विदेशी माटोका नेपाली कविता

विदेशी माटोका नेपाली कविता


नेपाली कवितामा शिल्पकारझैं निपुण कविको नाम हो, रमेश क्षितिज । जस्तो उनको कविता अलग्गै छ, उनको जीवनको छुट्टै परिचय पनि छ । पेशा वा परिवार जसलाई अहिले कोट्याउनु आवश्यक लागेन । तर पनि उनै कविको कवित्वमा पाएका फरक शैली, शिल्प र भाव लेख्ने कोसिस गरेको छु ।

समयको विविध कालखण्डमा कवि क्षितिज आफ्नो भुगोलभन्दा पर, यहाँबाट देखिने क्षितिजसम्म पनि पुगे । त्यहाँबाट कविता टिपेर ल्याउन सफल भए । नेपाली कविताको मेरुदण्ड मजबुत बनाउन सफल भए ।

कवि रमेश क्षितिजका दुई कवितासंग्रह प्रकाशित छन्. । पहिलो ‘अर्को साँझ पर्खेर साँझमा’ २०५७ तथा दोस्रो ‘घर फर्किरहेको मानिस’ २०६८ । यसबाहेक गीति रचना, कथा र संस्मरणहरू पढेका उनका पाठक क्षितिजको कवित्वसँग कायल छन् ।

दोस्रो कवितासंग्रहको भूमिकामा उनले लेखेका छन्- कहिलेकाहीँ आफैलाई सोधी हेर्छु, किन लेख्छु म कविता ?

अथवा, जीवनमा के अर्थ छ कविताको ?

अझ कहिलेकाहीँ, कसका लागि लेखिरहेछु म कविता ?

यसरी आफैलाई प्रश्न गर्न सक्ने हिम्मत बटुल्छन फेरि कविताको मूलबाटो तिरै फर्किन्छन र कविता लेख्छन् । कवि भन्छन्- कविता कहिलेकाहीँ शब्दहरू बीचमा, स्पेसमा समेत लुकेको हुन्छ अर्थ र कहिलेकाहीँ प्रश्नचिन्ह, विश्मयादिबोधकमा पनि हुन्छ ।
यसरी आफ्ना कवितामाथि सचेचतापूर्वक आफ्नो अभिमत राख्न सक्ने कवि मैले कमैमात्र पाएको छु । कवि क्षितिजले भने विदेशी माटोमा मौलिक बिम्बहरू फलाए र टपक्क टिएर यतै ल्याए अनि कविताको मालामा उनेर कविता बनाए ।उनले बाँचेका जीवन, भोगाई, अनुभव र भ्रमणलाई कविताको लाममा ल्याएर उभ्याए, शक्तिशाली स्वरूपमा ।

कहिलेकहीँ यस्तो लाग्छ कवि क्षितिजबाहेक जो कोहिले लेखेको भए यात्रा संस्मरण लेख्थ्यो होला तर यसरी कविताको रूपमा जिवन्त बनाए र नेपाली कवितामा बिदेशी माटोको सुगन्धले भरे ।

कवितासंग्रह ‘घर फर्किरहेको मानिस’मा संग्रहित विदेशी सुगन्धको प्राण भरिएका कविताको बारेमा तल चर्चा गर्छु ।

त्यहाँ एउटा कविता छ, ‘साँझमा समुद्र’ शीर्षकको । यस कवितामा कविले समुद्रिक सुन्दर बिम्बहरूलाई स्मृतिको पक्की राजमार्ग हुँदै यो भुपरिवेष्ठित सिमानासम्म ल्याउन सफल देखिन्छन् । तालबाट माछा मारेर माझीले तारको सुईरोमा माछा उनेर ल्याएजस्तो मिठास बिम्बलाई काव्यिक शैलीमा उनेर ल्याउन सफल छन् ।

प्रेमको उच्चतामा समुद्रको छाल र गितारको धुनलाई एकै ठाउँमा मिस्याएर एउटा चित्रात्मक बिम्ब सहितको प्रेमले परदेशी भूमि र आफ्नो माटोलाई जोड्ने सेतुको रूपमा प्रस्तुत गरेका छन् ।

अर्को कविता छ- टोकियोमा एक दिन । सन् २००३ नोभेम्बरमा कवि जापान पुगेका बेला उनले त्यहाँ बिताएका हप्तादिनमध्ये फर्किनुको अघिल्लो दिन जुन पीडा, छटपटी अनुभुत गरेका थिए ती सम्पुर्ण कुरालाई कवितामा सुन्दर तवरले प्रस्तुत गरेका छन् । यस कवितामा कविले सरल, भावात्मक र स्वार्थहीन आत्मियताका हरफहरू, प्रेमगीतहरू र त्यहाँका सम्झनाका कयौँ रंगीचंगी उडानहरू, अवतरणहरू भरेका छन् ।

अक्षरका छिनाले कुँदेर आकर्षक दृश्य अर्थात् विश्व मानवताको सुत्रपात कवितामा परेका छन । आत्मियताका प्रमाणित हुन बाँकि थुप्रै साध्यहरू कोरेका छन् । सहज रूपले विश्वव्यापी बिम्बहरू टपक्क टिपेर सजाउन सफल देखिन्छन् ।

विदेशी भूगोलमा बसेर लेखेको अर्को कविता पनि छ- जहाजमा उडिरहँदा । जीवनका अनेक कालखण्डका भोगाइलाई देखाउन त्यो पनि यति ओजपूर्ण कला र शिल्पका माध्यमबाट कवि परदेशी आकाश र भूमिमा पनि घर भित्रका बिम्बहरू उनेर स्मृतिको सुन्दर माला बनाउन माहिर देखिएका छन् । एउटा सामान्य जीवनले नभेट्ने भुगोलका असामान्य विषयवस्तुलाई मिठासपूर्ण विषयान्तर गर्दै फरक भूगोलका फरक अनुभूति र ऋतुलाई एउटै धागोमा उनेका छन् ।

अर्को सुन्दर कविता ‘बर्लिनमा साँझ’ले त युरोपको स्वाद नेपाली मनले दिएको छ । सन् २००९ नोभेम्बरमा भ्रमणको क्रममा जर्मनी पुगेका कवि क्षितिज बर्लिनलाई कवितामा उचालेर देश भित्र्याए । त्यो अवसर र सम्भावनाको सहरबाट सम्पूर्ण मानिसका अझ भनौं होमो-सेपियन्सका सपना, मेहेनत र सफलतार असफलता आदि सबैलाई एउटै पंक्तीमा राखेर कविताको एउटा स्केच गरेको पाइन्छ । विश्व घटनाको उदेगलाग्दो अवस्था, दोश्रो विश्वयुद्धबाट जिर्ण त्यहाँको धार्मिक, सांस्कृतिक अवस्था र फेरि तङ्ग्रीदै आएको बर्लिनलाई कविताको माध्यमबाट बिकाशको एकपाइला उठाउन सफल भएको अनुभुत गर्न सजिन्छ ।

विश्वको सबैभन्दा ठूलो धर्म मानवताभन्दा अर्को छैन भन्ने दावीका साथ कवि यो कविताको अन्तिमतिर लेख्छन्-

तर बिउँझेर सबै झुम्मिन्छन् अचानक चोट लागेकी
बंगाली केटीको वरिपरि रातमा
र गर्न थाल्छन् आफ्नै भाषामा-
मौन प्रार्थना

अर्को कविता ‘नर्वेमाथिको आकाश’ले सृष्टीका सुन्दर बिम्बहरू शब्दको उनिलाई कलमको कुरूशले उनेर आफ्नै पहिचानको मफलर बनाएर सानका साथ पहिरिन कविलाई यी कविताले छुट दिएको छ।सपनाको अग्लो उचाईमा रहेर पनि आफ्नै भुगोलको सम्मान र समर्पणको मिठासपुर्ण अभिब्यक्तीले यो कवितामा श्रीँगार गरेको छ।कविले प्रकृतीका हरेक बिम्बलाई कविताको क्यानभास चिटिक्क देखिने गरी पेन्टिङ गरेका छन् जसले एउटा कविको कवित्वलाई धर्मराउन कदापी दिँदैन ।

यसरी नेपाली कविताले आफ्नो मौलिकता त्याग्दै गरेको समयमा कवि क्षितिज नेपाली कवितामा परदेशी सुगन्ध राखेर मौलिकता दिन सफल भएको देखिन्छ । उनले जसरी सुगन्ध टिपेर ल्याए त्यसरी नै कविताको धर्मलाई जिवित राखे, कला पक्षलाई मजबुत बनाए।कवि क्षितिज नेपाली कवितामा एउटा जबर्जस्त हस्ताक्षर हुन भन्ने कुरा उनका विदेशी सुगन्धमा लेखीएका कविताहरूलाई साक्षीको रूपमा लिन सकिन्छ । सायद कवि क्षितिजबाहेक जो कोहिले पनि यात्रा संस्मरण लेखेर बस्थ्यो होला भन्ने लागेको छ । तर उनले कविताको रूपमा पस्किए र आफ्ना हस्ताक्षर नेपाली कवितालाई सफल रूपमा हस्तान्तरण गर्न सफल भएको देखिन्छ ।
कवि क्षितिज आजको समयमा नेपाली कविताको क्याल्कुलेटरमा माइनस-प्लस नहुने कविको रूपमा आफ्नो उपस्थिती देखाउन सफल र सक्षम देखिन्छन् । उनिका यिनै विदेशी माटोका सुगन्ध बोकेका कवितामध्ये ‘टोकियोमा एकदिन’ शीर्षकको यो कविता यहाँ प्रस्तुत गरेको छु :

भोलि- म हुनेछैन तिम्रो सहरमा
फर्किनेछु आफ्नै देश जसरी फर्किन्छ बतास
सुस्तरी छोएर चेरीका फूलहरू

जसरी फर्किन्छन् लहरहरू समुद्रका किनारबाट
कि त्यसरी-
जसरी फर्किन्छ साँझको पंक्षी आफ्नै गुँडमा

फर्किदा लिएर जानेछु म
नोभेम्बरका एक दर्जन दिनले बुनिएको
हस्तकलाजस्तो सम्झनाको सोभनियर
हार्दिकताको गुलाफी फूल र एउटा प्रेमगीत

अहिले- काँच फुटेको अनुभूति छ छातीमा
मानौं- बाँसुरीको धुनजस्तो आवाजमा भनिरहेछ कसैले
टाढा नेपथ्यबाट
सायोनारा… मेरी प्रिय सायोनारा…

घर पुगेर पनि आधि त छुट्नेछु म यहीँ
माउन्ट फुजी वरिपरि, समुद्रको किनारमा
वा नारिता एअरपोर्टको छेउछाउ कतै

फर्केर जाने मैले लिएर जाऊँला जापानी आँखाको बिम्ब
सिंगापुरियन आँसु वा थाइ हाँसोको तस्बिर

मानिसहरू बीचको प्रेम नै हो स्वर्ग
जो म छुटेको हुँला यहाँ
त्यसलाई मायाले सम्हाल्नू-
तिमीले मेरो मित्र !



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *