बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु

विराटनगरमा एकैदिन ८ जना कोरोना संक्रमितको मृत्यु


१८ कात्तिक, विराटनगर । पछिल्लो २४ घण्टामा विराटनगरमा कोरोना संक्रमणका कारण एकैदिन ८ जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न तीनवटा कोभिड अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

विराट शिक्षण अस्पतालमा चार, नोबेलमा एक, न्युरो अस्पतालमा दुई र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक जनाको मृत्यु भएको हो ।

नोबेल शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका–१५ की ५५ वर्षीया महिलाको मृत्यु भएको छ । ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि म‌ंगलबार बिहान अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा उपचारकै दिउँसो ४ बजेतिर उनको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । मृत्युपछि महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

यसैगरी मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा सुनसरीको इनरुवा नगरपालिका–१ की ४५ वर्षीया महिलाको मृत्यु भएको छ । उपचारको क्रममा मंगलबार दिउँसो २ः३० बजेतिर उनको मृत्यु भएको हो । पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि कात्तिक १४ गते महिलालाई उपचारका लागि भर्ना गरिएको थियो ।

यसैगरी विराट शिक्षण अस्पतालको आइसोलेसनमा सिराहा सुखीपुरका ७४ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि उपचारका लागि कात्तिक १५ गते अस्पताल भर्ना गरिएका उनको सोमबार राति ११ बजेतिर मृत्यु भएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए ।

यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–३ का ४८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको सोमबार साँझ ७ बजेतिर उनको मृत्यु भएको हो ।

विराटमै उपचाररत धरान–१६ का ७६ वर्षीय वृद्ध पुरुषको पनि मंगलबार बिहान मृत्यु भएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएपछि कात्तिक ९ गते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । देवका अनुसार वृद्ध पुरुषको उपचारका क्रममा मंगलबार बिहान ६ः३० बजेतिर मृत्यु भएको हो ।

यसैगरी सुनसरीको धरान–१५ का ६३ वर्षीय पुरुषको मंगलबार बिहान ३ः३० बजेतिर न्यूरो अस्पतालमा मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा असोज १७ गते कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको थियो । मृतक जनता समाजवादी पार्टीको लिम्बूवान राष्ट्रिय समितिका उपाध्यक्ष हुन् ।

यसैगरी न्यूरो अस्पतालमा उपचाररत विराटनगर महानगरपालिका–११ का ४९ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । उपचारका क्रममा बिहान ३ः५० बजेतिर उनको मृत्यु भएको हो । पीसीआर परीक्षण गराउँदा कात्तिक १४ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

यसैगरी विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उदयपुर घर भएका एक पुरुषको पनि मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी–६ का ४८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार राति १२ बजेतिर मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो ।

 



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *