बाँके पाँच महिनामै ४ सय ५२ फरार अपराधी पक्राउ


गत आ.व.मा ५२ जना फरार समातिएकोमा चालु आ.व.को पाँच महिनामै त्यो संख्या ४ सय ५२ पुगेको छ

देबेन्द्र राज पौडेल

बाँकेमा फरार अपराधी तथा अभियुक्त समातिने क्रम अघिल्लो बर्षको तुलनामा ह्वात्तै बढेको छ । बाँके प्रहरीले फरार अपराधी तथा अभियुक्तहरुलाई धमाधम पक्राउ गर्न थालेपछि गत आ.व.को तुलनामा चालु आ.व.मा फरार पक्राउको संख्या ह्वात्तै बढेको हो । जिल्ला प्रहरी कार्यालय बाँकले अदालत तथा प्रहरीमा रहेको मुद्दामा फरारहरुको खोजीलाई तिव्रता दिएको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक सुवास खड्का बताउँछन् ।

गत आ.व.मा प्रहरीले ५२ जना अदालतबाट सजाय तोकिएका तथा मुद्दा चलेर फरार रहेकाहरुलाई पक्राउ गरेको थियो । त्यो संख्या यो बर्षको पाँच महिनामै झण्डै आठ सय गुणाले वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटका अनुसार, चालु आ.व.मा ४ सय ५२ जना पक्राउ परिसकेका छन् ।

‘ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, लागु औषध, जबर्जस्ती करणीका मुद्दाका फरार पक्राउ परिरहेका छन्’, प्रहरी नायब उपरीक्षक खड्का भन्छन् ।

बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार, सबैभन्दा बढी फरार भदौ महिनामा पक्राउ परेका छन् । प्रहरीले भदौ महिनामा मात्रै २ सय ४१ जनालाई पक्राउ गरेको हो । जसमध्ये अदालतबाट फैसला भएका २ सय २८, मुलतबीमा राखिएका ७ र चालु मुद्दाका ६ जना रहेका थिए ।

बाँकेमा अझै पनि २ हजार १ सय ५० बढीको हाराहारीमा फरार रहेको प्रहरीको तथ्यांकले देखाएको छ ।

अदालतबाट सजाय तोकिएका, मुद्दा चलेर फरार रहेकाहरुबाट समाजले असुरक्षित महसुस गर्छ भने अपराधीहरुको समेत मनोबल बढ्न सक्छ, त्यसैले फरार अपराधी खोज्नलाई विशेष जोड दिइरहेका हौं
ओम राना
प्रहरी उपरीक्षक

कसरी समातिन्छन् फरार

मानिस अपराध गरेपछि आत्तिन्छ, कानुनी कारवाहीबाट भाग्न खोज्छ । तर, कानुनले सधै उसका लागि तोकिएको सजाय दिन खोजिरहन्छ । अपराध गरेपछि सजाय कुनै न कुनै बेला भोग्नै पर्दछ । बाँकेमा अदालतबाट फैसला भएका र प्रहरीमा उजुरी दर्ता भई फरार भएका हजारौं छन् । अहिले प्रहरीले उनीहरुलाई धमाधम खोज्दै पक्राउ गरिरहेको छ । अपराधीहरुले दशकौंपछि समेत आफ्नो अपराधको सजाय भोग्न कारागार पुग्ने गरेका छन् । त्यसको पछिल्लो उदाहरण हो नरैनापुरका फरार अपराधी पक्राउ पर्नु । जबर्जस्ती करणी मुद्दामा फरार अपराधी हेमन्त कुमार शर्मा फैसलाको ११ बर्षपछि चालु आ.व.मा पक्राउ परेका थिए । उनलाई १० बर्ष कैद तोकिएको थियो । त्यस्तै, खजुराका राम अली बेहना कर्तव्य ज्यान मुुद्दामा ७ बर्षपछि प्रहरीले समात्न सफल भयो । यस्ता धेरै अपराधी छन् जसलाई प्रहरीले दशकौं पछि पनि पक्राउ गरेको छ ।

कतिपय घटनामा अदालतबाट सजाय तोकिएको व्यक्ति, उनका परिवार र समाजले समेत बिर्सिसकेका हुन्छन् । तर, कानुनी पानामा उनको अपराध र सजाय लिपिबद्ध गरिएका छन् । जब कानुनले खोज्छ उ कुन न कुनै दिन आफ्नो अपराधको सजाय भोग्न बाध्य हुन्छ । अदालतमा तारेखमा छुटेर पछि फैसला भएकाहरु पनि फरार हुने गरेका छन् । विगतमा तारेखमा छुटेकालाई प्रहरीले नखोजेका कारण पनि फरारको सूचि जिल्लामा लामै रहेको छ ।

बाँकेमा अदालतबाट सजाय तोकिएका र प्रहरीमा मुद्दा भएका फरार खोज्न छुट्टै टोली नै गठन गरिएको छ । प्रहरीले त्यस्ता फरार फेला पर्न सक्ने अवस्थालाई मध्यनजर आफ्ना सूचनाका स्रोत परिचालन गरेको हुन्छ । बाँके सीमावर्ती जिल्ला भएकाले यहाँ अपराध गरेर भारत जाने, यो ठाउँ नै छाडेर अन्य जिल्ला जानेलाई पनि प्रहरीले पक्राउ गरिरहेको छ । कोभिडको महामारी भएपछि भारतमा लुकेका अपराधी समेत ज्यान जोगाउन नेपाल फर्किए । उनीहरु नेपाल फर्कदा प्रहरी भने उनीहरुलाई खोज्न सक्रिय भयो ।

‘बाँकेका प्रत्येक स्थानीय तहका फरारहरुको सूची बनाएर खोजी कार्य भैरहेको छ’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम रानाले भने, ‘फरार अपराधीलाई कानुनी दायरामा ल्याएर नै छाड्छौं ।’ उनले प्रहरीले खोज्न थालेपछि कतिपय साना, तिना मुद्दामा अदालतबाट फैसला भएका अपराधी आफैपनि अदालत पुग्न थालेको बताउँछन् ।

‘अदालतबाट सजाय तोकिएका, मुद्दा चलेर फरार रहेकाहरुबाट समाजले असुरक्षित महसुस गर्छ भने अपराधीहरुको समेत मनोबल बढ्न सक्छ, त्यसैले फरार अपराधी खोज्नलाई विशेष जोड दिइरहेका हौं’, प्रहरी उपरीक्षक रानाले भने ।

प्रहरीले खोज्न थालेपछि पनि अपराधीहरु समातिने क्रम बढेको हो । अर्को कारण भनेको कोरोना पनि हो । सीमावर्ती जिल्ला भएकाले यहाँ अपराध गरेर भारत जानेको संख्या उल्लेख्य रहेको अनुमान गरिन्छ । भारतमा कोरोना संक्रमण फैलिएपछि घर फर्किएका फरार अपराधीलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।

The put up बाँके पाँच महिनामै ४ सय ५२ फरार अपराधी पक्राउ appeared first on Nepalgunj News.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *