‘बंगलादेश ऊर्जाको भोको देश हो, नेपाल स्रोत मुलुक बन्न सक्छ’

‘बंगलादेश ऊर्जाको भोको देश हो, नेपाल स्रोत मुलुक बन्न सक्छ’


२० मंसिर, काठमाडौं । नेपालका लागि बंगलादेशका नवनियुक्त राजदूत सलाहुद्दिन नोमन चौधरीले बिहीबारदेखि औपचारिकरुपमा कार्यभार सम्हालेका छन् । उनले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहादाको प्रमाणपत्र बुझाएका छन् ।

नवनियुक्त राजदूत चौधरीसँग दक्षिण एसियाली मुलुकहरुमा काम गरेको लामो अनुभव छ । यस अगाडि उनले नयाँ दिल्लीस्थित बंगलादेश उच्च आयोग र पाकिस्तानमा पनि काम गरेका छन् ।

नेपालमा नयाँ राजदूतको कार्यभार सम्हालेपछि राजदूत चौधरीसँग दुई देशको सम्बन्धका विभिन्न विषयमा अनलाइनखबरकर्मी कमलदेव भट्टराई र रविन्द्र घिमिरेले गरेको कुराकानी :

नयाँ राजदुतका रुपमा भर्खरै कार्यभार सम्हाल्नुभएको छ, नेपाल–बंगलादेश सम्बन्धलाई विस्तार गर्ने तपाईको भिजन के छ ?

नेपाल र बंगलादेशबीच निकै पुरानो र राम्रो मित्रता छ । जब सन् १९७१ मा बंगलादेश स्वतन्त्र भयो, त्यसलाई मान्यता दिने पहिलो मुलुक नेपाल थियो । त्यसैबेलादेखि हामीबीच एउटा वृहतर, राम्रो, मित्रवत र भाइचारापूर्ण सम्बन्ध रहँदै आएको छ ।

नेपालका लागि राजदूतका रुपमा मेरो पहिलो प्राथमिकता दुई देशबीचको यो सुमधुर सम्बन्धलाई निरन्तरता दिनु र अझ सुदृढ बनाउनु हुनेछ । हामी अन्तर्राष्ट्रिय समुदाय माझ नजिक रहेर काम गरिरहेका छौं । त्यसैले, हामी यो सम्बन्धलाई अझ मजबुद बनाउन चाहन्छौं । यति नजिकको सम्बन्ध भएर पनि दुई देशबीचको ‘व्यापार सम्बन्ध’मा त्यो प्रतिविम्बित हुन सकेको छैन । जति सम्भावना छ, त्यसअनुसार हुन सकेको छैन । म ब्यापार तथा लगानी क्षेत्रका सम्भावना र अवसरलाई अझ विस्तार गर्ने प्रयास गर्नेछु ।

अर्को मेरो प्राथमिकता नेपाल बंगलादेशका जनता–जनताबीचको सम्बन्धलाई अझ विस्तार गर्ने हो । दुवै देशमा पर्यटनको प्रचुर सम्भावना छ । नेपालमा मात्रै हैन, बंगलादेश पनि पर्यटकीय सम्भावना छ । बंगलादेशसँग क्षेत्रीय मात्रै हैन, विश्वकै ठूलो सामुद्रिक किनारा पनि छ । त्यसैले नेपालीहरुलाई त्यहाँ घुम्न जाने अवसर छ । मेरा आधारभूत प्राथमिकताहरु यिनै हुनेछन् ।

नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यको ठूलो सम्भावना छ । तर, ठोस प्रगति भएको छैन । अब सहकार्य कसरी अगाडि बढ्छ ?

यो हाम्रा लागि निकै महत्वपूर्ण विषय हो । बंगलादेश उर्जाको भोको मुलुक हो । हामी तीब्र विकासको चरणमा छौं । त्यसैले आउने दिनमा हामीलाई ठूलो मात्रामा उर्जा चाहिन्छ । बंगलादेशको विद्युत उत्पादन क्षमता करिब २० हजार मेगावाट मात्रै छ । तर, हामीलाई छिट्टै अरु १० हजार मेगावाट बिजुली चाहिने अवस्था छ । त्यसैले, नेपाल हाम्रा लागि विद्युतको स्रोत मुलुक हुन सक्छ । नेपालसँग जलविद्युत उत्पादनको ठूलो सम्भावना छ ।

हामी यसकारण खुसी छौं कि नेपालका ऊर्जामन्त्रीज्यु नै जलविद्युत बारेको एमोयुका लागि बंगलादेश पुग्नुभयो । हामीले यो एमओयुलाई अझै अघि बढाउनुपर्छ र समृद्ध बनाउनुपर्छ । त्यसका लागि ऊर्जा सचिवस्तरीय बैठक हुनुपर्ने थियो, तर कोभिड–१९ को महामारीका कारण प्रभावित भयो ।

ढाकाबाट नेपाल आउनुअघि म ऊर्जा मन्त्रालयका वरिष्ठ अधिकारीलाई भेट्न पुगेको थिएँ । बंगलादेशका सरकारी अधिकारीहरु यो एमओयुबारे थप छलफल गर्न नेपाल आउन निकै उत्साहित हुनुहुन्छ, त्यसैले बंगलादेशका तर्फबाट यो मुद्दामा निकै चासो र ठूलो प्राथमिकता छ ।

मैले हिजो नेपालका सम्माननीय राष्ट्रपतिसँग पनि कुरा गरेँ, हामीले विश्व समुदायसँग क्लिन इनर्जीका लागि प्रतिवद्धता पनि गरेका छौं । नेपाल जलविद्युतको स्रोत मुलुक हो । यदि हामीले नेपालको जलविद्युत बंगलादेशमा प्रयोग गर्‍यौं भने हामीले ‘क्लिन इनर्जी’बारे गरेको प्रतिवद्धता पूरा गर्न पनि सहयोग मिल्नेछ ।

नेपाल र बंगलादेश दुबै जलवायु परिवर्तनको दृष्ट्रिकोणले निकै जोखिमपूर्ण अवस्थामा छौं । हिजो मैले ओहोदाको प्रमाणपत्र बुझाएपछिको भेटमा नेपालका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले पनि बंगलादेशको यस्तो अवस्थाका बारेमा आफू जानकार रहेको बताउनुभयो ।

नेपालको जलविद्युत प्रयोग गर्‍यौं भने हामीले अन्तर्राष्ट्रिय समुदाय माझ गरेका प्रतिवद्धता पूरा गर्न सहयोग गर्ने छ भने हामीलाई जलवायु परिवर्तनको मुद्दामा हामी उत्तरदायी मुलुक बन्न सक्दा त्यसबाट आत्मसन्तुष्टि मिल्नेछ । अहिले पनि हामीले जवाफदेही भएर कार्बनमुक्त विकासलाई प्रवर्द्धन गरिरहेका छौं । त्यसैले नेपालसँगको ऊर्जा सहकार्यले हामीलाई दुई किसिमको सशक्त फाइदा दिनेछ । हाम्रो विद्युतको आवश्यकता पूरा गर्न र अन्तर्राष्ट्रिय समुदायमा गरेका प्रतिवद्धता पूरा गर्न पनि सहयोग मिल्नेछ ।

नेपाल र बंगलादेशको ऊर्जा सहकार्यलाई व्यवहारमा उतार्नका लागि भारतको पनि भूमिका महत्वपूर्ण हुन्छ । किनकि, नेपालको बिजुली बंगलादेश पुग्न भारतकै बाटो प्रयोग गर्नुपर्छ । यसलाई कसरी समाधान गर्ने ?

यदि म गलत छैन भने नेपालको बिजुली बंगलादेश पुर्‍याउन एउटा त्रिपक्षीय संयन्त्र हुनेछ । नेपाल, भारत र बंगादेशबीच विद्युत प्रसारणका लागि यो आवश्यक पर्नेछ । तर, पहिला त कसैले जलविद्युतमा लगानी गर्नुपर्‍यो, जलविद्युत उत्पादन हुुनुपर्‍यो । त्यसपछि मात्रै भारत हुँदै नेपालको बिजुली बंगलादेश पर्‍याउने विषय आउँछ । त्यसका लागि नेपाल भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता हुनुपर्छ । हामीसँग बंगलादेश, भारत र नेपालको ‘बीबीआईएन’ संयन्त्र छ । त्यसमा पनि यसबारे तीन देशबीच छलफल हुन सक्छ ।

तपाईंले बीबीआईएनको प्रशंग कोट्याउनुभयो । अहिले सार्क ‘कोमा’मा पुगेको छ । क्षेत्रीय सहकार्यलाई ब्युँताउन नेपाल र बंगलादेशले कहाँबाट भूमिका खेल्न सक्लान् ?

‘बीबीआईएन’को मुद्दामा लामो समयदेखि छलफल भइरहेको । हामी आशावादी छौं कि भारत, बंगलादेश र नेपालबीच ‘मोटर भेहिकल एग्रिमेन्ट’ भने जतिसक्दो छिटो सञ्चालनमा आउनेछ ।

हामी यो सम्झौता गर्न निकै उत्सुक छौं, किनकि यसपछि हाम्रो यात्रु र कार्गो सीधै भारत हुँदै नेपाल आउन सक्छन् । नेपालको यात्रु र कार्गो पनि त्यसैगरी बंगलादेश पुग्न सक्छन् । म आशावादी छु कि अब महामारीका कारण रोकिएको संवाद फेरि केही महिनापछि सुरु हुनेछ र छिट्टै अन्तिम रुप दिन सकिनेछ ।

नेपाल र बंगलादेश दुबै ‘सार्क लाई अघि बढाउन चाहन्छन् । तर, चार वर्षदेखि सार्क निष्क्रिय छ, यो अवस्थामा नेपाल र बंगलादेशले सार्कलाई ब्युताउँन के भूमिका खेल्न सक्लान् ?

मलाई लाग्छ कि सबैभन्दा पहिले त हामी सार्कले दिने के–के अवसरहरु दिन्छ भन्नेबारे प्रष्ट हुनुपर्छ । सार्क दक्षिण एसियाली क्षेत्रमा ब्यापारको सम्भावना बढाउन महत्वपूर्ण छ । सार्कमार्फत यसलाई अघि बढाउन राजनीतिक प्रतिवद्धताको खाँचो छ ।

नेपाल र बंगलादेशले लामो समयदेखि सहुलियतपूर्ण ब्यापार सम्झौताका लागि छलफल गरिरहेका छन् । तर, अहिलेसम्म यो मुद्दा टुंगिन सकेन । किन यसमा प्रगति हुन सकिरहेको छैन ?

यो प्रक्रियामा राम्रो प्रगति भएको छ । म यहाँ आउनुअघि वाणिज्य सचिवस्तरको वार्तामा म सहभागी हुन पाएको थिएँ । म सौभाग्यले त्यहाँ थिएँ । यो नेपाल र बंगलादेशबीच ब्यापार सम्झौताका लागि भएको छैठौं बैठक थियो । अब एदकमै थोरै मुद्दाहरु छन्, जो दुवै देशले छलफलबाट टुंग्याउन बाँकी छन् । हामी आशावादी छौं कि यो छिट्टै टुंगिन्छ । किनभने, दुबै देशले आ–आफ्नो आफ्ना वस्तुको सूची दिएका छन् । हामीले हाम्रो सूची दिएका छौं, नेपालले आफ्नो सूची दिएको छ । हामी छलफलको प्रक्रियामा छौं । हामी एक अर्काको सूची परीक्षण गर्दैछौं । यदि त्यो प्रक्रिया छिट्टै सकियो भने सम्झौतामा चाँडै हस्ताक्षर हुनेमा धेरै आशावादी छु ।

यदि यो सम्झौतामा हस्ताक्षर भयो भने दुबै देशबीचको ब्यापार अहिलेको भन्दा निकै बढ्नेछ । अहिले दुई देशबीचको ब्यापारको आकार सानो छ । अहिले दुई देशबीच वार्षिक करिब ५० मिलियन डलरको मात्रै ब्यापार छ । यो हाम्रो क्षमतासँग तुलना गर्दा आयात–निर्यातको परिमाण निकै सानो हो । त्यसैले यो सम्झौता पछि नेपाल बंगलादेशको ब्यापार बढ्नेछ ।

नेपाल र बंगलादेशबीचको ब्यापार अभिवृद्धि र सहजीकरण तथा पर्यटन विस्तारका लागि रेल्वे र कनेक्टिभिटी महत्वपूर्ण छ । बंगलादेश रेल र हवाइ उडानबाट नेपालसँग जोड्ने कस्तो योजना बनाउँदैछ ?

हो, सडक मात्रै हैन, हामीले नेपालसँग जोडिन रेल्वे पनि माध्यम हुनसक्छ भनेर पहिचान गरेका छौं । हाम्रो सामान बिडल–राधिकापुर हुँदै भारतको रेल्वेलाइन भएर नेपाल आउनसक्छ । योबारेमा पनि हामी बीआईएन संयन्त्रमा छलफल गरिरहेका छौं । यदि यो टुंगियो भने निकै प्रभावकारी परिवर्तन हुनेछ । किनभने त्यसपछि नेपाली वस्तु मोगंला बन्दरगाहबाट आयात हुन सक्छ । यो पोर्ट पहिल्यै देखि प्रचलनमा थियो, हालसालै यसको क्षमता बढाइएको छ । त्यहाँबाट नेपाल आउने सामना नेपाल ल्याउन पनि यो रेल्वे कनेक्टिभिटीले मद्दत गर्नेछ ।

एयर कनेक्टिभिटीको कुरा गर्दा बंगलादेशको सइदपुर र नेपालको भद्रपुर तथा बिराटनगरबीच हवाई उडान गर्नेबारे छलफल गरिरहेका छौं । यसले नेपालको पूर्वी भेग र बंगलादेशको उत्तरी क्षेत्रलाई जोड्ने छ । एयर कनेक्टिभिटीबारे पनि हामी नेपालसँग छिट्टै बैठक गर्दैछौं । नेपाल र बंगलादेशको हवाई सेवा सम्झौताको मिति सकिएको छ । त्यसको नवीकरणका लागि पनि बैठक हुनेछ । आशा गरौं कि महामारीको अवस्था समान्य हुनेछ, हामी यसलाई टुंग्याउनेछौं ।

कक्सस बजारसँग पनि नेपालबाट हवाई उडान गर्न बंगलादेशको चासो देखाएको छ । कक्सस बजारमा अन्तर्राष्ट्रिय विमानस्थल छ । कक्सस बजारमा नेपाली पर्यटक जान सक्ने सम्भावना छ । अहिले हिमालय एयरलाइन्सले चित्ता गाउँमा उडान गर्ने अनुमति पाएको छ ।

नेपालबाट बंगलादेशमा धागो, अदुवा लगायतका नेपाली उत्पादन निकासीको राम्रो सम्भावना छ । तर, निर्यातकर्ताहरुको गुनासो छ कि नेपाली उत्पादनलाई बंगलादेशले विभिन्न कारण देखाएर अवरोध गर्ने गरेको छ । किन ?

मैले पनि यसबारेमा सुनेको छु । यो नेपालको मात्रै विषय हैन । त्यहाँ केही अवरोधहरु हुन सक्छन् । तपाईंले यसो भएको, उसो भएको छ भन्न सक्नुहुन्छ । तर, यो नेपालका लागि मात्र लक्षित हैन, सबै मुलुककका लागि हो । यस्तो अरु देशका लागि पनि भएको हुन सक्छ । अरु देशको उत्पादन त्यहाँ पुगिरहेका छन् । मलाई थाहा छैन, कि किन त्यहाँ नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् ।

हामी अवरोधको गुनासाबारे ‘ज्वाइन्ट कस्टम ग्रुप’को बैठकमा नियमित छलफल गरिरहेका छौं । हामीले एक–एक गर्दै छलफलमार्फत यस्ता सबै सवाललाई समाधान गर्दै लागेका छौं । केही सवालहरु त यसअघि नै समाधन भएका छन् ।

म स्पष्ट गर्छु कि यस्तो नीति नेपाली उत्पादनको विरुद्ध हैन । सबै देशका आफ्ना आन्तरिक उत्पादन हुन्छन् । आन्तरिक उत्पादनलाई बढावा र संरक्षण दिन सबैजसो देशले यस्तो नीति लिएका हुन्छन् ।

नेपालले बंगलादेशबाट मल खरिद गर्न चाहेको छ, प्रक्रिया कहाँ पुग्यो ?

नेपालले बंगलादेशबाट मल किन्ने सम्बन्धमा एक सम्झौता आवश्यक पर्छ । हामीले सो सम्झौताको विषयवस्तुलाई अन्तिम रुप दिएर नेपाल सरकारलाई दिएका छौं । नेपाल सरकारले यसलाई अन्तिम रुप दिएपछि ढाकामा रहनुभएका नेपाली राजदुत र बंगलादेशका सम्बन्धित मन्त्रालयका वीचमा सम्झौता हुनासाथ मल नेपाल आउन शुरु हुन्छ । सम्झौता हुनासाथ मल नेपाल ल्याउन कुनै समस्या छैन ।

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

 



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *