राजा महेन्द्रलाई गाली गर्नुको औचित्य सकियो


आज पुस १७ गते । यो दिनको चर्चा पक्कै पनि आज अझ बढि हुने छ । यो यस कारण मात्रै चर्चा होइन कि आज कै दिन २०१७ सालमा राजा महेन्द्रले तत्कालिन दुइतिहाइको सरकारलाई अपदस्त गरेर देशको शासनसत्ता आफ्नो हातमा लिएका थिए । चर्चाको यस कारण हुँदै छ कि यहि पुष ५ गते वर्तमान सत्ताका दुई धु्रबमा रहेका तर एउटै वाद बोकेका प्रधानमन्त्री के पी शर्मा ओली र पुष्प कमल दहाल प्रचण्डको सत्ता भागबण्डाको किचलोको शिकार झण्डै दुई तिहाइको कम्यूनिष्टको संसद भएको छ । यसको दोष लगाउन आज कुनै महेन्द्र छैनन्, कुनै पञ्चायत छैन । कुनै राजसंस्था छैन । कुनै पनि दरबार छैन । यदि छ त एकासगोलको कम्यूनिष्ट पार्टीका एक अर्को पक्षका नेता मात्रै छन् । आज यहाँ न २०१७ साल पुष १७ गते छ न त कुनै राजा महेन्द्र छन् तर पनि दुइतिहाइको संसद भंग भएको छ । एउटा पक्ष सिंहदरबार भित्रबाट डुक्रिँदै छ भने उहि पार्टीको अर्को पक्ष ठिक सिंहदरबार बाहिरको चिसो सडकमा बसेर आफु त्यतातिर भएको कुर्लिंदै छ ।

उसो त नेपालको राजनीतिमा २०४६ साल यता आलोपालो हालीमुहाली गरी रहेका देशका दुई ठूला पार्टी नेपाली काँग्रेस र नेकपाले राजा महेन्द्रलाई गाली गर्न थालेको आज ६० बर्ष पुगेको छ । यस बिचमा बागमतीमा धेरै पानी बगिसक्यो । देशले बहुदलीय व्यवस्था देखि गणतन्त्रसम्मका यिनै पाटीहरुका झण्डै तीन दर्जन सरकारहरु भोगेको छ । यी पार्टीका सयौं नेता कार्यकर्ता मन्त्री बनेका छन्, हजारौं कार्यकर्ताको आर्थिक हैसियत बढेकोे छ । गाडीको टायरका चप्पल लगाएर काठमाण्डौं छिरेका नेताहरुलेसर्यौं निस्वार्थ देशप्रेमी नेपालीहरुको छातीमा बुट बजार्दै बीना कुनै उद्योग व्यापार व्यवसाय अलिशान महलहरु, लाखौंका बैंक मौज्दात र महङ्गा गाडीहरुका मालिक बनेका छन् । देशका निम्न पूँजिपतिवर्ग र इमान्दार लगानीकर्ताहरु रोइरहेको अवस्था छ । देशलाई पाल्ने किसान आफ्नो बालीको बक्यौता माग्दा माग्दै मरेको छ । देश भने दलाल र ठेकेदारहरुले नै चलाएका छन् । यो सुन्दा कटु लाग्ला तर नेपाली जनताले बर्तमानमा महसुस गरेको यर्थाथ यहि हो ।

देशमा कुनै समय भएका बाइसे चौबिसे राज्य सकिएको त झण्डै अढाई सय बर्ष भयो तर बेग्रेल्ती छोटे रजौटाहरुको जन्म भएको छ । देशका बर्तमान यी पार्टीका नेताहरुले बिगत २०४६ यताका ३१बर्षमा जम्मा जम्मी गरेको के कति भनेर साँच्चिकै खोज्ने हो भने त्यहि राजतन्त्रले आर्जेका औद्योगिक कारखानाहरुको कमिशनका लागि लिलामी काण्ड,राजतन्त्रले गरेका असल कामको बिध्वन्स, हजारौंको हत्याहिंसा काण्ड,दिल्लीको मेजनमानी खाएर नेपाली मराउने काण्ड, लाउडा धमिजा काण्ड देखि वाइड बडी जहाज काण्ड, किलो देखि टनसम्मका सुन काण्ड, गुठी र मन्दिरका जग्गा देखि सरकारी जग्गाहरुको व्यक्तिका नाममा दर्ता गर्ने काण्ड, क्यान्टोन्मेन्ट काण्ड, सासंद खरिद बिक्रि काण्ड, देशको अस्मिता माथि नै आँच आउने सुडान शान्ति मिशन काण्ड, जनताको खुन पसिनाको आर्जनले संचय गरि राखेका बैंकहरुको डकैती काण्ड, महाकाली काण्ड, राजसंस्थाले बचाएको वन, गौचरन बिक्रि र घुइयाको भाउमा आसेपासेलाई ठेक्का काण्ड, सरकारी ढुकुटीमा कार्यकर्ता भर्ती गरेर र राज्यकोष कथित बिकास कोषको नाममा बाँडेर राजश्व ब्रम्हलूट काण्ड, स्वास्थ्य समाग्री खरिद देखि जलविद्युत आयोजना बुढिगण्डकी ठेक्का काण्ड, मेलम्ची सिक्टा काण्ड, एनसेल टु जी, फोर जी र भ्याट भन्सार छूट काण्ड आदी इत्यादी काण्ड काण्ड मात्रै हो । यी समग्र काण्डको मौद्रिक हिसाब किताब गर्ने हो भने नेपाल र नेपालीको खल्तीमा कति डकैती भयो भन्ने कुरा वर्तमान सत्ताका सातपुस्ताले पनि हिसाबकिताब दिन सक्दैनन् । तर पनि आज यिनीहरु नै दुधले नुहाएका चोखा बनेर सत्ताको पैठाजोरीमा लाज पचाएर आफु नै अब्बल भनिरहेका छन् ।

आज अब जनताले कसले के काम गरे र देशलाई कस्तो बनाए भनेर सोध्ने ल्याकत नेपाली जनताले राख्नु पर्छ । मात्रै एउटा त्यस्तो राजा वा राजनेतालाई गाली गरको औचित्य त्यतिकै पुष्टि अब हुँदैन । हिजो राजा महेन्द्रले २०१७ साल पुष १७ गते किन तत्कालिन दुई तिहाइको सरकारलाई हटाएका होलान भन्ने कुरामा नेपाली जनताले अब आफ्नो दिमागको ताला खोले होलान भन्ने आशा गर्न सकिन्छ । आज ६० बर्षसम्म तिनै राजाको बिरोध गरेर आफ्नो निकम्मापन ढाकछोप गर्नेहरु र ३१ बर्ष बाँडिचुँडी खाएर रित्तिएको ढुकुटीलाई आफुले गर्दा होइन भन्ने पार्ने प्रपञ्चमा लागेकाहरुले आज ( पुस ५ गते ) आफ्नै साथीले गलहत्याउँदा कुन चाहिँ राजालाई आरोप लगाउने त ?

आजसम्म त यिनीहरु देश र जनता प्रति वफादार र शिक्षित भएका रहेनछन् भने ६० बर्ष पहिले त झन यिनीहरुको औकात र हैसियत कस्तो थियो होला ? अनि राजा महेन्द्रले यिनीहरुको गलत कामलाई रोक्न सरकार संसद भंग गरेका रहेछन् भनी किन नभन्ने ?

साँच्चिकै राजा महेन्द्रले त्यसबेला चालेको कदममा अब खासै शंका गर्ने ठाउँ देखिँदैन । किन कि उनी आजका दर्जनौं बिषयमा बिद्यावारिधी गरेका आइएनजिओका गुलामी गर्नेहरु भन्दा निकै नै अब्बलराष्ट्रप्रेमी थिए भन्ने कुरा वर्तमान समयले र अहिलेका राजनीतिक घटनाक्रमले प्रमाणित गरिसकेको छ । सन् १९५० को भारत नेपाल ‘शान्ति तथा मैत्री सन्धी’ मा जसरी नेपालको परराष्ट्र र सुरक्षा मामिलाको स्थायी स्वामित्व लिने भारतीय प्रयास भयो त्यसको मूल्य आज नेपाली जनताले आफ्नो अस्तित्व मेटेर तिर्नुपर्ने बाध्यतालाई महेन्द्रको आँट, दूरदृष्टि सफल कुटनीतिले नै बिफल बनाएको थियो भन्ने कुरा कम्तिमा यी झगडियाहरुले खण्डन गर्न मिल्दैन । उनको त्यो आँट नभएको भए सम्भव पनि थिएन भन्ने प्रमाण आजका यी उनै राजाको कर्ममा बुकुर्सी मार्नेहरुबाट लिइरहनु पर्छ जस्तो लाग्र्दैन । यतिसम्म कि आज नेपाली राष्ट्रियता र प्रजातन्त्रका हिमायती नेपाली काँग्रेसका आर्दशपुरुष बिश्सेश्वर प्रसाद कोइरालाले समेत भारतीय नीतिको पक्षलाई सर्मथन गरेको कुरा ३० जून १९५५ मा भारतको नयाँ दिल्लीबाट प्रकाशन हुने दि स्टेट्म्यान दैनिकलाई उद्धरण गर्दै लेखिएको एउटा समाग्रीले पुस्टि गर्दछ ।

२००८ साल पछि त झन तत्कालिन भारतीय प्रधानमन्त्री जावाहरलाल नेहरुले राजदरबार र अन्य नीतिगत तहमा भारतीय सल्लाहकार नियुक्त गरी सम्पूर्ण नेपालको रक्षा तथा गृहप्रशासन समेत आफ्नो नियान्त्रणमा लिएका थिए । २००८ साल कार्तिक ७ गतेको नेपाल गजेट अनुसार नेपालको अर्थ, परराष्ट्र, रक्षा, लोकसेवा, गृह र राजदरबारको सम्पूर्ण अख्तियारी सहित गोबिन्द नारायण सिहँलाई जँगे अधिकार सहित नियुक्ति गरिनुले त नेपाली सार्वभौमसत्ता पुरै भारतमा नीहित भएको देखिन्छ ।

आज नेपालका नेताहरु कहिले रोड एण्ड बेल्ट इनेसेटिभ, कहिले एमसीसी त कहिले इण्डोप्यासिफिकको चक्रव्यूहको रनभुल्लमा परि आफ्नै पार्टीभित्र कुस्ती खेलिरहँदा राजा महेन्द्रको राजनीति र कुटनीति त्यस्तो बिषम परिस्थितीमा पनि कसरी असंलग्न रहन सक्यो, यसको चर्चा गर्नै पर्छ । २००८ साल यता २०११ साल सम्ममा नेपाली सार्वभौमसत्ता पुरै धरापमा परेको बेला पहिलो कार्य थियो विदेशी खटनपटन हटाई नेपाललाई आर्थिक रुपमा आत्मनिर्भर बनाउँदै परनिर्भरता घटाउने कार्य । राजा महेन्द्र कै नेतृत्वमा २०१२ साल पुषमा नैं आफु राजा भएको १० महिना मैं संयुक्त राष्ट्रसंघको सदस्यता लिएर नेपाल राष्ट्र सार्वभौम हो भन्ने संदेश दिन सफल भएका थिए । बिक्रम संबत २०१३ साल साउन ५ गते तत्कालिन सोभियत रुससँग द्धौत्य सम्बन्ध स्थापित गरे भने चीनसँग पनि २०१७ सालमा सम्बन्ध स्थापना गरेर राजा महेन्द्रले नेपाल कुनै भारतीय सत्ताको खेलौना होइन यसको आफ्नो सार्वभौमसत्ता र कुटनीतिक क्षमता छ भन्ने देखाइदिएका थिए । राजा महेन्द्रले आफ्नो कार्यकालमा ४५ वटा देशसँग कुटनीतिक सम्बन्ध स्थापित गरेका थिए ।

१९५० को दशकमा (२००८ सालमा ) गएको कोशीको बाढीबाट भएको क्षति पछि पारवहन सुबिधाका लागि भन्दै बिराटनगरमा खडा गरिएको भारतीय अस्थायी कार्यालय राजा महेन्द्रले हटाए, आज बर्तमान नेपालको इतिहासमा २०६५ सालमा गएको बाढीमा फेरि भारतले खडा गरेको बिराटनगर स्थित कार्यालय जनताको व्यापक चासोका बीच झण्डै १० बर्ष पछि हटाउने निर्णय त भयो तर स्थलगत रुपमा भारतको त्यो अफिस हटेको छैन भन्ने कुरा सुन्नमा आउँदा हाम्रो कुटनीतिको बर्तमान स्थिती सहजै बुझ्न सकिन्छ ।

भारतले २००९ साल देखि नेपालको उत्तरी सीमामा पश्चिम दार्चुला देखि पूर्वमा ओलाङ्गचुङ्गगोला सम्म संचार सेट सहितका १८ वटा भारतीय सैन्य पोष्ट राखेको थियो यो नेपाली सार्वभौमसत्ताको ठाडो उल्लंघन थियो, राजा महेन्द्रले देशको स्वाभिमानलाई झुक्न दिएनन् र ती भारतीय सैन्यपोष्टहरु हटाएरै छाडे जसका कारण पनि आज नेपाल जेजस्तो अवस्थामा रहेता पनि स्वतन्त्र भएर रहेको छ । राजाको त्यो साहसिक कार्यलाई मुक्तकण्ठले प्रशंसा गर्ने ल्याकत र आँट आजको न त सरकारसँग छ न आजका यी राजनीतिक पार्टीहरुसँग ।

विश्व शितयुद्ध तिर गैरहेको अवस्थामा नेपालले कसैको पक्ष लिएर स्वतन्त्र रहन सक्दैन भन्नेमा राजा महेन्द्रले बुझेर नै नेपालको विदेश नीति असंलग्न र पञ्चशीलको आधारमा चलाउने निश्चय गरे आज पर्यन्त नेपालको घोषित विदेश नीतिको आधार भनेको यहि छ । नेपाललाई शान्तिक्षेत्र घोषणा गराउने योजना पनि राजा महेन्द्रले नै ल्याएका थिए भन्ने कुरा बिभिन्न तथ्यले पुष्टि गर्दछ जसलाई पछि राजा बिरेन्द्रले अघि बढाए तर भारतको भाँजो र वर्तमानमा राज गरिरहेका केहि नेपाली राजनीतिक दलहरुको असहयोगका कारण ११७ वटा देशहरुले सर्मथन जनाएर पनि सफल हुन सकेन ।

राजा महेन्द्रद्धारा व्यापकरुपमा गरिएका राष्ट्र अनुकुल कार्यबाट भारतीय अभिष्टमा कुठाराघात भएपछि भारत राजा महेन्द्र प्रति रुष्ट भएको थियो जसका कारण भारतले नेपालमा पहिलो चोटी २०१३ सालमा नाकाबन्दी लगाएको थियो र राजाको बिरुद्धमा नेपाली काँग्रेसलाई आन्तरिक सहयोग गर्दै राजाको बिरुद्धमा समानन्तर शक्तिकेन्द्र स्थापना गर्ने प्रयास भारतले गरेको भन्ने आशंका तत्कालिन नेपाली काँग्रेसले गरेको राजा महेन्द्र बिरुद्धको प्रचार युद्धले प्रस्ट पारेको पाइन्छ । राष्ट्रको स्वाधिनता नै भारतको प्रयोगको शिकार हुने देखेर राजाबाट २०१७ साल पुष १७ गते निर्वाचित सरकार बर्खास्त गरी शासन आफ्नो हातमा लिए र नेपालको तत्कालिन आवश्यता भन्दै दलबीहिन पञ्चायती व्यवस्था लागू गरे । यहि निहुँ पारेर भारत पसेका काँग्रेसजनहरु पूर्णरुपमा भारतको छत्रछायाँमा रहेका थिए भने बर्तमान नेपालको हिंसापूर्ण आन्दोलनको समयमा फेरि नेपालका माओबादीहरुलाई भारतीय संरक्षण र सहयोगमा दिल्लीमा राखिएको कुरा लुकेको छैन । आज पुष ५ गते भएको संसद भगं न त कुनै नेपाली अस्मिता बचाउन भएको हो न त नेपालको कुटनीतिक सन्तुलनको लागि भएको हो । यो त नितान्त एउटा लठैतले अर्को लठैतलाई तँलाई देखाइदिन्छु भनेर मात्रै गरिएको हो ।

यस मानेमा नेपालमा भएको अहिलेको सत्ताको किचलो र संसद भंगलाई २०१७ साल पुष १७ सँग जोडेर या त्यो बेलासँग दाँजेर राजा महेन्द्रलाई गाली गर्ने नैतिकता अब वर्तमान सत्ता भित्र वा बाहिर रहेका पार्टीहरुलाई किमार्थ छैन । अब पुष ५ गतेको घटना पछि पाँचौं पटक यिनीहरुले संसद र सत्तालाई आफु अनुकुल प्रयोग गरेकोबाट पुष १७ को घटनालाई लिएर राजा महेन्द्रलाई गाली गर्नुको औचित्य सकिएको छ ।

The submit राजा महेन्द्रलाई गाली गर्नुको औचित्य सकियो appeared first on Nepalgunj News.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *