्न पाए ।

२०१० सम्म आइपुग्दा कविता लेखनमा भैरवनाथ रिमाल चिनिन थालिसकेका थिए । रिमालबारे महाकवि देवकोटाले लेखेका छन्–

‘सानो उमेरमै पनि कदमको कविताको माधुर्यले हामीलाई छुन सकेको छ । यस्तो चिल्लो पात भएको विरुवालाई जल, प्रकाशले अभाव हुन जानु एक दिल दुख्दो कुरा हो ।’

देवकोटाकै संसर्गबाट रिमालको कलम तिखारिन पायो । यो कुरा रिमालले आफ्ना सबै अन्तरवार्तामा उल्लेख गरेका छन् । यसो त देवकोटाकै पुस्ताका लेखनाथ पौडेल, बालकृष्ण सम, सिद्धिचरण तथा माधव घिमिरेको समीपमा रहन पाए रिमालले । बालकृष्ण समले २० वर्षका भैरवनाथ रिमालको प्रशंसा गर्दै लेखेका छन्–

‘रिमालजीका धेरै कविता कवि सम्मेलनहरूमा सुनेको छु । उहाँ मात्र बीस वर्षको हुनुहुन्छ तर उहाँको प्रतिभा अद्भूतको छ । उहाँ लोकप्रिय हुनुहन्छ ।’

रिमालमाथि कवि शिरोमणी लेखनाथले पनि लामो पत्र लेखेका छन् । अग्रज साहित्यकारले लेखेका त्यस्ता हस्तलिपि रिमालसँग अझै पनि सुरक्षित छन् । तर उनीसँग आफ्नै गीतका रेकर्डिङ भने छैन । कुन गीत कहाँ रेकर्ड भए त्यसको अभिलेख छैन । पाँच वर्षअघि आफ्ना सबै गीतको स्वामित्व म्युजिक नेपाललाई दिएको कुरा उनले परिवारलाई बताएका छन् । अहिले रिमालका गीत नेपालका दर्जनौं एफएम र टेलिभिजनले बजाउने गरेका छन् । त्यस बापतको रोयल्टी रिमालले पाएका छैनन् ।

रेडियो नेपाल संगीत महाशाखाका पूर्वप्रमुख भूपेन्द्र रायमाझीका अनुसार रेडियो नेपालमा धेरै गीत रेकर्ड भएका गीतकारमध्ये रिमाल अग्रस्थानमा पर्छन् । संगीतकार रायमाझी भन्छन्, ‘सबै विधाका गीत लेखनमा उहाँको कलम चलेको हुनाले रेकर्डेड गीतको संख्या धेरै छ । कति त हराइसकेका पनि होलान् !’

रायमाझीले पनि रिमालका आधा दर्जन गीतमा संगीत गरेका छन् । उनका अनुसार लय र शब्दलाई सुललित बान्की मिलाएर गीत लेख्ने स्रष्टा हुन् रिमाल ।

यता, विभिन्न प्रकाशनले प्रकाशित गरेका रिमालका कवितासंग्रहको पनि उचित संरक्षण हुन सकेको छैन । छोरा अभिषेकका अनुसार पिताका पुस्तकहरू परिवारले भेटेसम्म एकत्रित गरेको छ । तर, धेरै पत्रपत्रिकामा प्रकाशित उनका कविता, गीत खोज्न परिवारलाई मुश्किल परेको छ ।

गीतका अविश्रान्त साधक

भैरवनाथ रिमाल सुरुमा कविता लेख्थे । राष्ट्रिय भावका कविताबाट सुरु भएको उनको साहित्यिक यात्रा वेदनाका गीत र भजन लेखनसम्म विस्तार भएको छ । गोरखापत्रमा ‘राष्ट्रिय दिवस आज’ शीर्षकको कविता २००८ फागुनमा प्रकाशित गरेयता रिमालको कलम रोकिएको छैन ।

२००९ सालमै रेडियो नेपालमा उनकोे गीत बज्न थालिसकेको थियो । आफ्ना गीत बज्न थाल्दा रिमालको उमेर मात्र १७ वर्षको थियो । गोविन्दलाल नेपालीको संगीत र किशोरीदेवीको आवाजमा उक्त गीत रेडियोमा बज्न थाल्यो । त्यो गीतको थियो–

रुन्छु म राति एक्लो दिलको चिता बनाई
सुनसान यो जगमा राँको ठूलो जगाई
बग्दै थियो नि आँशु ती आँखा दुबै रसाई
गाला र च्यापू धोइ बाटो कतै नपाई ।

स्रोताले पनि रिमालका गीत निकै रचाउन थाले । यसपछि उनका एकपछि अर्को आधुनिक गीत र भजनहरू रेकर्ड हुन थाल्यो । २०११ सालमै उनको पहिलो कृति ‘भैचम्पा’ खण्डकाव्य आयो । २०३४ सालमा नारायणगोपालले गाएको ‘जुन फूल मैले चाहेको थिएँ’ गीतले उनको ख्याति झनै चुलियो । दीप श्रेष्ठ, अरुण थापा, तारादेवी, फत्तेमान र नयाँ पुस्ताका प्रवेशमान शाक्यसम्मले कदमको शब्दमा स्वर दिएका छन् ।

गीत र कवितमा पुर्याएको योगदानका कारण रिमालले थुप्रै पुरस्कार पाएका छन् । राज्यस्तरबाट जति पुरस्कार पाएका छन् त्योभन्दा बढी जनस्तबार सम्मान पाएका छन् । पछिल्लो समय २०७२ सालमा गीतकार संघ नेपालबाट सम्मानित भए ।

रिमाल पनि पुरस्कारभन्दा र सम्मानभन्दा श्रोताको माया नै ठूलो ठानेको बताउँछन् । उनले भनेका छन्, ‘मैले लेखेका गीत र कवितामा तपाईंले आफ्नो जीवन भेट्नुभयो भने त्यही नै मेरो सफलता हो ।’

यद्यपि, वेदनममात्र जीवनको पाटो नभएको कुरा आफ्ना जीवनी–लेखक कैलाश भण्डारीसँगको कुराकानीमा रिमालले भनेका छन् । उनले आफू जन्मेको देश स्वाधीन, स्वतन्त्र हुनुपर्छ भनेर पनि दर्जनौं गीत लेखेका छन् ।

बिउँझ बिउँझ तन्नेरी हो बेर भैसक्यो
आमा उही भन्दछिन् हेर बेर भइसक्यो
यो ज्यान ढल्ला, नेपाल कहिले कदापी ढल्दैन
यो ढुंगा गल्लान्, हिमाली हिउँ गल्ला गल्दैन ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *