राज्यको सोंच र अनुकुल नीतिले मात्रै उकासिन सक्छ पर्यटन व्यवसाय


पर्यटन व्यवसायीहरुले पर्यटनलाई उकास्नका लागि सरकारको नीतिदेखि सोंचाईमै परिवर्तन हुनुपर्ने धारणा राखेका छन् । पर्यटन पुनरुत्थान समिति लुम्बिनी प्रदेशले बुधबार नेपालगन्जमा आयोजना गरेको परिचयात्मक भ्रमण कार्यक्रममा नेपालगन्जका होटल तथा पर्यटन व्यवसायीहरुले पर्यटक क्षेत्र उकास्नका लागि राज्यले सोही अनुसारको नीति बनाउनु पर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणाले मानसरोवर रुट खुलेपछि बाँकेमा पर्यटकहरुको चाप बढ्दै गएपनि रुट बन्द भएसँगै कमी आएको बताए । उनले कोरोनाका कारण पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएपनि सरकारले राहत दिने खालको कुनै कार्यक्रम नल्याएको बताएका थिए । नगर प्रमुख डा. राणाले जुनसुकै क्षेत्रमा काम गर्ने योजना बनाउने, छलफल गर्ने तर त्यसलाई परिणाम आउने गरेर निष्कर्षमा नलैजाने प्रवृत्तिले पनि योजनाहरु कागज र छलफलमै सीमित हुने गरेको बताए । पर्यटन क्षेत्रलाई उकास्नका लागि हुने गरेका छलफलहरु पनि परिणाममूखि हुन नसकेको उनले बताएका थिए ।

नगर प्रमुख डा. राणाले लकडाउनमा बन्द रहेका होटलले विद्युतको बिल त्यत्तिकै तिर्नुपरेको उदाहरण दिंदै सरकारले पर्यटन व्यवसायलाई राहत हुने, पर्यटकीय क्षेत्र प्रवद्र्धन गर्ने खालका कार्यक्रम गर्न नसकेको बताएका थिए । उनले पर्यटन क्षेत्र उकास्नका लागि संघीय सरकारबाटै त्यसखालको नीति ल्याइनु पर्ने उल्लेख गर्दै सीमा नाका बन्द हुँदा यहाँका होटल, व्यवसाय चल्न नसकेको बताएका थिए । ‘सीमा बन्द भनिएको छ, आउजाउ छ, यातायातका साधन मात्रै आउन जान दिइँदैन, अनि कसरी पर्यटक आउँछन्’, बाँकेको पर्यटन क्षेत्र फष्टाउन भारतीय पर्यटक आउन रोकिंदा व्यवसायीले नोक्सान व्यहोरिरहेको उल्लेख गर्दै नगर प्रमुख डा. राणाले भने, ‘त्यसैले सरकारले तत्काल बन्द सीमा खोलिदिनु पर्छ ।’

नगर प्रमुख डा. राणाले स्थानीय स्तरमा पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि योजना लिएर आएर उपमहानगरपालिकाले सकेको सहयोग गर्ने बताए । ‘तर पहल पर्यटन व्यवसायीको हुनुपर्छ, स्थानीय तहबाट हुनसक्ने काम हामी गर्छौ’, उनले भने ।

नगर प्रमुख डा. राणाले भारत सँग सीमा जोडिएको सहर भएकाले क्यासिनो सहरका रुपमा अगाडि बढाउन सकिने बताए । ‘क्यासिनोमा भारतीय पर्यटक तान्न सक्ने हो भने यहाँको पर्यटन क्षेत्र फष्टाउँछ, आर्थिक रुपमा सहरले गति पनि लिनसक्छ’, उनले भने । नगर प्रमुख डा. राणाले आन्तरिक पर्यटक आकर्षित गर्न नगरमा पार्कहरु बनिरहेको, वाटर पार्क तयार भैरहेको उल्लेख गरेका थिए ।

पर्यटन पुनरुत्थान समिति लुम्बिनी प्रदेश सदस्य भाष्कर काफ्लेले सञ्चालन गरेको कार्यक्रममा समितिका सह संयोजक श्रीराम सिग्देलले पर्यटन व्यवसाय फष्टाउनका लागि ठोस योजना बनाएर अघि बढ्नु पर्ने बताएका थिए । उनले त्यसैका लागि सुझाव लिनका लागि लुम्बिनी प्रदेशका सबै जिल्लामा पर्यटन व्यवसायीहरुसँग छलफल गरिएको बताएका थिए । प्राप्त सुझाव एकिकृत गरी पर्यटन बोर्डमा पेश गरिने सहसंयोजक सिग्देलले जानकारी दिएका थिए ।

समितिका सल्लाहकार माधव प्रसाद नेपालले कोभिड १९ पछि अर्को लहर कोभिड २० आउने सम्भावना बढ्दै गएको उल्लेख गर्दै सुरक्षित भएर सबै कामहरु अघि बढाउँदै लग्नुपर्ने बताएका थिए । सल्लाहकार नेपालले आन्तरिक पर्यटन वृद्धि गर्नुपर्ने धारणा राख्दै भने, ‘अब तपाई पनि घुम्नुस्, अरुलाई पनि घुम्न भन्नुस्, तपाई पनि सुरक्षित हुनुस्, हामी पनि सुरक्षित हुन्छौं ।’ अब कोरोनाको अर्को लहर आएपनि पहिलेकै लकडाउनको अवस्थामा फर्कन सकिने अवस्था नरहेको सल्लाहकार नेपालले बताएका थिए । उनले पर्यटक आकर्षण गर्न घुम्न सकिने ठाउँहरुको प्याकेज बनाएर प्रवद्र्धनका कार्यहरु गर्न आवश्यक रहेको बताएका थिए ।

होटल व्यवसायी संघ नेपालगन्ज बाँकेका अध्यक्ष भीमलाल कंडेलले बाँके, बर्दिया लगायत जिल्लाका पर्यटकीय क्षेत्रहरु उल्लेख गर्दै त्यसको प्रवद्र्धनमा सघाउनका लागि समितिसँग प्रस्ताव गरेका थिए । पत्रकार झलक गैरेले पर्यटन व्यवसाय फष्टाउनका लागि ठोस योजना बनाएर तहगत रुपमा कार्यान्वयन गर्दै लैजान सुझाव दिएका थिए । ‘सम्भावना धेरै छन्, त्यसको पहिचान गरी प्रवद्र्धनका योजनाहरु बनाउँदै कार्यान्वयनमा लग्नुपर्छ’, कार्यक्रममा आएका सुझावहरु समितिले कार्यान्वयन तहमा लैजाने विश्वास व्यक्त गर्दै उनले भने ।

होटल व्यवसायी देवानन्द अर्यालले पर्यटन क्षेत्र फष्टाउनका लागि सबै आर्थिक क्षेत्र समान रुपमा फष्टाउनु पर्ने बताएका थिए । ‘मानिस आर्थिक रुपमा बलियो भयो भने मात्र घुमफिर गर्न सक्छ’, उनले सबै आर्थिक क्षेत्र समान ढंगले अघि बढाइनु पर्ने सुझाव राख्दै भने ।

सोल्टी होटलका इन्द्र खड्का, नेपालगन्ज साइक्लिलिङ्ग क्लबका गगन थापा, विभिन्न जिल्लाका होटल व्यवसायी संघका प्रमुख तथा प्रतिनिधि, नेपालगन्जका होटलहरुका सञ्चालक लगायतले बोकेको कार्यक्रम समितिका लुम्बिनी प्रदेश संयोजक कृष्ण प्रसाद अधिकारीको संयोजकत्वमा भएको थियो ।

The submit राज्यको सोंच र अनुकुल नीतिले मात्रै उकासिन सक्छ पर्यटन व्यवसाय appeared first on Nepalgunj News.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *