भरतबन्धुको लेन्समा सजिएको पश्चिम नेपालको सौन्दर्य

भरतबन्धुको लेन्समा सजिएको पश्चिम नेपालको सौन्दर्य


२२ कात्तिक, काठमाडौं । सुदूरपश्चिमको सौन्दर्य आफैंमा अलौकिक छ । खप्तडका पाटनदेखि साइपाल चुचुरोसम्म चुलिएको प्राकृतिक सुन्दरताले जो–कसैको मन लोभ्याउँछ ।

फोटो–पत्रकार भरतबन्धु थापा (४०) तिनै मन लोभ्याउने सुदूर पश्चिमेली प्राकृतिक छटाहरूलाई डेढ दशकदेखि कैद गरिरहेका छन् ।

थापाले सुदूरपश्चिमलाई केन्द्र राखेर खिचिएका तस्वीरहरु समेटेर आफ्नो चौथो पुस्तक ‘एक्सप्लोर फार वेस्ट’ यसै महिना सार्वजनिक गरेका छन् ।

यसअघि थापाका पश्चिम नेपालका प्राकृतिक गन्तव्य, रहनसहन र जंगली–जीवनका फोटो संग्रहित तीन थान सचित्र पुस्तकहरु प्रकाशित छन् ।

पश्चिमका फोटोसँग आफ्नो अटुट लगावबारे थापा भन्छन्, ‘जन्मस्थान भएर मात्र होइन, नेपालको नयाँ गन्तव्यलाई विश्वसामू चिनाउन म नेपालका विभिन्न ठाउँको फोटो खिच्छु ।’

दैलेखको कट्टीमा जन्मिएका थापाले २०५३ सालदेखि फोटो खिच्न थालेका हुन् । किशोरावस्थाको रहरलाई व्यवसायिक फोटोग्राफीको रुप दिएको डेढ दशक भइसकेको छ उनले । यो अवधिमा देशैभरि घुमिसकेका छन् । आफ्नो कामलाई दुर्गम पश्चिममा बढी केन्द्रित गरेका छन् । त्यहाँका पर्यटकीय गन्तव्यमाथि लेख, नियात्राहरु पनि लेखिरहेका छन् ।

नयाँ पुस्तकमा ‘एक्सप्लोर फार वेस्ट’मा उनले सुदुर पश्चिमका हरेक जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यको तस्वीर समेटेका छन् । तस्वीरसँगै गन्तव्यसम्म पुग्ने बाटो, त्यहाँको भौगोलिक–सांस्कृतिक परिचय पनि समेटिएको छ ।

पुस्तकमा आधा दशकको मेहनत परेको उनी सुनाउँछन् । भन्छन्, ‘पुस्तकका अधिकांश फोटोमा नयाँपन दिन खाजेको छु । यही विविधताको लागि मैले एउटै ठाउँको पनि ऋतु अनुसारका फरक–फरक फोटो खिच्ने गरेको छु ।’

थापाका अनुसार रारा क्षेत्रमा वर्षभरि सेरोफेरो बदलिरहन्छ । कहिले हिउँ परेर पुरै ताल सेताम्मे हुन्छ, कहिले वैशाखको घाममा फुलेका फूलले रारा रंगीन देखिन्छ । शारदीय याममा नीलो रारा स्वर्गझैं देखिन्छ । यसैले राराकै मात्र फोटो खिच्न एक पटकमात्र त्यहाँ पुगेर सम्भव हुँदैन ।

यसो त पश्चिम नेपालका फोटोहरू गुगल गर्दा एकै मिनेटमा पाइन्छ । प्रश्न आउन सक्छ– भरतबन्धुको काम नै किन हेर्ने त !

जवाफमा थापा भन्छन्, ‘पश्चिम भनेर मात्र हुँदैन । बढीमालिका, साइपालको एउटै फोटो राम्रो आएको छैन । मैले खिचेका कतिपय कुरा पहिलोचोटी बाहिर आएका छन् । बढीमालिकाको एउटा ताल त हाम्रै टोलीले एक्सप्लोर गरेका हौं ।’

यात्राका क्रममा पुस्तकमा पढेभन्दा धेरै संख्यामा नयाँ ठाउँ, मठ–मन्दिर, झरना, पोखरी भेटेको अनुभव छ उनीसँग ।

सक्रियताले जन्माएका सचित्र पुस्तक

दश वर्षको अवधिमा चार थान फोटोका किताब प्रकाशन गर्नुले थापाको सक्रियता सहजै देखाउँछ । पश्चिम नेपालका गाउँघर, हिमाल–पहाड डुलेर उनी थाकेका छैनन् । बरु हरेक वर्ष, फरक–फरक याम पारेर ती स्थान फेरि घुम्ने इच्छा छ उनको ।

फोटो–बुक, फोटोसंग्रह छाप्न अन्य पुस्तक प्रकाशन गरेजति सहज छैन । ‘ग्लसी पेपर’सहित ‘हार्ड कभर’ फोटो किताब छापेर केही आम्दानी हुँदैन ।

बरु घुम्न चाहने स्वदेशी तथा विदेशी पर्यटकलाई फोटो–बुकले सहायता मिल्छ । आफ्नो पुस्तक कुनै पर्यटकका लागि गाइड–बुक बनेको देखेर खुसी हुन्छन् थापा । अनि त्यही जोशमा फेरि नयाँ तस्वीर खिच्न हौसिएर खप्तडका हरिया चौरीतिर पुग्छन् । बढीमालिकाको आँगनतिर उक्लिन्छन् ।

‘नयाँ ठाउँ जान त बाह्रैमास रहर हुन्छ । तर, कुनै निकायबाट दरिलो सहयोग मिलेको छैन’ गम्भीर हुँदै थापा भन्छन्, ‘जुन ठाउँमा जान्छु त्यहाँका साथीभाइ र स्थानीयबाट निकै साथ पाएको छु । तर आजसम्म सरकारी पक्षको पूर्ण सहयोग लिएको छैन ।’

यसैले यात्राका क्रममा चिनेका नयाँ मानिसबाट पाएको सद्भावप्रति सधैं नतमस्त रहने उनी बताउँछन् । भन्छन्, ‘जो मानिसले पाहुनालाई रिझाउन सक्यो उसकै माटोमा पर्यटकको लर्को लाग्छ । भूगोलमात्र  सबैथोक होइन, त्यहाँका मानिसको रहन–सहन, जीवनज्ञान र कर्मशीलता ठूलो कुरा हो ।’

भरतबन्धु आफ्नो ब्रम्हज्ञानका आधारमा पश्चिमलाई हिमालय सभ्यताकै उत्कृष्ट प्राकृतिक गन्तव्य मान्छन् । यद्यपि, यति ठूलो ऐश्वर्य आफ्नै पोल्टामा हुँदा पनि चिन्न नसकेकोमा खेद व्यक्त गर्छन् ।

‘पश्चिमको सौन्दर्य उजागर गर्न पहँुच नै पुगेको छैन’ उनी थप्छन्, ‘सुदुरको नाममा बजेट नगएको त होइन, आखिर गोजी गोजीमा गएर बजेट गोजीमै सकियो ।’

पश्चिमकै चिन्ता

पश्चिमका नाकै ठोकिने उकालो बाटोमा लत्ता–कपडा र क्यामेराको गह्रौं भारी बोकेर हिँडिरहेको बेला त्यस क्षेत्रको नियति देखेर झनै ग्रहौं मन हुन्छ उनको ।

राज्यका पदमा बस्नेहरू आफ्नै दुनो सोझ्याउन व्यस्त भएको देखेर आजित हुन्छन् । ‘बन्न त प्रदेश सरकार बनेपछि पर्यटनको नाममा धेरै हल्लीखल्ली भएको छ’ थापा सुनाउँछन्, ‘तर यात्रीका लागि चाहिने सामान्य पदचिन्ह र  साइनबोर्डसम्म पनि प्रदेश सरकारले राखेको छैन ।’

पश्चिमको पर्यटन प्रवद्र्धन नहुनुमा स्थानीय व्यवसायीको न्यून उपस्थिति र प्रदेश सरकारको मौनतालाई मूल कारण मान्छन् । भन्छन्, ‘कर्णाली प्रदेशको आधिकारिक पर्यटकीय नक्सा नै बन्न सकेको छैन । भएका ट्रेकिङ रुट पनि विकराल अवस्थामा पुगिसकेको छ ।’

चौथो पुस्तक प्रकाशित भएसँगै थापालाई नयाँ जीम्मेवारी मिलेको छ । नेपाल पर्यटन बोर्डले गठन गरेको ‘आन्तरिक पर्यटन पुनरुत्थान समिति, कर्णाली प्रदेश’को सह–संयोजक नियुक्त गरिएको छ उनलाई

जनप्रतिनिधिले बाटो खन्ने काममात्र गरेको तर पर्यटनको लागि रत्तिभर ध्यान नदिएको उनको अनुभव छ । अनि विज्ञले भनेको कुरालाई पनि वेवास्ता गर्ने राज्य संयन्त्रसँग ठोकिरहनु परेको तीता संस्मरण छ ।

कुनै पनि ठाउँको सुन्दरता भएर मात्र पर्यटन प्रवाह हुँदैन । त्यहाँ खान र बस्नको आधारभूत अवस्था हुनुपर्छ । हेर्दा ठाउँ राम्रो छ तर पुग्दा पीडा अनुभव भयो भने कोही दोहोर्याएर जान चाहँदैनन् ।  पश्चिम नेपाल तथा सुदूरपश्चिमले यही नियति भोगिरहेको थापाको कथन छ ।

सन् २०१० देखि पश्चिमको फोटोमा थापाको रुची बढेको थियो । यो दश वर्षे अनुवभमा पश्चिम नेपालको पर्यटन क्षेत्रमा खासै परिवर्तन नभएको उनलाई लाग्छ । भन्छन्, ‘जति पर्यटक जानुपर्ने त्यसको एकतिहाइ पनि पुगेको छैन । विदेशी फोटोग्राफर त गएका छन् तर उनीहरूले खिचेको फोटो नेपालको सम्पत्ति हुँदैन ।’

देशलाई क्यामेरामा कैद गर्ने क्रममा थापाले लामा–लामा पदयात्रा गरेका छन् । आज सम्झिँदा रोचक लागे पनि यात्राको समय निकै कष्टमय थियो । उनले खप्तडदेखि रारासम्मको १९ दिने पदयात्रा गरे । त्यस्तै खप्तड–बडिमालिका–रामारोसन (फारवेस्ट हेरिटेज ट्रेल) दुई साता लगाएर पुरा गरे ।

बडीमालिका देखि रामारोशन जाने बेला बाटो हराएर गोठमै सुत्नुपर्यो थापाको टोली । त्यतिबेला उनीहरूसँग खाना पकाउने सामान त थियो तर गोठ वरिपरि पानीको मुहान कतै नभेटेपछि दिनभर भोकै हिँड्नुपर्यो ।  शुक्लाफाँटमा बाघको फोटो खिच्दा झण्डै पाटेबाघसँगै ठोकिन पुगे । तैपनि थापाले यात्रादेखि हार मानेनन् । त्यही साल झन् धेरै ठाउँको भ्रमण गरे । पत्रपत्रिकामा फोटो–फिचर पठाइरहे ।

विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्तीका रूपमा प्रख्यात माथिल्लो डोल्पा (द्यो)को पदयात्रा गरेर यार्साको फोटो–स्टोरी गरेपछि उनलाई नेपाल टेलिभिजनले ‘हेम–सुनील जोखिमपूर्ण पत्रकारिता पुरस्कार ०७४’ प्रदान गर्यो । ‘टान सगरमाथा जर्नालिजम अवार्ड’, नेपाल पर्वतारोेहण संघको ‘दावा–नोर्बु माउन्टनेरिङ जर्नालिजम अवार्ड’ पनि उनको फोटो–कर्मलाई मिलेको छ ।

अहिले चौथो पुस्तक प्रकाशित भएसँगै थापालाई नयाँ जीम्मेवारी मिलेको छ । नेपाल पर्यटन बोर्डले गठन गरेको ‘आन्तरिक पर्यटन पुनरुत्थान समिति, कर्णाली प्रदेश’को सह–संयोजक नियुक्त गरिएको छ उनलाई । यद्यपि, राज्यपक्षको काममा हुने गरेका कमजोरी कहन नडराउने प्रतिज्ञा गर्छन् । व्यक्तिगत तवरबाट भएपनि पदमा बस्दा आफ्नो माटोका लागि केही गर्ने अठोट राखेका छन् ।

नयाँ जिम्मेवारी पाएकोमा खुसी छन्, तर आफ्नो जन्मस्थानको पर्यटनलाई आधुनिकीकरण गर्न नपाउँदासम्म वास्तविक खुसी नमिल्ने थापा सुनाउँछन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *