बैशाखबाट क्षेत्रीय कारागार संचालन गर्ने तयारी, पहिलो चरणमा दुई सय कैदी राखिने


बाँके, १६ माघ ।

बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माणाधिन क्षेत्रीय कारागार आगामी बैशाखबाट संचालनमा आउने भएको छ । दोस्रो फेज अन्तरगत निर्माणाधिन २५ वटा भवन निर्माण अन्तिम चरणमा पुगेपछि कारागार विभागले आगामी बैशाखबाट कैदी राख्ने तयारी थालेको हो ।
उनले प्रशासनिक, नेपाल प्रहरी, सशस्त्र प्रहरीका लागि दुई–दुई तले एक–एक वटा भवन निर्माण अन्तिम चरणमा पुगेको को सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना इकाई बाँकेका इन्जिनियर सुदीप झाले बताए । एउटा युनिटमा दुई तले दुई वटा जेल ब्लक, दुई तले शौचालय, दुई तले एउटा वर्कसप र एक तले डाइनिङ रुम गरि एक युनिटमा पाँच वटा भवन निर्माण भइरहेको इन्जिनियर झाले जानकारी दिए । ‘दोस्रो फेजमा यस्ता चार वटा ब्लक निर्माण भइरहेका छन् । चार वटै ब्लकमा ७० प्रतिशत काम पूरा भएको छ,’ उनले भने ।
उनले स्टक्चर निर्माण पूरा भइसकेको बताए । भवनको छत ढलान भई दिवाल लगाउने काम भइरहेको उनको भनाई छ । सेक्यूरिटी वाल, सेनेटरी, इलेक्ट्रिक्स, र फिनिसिङको काम भइरहेको उनले जानकारी दिए । कामको प्रकृति हेर्दा बैशाखसम्म दोस्रो फेज अन्तरगतका सम्पूर्ण संरचना निर्माण पूरा हुने देखिन्छ,’ झाले भने ।
१० बिगाह क्षेत्रफलमा बन्न लागेको क्षेत्रीय कारागारमा तीन हजार कैदीबन्दी अट्ने क्षमता छ । ८ कात्तिक, ०७६ मा निर्माण सम्पन्न गर्ने गरि रसुवा–पप्पु कन्स्ट्रक्सन जेभीले मूल्य अभिबृद्धि कर बाहेक ३८ करोड ६८ लाख ७९ हजार दुई सय ८१ रूपैयाँमा ठेक्का लिएको थियो ।
ज्वाइन्ट भेन्चर अन्तरगत रसुवा–पप्पुले ठेक्का पाए पनि निर्माणको जिम्मा पप्पुलाई दिइएको थियो । तीन वर्षभित्र निर्माण सम्पन्न हुनेगरि ठेक्का लिए पनि सो अवधिमा ५ प्रतिशत मात्र प्रगति भएको थियो । ‘पप्पुले तीन बर्षमा ५ प्रतिशतमात्र काम गर्यो । उसले काम गर्न नसकेपछि अहिले रसुवाले काम गरिरहेको छ,’ इन्जिनियर मिश्रले भने, ‘अहिले रम्फ्तारमा काम भइरहेको छ । यसले केहि आशा जगाएको छ ।’
आगामी बैशाख भित्र दोस्रो फेजको निर्माण कार्य सम्पन्न गर्ने गरि काम भइरहेको रसुवा कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर विनोद ज्ञवालीले बताए । उनले ६ महिनामा ७० प्रतिशत प्रगति भएको बताए । लकडाउनले निर्माणमा केहि समस्या सिर्जना गरेको बताउँदै उनले सानातिना काममात्र बाँकी रहेकोले बैशाख पहिलो साता संरचना हस्तान्तरण हुने जिकिर गरे । ‘तपाईले कामको रफ्तार देखि हाल्नु भयो । बैशाखमा कारागार संचालन गर्ने गरि निर्माणमा जुटेका छौँ,’ ज्ञवालीले भने ।
थप भएको एक बर्ष समय सकियो, ६ महिना थप्ने तयारी
तोकिएको समयमा निर्माण पूरा नभएपछि एक बर्ष म्याद थप गरिएको छ । थप गरिएको म्याद पनि ८ कात्तिक, ०७७ मा सकिएको उनले बताए । उनले ८ बैशाख, ०७८ सम्मका लागि म्याद थप्ने तयारी भइरहेको बताए । तेस्रो फेजमा थप ३० वटा भवन निर्माणको तयारी भइरहेको उनले बताए । ‘नौबस्तास्थित क्षेत्रीय कारागारमा कुल ५६–६० वटा भवन निर्माण हुन्छ,’ उनले भने ।
नेपालगन्ज कारागारका दुई सय कैदी स्थानान्तर गरिने
नेपालगन्ज कारागारमा रहेका दुई सय कैदीलाई बैशाख पहिलो साता स्थानान्तर गर्ने तयारी भएको बताए । अदालतबाट कैद सजाय पैmसला भई नेपालगन्ज कारागारमा रहेका कैदीलाई त्यहाँ स्थानान्तर गरिने उनको भनाई छ ।
आचरणमा सुधार भएका र कारागारमा रहेका जेष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखिएको उनले स्पष्ट पारे । ‘नेपालगन्ज कारागारमा कैद भुक्तानी गरिरहेका जेष्ठ नागरिकलाई खान, बस्न समस्या हुने गरेकोले पहिलो प्राथमिकतामा राखेका छौँ,’ उनले भने, पहिलो चरणमा दुई वटा जेल ब्लक संचालन गर्ने योजना छ ।’
कारागारमा वर्कसपको समेत ब्यवस्था
क्षेत्रीय कारागारमा बस्ने कैदीले सीपमुलक तालिम र काम गर्ने अवसर समेत पाउने छन् । अहिले निर्माण भइरहेको दुई तले वर्कसप भवनमा बसेर कैदीले आफूले जानेको सीप प्रयोग गरि आयआर्जनको काम गर्ने जेलर सोनखरले बताए ।
उनले डिपिआर अनुसारको कारागार निर्माण पूरा भए कैदीलाई खान, बस्न समस्या नहुने जिकिर गरे । कैदीका लागि हरेक ब्लकमा शौचालय, भान्सा, वर्कसप, खेल मैदान लगायतका संरचना निर्माण भएपछि कैदीलाई सहज हुनेछ,’ उनले भने ।
खुल्ला कारागारमा पनि बैशाखदेखि कैदी राख्ने तयारी
उनले गनापुरमा निर्माण भएको खुल्ला कारागारलाई थप ब्यवस्थित बनाएर बैशाखदेखि कैदी राखिने बताए । आचरणमा सुधार भएका र कैद भुक्तान गर्न थोरै समय बाँकी रहेकालाई खुल्ला कारागारमा राखिने उनको भनाई छ । ‘खुल्ला कारागारमा बस्ने कैदीले दिनभर काम गर्ने, बेलुकी कारागारमा हाजिर हुने र रातभर परिवारसँग बस्न पाउने छन्,’ जेलर सोनखरले भने ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *