लक्षण देखिँदा पनि कोरोना परीक्षण नगर्नु घातक

लक्षण देखिँदा पनि कोरोना परीक्षण नगर्नु घातक


३ मंसिर, काठमाडौं । सोमबार राति १० बजेतिर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा.अनुप बास्तोलालाई अपरिचित नम्बरबाट फोन आयो–४०/४५ वर्षको सिकिस्त बिरामी हुनुहुन्छ, कोरोनाको लक्षण छ । एम्बुलेन्स पाइँदैन, अस्पतालसम्म कसरी ल्याउनू ?

काठमाडौंमै भएर पनि बिरामीलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स नपाएको फोनकर्ताको गुनासो थियो ।

डा. बास्तोलाले सोधे–कोरोना परीक्षण गराउनु भएको छ ?

जवाफ आयो–परीक्षण त गराएको छैन ।

डा. बास्तोलाले सुझाए–जुनसुकै सवारी साधन खोजेर भएपनि तत्काल अस्पताल पुर्‍याउनुस् । तपाईको नजिक कोभिड वा नन–कोभिड जुन अस्पताल छ, त्यहीँ पुर्‍याउनुस् ।

हेर्दा सामान्य जस्तो लाग्ने यस्ता बानी व्यवहार महामारीका बेला निकै घातक हुने चिकित्कसहरू बताउँछन् । कोरोनाको लक्षण कसैलाई सामान्य हुनसक्छ, थुप्रैलाई सिकिस्त बनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १३ लाख भन्दा बढीको ज्यान गइसकेको छ ।

सोमबार रातिको त्यो टेलिफोन संवाद स्मरण गर्दै डा. बास्तोलाले भने, ‘मलाई लाग्यो, बिरामी अस्पताल पुग्नु हुनेछ । तर दुर्भाग्य ! डेढ घण्टापछि फोन आयो, बिरामी बित्नु भएछ ।’

खिन्न हुँदै उनी भन्छन्, ‘शायद समयमै अस्पताल आइपुग्नु भएको भए बिरामीलाई बचाउन सकिन्थ्यो कि ?’

यो घटनाले कोरोना परीक्षणमा भइरहेको लापरबाहीलाई त उजागर गरेको छ नै , त्यो भन्दा पनि होम आइसोलेसनमा बसेका संक्रमित वा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका विरामीको स्वास्थ्यमा समस्या देखिएर तत्काल अस्पताल पुर्‍याउनु परे मद्दतका लागि पुग्ने कुनै सरकारी संयन्त्र छैन भन्ने पनि छर्लङ्ग पारेको छ ।

डा. बास्तोलाका अनुसार यस्तो प्रकृतिको यो पहिलो घटना भने होइन । ‘यस्ता थुप्रै घटना म कहाँ आइपुगेको छ, अरू डाक्टरसम्म पनि पुगेको छ’ उनी भन्छन् ‘हामी सबै सचेत नबनी भएन भनेर मात्र यो घटनालाई सार्वजनिक गरेको हुँ ।’

परीक्षण नगर्नु घातक

पछिल्लो समय कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएर पनि परीक्षण नगर्ने धेरै छन् । चिकित्सकहरूका अनुसार ‘दुई–चार दिनपछि यसै ठीक भइहाल्छ नि’ भनेर बस्ने, परीक्षणै नगरी आफू खुसी एन्टिबायोटिक खानेहरू पनि ठूलो संख्यामा छन् । व्यापार व्यवसाय तथा दैनिक ज्याला मजदुरी गर्नेहरूले पनि १४ दिनसम्म आइसोलेसनमा बस्नुपर्छ भनेर परीक्षण नगरी बसेको थुप्रै भेटिन्छन् ।

कोठा भाडामा बस्नेहरुको आफ्नै समस्या छ, कोरोना पुष्टि भए कहाँ आइसोलेट भएर बस्ने ? मेडिकल साइन्सले प्रमाणित गरिसकेका तथ्य, चिकित्सक र वैज्ञानिकहरूका सूचनालाई भन्दा सामाजिक सञ्जालहरुमा आएका ‘कोरोना केही होइन’ भन्ने मनगढन्ते गफमा विश्वास गरेर परीक्षण नगर्नेहरूको पनि कमी छैन ।

हेर्दा सामान्य जस्तो लाग्ने यस्ता बानी व्यवहार महामारीका बेला निकै घातक हुने चिकित्कसहरू बताउँछन् । कोरोनाको लक्षण कसैलाई सामान्य हुनसक्छ, थुप्रैलाई सिकिस्त बनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १३ लाख भन्दा बढीको ज्यान गइसकेको छ । नेपालमा पनि मृतकको संख्या २ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक भने १२५९ छ ।

‘पीसीआर टेस्ट गरेपछि बेकारमा १४–१५ दिन आइसोलेसनमा बस्नुपर्छ भनेर धेरैले कोरोनालाई हलुका रूपमा लिएको पाइन्छ तर यो गल्ती गर्दै नगरौं’ डा. बास्तोला भन्छन्, ‘दुई हप्ते आइसोलेसन तपाईंको जीवनभन्दा ठूलो हुँदै होइन, त्यसकारण लक्षण देखिएपछि कुनै पनि हालतमा पीसीआर परीक्षण गराइहालौं ।’

पीसीआर परीक्षण कति महत्वपूर्ण छ भन्ने सर्वोच्च अदालतको आदेश र संसदको शिक्षा तथा स्वास्थ्य समितिको निर्देशनले पनि देखाउँछ । अदालत र समितिको निर्देशनपछि सरकार आफ्नो गलत निर्णय सच्याउन बाध्य भएको छ । लक्षण भएका व्यक्तिको सरकारी अस्पताल तथा प्रयोगशालामा निःशुल्क परीक्षण नगर्ने निर्णयबाट सरकार पछि हटेको छ । त्यसअनुसार शुक्रराज ट्रपिकल अस्पतालले हरेक दिन ३०० जनाको निःशुल्क परीक्षण गर्ने बताएको छ ।

किन अनिवार्य छ कोरोना परीक्षण ?

पुष्टि भएका संक्रमितमध्ये २.४ प्रतिशत मृत्युदर रहेको कोभिड–१९ लाई खतरनाक मान्नुको एउटा महत्वपूर्ण कारण भुसको आगो जसरी फैलने भएकाले पनि हो ।

‘जसरी घरमा मुटुको बिरामी हुनुहुन्छ भने गंगालाल अस्पतालको हटलाइन नम्बर राख्छौं नि । ठीक त्यसरी नै होम आइसोलेसनमा बस्दा गाह्रो भयो भने कसरी अस्पताल पुग्ने भनेर तयारी गरौं’, बास्तोला भन्छन् ।

चिकित्सकहरुका अनुसार समयमै परीक्षण गर्दा परिवारका अन्य सदस्य/सहकर्मी/आफन्तलाई यो भाइरस सर्नबाट जोगाउन सकिन्छ । एक अर्कालाई भाइरस सर्न रोक्नु भनेको समुदायलाई संक्रमणबाट त जोगाउनु पनि हो ।

परीक्षण बेलैमा गर्नुपर्ने कारण यो मात्रै होइन, आफैंलाई गाह्रो भइहाल्यो भने अस्पताल पुगेर उपचार गर्न पनि बेलैमा गरिएको परीक्षणले सहज बनाउँछ । लक्षण देखिएर पनि परीक्षण नगरी बस्दा निमोनिया भइसक्ने जोखिम पनि हुन्छ । ‘साइलेन्ट निमोनिया’को खतरा रहेको चिकित्सकहरूले बताएका छन् ।

दीर्घरोगी, ज्येष्ठ नागरिक, निमोनियाका विरामी वा अन्य जोखिम समूहलाई कोरोना लागेको ढिलो थाहा हुँदा उपचार गर्न गाह्रो हुने चिकित्सकहरूको अनुभव छ ।

‘होम आइसोलेसनमा बस्ने प्रत्येकले हटलाइन नम्बर राखौं’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म २६ हजार ४२१ संक्रमित होम आइसोलेसनमा छन् । तर उनीहरूलाई अनुगमन गर्ने कुनै प्रभावकारी संयन्त्र छैन ।

सुरूमा स्थानीय तहका स्वास्थ्यकर्मीहरूले दिनमा तीन पटक स्वास्थ्य अवस्थाबारे अपडेट लिने भने पनि कार्यान्वयन भएन । पछिल्लो समय टेलिपरामर्शका लागि भनेर केही स्वास्थ्यकर्मीहरूको नाम र फोन नम्बर सार्वजनिक गरिएको छ । तर अहिले पनि होम आइसोलेसनमा बसेका धेरैको निगरानी हुनसकेको छैन ।

पटक पटक प्रयास गर्दा पनि परामर्श नपाएको आइसोलेसनमा बस्नेहरूको गुनासो छ । सुरूदेखि नै कोभिड–१९ को उपचारमा संलग्न टेकुका डा. बास्तोला संक्रमित आफैं र परिवारका सदस्यहरू पनि सचेत हुनुपर्ने बताउँछन् । उनका अनुसार होम आइसोलेसनमा बस्दा अरु मापदण्ड पालनासँगसँगै हरेक दिनमा ३/४ पटक ज्वरो, शरीरमा अक्सिजनको मात्रा नाप्नुपर्छ ।

स्वास्थ्यमा समस्या भयो भने कुन अस्पताल जाने, कसरी जाने भनेर पनि तयारी गर्नुपर्छ । कोही गर्भवती छ भने कस्ता लक्षण देखियो भने अस्पताल जाने, कुन अस्पताल जाने भन्ने पूर्व तयारी हुन्छ । ‘जसरी घरमा मुटुको बिरामी हुनुहुन्छ भने गंगालाल अस्पतालको हटलाइन नम्बर राख्छौं नि । ठीक त्यसरी नै होम आइसोलेसनमा बस्दा गाह्रो भयो भने कसरी अस्पताल पुग्ने भनेर तयारी गरौं’, बास्तोला भन्छन् ।

बेलैमा परामर्श र अस्पताल

२१ असोजमा देशभरि कुल संक्रमित संख्या ९४ हजार आसपास थियो भने २५ हजार सक्रिय संक्रमित थिए । उनीहरुमध्ये १४ हजार भन्दाबढी होम आइसोलेसनमा थिए । तर लक्ष्मण भएका संक्रमितले समेत अस्पतालमा वेड पाएनन् ।

वेडको जोहो गर्नुको साटो सरकारले बेहोस होला–होला जस्तो भए मात्रै अस्पताल आउन आग्रह गर्‍यो । भएका बेला स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा होला जस्तो भएमा वा पिसाब नभएका वा कम भएमा मात्र अस्पताल जान आग्रह गरेका थिए ।

जबकी कोभिड–१९ को उपचारमा संलग्न चिकित्सकहरू भने होम आइसोलेसनमा बस्दा ज्वरो आइरह्यो, सुख्खा खोकी लागिरह्यो, श्वासप्रश्वासमा समस्या भयो भने तुरुन्तै चिकित्सकसँग परामर्श गरेर अस्पताल लैजानुपर्ने बताउँछन् । ‘अस्पतालको शुल्कलगायतका कारणले पनि होला, ज्येष्ठ नागरिकहरू पनि होम आइसोलेसनमा बस्नु भएको छ’ डा. बास्तोला भन्छन्, ‘कतिपयले घरमै अक्सिजनको जोहो पनि गर्नुभएको छ । तर निमोनिया भइहाल्यो भने अक्सिजन दिएर मात्र पुग्दैन, अरु औषधि पनि चलाउनुपर्छ ।’

स्थानीय सरकारले भूमिका खेलोस्

होम आइसोलेसनमा बसेकामध्ये कतिपयमा लक्षण छैन । एसिम्टोम्याटिक (लक्षण नभएकाा) संक्रमितहरू होम आइसोलेसनमा बस्नु ठीक हो ।

तर लक्षण भएका, दीर्घरोगी र ज्येष्ठ नागरिकलाई भने स्वास्थ्यकर्मीको नियमित निगरानी चाहिन्छ । यसमा स्थानीय सरकारले भूमिका खेल्नुपर्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

‘स्थानीय तहले अग्रसरता लिने हो भने कुन घरमा संक्रमित छन् ? कसलाई स्वास्थ्यकर्मीको निगरानी चाहिन्छ ? भन्ने पत्ता लगाउन सकिन्छ’ एक जनस्वास्थ्य विज्ञ भन्छन्, ‘त्यसअनुसार कसैलाई गाह्रो भयो भने अस्पतालसम्म पुर्‍याउने संयन्त्र बनाउन र जनचेतना फैलाउन सकिन्छ ।’



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *