मुक्तिनाथमा मन बहलाउँदा (फोटो फिचर)

मुक्तिनाथमा मन बहलाउँदा (फोटो फिचर)


परिवारसँग घुम्नुको एउटा आनन्द छ, सबैजना साथमा हुँदा मन ढुक्क हुन्छ । तर, यसका केही सीमा र सर्तहरु हुन्छन् । एक्लै घुमफिर गर्नुजस्तो स्वतन्त्रता हुँदैन । एक्लो यात्री बनेर घर छाड्दाको रमाइलो अर्कै हुन्छ ।

यस वर्ष कोरोना र त्यसपछि लगाइएको लकडाउनले कम्ता उकुस-मुकुस भएन । घरभित्रै बस्नुपर्ने कस्तो बाध्यता ? आर्थिक वा सामाजिकभन्दा पनि मानसिक कारणले गुम्सिएको महसुष भयो । अहिले कोरोना त्रास मत्थर भइसकेको छ र जनजीवन सामान्य बन्दैछ । यहीबेला घुम्ने योजना बन्यो ।

घुम्न त जाने । तर, कहाँ ? अनायसै मुखबाट फुत्कियो, मुक्तिनाथ ।

करिब चार वर्षअघि पनि मुक्तिनाथ गइएको थियो । त्यसबेला साथमा परिवारका सदस्य पनि थिए । हामीले जीपमा यात्रा गरेका थियौं । यसपालि भिन्न अनुभव संगाल्न मोटरसाइकलमा जाने निधो गरियो । भोलिपल्ट रोयल इन्फ्रिल्ड बाइक पनि भेटियो र त्यसैलाई आफ्नो बाहन बनाइयो । बाइक चलाउन आउने भए पनि लामो यात्राको अनुभव थिएन । त्यसमाथि रोयल इन्फ्रिल्ड चलाएको अनुभव थिएन । भाइलाई ड्राइभर बनाएँ । तर, कलंकीसम्म पुग्दा सकस भयो । आफैं बाइक कुदाउन तम्सिएँ ।

पहिलो दिन हाम्रो गन्तव्य थियो, बाग्लुङ । त्यसैले बाटोमा कुनै अलमल नगरी हुँइकियौं । बाग्लुङ पुग्दासम्म खास थकाइ अनुभव भएन । बेलुका खाना खाएर हामी मुक्तिनाथको यात्रा सम्झिँदै कति चाडै निदायौं पत्तै भएन ।

बिहान उठेर फ्रेस भइसकेपछि दोस्रो दिनको यात्रा थालियो । बाटोमा पर्ने गलेश्वर धामको दर्शन गरियो । धार्मिक हिसाबले महत्वपूर्ण यो धामको भौगोलिक बनावट पनि गजब रहेछ ।

म्याग्दीको बेनी नगरपालिका-९ मा अवस्थित गलेश्वरधाम एक अलौकिक शक्तिधामका रुपमा परिचित रहेछ । धार्मिक ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्त्वपूर्ण मानिएको गलेश्वरधाम रहु नदी र कालीगण्डकीको पवित्र संगममा पर्छ । नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित यस शिलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र वृक्षले यसलाई अद्भूत बनाएको छ ।

श्रीमद्भागवत पुराणअनुसार श्री महादेवले सतिदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी किनारै किनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा सतिदेवीको गलापतन हुँदा ज्योतिर्लिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहनुभएकाले यसको नाम गलेश्वरधाम रहन गएको भन्ने भनाइ रहेछ ।

बेनीबजारबाट तीन किलोमिटर उत्तरतर्फ मुक्तिनाथ प्रवेशद्वारका रुपमा रहेको यो द्वार मुक्तिद्वारका रुपले समेत चिनिन्छ । गलेश्वर मन्दिर दर्शन गरेर हामी मुक्तिनाथतर्फ लाग्यांै । विगतमा जाँदा र अहिले बाटोको बनावटमा खासै फरक लागेन । विगतमा बाटो राम्रो थिएन । अहिले पनि खास गतिलो थिएन । तर, बाटोसँग हाम्रो खास सरोकार थिएन । कठिन होस् वा सुलभ, हामीलाई छिचोल्नु थियो । नयाँ-नयाँ अनुभव संगाल्नु थियो ।

त्यसदिन हामी साँझमा पुग्यौं, मुक्तिनाथ ।

बाटोमा खासै यात्रु थिएनन् । किन त्यति यात्रुहरु छैनन् भनेर मनमा जिज्ञासा उठिरहेको थियो । तर, मुक्तिनाथ होटलमा पुगेपछि मात्र थाहा भयो यो सिजनमा बाइकमा यात्रा गर्नु निकै जोखिमपूर्ण हुने रहेछ । बाटोमा हिँउ पर्‍यो भने के गर्ने भन्ने विकल्प हुँदोरहेन छ । होटलका कर्मचारीले जोखिमको कुरा गरिरहँदा मन डरायो।

मुक्तिनाथ चार वर्षअघि जस्तो देखेको थिएँ, त्योभन्दा फरक भैसकेको रहेछ । यस क्षेत्रमा खानपान र बसोबासको राम्रो प्रबन्ध रहेछ।

यसपालि मुक्तिनाथ मन्दिर दर्शन गर्दा त्यस्तो भिड थिएन । केही क्षण मन्दिर दर्शन गरेर हामी फर्कियौं । यो पवित्र माटोमा टेक्दा मलाई एकदमै आनन्द अनुभूत भयो । मनका सारा बोझहरु एकैपटक बिसाएझैं भयो । ज्यान हलुंगो, मन चंगा भयो ।

मन्दिर दर्शन गरेर फर्केपछि होटलमा आएर चिया नास्ता खाएर हामी त्यहाँबाट फर्कियौं । यसरी नै माथिल्लो मुस्ताङ र मनाङ घुम्ने योजना बनाउँदै हामीले काठमाडौंसम्मको बाटो छोट्याइरह्यौं ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *