वाटिका अर्थात्, एउटा सुन्दर बगैचाको माली ‘शिवांगिनी’


वाटिका अर्थात्, एउटा सुन्दर बगैचा । नेपालगन्जमा भने वाटिका भनेपछि एउटा पुरानो तर, अमिट छापजस्तै बनेको ब्राण्डेड होटल । तीन दशक नाघेका नेपालगन्जवासीका लागि भने होटल भनेकै वाटिका । ‘हामी फोटो खिचाउनकै लागि भनेर वाटिका पुग्थ्यौं,’ कलेजका पुराना दिन सम्झँदै सहपाठी जेन्टिल गौतमसँग कुरा गरिरहँदा पत्रकार जयनारायण शाहले भनेका कुरा मानस्पटलमा आइरहँदा त्यो बगैचा (वाटिका) ले नयाँ माली (व्यवस्थापक) पाएको जानकारीको कौतुहलता जगायो ।

‘हस्पिटालिटी के हो वाटिकाबाट देखाउनु छ,’ दैनिक नेपालगन्जसँगको पहिलो भेटमैं बडो ढुक्कसँग प्रस्तुत भएकी वाटिकाकी माली रैछन्, होटल सञ्चालक डा. धवल शम्शेर राणाकी उत्तराधिकारी, शिवांगिनी राणा । पुस्तैनी सम्पत्तिलेनै आगामी सात पुस्ता देश÷विदेश घुमेरै खान, खेल्न र रमाउन पुग्ने ती युवा होटल वाटिकाको नेतृत्व सम्हाल्नासाथ विहानै ८ बजेदेखि काममा खटिरहेकी भेटिइन्, साथमा आमा प्रतिमा राणाको प्ररोक्ष दिशा निर्देश । जुन आजका आम युवाहरुका लागि आफैमा एउटा पे्ररणा हुन सक्छ । अध्ययन र रोजगारीका क्रममा देशविदेश घुमिरहकी उनी राम्री सेलीब्रिटी पनि हुन् । व्यवसायिक चित्रकार उनीबारे पिता डा. राणाले एक भेटमा भनेका थिए, ‘लक डाउनकै बेला ६÷७ लाखको त आर्ट बेच्यो छोरीले ।’ शिवांगिनीले पनि आर्टबाटै मासिक ६÷७ लाख रुपैयाँ कमाएको प्रसंगमा भनिन्, ‘होटल जिम्मेवारी हो, आर्ट रुची ।’ दुवैलाई संगसँगै लैजाने योजना पनि सुनाइन् । उनै शिवांगिनी राणासँग दैनिक नेपालगन्जले गरेको संक्षिप्त संवाद आजको विशेषमा ।

अबको करिअर नेपालगन्जमैं हो ?
म जहाँ जन्मेको हो, मलाई त्यो ठाउँको माया लाग्छ । म मात्रै होइन, सब जनालाई आफ्नो जन्म थलोलाई सम्झेर आउ भन्छु । मेरो लागि घर भनेको जहाँ जन्मेको त्यही ठाउँ हो । मेरो लागि त्यो नेपालगन्ज हो । घरको फिलिङ्ग भनेको नेपालगन्ज हो । म दुनियाँको जुन ठाउँमा पुगेपनि मलाई घर कहाँ हो भनेर सोध्दा नेपालगन्ज नै भन्छु । म घर फर्किए भन्ने भावनाले नेपालगन्ज आएको हुँ ।

होटलमा किन फर्कनुभयो ?
सानैदेखि नै मैले होटल म्यानेजमेन्टमा काम गर्न थालें । १६/१७ बर्षको उमेरमा नै म पढ्न गएँ । सबैले आ–आफ्नो प्रोफेशन छान्छन् । हाम्रो फ्यामिली विजनेश बाटिका भएको र पछि गएर फ्यामिली विजनेश चलाउनु पर्छ भनेर नै म होटल इन्डष्ट्रिजमा पसें । म स्वीजरल्याण्ड गएर होटल म्यानेजमेन्ट पढेको हुँ । धेरै ठाउँहरुमा काम गरें । चाइना, दुबई , स्वीटजरल्याण्ड पछि नेपाल फर्किएँ । नेपालमा पनि धेरै होटलहरुमा काम गरें । अन्ततः मेरो आफ्नै ठाउँ नेपालगन्जमैं काम गर्ने योजनामा अघि बढें ।

राजनीतिमा विरासत बनाइसकेका बुवा (डा. धवल शम्शेर राणा) सँगै तपाई किन राजनीति तर्फ लाग्ने सोंच्नु भएको छ ?
मेरो इन्टे«स्ट त होटल क्षेत्र नै हो । सेवा हो । बुबाले मलाई राजनीतिमा आउन भन्नु भएको छैन । बल्ल त मलाई होटलको जिम्मेवारी दिनुभएको छ । उहाँलाई मेरो राजनीतिक क्यरिअरमा विश्वास भयो र भन्नुभयो भने म पनि ज्वाइन गरौंला । डोर इज अल्वेज ओपेन । मैले राजनीतिका लागि नाई चाहीं भनेको छैन । होटल क्षेत्रमा मैले राम्रो गरिरहेको छु । होटेलमार्फत धेरैलाई रोजगारी दिइरहेको छु । पछि गएर नेपालगन्ज सिटीको विकासका लागि आवश्यक पर्यो भने राजनीतिमा जोडिन सक्छु, यसरी सोच्दैछु ।

बाटिका परम्परागत ब्राण्ड हो, त्यसलाई कसरी नयाँ स्वरुप दिनुहुन्छ ?
मैले अहिलेनै धेरै परिवर्तन गर्न खोजेको छैन । बाटिकाको पहिले देखि नै एउटा ब्राण्ड र सेवाग्राहीहरु रहेका छन् । हाम्रा कर्मचारीहरु होटल सुरु भएदेखिका नै रहेका छन् । हाम्रो सेफको ३५ बर्ष भैसक्यो । सबै स्टाफहरु १५ देखि २२ बर्ष सेवा गरेका हुनुहुन्छ । शिवाङ्गीले होटल चलाउन लागेको छ भनेर छाडेर गएका स्टाफ पनि फर्किएका छन् । तर, मैले सिकेको हस्पिटालिटी कसरी दिने भनेर फोकस छु । मैले जति पनि होटल क्षेत्रमा काम गरेर अनुभव लिएँ, त्यसलाई बाटिकामा प्रयोग गर्न खोजेको हो । बाटिका भनेर बाहिरबाट साइनबोर्ड देखि भित्र चिया खादा, नास्ता खाँदा, कोठामा सुत्दा समेत हस्पिटालिटी के हो भने फिल गराउन खोजेको छु । स–सानो कुरा चेञ्ज गर्न खोजेको हुँ । होटलमा लगानी बढाउँदैमा चल्ने होइन, राम्रो सेवाले चल्ने हो । मान्छे आएर आहा भन्ने राम्रो फिलिङ्ग भयो भने त्यो हस्पिटालिटी हो । टे«डिसनल लुकमा इन्टरनेशनल थिङ्किङको भावनाले काम गरिरहेको छु ।

पर्यटन क्षेत्र थला परेको बेला तपाई वाटिकाको परम्परागत ब्राण्डमा नयाँ केही गर्न खोज्दै हुनुहुन्छ कसरी ?
मैले जिम्मेवारी सम्हालेको सात दिन मात्रै भयो । म आएको एक सातामै तीन बर्षमा जुन परिवर्तन भएन त्यो परिवर्तन गरेको छु । हामीले लबिबाट परिवर्तन गर्न सुरु गर्यौं । मैले धेरै पैसा त खर्च गरेको छैन, तर धेरै आइडिया लगाएको छु । बाटिकाको पहिचानलाई कायमै राखेर केही परिवर्तन गरेको छु । मान्छेहरु बाटोबाट छिर्दा नै वाओ बनाउने छु । नेपालगन्जमा कुनै पनि होटल बाटिकाको लुकमा छैन । म त्यसलाई हाइलाइट गरिरहेको छु । वाटिका बियर गार्डेन लन्च गर्दैछु । त्यसका लागि केही वाटिका भन्ने गार्डेन भन्ने बनाउँदै छु, यो थीमलाई अगाडी बढाइरहेकी छु । बाटिकालाई वाटिका जस्तै बनाउँदै छु ।
बाटिकामा आकर्षक लुक, राम्रो वातावरण, राम्रो गुणस्तरीय खाना र राम्रो सेवा पाउनुहुनेछ । रुम लाई थप राम्रो बनाएको छु । म आर्ट पनि गर्दछु । मैले होटलमा आफ्ना आर्ट पनि राखेकी छु । होटल मानिस आउने सर्भिसका लागि हो । खानाका लागि हो । त्यो खानामा हामीले विशेष ध्यान दिएका छौं । सेफहरु सेट गरेका छौं । बस्ने एरिया रमणीय बनाएका छौं ।

तपाई त आर्टिष्ट, होटल क्षेत्रमा लाग्दा तपाईको आर्ट मर्दैन ?
मलाई यो कुरा धेरैले सोधेका छन् । आर्टबाटै मैले मासिक ६÷७ लाख रुपैयाँ कमाउँछु । लकडाउन बेला एक रुपैयाँ नआउँदा मैले आर्ट स्टार्ट गरें । मेरो परिवारलाई त्यसमा गर्व छ । बुबा पूरा समय राजनीतिमा हुनुहुन्छ । उहाँलाई विजेनेशसँग सम्बन्ध नै छैन । होटल लकडाउनका कारण १० महिना बन्द रह्यो । सधंैका लागि बन्द गर्नुपर्ने अवस्था थियो । बुबाले पनि हेल्प मी भन्नुभयो । मैले यत्रो पढेपछि मैले नगरेर कस्ले गर्ने भनेर होटल सम्हाल्न आएको हुँ । अनि आर्ट पनि छाड्न चाहँदैन । म दैनिक २/३ घण्टा आफ्नो आर्टका लागि छुट्याउने छु ।

नयाँ काम सजिलो हुन्छ, पुरानो कामलाई बनाउन त्यति नै गाह्रो हुन्छ ?
वाटिका हामी आफैले बनाएको ब्राण्ड हो । त्यसलाई छाडेर अरु चिज गर्न राम्रो लागेन । वाटिका भनेको वाटिका नै हो । नेपालगन्जको पहिलो होटल हो, त्यसैले त्यही ब्राण्ड लिएर अगाडि बढाउने सोंचेको हो । म विहान ८ देखि रातीको १० बजेसम्म काम गर्छु । बिस्तारै बिस्तारै म लगानीदेखि स्तर वृद्धि गर्दै लैजाने छु । म यसलाई नेपालगन्जको टप होटल बनाउँछु । त्यसको शुरुवात गरिसकेको छु ।

The publish वाटिका अर्थात्, एउटा सुन्दर बगैचाको माली ‘शिवांगिनी’ appeared first on Nepalgunj News.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *