मनमौजी अनि मदमस्त मीन भाम

मनमौजी अनि मदमस्त मीन भाम


‘तपाईंले जाँड खाउँ भनेर बोलाउनुभएको भए मिलिक्कै आइपुग्थें । हाइकिङ जाऔं भनेको भए तुरुन्तै हाजिर हुन्थें । दुई÷चार हात तास खेलौं भनेको भए पनि म दौडिहाल्थें ।’

मीनबहादुर भाम यति रौसे र खुलस्त छन् भन्ने के थाहा ?

भटाभट भेट्न नचाहने, फटाफट बोल्न नचाहने, जताततै फेला नपर्ने उनी अलौकिक प्राणी झै लाग्छ । यी रहस्यमयी मनुवालाई ‘तपाईं त साह्रै दुर्लभ मान्छे’ भनी झटारो के हानेका थियौं, मिहीन आवाजमा रक्षात्मक जवाफ फर्काइहाले, ‘अन्तरवार्ताका लागि भन्नुहुन्छ, अनि म कहाँ आउँछु त ? काम नगरी कति बोल्नु मात्र ?’

कुनै ऐकान्तिक थलोमा बसेर तासको खालमा जम्ने वा अल्पकालिन यायावर बनेर डाँडापाखा चाहर्ने ‘अफर’ले उनलाई लोभ्याइरहन्छ । कसै–कसैले ‘मादक साँझ बिताउने’ निम्तो गरे हम्मेसी ‘नाई’ भन्दैनन् ।

मीन आफूलाई ‘जड्याह’ भनी चिनाउन त चाहँदैनन् यद्यपि केही रोज्जा हितैषीसँग बसेर मधुरस चियर्स गर्न भने जाँगर चलाउँछन् । जस्तो कि, बुद्धिसागरसँग । न्ह्यु बर्जाचार्यसँग । विप्लव प्रतिकसँग । दीलभूषण पाठकसँग । बेलामौकामा नवीन सुब्बासँग मदमग्न हुँदा पनि खुब रमाइलो लाग्छ । योगेश्वर अमात्यसँग बेपर्वाह पिउनुको फेरि विछट्टै स्वाद ।

‘मधुर भावनाओं की सुमधुर नित्य बनता हुँ हाला

भरता हुँ इस मधु से अपने अन्तर का प्यासा प्याला

उठा कल्पना के हाथों से उसे पी जाता हुँ

अपने ही में हुँ मै साकी, पीनेवाला मधुशाला ।’

–हरिवंशराय बच्चन

****

स्थान : बौद्ध स्तुपा नजिक

एक ‘भेगन क्याफे’ पछिल्तिरको बगैंचामा ‘धीत मरुञ्जेल’ गफ गर्ने मुडमा आइपुगेका छन्, मीन भाम । ‘जति पनि र जे पनि कुरा गर्ने’ भन्दै निस्फिक्री रुखको मुढामा बस्दै गर्दा उनको शरीरमा छर्किएको सुगन्धित अत्तर वायुमण्डलमा फैलिन्छ । गलामा वोधिचित्त माला पहिरिएका, देब्रे आँखीभौंमा पियरसिङ गरेका, कपाल ड्रेडलक गरेका, झुस्स दाह्री–जुँगा पालेका बटुलो मुहार–चित्रका मीन आफैँमा एक फ्युजन जस्तो– अध्यात्म र आधुनिकताको ।

उनलाई न फुर्सद छ, न हतार । एकनासको दैनिकीमा मीन मनमग्न हुन्छन् । आफ्नै हातले मीठोमसिनो बनाएर चाख्छन्, सिनेमाको प्लटमाथि घोत्लिन्छन्, स्क्रिप्ट केरकार गर्छन्, दर्शनका ठेली पल्टाउँछन्, पद्मासनमा बसेर गहिरो ध्यानमा लीन हुन्छन् ।

खासमा मीन अरु जस्तै औसत एवं मामुली केटा थिए । जंगलमा बाख्रा चराउन जान्थे । रुखमाथि बसेर बासुरी बजाउन खुब रहर लाग्थ्यो

‘जब तपाईं ध्यामग्न हुनुहुन्छ, त्यसबेला कस्तो अनुभूत हुन्छ ?’ हामी सोध्छौं ।

जवाफमा मीन फिस्स हाँस्छन् । अनि कुनै साधकझै गंभीर मुद्रामा भन्छन्, ‘ध्यान भनेको विचारशून्य अवस्थामा हुनु हो । यसको कुनै अनुभूति वा अनुभव भन्ने नै हुँदैन ।’

उनी नामोबुद्ध गुम्बामा गएका थिए, ठाम बस्न । तन र मनलाई अनुशासनमा राखे । त्यहाँबाट फर्किएपछि हो, ‘कालोपोथी’ को मोटामोटी खाका तयार भएको । ‘हुन त मान्छेले पत्याउँदैनन् यस्ता कुरा’ रहस्यमयी भावमा मीन बोल्छन्, ‘अघिल्लो जन्ममा म कुनै गुम्बाको लामा थिएँ भन्ने आभाष हुन्छ ।’

बेलाबखत उनलाई अघिल्लो जन्मको आभाष हुन्छ । सपनामा देखेका कुराहरु पनि दुरुस्तै मेल खान्छ रे ।

यसलाई उनी यसरी बेलिबिस्तार लगाउँछन्, ‘बेलाबखत के हुन्छ भने, आफूले मनमनै गुनगुनाएको गीत दुरुस्त कतै बज्न थाल्छ । मनमा कुनै साथीको सम्झना आएको हुन्छ, केही समयपछि उनकै फोन आउँछ । अघिल्लो रात सपनामा भेटिएका मान्छेसँग, विपनामा झल्याँस भेट हुन्छ । तपाईं/मेरो सबैको जीवनमा यस्ता कुराहरु घटित भइरहेका हुन्छन् । कतिले यसलाई महसुस गर्छन्, कतिले गर्दैनन् ।’

उनलाई ‘पुर्नजन्म’मा विश्वास छ । र, प्रारब्धमा पनि ।

‘कति कुरा संयोग जस्तो लाग्छ तर ती सबै पूर्वनिर्धारित नै हुन्छ’ मीन थप्छन्, ‘हामीले ड्रामा मात्र गरिरहेका छौं ।’ कोही किसान बनेर खेती गरिरहेका छौं, कोही कवि बनेर कविता लेखिरहेका छौं, कोही व्यापार गरिरहेका छौं, कोही समाजसेवा गरिरहेका छौं । यी अनेक भूमिकामा हामी अभिनय गरिरहेका छौं । प्रसंगलाई बिट मार्दै मीन भन्छन्, ‘जसले जे गरे पनि आखिर जाने ठाउँ एउटै हो । तपाईंको अन्तिम गन्तव्य जहाँ हो, म पुग्ने पनि त्यही हो ।’

कतिले मीनलाई सोध्छन्, ‘सिनेमामा नआइदिएको भए तपाईं के बन्नुहुन्थ्यो होला ?’

मीनको जवाफ, ‘सायद मेरो यात्रा छोटो हुन्थ्यो होला । यो चोलामा गर्नुपर्ने कर्महरु बाँकी भएकाले यसरी अलमल गरिरहेको छु ।’

मजेस्टिक मीन

‘अकबरी सुनलाई कसी लगाउनु पर्दैन ।’ मीनलाई उजिल्याउन कुनै जलपको जरुरत छैन । फूलबुट्टा भरिरहनु पर्दैन । यति चाहिँ भन्नैपर्छ, मीन कर्मयोगी हुन् ।

सिनेमा उनको कर्म हो । मर्म र धर्म पनि । सिनेमाको रंगीन कलेवर भित्र उनी सौम्य अनि सात्विक जीवन बिताइरहेका छन् । उनलाई अनेक फन्डा गरेर आफ्नो भाउ बढाउनु छैन, युट्युबरको ताँती लगाएर दौडधूप गर्नुछैन, रात्रि भोजहरुको शो पिस बन्नु छैन । बस्, आफ्नो कर्ममा लीन हुनु छ । स्वान्तः सुखाय खोज्नु छ ।

सिनेमाभित्र घोत्लिरहनु वा पद्मासनमा बसेर विचारशून्य हुनु उस्तै–उस्तै लाग्छ उनलाई । दुबैबाट मिल्ने एउटै कुरा, आनन्द । श्रीमद्भगवत गीतामा एउटा वाक्य छ, ‘योगः कर्मसु कौशलम् ।’ कुशलतापूर्वक काममा जोडिनु नै योग हो । मीनको जीवनको व्याकरण पनि यत्ति हो ।

‘मलाई समयसँग हतार छैन, डर पनि छैन । यदि अर्को फिल्म नबनाई मरें भने पनि मलाई केही हुनेवाला छैन । यद्यपि सिनेमा बनाउनुपर्छ भन्ने कुरालाई चाहिँ मैले सचेत रुपमा लिएको छु,’ मीन थप्छन्, ‘यो मेरो कर्म हो भनी बुझेको छु ।’

मीनले बुद्ध दर्शनमा स्नातकोत्तर गरे । वैंशालु उमेरमा ओशोको पुस्तक खोजीखोजी पढे । काठमाडौं आउनुको अतिरिक्त उद्देश्य यो पनि थियो कि, तपोवनको आध्यात्मिक झंकार अनुभव गर्न पाउँ । जसै त्यहाँ पुगेर उनी ध्यानमग्न भए, आफैँभित्र डुबुल्की मार्ने कला सिके । त्यो अद्भूत अनुभव थियो ।

आफैँमा मग्न रहने भएकाले बाहिरी तामझाम रुच्दैन । कृतिम तडकभडक पच्दैन । अन्तरवार्ता, भेटघाट, कार्यक्रममा दौडिदैनन् । ‘म अलि असामाजिक मान्छे,’ मीन आफैँमाथि कटाक्ष गर्छन्, ‘बरु कसैले जाँड खाउँ भन्यो भनेचाहिँ दौडिहाल्छु ।’

फ्ल्यासब्याक : बाल्यकालको एकलाप

फेन्टासी एड्भेन्चर फिल्म ‘द जंगल बुक’का फुच्चे जस्तै थिए कि मीन भाम ?

खासमा मीन अरु जस्तै औसत एवं मामुली केटा थिए । जंगलमा बाख्रा चराउन जान्थे । रुखमाथि बसेर बासुरी बजाउन खुब रहर लाग्थ्यो । उनले बजाएको पहिलो बाजा त्यही थियो र अन्तिम पनि । त्यसका अतिरिक्त उनी कविता कोर्थे । सुनसानमा । एकान्तमा । सबैजना सुतिसकेपछि ।

कविता लेखिएको कापी जतनसाथ लुकाउथे । फेरि त्यसमा आगो सल्काउथे । कविताको कापी दनदनी जल्थ्यो । त्यसको तापबाट आनन्द लिन्थे ।

मुगुकै सबैभन्दा घना बस्तीको अलि भिरालो ठाउँमा उनको घर । करिब दुई सय घरधुरी । घरभन्दा केही तल ठूलो खोला थियो । दौडदै खोलाको बगरमा पुग्थे । अविरल बग्ने त्यो हिमाली खोला हेरिरहन्थे । एकोहोरिन्थे । कहिले त्यही खोलामा आफूले लेखेको कविता बगाइदिन्थे । मीन सम्झन्छन्, ‘मलाई थाहा छ, त्यो एकैछिनमा भिजेर लत्याकलुतुक हुन्छ । मनमा चाहिँ मीठो एडभेन्चर फिलिङ्स के हुन्थ्यो भने बग्दै बग्दै कुनै लुगा धोइरहने मान्छे वा माझीले भेटेर पढ्छन् ।’

एकपटक झोंक चल्यो, प्रेमपत्र लेख्ने । खिपेर लेखे । तर, त्यो कसैलाई दिनका लागि थिएन । मात्र कुनै सुन्दर युवतीको कल्पना गरेर लेखिएको थियो । ‘सायद त्यसको फोटोकपी अहिले पनि मसँग छ जस्तो लाग्छ,’ मीन सुनाउँछन्, ‘मामाहरुको फोटोकपी मेशिन चलाउन सिक्नुपर्ने भयो । पहिलो पटक के फोटोकपी गर्ने त भन्दा त्यही प्रेमपत्र पाएँ ।’

मन उथलपुथल छ । अनेक उत्सुकताको भुमरी छ । कसलाई सुनाउने ? त्यसै त अन्तरमुखी । कसैसँग खुलेर वा दोहोरो बात नमार्ने । बुवाको एउटा रेडियो थियो । रेडियोमा बजेका समाचार, कार्यक्रम यहाँसम्म कि विज्ञापन पनि नबिराई सुन्थे । त्यही रेडियो थियो, जोसँग उनी अन्तरसंवाद गर्न सक्थे ।

शनिबार बज्ने पाण्डव सुनुवारको फोन इन कार्यक्रम, मदनदास श्रेष्ठको नाटक अनि साँझ बज्ने घटना र विचार अधैर्यसाथ पर्खिरहन्थे । रेडियोको कृषि कार्यक्रम पनि कम्ता रुचि लाग्दैनथ्यो । ‘आफू पनि खेती किसानी नै गर्ने भएकाले किरा के हो, मल कसरी हाल्ने भन्ने कुराचाहिँ सुन्न मन पर्थ्यो,’ मीन सुनाउँछन् ।

मीन कतिसम्म काल्पनिक भने, रेडियोमा कार्यक्रम चलाउने व्यक्ति कस्तो होला, कसरी भन्दै होला, कार्यक्रम सकेर कहाँ गए होला, अहिले के गर्दै होला ?  रेडियोमा फोन गरिरहेने ‘कृपा मल्ल आँशु’ काठमाडौं गए होलान्, पाण्डव सुनुवारले भेटे होलान् । के बातचित गरे होलान् ? सिलसिलाबद्ध कल्पिरहन्थे ।

मुगुको त्यो दूरदराजमा यदाकदा गोरखापत्र पुग्थ्यो । त्यो पनि कहाँ सजिलै हो र ? अरुले पढ्दा पढ्दा थोत्रो बनाइसकेपछि । त्यो पनि सित्तैमा कहाँ हो र ? बुवा सरकारी जागिरे भइदिएकाले । बुवाको कार्यालयमा आइपुग्ने सेकेन्ड ह्यान्ड पत्रिका उनको हातमा पर्थ्यो । खुब पढ्थे ।

चाडपर्वमा जम्मा भएको पैसा बटुलेर बालमासिक पत्रिका ‘मुना’, मनोरञ्जनात्मक पत्रिका ‘कामना’, साहित्यिक पत्रिका ‘मधुपर्क’ किन्थे । त्यो किन्न पनि नेपालगञ्ज पुग्नुपर्ने । किताब किन्नकै लागि बुवाको पैसा चोरेपछि गोदाइ खाए ।

दाजुभाइ, दौँतरीसँग उनको खास दोस्ती थिएन । गुच्चा वा डन्डिबियो खेल्न रुचि भएन । बरु एकान्तमा बसेर बासुरी बजाउन, पत्रपत्रिका पढ्न, कविता कोर्न वा रेडियो सुन्न घत लाग्ने ।

छुटेको त्यो बालापान

‘अहिले म बालकजस्तै भएको छु,’ मीन सुनाउँछन्, ‘सानो कुरामा फुरुंग हुने । तरकारी मीठो भयो भने पनि उठेर नाचिहाल्ने ।’

बाल्यकाल त्यस्तो थिएन । बुवा कडा मिजासका । शाकाहारी, कर्मठ र अनुशासित पनि । साथसाथै मनोरञ्जनमा चाख राख्ने । उनी आकासवाणी सेवाका जागिरे । राससका पत्रकार । फोटो खिच्न सौखिन । चराचुरुंगी पाल्ने । घर फूलहरुले ढकमक्क बनाउनुपर्ने । फलैफूलले हराभरा हुनुपर्ने । बुवाले आफ्नै पेल्ट्रिक सेट बनाएर घर झलमल्ल बनाएका थिए । टेलिभिजन राखेका थिए । पानासोनिकको भिसिआर प्लेयर जोडेका थिए ।

पारिवारिक अनुशासन र मर्यादाको औधि ख्याल गर्ने । मीनकै भनाइमा, ‘बुवाले हामीलाई एक हिसाबले आर्मी शासनमा हुर्काए ।’ बुवालाई सबै कुरा चुस्त, दुरुस्त चाहिने । बाहानाबाजी नचल्ने । पढ्ने, लेख्ने, खेल्ने, काम गर्ने, खाने, उठ्ने, सुत्ने सबै कुरा व्यवस्थित हुनुपर्ने । ।

खान–लाउनको दुःख थिएन । तर, काम अनिवार्य गर्नैपर्थ्यो ।

‘सानो छँदा मैले आफ्नो बालापान अनुभव गर्न पाइन । त्यही कुरा मेरो अवचेतन मनमा कतै न कतै रहेको हुनुपर्छ, जो अहिले अनुभव गरिरहेको छु,’ मीन सुनाउँछन्, ‘कालोपोथी त्यही भएर बनाए होला । मैले जिउन नपाएको बालापान त्यसमा अुनभव गरे होला ।’

घरमा पूजापाठ भइरहन्थ्यो । मंगलबार वा शनिबार ब्रत बस्नैपर्ने । आमा चाहिँ अलि रवाफिलो । जस्तो कि, प्राचिन महारानी जस्तै ठाँटकी । धेरै खेतीपाती गर्नुपर्ने, बस्तुभाउ पाल्नुपर्ने । अरन–खटन गर्नुपर्ने ।

‘एकातिर यस्तो पारिवारिक माहौल, अर्कोतिर मेरो अन्तरमुखी स्वभाव’ मीन सम्झन्छन्, ‘एक हिसाबले बालापनको अनुभव गर्न नपाइ मेरो बाल्यकाल बित्यो ।’

आकासवाणीका खबरहरु

बुवा आकासवाणीका जागिरे । खबर आदान–प्रदानको एकमात्र माध्यम थियो, आकासवाणी । त्यहाँ ‘ए फोर’ साइजको कपीमा सन्देश लेख्नका लागि बेग्लै फर्म्याट हुन्थ्यो । कापीको माथि छाप, लोगो आदि हुन्थ्यो । पुच्छरमा हस्ताक्षर गर्ने, कोड राख्ने आदि ठाउँ । माझको सानो भागमा सन्देश लेख्न सकिन्थ्यो, एकदमै सानो अक्षर लेख्दा ६ वा ७ हरफसम्म । अक्षर गणना गरेर सोही अनुरुप शुल्क लाग्थ्यो ।

अक्सर उनी बुवाको कार्यालय जान्थे । आवा (आकासवाणी) लेखिदिन्थे । गाउँका मान्छेहरु जागिर खान टाढा–टाढा पुगेका हुन्थे । उनीहरुले घरमा आवा पठाउँथे । आवा पुर्याउन गाउँ–गाउँ जानुपर्ने । बुढाबुढीलाई आवा पढ्न नआउने । त्यसैले पुर्याउने मान्छेले नै त्यो पढिदिनुपर्ने ।

एक जना अंकल थिए, आवा पुर्याउने । उनैले मीनलाई साइकलमा लिएर हिँड्थे । अतः आवा पढ्ने काम पनि मीनकै हुन्थ्यो । ‘मलाई अरुको आवा पढिदिन पनि एकदमै मज्जा लाग्ने,’ मीन सम्झन्छन् । त्यो बेला मीनले दशौं हजार आवा पढे । कतिका कथा, कतिका दुःखका कुरा थिए, कतिका सुखका कुरा थिए । आवा लेखिदिने, पढिदिने क्रममै मीनले मान्छेको दुःख–सुखलाई नजिकबाट अनुभूत गर्न पाए । समाजको स्वरुप र मनोविज्ञान बुझ्न पाए ।

‘प्रहरी वा आर्मीहरु घर विदाका लागि कति झुटा सन्देश लेखाउथे,’ मीन सुनाउँछन्, ‘बित्दै नबितेका बुवाआमा पनि बिते भनेर विदा मिलाएर घर जान्थे । पछि ड्युटीमा फर्कदा कपाल खौरिएर, सेतो लुगा लगाएर फर्किन्थे ।’

बुवाको हाइभिजन हल र सिनेमाको लत

सिमाना, भाग्यरेखा, कन्यादान फिल्म उनले घरमै हेरे, भिसिआर प्लेयरमा । बेलामौकामा घरमै महाभारत, रामायणको भिसिआर ल्याएर देखाइन्थ्यो ।

त्यसअघि उनका बुवाले हाइभिजन हल खोलेका थिए । हिन्दी, नेपाली सिनेमा लाग्थ्यो ।

मीन त्यस्तै ६/७ वर्षका थिए । आफ्नै बुवाको हलमा पनि सिनेमा हेर्न नपाइने । बेलाबखत बुवाले परिवारलाई नै लगेर सिनेमा देखाउँथे । त्यसबाहेक उनीहरुले त्यहाँ प्रवेश पाउनै गाह्रो । स्कुलबाट भागेर वा शनिबारको दिन ठूली आमाको छोरासँग पछि लागेर जान्थे । लुकीछिपी हलभित्र बसेर सिनेमा हेर्थे ।

नेपालगञ्जमा ‘स्टार अडियो भिडियो सेन्टर’ थियो । त्यहीबाट क्यासेट/चक्का ल्याइन्थ्यो । सिनेमाको क्यासेटसँगै त्यसको पोस्टर पनि दिइन्थ्यो । पोस्टर हलको बाहिर टाँसिन्थ्यो । मीन सोच्थे, ‘कहिले यो फिल्म सकिन्छ र पोस्टर राख्न पाइएला ।’

घर छाडेर भागेपछि

रसरंगमा स्वाद भिजिसकेको थियो । एसएलसी पछि घर–परिवारले विज्ञान पढ्नमा दबाव दिनेछन् । डाक्टर, इन्जिनियर बन्न मन छैन । जागिर खान मन छैन । उनलाई लाग्यो, केही उपाय गरेर आफ्नो मर्जी अनुसारको विषय पढौं । काठमाडौं पुग्न पाइयो भने नाटक सिक्न पाइन्छ, अभिनय पढ्न पाइन्छ । अन्ततः मामाको छोरोसँग उनले सुटुक्कै भाग्ने निधो गरे ।

दशैं तिहारमा दक्षिणा पाएको पैसा थियो, २७ सय रुपैयाँ । त्यसमाथि बलियो आड थिए, मामाको छोरो । उनको खल्तीमा दश हजार रुपैयाँ जो छँदै थियो ।

रोपाइँ चल्दै थियो । घरका सबैजना धान रोप्न व्यस्त थिए । मीनले मौका पाइहाले । सर–सामन ढुवानी गर्ने हेलिकप्टर आइरहन्थ्यो । विद्यालयको चौरमा बस्थ्यो । दुई भाइ हेलिकप्टरमा चढे । त्यहाँबाट उनीहरु सुर्खेत ओर्ले । सुर्खेतबाट गाडी चढेर नेपालगञ्ज पुगे ।

नेपालगञ्ज उनको आफ्नो संसार थियो । त्यो खुला र स्वच्छन्द थियो । आफ्नो मर्जी अनुसार जे पनि गर्न सकिने । घरको चौघेराबाट उम्किएको त्यो क्षण उनले भरपुर भोग गरे । सिनेमा हेर्ने, मीठो मसिनो खाने, निस्फिक्री घुम्ने ।

नेपालगञ्जमा फिल्मको टिकट सस्तो थियो । बिहानै उठ्यो मर्निङ शो हेर्‍यो । शो सकिएपछि बाहिर आयो, मःम, चाउमिन खायो । फेरि हलभित्र पस्यो । इभिनिङ शोसम्म एउटै हलमा फिल्म हेरेको छ, हेरेको छ । जम्मा दुई वटा सिनेमा हल । एकदिन एउटा हलमा दिनभर हेर्‍यो, अर्कोदिन अर्कोमा ।

महिना दिन वित्यो । ‘पैसा नसकिएसम्म मैले काठमाडौं पनि बिर्सिएँ,’ मीन सुनाउँछन्, ‘त्यसपछि मामाको छोरो घरतिर हिँड्यो, म भने काठमाडौं ।’

नाइटबसमा चढेर काठमाडौं ओर्लिए । काठमाडौंमा दाइ डेरा गरी बस्थे । उनी दाइकहाँ गएनन् । त्यहाँ गइयो भने पक्रेर घर पुर्याउँछन् भन्ने भय । अमृत साइन्स क्याम्पसको होस्टलमा बसे । पढ्ने सरस्वती क्याम्पस । व्यवस्थापन संकाय । यो पढाइ परिवारका लागि थियो । अर्थात परिवारको मन बुझाउन । किनभने उनको मन अन्तै थियो । सिनेमा, कला, साहित्य । अन्ततः उनी कसैलाई थाहै नदिई राष्ट्रिय नाचघर धाउन थाले । अभिनय सिके । ओस्कार कलेजमा भर्ना भए ।

स्नाकोत्तरसम्म उनले दुई–दुई विषय पढे । एउटा परिवारको लागि, अर्को आफ्नो लागि ।

काठमाडौंको बसाइमा उनले धीत मरुञ्जेल किताब पढे । केन्द्रिय पुस्तकालय गयो, पुस्तक पढ्यो । ‘पढ्ने भोक कतिसम्म भने, पत्रिकामा छापिएको श्रद्धाञ्जलीसम्म अक्षर–अक्षर केलाइयो ।’

तर, कलेज भने नियमित गएनन् । ‘म झुर विद्यार्थी,’ मीन भन्छन्, ‘दुई/तीन वर्ष त तास नै खेलेर बिताएँ ।’ कलब्रेक र म्यारिजको तगडा खेलाडी । क्रमश: मासु र जाँडमा पनि उनको जिब्रो भिज्यो ।

‘एउटा सिनेमा बनाएपछि मासु खान्छु भनेको थिएँ, सर्ट मुभी बनाइसकेपछि मासु सुरु गरें,’ मीन रसिक पारामा सुनाउँछन्, ‘कोरिया गएँ, त्यहाँ जाड पिउन सिकें ।’ त्यसअघि उनी चुरोटको अम्मली बने । एकदिनमै पाँच बट्टा सिध्याउँथे । पछि चट्टै चुरोट त्यागे । जाँड वा तासलाई पनि उनी त्यसरी नै छाड्न सक्छन् । ‘खाने भनेपछि झ्याप्प खाइहाल्ने, छाड्छु भनेपछि तुरुन्त छाडिहाल्ने,’ मीन भन्छन्, ‘मलाई यी कुरामा त्यस्तो आशक्ति भने छैन ।’

जलतरंग बजता, जब चुंबन करता प्याले को प्याला

वीणा झंकृत होती, चलती जब रुनझुन साकीबाला

डाँट डपट मधुविक्रेता की ध्वनित पखावज करती है

मधुरव से मधु की मादकता और बढाती मधुशाला ।।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *