भारतमा बढ्दैछ विवाह नगरी एक्लै बस्ने महिलाको संख्या

भारतमा बढ्दैछ विवाह नगरी एक्लै बस्ने महिलाको संख्या


१ मंसिर, काठमाडौं । विवाह नगरी लामो समयसम्म बसेको भन्दै मानिसहरुले देब्बी पाउललाई हठी, जिद्दी र स्वार्थी महिलाका रुपमा चित्रण गर्छन् । तर नयाँ दिल्लीमा बस्ने ४७ वषर्ीया पाउल आधुनिक भारतमा बढ्दो क्रममा रहेको चलनको एक प्रतिनिधि पात्र हुन् ।

भारतमा सामाजिक अपेक्षाका बाबजुद ३० वर्ष नाघेका महिलाहरु एक्लै बस्ने रुचाउनेको संख्या बढ्दो क्रममा छ ।

अहिले भारतमा इतिहासकै सबैभन्दा धेरै एकल महिलाहरु छन् । विधवा, सम्बन्धविच्छेद भएका, विवाह नगरी बसेका र पति वा पत्नीले छाडिदिएका गरी भारतमा समग्र महिलामा २१ प्रतिशत एकल रहेको अनुमान छ । सन् २००१ को जनगणना अनुसार भारतमा पाँच करोड १० लाख एकल महिला थिए । सन् २०११ सम्म आइपुग्दा यो संख्या बढेर सात करोड १४ लाख पुगेको थियो ।

एकल महिलालाई शिक्षा प्राप्त गर्न, आफ्नो करियर अघि बढाउन र आफ्नै अधीनमा रहेर जिन्दगी बिताउन विवाहित महिलाको तुलनामा बढी स्वतन्त्रता हुन्छ ।  साथै उनीहरुलाई पारिवारिक दबाब र निगरानीको पनि सामना गर्नुपर्दैन । यस किसिमका समस्या भारतमा विवाहित महिलाले सामना गर्दै आएका छन् । धेरै महिलाहरु आफ्नो शोषण हुने विवाह गर्न र घरेलु हिंसाको सिकार हुन चाहँदैनन् । यद्यपि पर्यवेक्षकहरु भने एकल महिलाको संख्यामा देखिएको वृद्धिले महिला सशक्तिकरणमा खासै फाइदा नपुगेको बताउँछन् ।

भारतीय समाजमा अझै पनि पितृसत्तात्मक सोच र लैङ्गकि असमानताले जरा गाडेको छ । विवाह नगरी एक्लै बस्ने महिलालाई हठी, अनैतिक भनेर लाञ्छना लगाइने नयाँ दिल्लीस्थित सामाजिक अभियान्ता प्याटि्रसिया उबेरोई बताउँछिन् । ‘अहिले पनि एकल महिला आफ्ना पुरुष -पति वा आफन्त)बाट टाढा एक्लै बस्नाले उनी, पारिवारिक प्रतिष्ठा र समाजको प्रतिष्ठामा नै पनि जोखिम हुन्छ भन्ने मान्यता छ’, उनी भन्छिन्, ‘यद्यपि धेरै महिलाहरुले यसअघि र अहिले आफैँले आँट गरेर यो अन्धविश्वास तोड्दै आएका छन् ।’

भारतमा लैङ्गकि विषयमा कलम चलाउँदै आएकी श्रीमोयी पिउ कुण्डु आफूले आफ्नो किताबका लागि अन्तर्वार्ता लिएका करिब तीन हजारमध्ये अधिकांशले दैनिक जीवनमा नियमित रुपमा अन्याय र सामाजिक बहिस्कारको सामना गर्दै आएको बताउँछिन् । उनकाअनुसार आफूले अन्तर्वार्ता लिएकामध्ये अधिकांशले आफ्नो पहिचान गोप्य राख्न आग्रह गरेको बताउँछिन् । भारतमा एकल महिलाहरु आफू एकल महिला भएकोमा गर्व गर्नसक्ने अवस्थामा नरहेको श्रीमायीको भनाइ छ । एकल महिलामा एक्लोपनालगायतका मानसिक समस्या, बैंक तथा घर कर्जा नदिइनु, गर्भपतनको अधिकार नदिइनु जस्ता समस्या भने कायम रहेको उनले बताइन् ।

भारतमा धेरै महिलाहरु आफूले विवाह गरेको खण्डमा आफूले धेरै फरक किसिमको भूमिका निर्वाह  गर्नुपर्ने बताउँछन् ।

चेन्नईमा शिक्षण पेशा तथा लेखन कार्यमा सक्रिया प्रीति जाचरियाह आफूले अहिलेसम्म एकै महिलाप्रति पूर्णरुपमा बफादार, सहयोगी, असल पुरुष नभेटेको कारण अहिलेसम्म विवाह नगरी बसेको बताउँछिन् । भारतमा विवाह नगरी बस्नुलाई राम्रो मानिँदैन । विवाह महिलाको लागि सुरक्षा कवचजस्तै मानिन्छ । एकल महिलाहरुले आफ्ना आफन्त, साथी र छिमेकीहरुबाट पनि घोचपेचको सामना गर्नुपर्ने हुन्छ । नाम नबताउने शर्तमा बैंग्लोरका एक डाक्टर महिलाको वास्तविक छनोट विवाह नगरी बस्ने नहुने भए पनि उनीहरुलाई आफ्ना श्रीमान्ले आफ्नो प्रतिबद्धता पूरा गर्न सक्दैन भन्ने लाग्नु वा विगतमा कसैले धोका पाएकाले सम्बन्धमा विश्वास कमजोर भएको हुन सक्ने बताउँछन् । अर्की एक प्राध्यापक रोजगारी, स्वतन्त्रता र शिक्षाको लागि महिलाहरु एकल बस्न रुचाउने बताउँछिन् । उनका अनुसार केही महिलाहरु आफ्नो रोजाइअनुसारको जीवनसाथी नभेटाएपछि सम्झौता गरेर विवाह गर्नुभन्दा एकल बस्न रुचाउँछन् ।

भारतीय पत्रकार कल्पना शर्मा भन्छिन्, ‘भारतीय चलनअनुसार महिलाको विवाह कुनै एक निश्चित उमेरमा भइसक्नुपर्ने अपेक्षा हुन्छ ।’ त्यसैले विवाह नगरी बस्ने महिलालाई हठी वा दयाको पात्रको रुपमा हेरिन्छ । भारतमा अहिलेसम्म एकल बस्ने महिलालाई स्वीकार गरिएको घटना दुर्लभ भएको उनको भनाइ छ ।

भारतको अन्तर्राष्ट्रियरुपमा चिनिएका सहरहरुमा समेत एकल महिलामाथि विभिन्न किसिमको दुव्र्यवहार तथा शोषण हुने गर्छन् । विशेष गरी आफ्ना सहकर्मी, हाकिम तथा अन्य मानिसहरुबाट उनीहरुले विभिन्न किसिमको शोषणको सामना गर्नुपर्ने हुन्छ । ग्रामीण क्षेत्रमा भने उनीहरुको अवस्था झन् कठिन हुन्छ । ३४ वषर्ीया पत्रकार जोआन्ना लोबो भारतका ठूला सहरमा एकल महिला बनेर बस्नु सहज हुने तर ग्रामीण भेगमा उनीहरुको अवस्था कठिन रहेको बताउँछिन् । उनकाअनुसार भारतमा विवाह गर्नु भनेको महिलाका लागि आफ्नो इच्छा, आकांक्षासँग सम्झौता गर्नु र आफ्नो पहिचान गुमाउनु हो ।

सन् २०१७ मा भारत सरकारले ल्याएको नयाँ नियमअनुसार ४० वर्षभन्दा माथिका एकल महिलालाई छिटो बाटोबाट धर्मपुत्र/धर्मपुत्री राख्न पाउने व्यवस्था गरेको छ । यस्तो कदमले भारत विस्तारै एकल महिलाप्रति पनि उदार बन्दै गएको देखिएको छ । यद्यपि पितृसत्तात्मक अन्धविश्वासलाई चुनौती दिँदै पारिवारिक बन्धन तोड्दा महिलामाथि हुने हिंसा भने बढ्न सक्ने जानकारहरुको भनाइ छ ।

भारतको क्राइम रोकर्ड ब्यूरोका अनुसार सन् २००७ मा महिलामाथिको अपराधका एक लाख ८५ हजार ३१२ घटनाहरु दर्ता भएकोमा सन् २०१६ मा आइपुग्दा यस्ता घटना तीन लाख ३८ हजार ९५४ पुगेको छ । यो अवधिमा बलात्कारका घटना मात्र २० हजार ७३७ बाट बढेर ३८ हजार ९४७ पुगेको छ ।

स्रोत : साउथ चाइना मर्निङ पोस्ट



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *