लकडाउनपछिको रंगमञ्च : लय समात्ने प्रयासमा

लकडाउनपछिको रंगमञ्च : लय समात्ने प्रयासमा


२७, माघ, काठमाडौं । विश्व महामारी कोरोनाले सम्पूर्ण मानव जीवन प्रभावित बनेको अवस्थामा रंगमञ्च पनि ठप्प भयो । दर्शकको सामूहिक उपस्थितिमा देखाइने कला भएकाले रंगमञ्च (नाट्यशाला) कोरोनाको उच्च जोखिममा थियो । एक मानिस र अर्को मानिसको प्रत्यक्ष सम्पर्क हुने नाटकघर कोरोना भाइरसको चर्चासँगै सुस्ताउन थाल्यो ।
तर, लकडाउन छ भनेर कलाकारहरू हात बाँधेर बसेनन् । उनीहरू व्यक्तिगत अभ्यास, लेखन र नाट्य-विमर्शमा थिए । भर्चुअल विमर्श र कार्यशालामा नाटक सिकिरहेका थिए । यसैले कोरोनाबाट केही राहत मिलेपछि तिहारलगत्तै नाटकका अध्यास सुरु गर्न थाले ।

महामारीका कारण १० महिना बन्द भएको नाटकघर खुलेपछि यही माघ पहिलो साता नाटक ‘६ पात्रको एकालाप’ शिल्पी थिएटरमा प्रदर्शन भयो । कोरोनापछि थिएटरमै मञ्चन भएको यो पहिलो नाटक हो ।

यता नाटक घरहरूको साझा मञ्च ‘थिएटर हब’ले माघ १ देखि नाटकर घर खुल्ने विज्ञप्ति निकाल्यो । विज्ञप्तिमा भनिएअनुसार नाटक घर सञ्चालन गर्दा दर्शकबीच भौतिक दूरी राखिने, मास्क अनिवार्य र स्यानिटाइजर उपलब्ध गराइने छ । मञ्चन हुने कुनै पनि नाट्य प्रस्तुति एक घण्टाभन्दा लामो हुने छैनन् ।

शिल्पी थिएटरले माघ १ मै नाटक मञ्चन गरे पनि काठमाडौं उपत्यकाका अधिकांश नाटकघर भने अझै सुनसान छन् । धेरै कलाकार नाटक कसरी चलाउने र दर्शकलाई कसरी तान्ने भनेर अन्योलमा छन् । यस्तै स्थितिमा माघ ६ गते नारायण वाग्लेको बहुचर्चित उपन्यास ‘पल्पसा क्याफे’मा आधारित रहेर नाटक बन्ने घोषणा भयो । विमल सुवेदीको निर्देशन रहको पल्पसा क्याफे वैशाखमा प्रदर्शन हुने बताइएको छ । बिराटनगरमा बिराट आदर्श साहित्य मञ्चले नाटक ‘मुनामदन’ फागुन १ देखि मञ्चन गर्ने घोषणा गरेको छ ।






यो पनि पढ्नुहोस
‘पल्पसा क्याफे’की ‘पल्पसा’ बन्न किन तयार भइन् स्वस्तिमा ?

कोरोनाकाल अघिजस्तो नाटकको माहोल नभए पनि तिहारपछाडि देखि नै कलाकारहरू नाटक मञ्चन गर्न अभ्यासरत थिए । यसैबीच पुष ४ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि शिल्पी थिएटरले प्रतिगमनविरूद्ध सडक नाटक सुरु गर्‍यो । प्रतिगमनविरूद्ध सुरू भएको बृहत् नागरिक आन्दोलनमा शिल्पी नाट्य टोलीले आधा दर्जनभन्दा बढी देखाइसकेको छ ।

शहीद दिवसको सेरोफेरोमा शहीदहरूको मृत्युदण्ड (९७ साल काण्ड) समेटेर शिल्पीले सडकमै नाटक देखायो । शिल्पी थिएटरका संस्थापक एवं निर्देशक घिमिरे युवराजको मतमा देश संकटमा परेको अवस्थामा आफ्नोतर्फबाट उभिनु कलाकारको हुन्छ । युवराज भन्छन्, ‘लोकतन्त्र तथा संविधानमाथि प्रहार हुँदा कलाकार मौन बस्न मिल्दैन । यसैले आन्दोलन छौं ।

आन्दोलनमा लागिरहेकाले अन्य नाटकको तयारी गर्न भने अझै एक महिना लाग्ने उनले बताए ।

यता मण्डला थिएटरकी अध्यक्ष सृजना सुब्बा पनि रंगमञ्चले पहिलाजस्तै गति लिन दुईदेखि तीन महिना लाग्ने बताउँछिन् । सुब्बा भन्छिन्, ‘नियमित अभ्यासका लागि फागुनदेखि मण्डला थिएटर खुल्नेछ । तर, सार्वजनिक नाटक प्रदर्शनका लागि भने समय लाग्ने छ । यसका लागि हामी छलफलमै छौं ।’

नाट्यकर्मी विजय बराल पनि रंगमञ्चको लहर बढ्न केही समय लाग्ने धारणा राख्छन् । अहिले सिनेमाको सुटिङमा रहेका बरालका अनुसार नयाँ वर्ष सुरु भएपछि रंगमञ्चले गति लिनेछ । युवा नाट्यकर्मी बच्चु हिमांशु पनि चाँडे नै रंगमञ्चले गति लिनेमा विश्वस्त छन् । पल्पसा क्याफे नाटकको तयारी गरिरहेका कलाकार हिमांशुका अनुसार कोरोनाकालमा पनि युवा नाट्यकर्मीले अभ्यास गर्न छाडेका थिएनन् ।
तर, प्रदर्शनको उपयुक्त माध्यम नहुँदा उनीहरू खुम्चिन बाध्य थिए । अहिले नाटकघर खुलेसँगै अभ्यासको लागि उनीहरूले उपयुक्त स्थान पाएका छन् ।

पूर्ण गतिमा सञ्चालन हुन अझै समय लाग्ने

नाट्यकर्मीहरूका अनुसार पूर्ण गति (फूल-फेज)मा रंगमञ्च सञ्चालन हुन अझै केही महिना लाग्नेछ । महामारीको डर कायमै रहेकाले भीडभाडसहित नाटक प्रदर्शन गर्न समस्या रहेको उनीहरू बताउँछन् । साथै एक वर्ष नाटकको रसबाट बाहिर रहेका दर्शकलाई फेरि रंगमञ्चको आकर्षणमा ल्याउनु अर्को चुनौति रहेको उनीहरूको साझा कथन छ ।

नाटकघरमै नाटक प्रदर्शन सुरु हुन चैत वा वैशाख महिना लाग्ने बताउँछन् घिमिरे युवराज । उनी भन्छन्, ‘हामीले तत्कालै एउटा नयाँ नाटकसहित नाटकघर खोल्ने योजनामा थियौं तर राजनीतिक अस्थिरताले गर्दा तत्काल सुरू गर्न सम्भव भएन ।’

थिएटर भिलेजका संस्थापक निर्देशक विमल सुवेदी पनि रंगमञ्चको माहोल पहिलेकै अवस्थामा आउन केही समय लाग्ने बताउँछन् । सुवेदीले भने, ‘एक वर्षभन्दा लामो समयको रिक्ततापछि नाटक सुरु गर्दा चुनौति धेरै छन् । तर रंगकर्मीको प्रयासले नाटक फेरि बिउँतिनेछ ।’

सुवेदीका अनुसार पहिलेको भन्दा नयाँ उत्साहका साथ नयाँनयाँ नाटक मञ्चन गरेमात्र पूर्णगतिमा रंगमञ्च फर्किनेछ ।

अग्रज नाट्यकर्मी रमेशरञ्जन झा पनि नाटकको लय पहिलेकै अवस्थामा ल्याउन नाट्यकर्मीले कसरत गर्नुपर्ने बताउँछन् । रमेशरञ्जनका अनुसार महामारीको त्राशलाई चिर्दै रंगमञ्च अघि बढ्नुपर्ने अवस्था अहिलेको आवश्यकता हो ।

यद्यपि, बन्दाबन्दीकै बीच थिएटर मल कीर्तिपुरले ‘भर्चुअल नाटक महोत्सव’ सम्पन्न गरेको थियो । गत चैत्र १४-१६ सम्ममा चलेको महोत्सवमा दुई विदेशीसहित २० वटा नाटकको भिडियो फेसबुकबाट लाइभ गरियो ।






यो पनि पढ्नुहोस
रंगमञ्चमा कोरोना कहर : संकटपछि नयाँ धार सुरु हुने आशा

थिएटर मलका सञ्चालक तथा नाट्यकर्मी केदार श्रेष्ठ रंगमञ्चप्रतिको आकर्षण घट्न नदिन यस्तो महोत्सव गरेको बताउँछन् । यद्यपि, नाटकको मर्म दर्शक-कलाकार निकटतामै हुने उनलाई लाग्छ । भन्छन्, ‘भौतिक उपस्थितिबिना पनि नाटक प्रदर्शन गर्न सकिन्छ भन्ने अवधारणामा महोत्सव गरेका हौं ।’

नाटक प्रदर्शनका लागि दर्शक र कलाकारको प्रत्यक्ष जमघट हुनुपर्नेमा केदार अडिग छन् । युवा नाट्यकर्मी केदारकै भनाइमा सहमत छन् वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेल ।

पोखरेलका अनुसार नाटकको मूल मर्म नै दर्शकको प्रत्यक्ष अवलोकनसँग जोडिएको छ । यसका लागि पनि नाटकघरमा नाटक प्रदर्शन हुन आवश्यक ठान्छन् पोखरेल ।

पोखरेल भन्छन्, ‘सृजनशील जमातलाई प्रतिकुलताले रोक्न सक्दैन तर, दर्शक जम्मा भएर नाटकघरमै नाटक प्रदर्शन गर्ने वातावरण कोरोनाले बिगारिदियो ।’

अहिले शिल्पी थिएटरमा नाटक मञ्चन भएसँगै विराटनगरस्थित झोराहट थिएटर, आरोहण गुरुकुल, पोखरास्थित पोखरा थिएटर, काठमाडौंको मण्डला थिएटर, थिएटर मल, कौशी र शैली थिएटर पनि खुल्ने तयारीमा छन् । तर, कुन नाटकघरमा कहिलेदेखि नाटक मञ्चन हुने कुरा सार्वजनिक भइसकेको छैन ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *