बाँकेको नरैनापुरमा आगलागी हुँदा सय बढी घर जले 

बाँकेको नरैनापुरमा आगलागी हुँदा सय बढी घर जले 


२२ चैत, बुटवल । बाँकेको नरैनापुरमा आगलागी हुँदा एक सयभन्दा बढी घर जलेर नष्ट भएका छन् ।

नरैनापुर गाउँपालिका–४ खोदावा गाउँमा शनिबार दिउँसो भएको आगलागी राति ११ बजेतिर नियन्त्रणमा आएको हो । आगलागीमा परी चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँका प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए । घाइतेहरुको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले बताए ।

हुरी चलेकाले बस्तीभरि आगलागी फैलिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । गाउँमा अधिकांश घर फुसको छानोका रहेकाले पनि आगलागी चाँडै नियन्त्रणमा ल्याउन नसकिएको उनले बताए ।

आगलागीबाट खाद्यान्न, कपडा जलेर नष्ट भएका छन् । आगलागीबाट करिब चार करोड रुपैयाँ बराबरको क्षति भएको गाउँपालिका अध्यक्ष शाहले बताए ।

नरैनापुरमा यो वर्ष आगलागी भएको यो पाँचौं पटक हो । आगलागी भएको क्षेत्रमा सुरक्षाकर्मी, रेडक्रस र स्थानीय तहले टेण्ट टाँगेर पीडित परिवारलाई खाने र बस्ने व्यवस्था गरेका छन् ।

जिल्ला आपतकालीन कार्य सञ्चालन सूचना केन्द्रका व्यवस्थापक रुपन ज्ञवालीका अनुसार फागुन र चैत महिनामा मात्रै नरैनापुरमा १ सय ४३ घर जलिसकेका छन् । अव्यवस्थित बसोबास र कमजोर संरचनाका कारण आगलागीका घटना बढेको ज्ञवालीले बताए ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *