माओवादीको स्थायी कमिटी बैठक बस्दै, सरकारको समर्थन फिर्ता लिने तयारी

माओवादीको स्थायी कमिटी बैठक बस्दै, सरकारको समर्थन फिर्ता लिने तयारी


२२ चैत, काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेको नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनबारे छलफल हुने छ ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले नयाँ सरकार गठनमा भइरहेको पहल र पार्टीको विधान प्रतिवेदनबारे छलफल हुने बताए । उनले अनलाइनखबरसँग भने, ‘प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत नयाँ सरकार गठनमा अग्रसरता लिने भनेर गरेको निर्णय र हाम्रो मुभलाई कसरी अगाडि बढाउने भन्ने कुराहरु हुन्छ ।’

माओवादीले समर्थन फिर्ता लिए वर्तमान सरकार अल्पमतमा पर्नेछ । त्यसपछि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसके नयाँ सरकार गठनको प्रकृया शुरु हुनेछ ।

सरकारको विरोध पनि गर्ने र समर्थन पनि फिर्ता नलिने दोहोरो चरित्र देखाएको भनेर आलोचना खेप्दै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब छिट्टै नयाँ सरकार गठन हुने सार्वजनिक अभिव्यक्ति दिएका छन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन् ।

नयाँ सरकार गठनमा अग्रसरता देखाएको माओवादी केन्द्रले आइतबार जनता समाजवादी पार्टी (जसपा)सँग छलफलसमेत गर्दैछ । अंक गणितको हिसाबले जसपा सत्ता गठबन्धनमा निर्णायक बनेको छ । जसपासहितका विपक्षी दलका नेताहरुले माओवादीले समर्थन कायमै राख्दा नयाँ सरकार गठनको बाटो अवरुद्ध भएको बताउँदै आएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले पनि नयाँ सरकार गठनमा अग्रसरता लिने औपचारिक निर्णय गरिसकेको छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *