प्रोफेसर हिजबिजबिज !

प्रोफेसर हिजबिजबिज !


मेरो जीवनमा जुन घटना भयो, त्यसलाई सायद कसैले विश्वास गर्दैनन् । आफ्नै आँखाले नदेखेसम्म धेरै मान्छेले कतिपय कुरामा झट्ट विश्वास गर्दैनन् । जस्तो कि भूत । के प्रष्ट गरौं भने– म भूत–प्रेतको कथा लेख्न बसेको होइन ।

सत्य बोल्नुमा के डर? यसलाई कुन किसिमको घटना भनौं, यो कुरा म स्वयंलाई थाहा छैन । यद्यपि घटना भएकै हो र त्यो मेरो जीवनमा भएको हो । त्यसैले यो कुरामा सत्यता छ र त्यसबारेमा लेख्न स्वभाविक पनि ।

पहिले नै बताउँ, जसको कारण यो घटना भएको थियो, उसको असली नाम मलाई थाहा छैन । उसले बताएको थियो कि उसको कुनै नाम छैन । त्यतिमात्र कहाँ हो र ?  नामको बारेमा उनले सानोतिनो प्रवचन नै दिएको थियो ।

‘नामले के आउँछ, के जान्छ ‘साहेब’ ? कुनै जमानामा मेरो कुनै नाम थिएन । अब त्यसको जरुरत पनि छैन । त्यसैले मैले त्यसलाई त्यागें । तपाईं आउनुभयो । कुराकानी भयो । आफ्नो नाम बताउनुभयो । यसैले नामको प्रश्न उठ्यो । यहाँ अरु कोही पनि आउँदैनन् । यहाँ कोही नआउने भएकाले मलाई कसैले पनि नामले सम्बोधन गर्दैनन् । चिनेजानेका कुनै मान्छे छैनन् । कसैको चिठी चपेटा आउँदैन । अखबारमा रचना छपाउँदिन । बैंकको चेकमा हस्ताक्षर गर्दिन । फलस्वरुप नामको कुनै प्रश्न खडा भएन । एक नोकर छन्, उनी पनि बोली नभएको । यदि बोल्न सक्ने भइदिएको भए उनले मेरो नाम पुकारेर बोलाउँथे होला । यद्यपि उनले मलाई ‘बाबू’ मात्र भन्न सक्छन् । बस कुरा सकियो । अब प्रश्न त यो उठ्छ कि तपाईंले मलाई के भनेर सम्बोधन गर्नुहुन्छ । तपाईं यही कुरामा सोचमग्न हुनुहुन्छ होइन त ?’

अन्ततः मैले उनलाई प्रोफेसर हिजबिजबिज भनेर पुकार्ने निर्क्यौल गरें । किन यस्तो गरें, यो कुरा पछि बताउनेछु । पहिले जरुरी छ कि सुरुको केही कुरा बताउन ।

घटना गोपालपुरमा भएको थियो । उडीसाको गंजम जिल्लाको बरहमपुर स्टेसनदेखि १० मील दुरीमा रहेको समुद्रको किनारमा गोपालपुर नामको एक सानो सहर छ । पछिल्लो तीन वर्षदेखि मलाई कामबाट छुट्टी मिलिरहेको थिएन । किनभने कामको दबाव एकदमै बढी थियो । यसपटक तीन सप्ताहको लागि बिदा लिएँ । अनि कहिल्यै नदेखेको तर नामले परिचित त्यो ठाउँ घुम्ने योजना बनाएँ ।

रोजगारीबाहेक म अर्कोपनि काम गर्छु, अनुवादको । अहिलेसम्म मैले अंग्रेजीबाट बंगालीमा अनुवाद गरेको सातवटा जासुसी उपन्यास प्रकाशित भइसकेका छन् । प्रकाशक भन्दै थिए कि, ती पुस्तकहरू गजबले बिक्री भइरहेका छन् । यस्तै दबावहरूको कारण पनि मलाई छुट्टी लिन परेको थियो । यस तीन सप्ताहको बीचमा एउटा पुरा पुस्तक अनुवाद गर्ने जिम्मा मेरो काँधमा थियो ।

यसअघि म कहिल्यै गोपालपुर आएको थिइन । यो ठाउँ छनौट गर्नु सही निर्णय रहेछ, यो कुराको भेउ मैले पहिलो दिन नै पाएँ । यति मनोहर र एकान्त स्थान यसअघि मैले कमै मात्र देखेको थिएँ । एकान्त हुनुको अर्को कारण छ । यो अप्रिलको महिना हो । अप्रिलमा पर्यटकहरू आउँदैनन् । वायु परिवर्तनका कारण यहाँका लागि हिँडेका मान्छेको समूह अहिलेसम्म आइपुगेका छैनन् ।

जुन होटलमा आएर म बसेको छु, त्यहाँ मेरो अतिरिक्त अर्को एक व्यक्ति छन्, वृद्ध व्यक्ति अर्मेनियम । नाम मिस्टर ऐराटुन । उनी होटलको पश्चिमतर्फको एक सानो कोठामा बस्छन् । म पूर्वतर्फको अर्को कोठामा।

होटलको लामो आँगनको ठीक तलबाट बालुवाको मैदान सुरु हुन्छ । एक सय गजमा फैलिएको बालुवामा समुद्रको लहर आउँदै जाँदै गरिरहन्छ । राता रंगका गंगटाहरू बार्दलीमा चढेर यताउता गरिरहेका हुन्छन् । म आरामदायक कुर्सीमा बसीबसी दृश्यावलोकन र लेखन कार्य गर्न सक्छु । साँझको समय दुई घण्टा कामबाट विश्राम लिन्छु । अतः समुन्द्री किनारमा हिँड्नका लागि निस्कन्छु ।

सुरुको दुई दिन समुद्र किनार हुँदै पश्चिमतर्फ गएँ । तेस्रो दिन सोचें, पूर्वतर्फ जान पनि जरुरी छ । समुन्द्री किनारमा पुराना जमानाका टुटेफुटेका घर अनौठो देखिन्थे । मिस्टर ऐराटुनले बताएका थिए कि, यी घर तीन–चार वर्ष पुराना हुन् ।

म यी सबै सोचिरहेकै बेला एकाएक यस्तो लाग्यो कि घरको सामुन्नेको ढोका पछाडि अँध्यारोमा केही चिज हिँडडुल गरिरहेको छ । त्यसपछि एक व्यक्ति बाहिर आए

कुनै जमानामा गोपालपुरमा डचहरूको चौकी थियो । यी घरहरू धेरैजसो त्यही समयका हुन् । ढोकाका ईंटाहरू स–साना छन् । ढोका र झ्याल भएको स्थानमा केवल चर्किएको भाग मात्र बाँकी छन् । छत त नाम मात्रको छ । छत उदाङ्गो छ । मैले घरभित्र पसेर हेरें, त्यहाँ विराट सन्नाटा छ । सुनसान छ ।

पूर्वतर्फ अगाडि बढ्दै जाँदा मैले एक यस्तो ठाउँ देखें, जहाँ फराकिलो बलौटे मैदान छ । त्यहाँ धेरैजसो भाग डुंगाले भरिएको छ । थाहा भयो कि, माझीहरू यही डुंगा लिएर माछा मार्नका लागि समुद्रमा निस्कन्छन् । देख्छु, जहाँजहाँ माझीहरू जम्मा भएर अड्डेबाजी खेलिरहेका छन् उनीहरूका बालबच्चा छिपछिपे पानीमा गएर गंगटा समातिरहेका छन् । चार–पाँच वटा सुँगुर यताउता दगुरिरहेका छन् ।

यसैबीच एक उल्टो परेको डुंगामाथि दुई बंगाली सज्जन बसेका देखिन्छन् । एक व्यक्तिको आँखामा चस्मा छ । उनको हातमा जुन अखबार छन् त्यसलाई हावाको झोँकाको कारण बीचमा मोड्न गाह्रो भइरहेको छ । दोस्रो सज्जन आफ्नो हातलाई छातीको नजिक राखेर समुद्र हेर्दै बिंडीको धुँवा तानिरहेका छन् । म उनीहरूको नजिक पुगें । अखबार पढिरहेका सज्जनले परिचय प्राप्त गर्ने मुद्रामा सोधेँ, ‘तपाईं यहाँ नयाँ हुनुहुन्छ ?’

‘हो दुई दिन भो ।’

‘साहब, होटलमा बसिरहनुभएको छ ?’

मैले हाँस्दै सोधें, ‘तपाईंहरू यहीँ बस्नुहुन्छ ?’

अब ती व्यक्ति अखबार सम्हाल्न सफल भएका छन् । बोल्छन्, ‘म यहीँ बस्छु । २६ बर्षदेखि गोपालपुरमै छु । न्यू बेंगाली मेरो नै होटल हो ।’

मैले भने, ‘हजुर’ । अनि कुराकानी टुंग्याएर म अगाडि बढ्न लागेँ । तब भलाद्मी व्यक्तिले अर्को प्रश्न सोधे, ‘उता कता जाँदै हुनुहुन्छ ?’

‘यत्तिकै, घुम्न जाँदैछु, अरु त  किन हुन्थ्यो र ?’

‘किन ?’

म समस्यामा फसें । किन घुम्न जाँदैछु ? यो कुरा पनि उसलाई भन्नुपर्ने हो ?

त्यसबेलासम्म ऊ उठिसकेको थियो । उज्यालो क्रमश: फिका हुँदै थियो । आकाशको उत्तर पश्चिम भागमा मेघको एक सानो झिल्को विस्तारैविस्तारै फैलँदै थियो । आँधी आउँछ कि क्या हो ?

भलाद्मी व्यक्तिले भने, ‘एकाध वर्षअघिसम्म केही भन्न सकिँदैनथ्यो । त्यसबेला यस्तो अवस्था थियो कि, आफ्नो मर्जी अनुसार मान्छेहरू घुमफिर गर्न सक्थे । पछिल्लो सेप्टेम्बरमा पूर्वतर्फ माझीको बस्तीदेखि एकाध मिल टाढा एक व्यक्ति डेरा बनाएर बसे । यी भत्किएका घरहरू देखिरहनुभएको छ नि, ठीक यस्तै एक घर छ । मैले त्यो घर त देखेको छैन । यहाँका पोस्ट मास्टर महापात्रका अनुसार उनले सो घर देखेका छन् ।

मैले सोधें, ‘साधु सन्यासी जस्ता मान्छे हुन् ?’

‘पटक्कै होइन ।’

‘अनि ?’

‘ऊ के हो थाहा छैन । महापात्रले बताएअनुसार भत्किएको घरमा त्रिपाल टाँगेका छन् । भित्र के गर्छ कसैलाई पनि थाहा छैन । ए अँ, छतको एउटा प्वालबाट बैजनी रंगको धुवा निस्किएको देखिन्छ । घर मैले देखेको छैन । तर, त्यो व्यक्तिलाई दुई पटक देखेको छु । म यही बसेको थिएँ, त्यो व्यक्ति यहीँबाट हिँडेर जादै थियो । कोट र पाइजामा लगाएका थिए । दाह्री छैन । तर टाउकोमा लामो कपाल छ । हिँडिरहँदा मनमनै केही भनिरहेका देखिन्थे । यतिसम्म कि कुनैबेला एक्लै जोडले हाँसेको पनि देखें । मैले कुरा गर्न खोजेको तर उनले जवाफ दिएनन् । तीं कि त अभद्र छन् या त पागल । सायद अभद्र र पागल पनि ।

उनीसँग एक नोकर पनि छन् । उनी बिहान बजारमा देखापर्छन् । त्यति हट्टाकट्टा दोस्रो व्यक्ति मैले कोही देखेको छैन साहब । लामो र चौडा अनुहार । करिब-करिब यो सुँगुरजस्तै । या त ऊ बोल्न नसक्ने व्यक्ति हुन् वा मुख बन्द गरिरहने । सामान खरिद गर्दा पनि उनको मुखबाट शब्द निस्कँदैन । पसलेसँग हातको इसाराले कुरा गर्छन् । मालिकजस्तो छन्, त्यस्तै नोकर छन् । त्यो घरमा जानु बुद्धिमत्ताको काम होइन ।’

****

जासूसी उपन्यास अनुवाद गर्दागर्दै रहस्यहरूले मेरो मनमा एक किसिमको आकर्षण पैदा गरेको छ । यो कुरा ‘न्यू बेंगाली होटल’ का म्यानेजरलाई थाहा थिएन । मैले घर फर्कने कुरा सोचिन, बरु पूर्वतर्फ अरु बढ्दै गएँ ।

समुद्रको पानी पछाडि गइसकेको छ । ज्वार पनि धेरै कम आइरहेको छ । किनारको जुन ठाउँमा लहर उठ्थ्यो, त्यहाँ अब कागहरू उफ्रिरहेका छन् ।

माझीको गाउँ पार गरिसकेपछि लगभग १० मिनेटसम्म अगाडि बढिरहें । ओसिलो बलौटे किनारमा एक रातो पत्र देखेर सुरुमा म अचानक झस्किएँ । नजिक गएपछि थाहा भयो कि यो किराहरूको एउटा समूह रहेछ । पानीको वेग मत्थर भएपछि झुन्ड बनाएर आफ्नो निवासस्थानतर्फ फर्किरहेका ।

र, पाँच मिनेटसम्म हिँडेपछि मैले उक्त घर देखें । त्रिपालले घेरिएको छ भनेर यसअघि नै थाहा भएकाले घर पत्ता लगाउन कठिन भएन । तर, नजिक गएपछि देखें, त्यहाँ केवल त्रिपालमात्र छैन । बाँस, काठको फलेक, कारगेटेड टिन, यहाँसम्म कि पेस्ट बोर्डको टुक्रा पनि प्रयोग गरेर घर मर्मत गरिएको छ । यो देखेपछि लाग्यो, यदि छतबाट वर्षाको पानी नछिर्ने हो भने यस्तो ठाउँमा बस्न जो कोहीलाई असम्भव छैन । तर, ती व्यक्ति कहाँ छन् ?

केही समयसम्म त्यहाँ रहँदा मलाई लाग्यो, यदि उक्त व्यक्ति अर्धपागल हुन् र उनीसँग साँच्चै नै विशालकाय नोकर छन् भने, म जुन तीब्र उत्सुकताले यो घर हेरिरहेको छु, यो हेर्नुमेरो लागि बुद्धिमानी काम हुँदै होइन । राम्रो त के हुन्छ भने यहाँबाट केही पछि हटेर ओहोर–दोहोर गरौं । यत्ति टाढा आइसकेपछि उनलाई नहेरी किन फर्कने ?

म यी सबै सोचिरहेकै बेला एकाएक यस्तो लाग्यो कि घरको सामुन्नेको ढोका पछाडि अँध्यारोमा केही चिज हिँडडुल गरिरहेको छ । त्यसपछि एक व्यक्ति बाहिर आए । यो कुरा थाहा पाउन समय लागेन कि, त्यही व्यक्ति यस घरका मालिक हुन् । र, त्यही अँध्यारोको फाइदा उठाएर केही समय म माथि निगरानी गरिरहेका थिए ।

‘तपाईंको हातमा छ औंला देखिरहेको छु’ अचानक मलिन आवाज सुनियो ।

कुरा सही हो । मेरो हातमा जन्मजात ६ वटा औंला छन् । उक्त छैटौं औंलाको कुनै काम छैन । ‘तर, त्यति टाढाबाट मेरो औंला कसरी देख्नुभयो ?’

जब उनी मेरो नजिक आइपुगे तब उनको हातमा एक पुरानो जमनाको आँखाजस्तो देखिने दुरबिन छ र त्यसैबाट उनी मेरो अध्ययन गरिरहेका रहेछन् ।

‘दोस्रो औंला पक्कैपनि औठा हो, होइन र ? हिहि’

यी व्यक्तिको गलाको आवाज एकदमै मिहिन थियो । यो उमेरको व्यक्तिको यति मसिनो आवाज मैले कहिले पनि सुनेको थिइनँ ।

‘आउनुहोस्, बाहिर किन उभिनुभएको ?’

उनको कुरा सुनेर मलाई अचम्म लाग्यो । राधाविनोद बाबूको कुरा सुनेर मैले उनको बारेमा अर्कै धारणा बनाएको थिएँ । तर, उनी एकदमै मिजासिलो र खुसी व्यक्ति रहेछन् । साथसाथै व्यवहारमा अत्यन्तै शालीन ।

अब उनी र म एक हातको दुरीमा छौं । साँझको अँध्यारोमा उनलाई स्पष्ट देख्न सकिरहेको छैन । तर, उनलाई हेर्ने इच्छा प्रबल छ । त्यसैले उनको अनुरोध पनि अस्विकार गरिएन ।

‘थोरै होसियारीसाथ, तपाईं अग्लो हुनुहुन्छ र मेरो ढोका होचो ।’

झुकेर आफ्नो टाउको बचाउँदै मैले उनको निवास स्थानमा प्रवेश गरें । त्यहाँको एक बेग्लै गन्धसँग समुद्रको भारी गन्ध तथा अर्को अनौठो गन्ध मिलेर यो घरसँग सामन्जस्य स्थापित गरिहेको छ ।

‘बायाँतर्फ आउनुहोस् । दाहिनेतर्फ मेरो काम गर्ने कोठा छ ।’

दाहिनेतर्फ ढोका चर्किएको अझ बढी देखिन्छ । त्यसलाई काठको ठूलो तख्ताले बन्द गरिएको थियो । हामी बायाँतर्फबाट कोठाको भित्र प्रवेश गर्यौं । यसलाई बैठक भन्न सकिएला । एक कुनामा काठको टेबुलमा केही मोटो कपी, तीन कलम, मसिदानी, शिशि र एक कैंची राखिएको छ । टेबलको सामुन्ने एउटा टिनको कुर्सी छ । एक कुनामा उल्टो पारेर राखिएको काठको बक्सा र कोठाको मध्यतिर एक विशाल कुर्सी । यस्तो सजावट त कुनै राजमहलको बैठकमा हुनुपर्थ्यो । अनमोल काठमा सुन्दर कलाकृति छन् । बस्ने ठाउँमा गाढा रातो मखमल छ, जो बुट्टेदार छ ।

‘तपाईं यस बक्सामा बस्नुहोस्, म कुर्सीमा बस्छु ।’

बस् । यहीँबाट मनमा तरंग पैदा भयो । ‘यो मान्छे यदि घनघोर पागल होइन भने मूर्ख त आवश्य हो ।’ त्यसो नहुँदो हो त बाहिरका मान्छेलाई घरभित्र बोलाएर काठको बक्सामाथि बसाएर आफू चाहिँ सिंहासनमा विराजमान हुने थिएनन् ।

यद्यपि त्रिपालको झ्यालबाट आएको साँझको उज्यालोमा देखिएको उसको आँखामा पागलपनको कुनै निशानी थिएन । बरु बच्चाको जस्तो खुसीको एक भाव तैरिरहेको देखिन्थ्यो । यस व्यक्तिको मूर्खतापूर्ण अनुरोधका बाबजुद उसको अनुहारमा विरक्तीको छाप देखिएन । म काठको बकासमाथि बसें ।

‘भन्नुहोस्’ ऊ बोल्यो ।

के भनौं ? खासमा म केही भन्नका लागि आएकै होइन । केवल हेर्नका लागि आएको हुँ ।

त्यसैले जब उसले ‘भन्नुहोस्’ भने तब म समस्यामा परें । अन्ततः जबसम्म अर्को कुनै विचार आएको थिएन, त्यसबेलासम्म मैले आफ्नो परिचय दिन लागें ।

‘म बिदाको समय कटाउन कलकत्ताबाट आएको हुँ । म कथा लेख्ने अर्थात लेखक हुँ । मेरो नाम हो हिमांशु चौधरी । यतातिर घुमफिर गर्न आएको थिएँ, संयोगले तपाईंको घर देखें ।’

‘ठीक छ ठीक छ । परिचय पाएर खुसी भएँ । तब, मेरो चाहिँ कुनै नाम छैन ।’

फेरि सन्देहजनक कुरा । हरेक व्यक्तिको कुनै न कुनै नाम त हुन्छ नि । के उसलाई अपवाद मान्ने ? यही प्रश्न गरेपछि यी व्यक्तिले नामको विषयमा मलाई लामो प्रवचन दिएका थिए । उनको कुरा सकिएपछि जब म चुपचाप बसेको देखे, तब उनी मुस्कुराउँदै भन्न लागे, ‘मेरो कुरा सायद तपाईंलाई रुचेन । फेरि तपाईंसँग एउटा कुरा भन्छु । मैले मनमनै तपाईंको एक नाम राखिदिएको छु । यो जरुर हो कि, यो नाम कसैले बताएको होइन । यद्यपि तपाईंसँग छ औला रहेछ, त्यसैले तपाईंलाई बताउन कुनै समस्या छैन ।’

कोठाको उज्यालो क्रमश: कम हुँदै थियो । नोकर किन देखिँदैन ? कम्तीमा मैनबत्ती वा मट्टी तेलको बत्ती त यसबेला राख्नुपर्ने थियो । ती व्यक्तिले आफ्नो टाउको घुमाएर भने, ‘तपाईंले मेरो कानलाई ध्यानपूर्वक हेर्नुभएको छ ?’

अहिलेसम्म मैले ख्याल गरेकै रहेनछु, तब अचम्मित भएँ जब उनीतिर फर्किएर हेरें । मान्छेको यस्तो कान मैले कहिले पनि देखेको थिइनँ । माथिल्लो भाग गोलो हुनुको साटो तीखो थियो, जस्तो कि स्याल कुकुरको हुन्छ । यस्तो कसरी भयो ?

कान देखाइसकेपछि उनी मेरो वरीपरी घुमे र अजीब हर्कतका साथ बसे । आफ्नो टाउकोको कपाल जोडले झट्कारे । नतिजा, उनको कपाल उखिलिएर हातमा आयो । मैले अचम्मलाग्दो देखें, उनको टाउकोमा कपालको नामोनिशाना छैन । यस्तो नयाँ अनुहार र चम्किलो आँखामा अनौठो मुस्कान देखेपछि मेरो मुखबाट अनायस एक नाम निस्कियो, ‘हिजबिजबिज ।’

‘एक्ज्याक्टली ।’

ती व्यक्तिले ताली बजाए र मस्तसँग हाँस्न लागे, ‘तपाईं चाहनुहुन्छ भने फोटोसँग जुधाएर हेर्न सक्नुहुन्छ ।’

‘जरुरी छैन’ मैले भनें, ‘हिजबिजबिजको अनुहार बाल्यकालदेखि मनमा बनेको छ ।’

‘ठीक छ । यदि तपाईं चाहनुहुन्छ भने स्वच्छन्दपूर्वक यस नामको उपयोग गर्न सक्नुहुन्छ । यद्यपि नामको अगाडि प्रोफेसर जोड्नु राम्रो हुन्छ । अँ, तर यो कुरा कसैलाई नभन्नु । यदि बताउनुभयो भने…हाहा…।’

****

अब मलाई यी व्यक्तिसँग डर लाग्यो। यी व्यक्ति निसन्देह पागल हुन् वा त एकदमै सन्की । यस्तो व्यक्ति झेल्नु निकै गाह्रो हुन्छ । हरेक क्षण यही सोचेर तटस्थ रहनुपर्छ कि के गरौं वा के नगरौं, के बोलौं वा के नबोलौं ?

हामी दुबै एकसाथ चुपचाप रह्यौं । यो पनि उचित लागेन । यसैले मैले भने, ‘तपाईंको कानको चुच्चो भागको रंग अरु नै जस्तो देखिन्छ ।’

‘यो त हो नै’ उनले भने, ‘यो मेरो आफ्नै कान होइन । जन्मँदा मेरो कान यस्तो थिएन ।’

‘त्यसो भए तपाईंको कान पनि तपाईंको कपाल जस्तै नक्कली हो त ? उखेल्नासाथ निस्कने ।’

ती व्यक्ति उसैगरी छिल्लिँदै भन्न थाले, ‘पक्कै होइन । होइन, हुँदै होइन ।’

हो, यी व्यक्ति जरुर पागल हुन् । ‘फेरि त्यो के चिज हो ?’ मैले सोधें ।

‘पख्नुहोस्’ पहिला म मेरो नोकरसँग तपाईंको परिचय गराइदिन्छु । उसलाई पनि सायद तपाईं चिन्नुहुनेछ ।’

अहिलेसम्म मैले ध्यान दिएकै रहेनछु । थाहा छैन, कतिबेला पछाडिको ढोकामा आएर एक व्यक्ति उभिएको रहेछ । उसको हातमा मट्टीतेलको एक टुकी थियो । यी उनै नोकर थिए, जसको बारेमा मलाई राधाविनोद बाबूले बताएका थिए ।

ती मान्छेले जब ताली बजाए तब नोकर आए र मट्टितेलको टुकी टेबलमा राखे । वास्तवमा यस्तो विशालकाय मान्छे मैले देखेको अहिलेसम्म याद छैन । त्यो मान्छेको शरीरमा एक धारिदार कोट छ र सानो धोती लगाएका छन् । हात र खुट्टाको मांसपेशी, छाती र गर्दनको चौडाई देखेर स्तब्ध हुनुपर्यो । उसको उचाइ पाँच फिट र दुई वा तीन इन्चभन्दा बढी नहोला ।

‘मेरो नोकरलाई देखेर तपाईंलाई के कुराको याद आयो ?’ हिजबिजबिजले सोधे ।

उनी टुकी राखेर आफ्ना मालिकको आदेश पर्खिरहेका थिए । एकाधपटक फेरि उनलाई देखेपछि उसको अनुहारको सदृश्य याद आयो । मैले अवाक् हुँदै भने, ‘अरे यो त षष्ठिचरण हो ।’

‘तपाईंले एकदमै सही कुरा गर्नुभयो’ ती व्यक्ति खुसीले बसीबसी नाच्न थाले ।

‘यो जरुर हो कि उसको तौल उनन्साठी मन छैन, तर साढे तीन मनभन्दा केही बढी हुनुपर्छ । कम्तीमा उन्नाइस सौ सठ्तिसमा यति नै थियो । उसले हात्तीलाई त पक्रेन तर हरेक विहान बिहान दुई ठूलठूला सुँगर पक्रेर ल्याउँछ । यो घटना मेरो आँखाले देखिसकेको छु । मेरो यो जुन कुर्सी छ त्यो पनि उसले एक हातले उठाएर ल्याएको हो ।’

‘कहाँबाट ?’

‘हिहिहि यो कुरा नसोध्नुहोस् । जाऊ षष्ठि, हाम्रो लागि दुई नरिवल पानी लिएर आऊ ।’

षष्ठि आदेश पालनाका लागि हिँडिहाले ।

बाहिर बादल गर्जिरहेको थियो । हावाको एक तीब्र झोंकाले त्रिपाल उड्लाजस्तो भएको थियो । अब यहाँबाट उठेर गइएन भने समस्यामा परिनेछ ।

‘तपाईं मेरो कानको बारेमा सोध्दै हुनुहुन्थ्यो हैन ?’

ती व्यक्तिले भने, ‘खासमा त्यो वन बिरालो र सक्कली कान मिलाएर यो कान बनाइएको थियो ।’

उसको कुरा सुनेर मलाई हाँसो उठ्यो । मैले सोधें, ‘त्यसलाई कसरी मिलाइयो ?’

ति व्यक्तिले भने, ‘किन, यसमा अचम्म मान्नुपर्ने कुरा के छ ?एक व्यक्तिको दिल जब अर्को व्यक्तिमा बस्छ भने जनवारको आधा कान मान्छेको कानमा राख्न सकिदैन ?’

‘तपाईं डाक्टरी पनि गर्नुहुन्थ्यो ? प्लाष्टिक सर्जरी टाइपको केही ?’

‘त्यो त सही हो । गर्थेँ होइन, अहिले पनि गर्छु । हिहि… । त्यो सर्जरी कुनै मामुली होइन । उदाहरणका लागि, तपाईंको बुढी औला दिनुभयो भने त्यसलाई जोड्नु मेरो लागि एकदमै सजिलो काम हो ।’

मैले धेरै प्रयास गरें कि यी व्यक्तिको कल्पना एक ठूलो डाक्टरको रुपमा गरूँ, तर पत्याउन सजिलो भएन । खासगरी कानले गर्दा उनी निकै अनौठो देखिएका थिए ।

ती व्यक्ति भन्दै थिए, ‘डाक्टरी र विज्ञानको पुस्तकबाहेक मैले दुई पुस्तकमात्र पढें ‘उटपट्यांग’ र ‘ह–ष–ब–र–ल’ । र, दुबैमा मलाई जुन कुरा सबैभन्दा राम्रो लाग्यो, त्यो हो त्यस किसिमको प्राणी जसलाई मान्छेले अजिब र कुरुप भन्ने गर्छ । सामान्यभन्दा बाहिर निस्किएर केही न केही गरियो भने मान्छेहरूले उसलाई पागल वा अजीब भनेर महत्व दिँदैन । थाहा छ, सानोमा म मैनबत्ती चुसेर खाने गर्थें । खानमा एकदमै रुचि लाग्थ्यो । त्यसबाहेक मैले यति धेरै झिंगा पक्रेर खाएँ कि त्यसको कुनै हिसाब छैन ।’

षष्ठिचरणले काँचो नरिवलको डल्लो लिएर आए, त्यही कारण उक्त व्यक्ति केही क्षण चुपचाप भए । सुनको जलप भएको गिलास टेबुलमा राखेर उसले त्यो डल्लालाई फुटाए । त्यसको पानी गिलासमा भरियो । षष्ठिचरणले गिलास हामीतर्फ बढाए ।

पानी पिउँदै ती व्यक्तिले भने, ‘डाक्टरी पढेर मैले प्लाष्टिक सर्जरीमा किन विशेषज्ञता हासिल गरें, थाहा छ ?’

‘किन ?’ मेरो उत्सुकता यसकारण बढ्दै थियो कि यो मान्छेको कल्पनाको दौड कहाँसम्म होला भनेर ।

हिजबिजबिजले भने, ‘किनभने केवल फोटोले मात्र मेरो मनमा चैन मिल्नेवाला थिएन । म के सोच्थे भने वास्तवमै यस्तो जनवार हुँदो हो त कति राम्रो हुन्थ्यो होला । यी सबै प्राणी कतै न कतै छन्, यस कुरामा कुनै शंका थिएन । तर, म चाहन्थे कि त्यो मेरो घरमा होस्, मेरो हातको एकदमै नजिक, आँखाको सामुन्ने । सम्झनुभो ?’

मैले भनें, ‘अँह, बुझिन । तपाईं कुन प्राणीको बारेमा भनिरहनुभएको छ ?’

‘जस्तो कि, बकुला, छेपारो वा हाँस ।’

मैले भने, ‘बुझें, त्यसपछि ।’

‘त्यसपछि के ? मैले छेपारोबाट सुरु गरें । दुबै मेरो हातको नजिक थियो, सुँगाको निधार र छेपारोको पुच्छर । ठीक त्यस्तै, जस्तो कि फोटोमा छ । पहिलो प्रयासमै सफलता मिल्यो । यसरी जोडिदिएँ कि बाहिरबाट हेर्दा थाहै नहुनेगरी । तर थाहा छ ?’

उनी गम्भीर भएर एक पल चुपचाप बसे । त्यसपछि बोले, ‘लामो समयसम्म बाँचेन । केही खाँदैनथे । नखाएपछि कसरी बाँच्छ ? खासमा जे लेखिएको छ त्यो ठीक छ । शरीरसँग शरीर जोडिएपनि मन आपसमा मिल्दैन । अब मुडुलो जिउ र टाउको जोड्न छाडेर एकअर्कामा प्रयोग गर्दैछु ।’

ऊ अचानक बच्चा जस्तै भयो । मेरो भाग्य बलियो रहेछ त्यसैले पिउनका लागि पानी दिइयो । यदि चिया र बिस्कुट दिएको भए मुखमा राख्ने हिम्मत हुँदैनथ्यो ।

षष्ठिचरण कहाँ गयो, थाहा छैन । खट्खट्खट् आवाज आइरहेको छ । यो आवाज आएकोबाट के थाहा हुन्छ भने यी व्यक्तिले जुन कोठालाई काम गर्ने कोठा भनी देखाएका थिए,  त्यहीँको ढोका खोलिदैछ ।

बाहिर तीब्र हावा चलिरहेको छ । मेघको गर्जन राम्रो लागिरहेको छैन । अब बसिरहन उचित छैन । ती व्यक्तिलाई धन्यवाद दिएर म उठें ।

यो अनुहार त दुरुस्तै त्यस्तै थियो, जस्तो कि, हिजबिजबिजले देखाएको फोटोमा थियो । पागल हिजबिजबिज ठीक यस्तै अनुहारको खोजीमा थियो

‘हिँड्नुहोस्, तपाईंसँग एउटा कुरा सोध्नु थियो ।’

‘भन्नुहोस् ।’

‘थाहा छ ? कुरा के हो ? सबै कुराको बन्दोबस्ती मिलाइसकेको छु । दुम्सीको काडा, बाख्राको सिंग, सिंहको पछाडिको दुई खुट्टा, भालुको रौं लिएर आएको छु । तर, मान्छेको थोरै हिस्सा बाँकी छ । र, त्यो पनि यस्तो हुनुपर्छ कि फोटोसँग मिल्दोजुल्दो । त्यस्तो व्यक्ति यदि तपाईंले देख्नुभयो र सूचना दिनुभयो भने सजिलो हुने थियो ।’

यति भनेर उसले आफ्नो टेबुलमा राखिएको कपी निकालेर एक पन्ना पल्टाए र मेरो सामुन्ने राखे । यो फोटो मैले पहिले पनि देखिसकेको हुँ । हातमा घन लिएका एक अद्भूत प्राणी जो भागिरहेको एक मान्छेलाई क्रोधित भावले ताकिरहेका छन् ।

नडराउ तिमी, तिमीलाई मार्ने छैन ।

कुस्तीमा तिमीलाई पछार्ने ताकत मसँग छैन ।

‘हेर्नुहोस्, यस्तो प्राणी बनाउन सकिए कति राम्रो हुन्थ्यो । केही पनि बाँकी छैन, तोड्ने–जोड्ने सबै भइसकेको छ । तलको थोरै भाग पनि जोडिसकेको छु । अब केवल यस किसिमको मान्छेको जरुरत छ ।’

मैले सोधें, ‘यस्तो गोलो गोलो आँखा भएको मान्छे पनि हुन्छ र ?’

‘हुन्छ त’ त्यो मान्छे झन्झै झन्डै उफ्रियो । ‘आँखा त गोलो नै हुन्छ । आँखालाई गोलाकार रुपमै ढाकिएको हुन्छ ।’

म ढोकातर्फ बढें । पागल त हुन् नै यसका साथै छुटकारा दिने व्यक्ति पनि होइनन् । शब्दको समेत यससँग भण्डार छ ।

‘ठीक छ प्रोफेसर हिजबिबिज, कतै देखें भने खबर गर्छु ।’

‘अवश्य बताउनुहोला । ठूलो उपकार हुनेछ । म पनि खोजतलास गर्दैछु । तपाईं कहाँ बस्नुहुन्छ ?’

अन्तिम प्रश्न नसुने झै गरेर म अँध्यारोमा हिँडें । बाहिर निस्कनासाथ म दौडन थालें । भिज्नुमा मलाई कुनै आपत्ति थिएन । तर, आँधीमा बालुवा उड्दै थियो । त्यो नाक, कान, आँखामा पसेर दुःख दिन्थ्यो ।

हातले मुख छोपेर कुनै हिसाबले आँखा पनि बचाउँदै म होटल पुग्दा पानी पर्नसमेत सुरु भइसकेको थियो । कोठामा पसेर स्विच अन गर्दा बत्ती बलेन । वेटरलाई बोलाउनुको जरुरत परेन । उनी स्वयम् मैनबत्ती लिएर मेरो कोठातर्फ आउँदै थिए । जब मैले सोधें के भएर बत्ती गएको हो तब उसले गोपालपुरमा हावाहुरी र पानी पर्नसाथ यस्तो हुनु सामान्य हो भने ।

आठ बजे खानपिन गरेर जब म पलङगमा बसेर मधुरो प्रकासमा लेख्न थालें, तब लेख्न मन नै लागेन । मन बारम्बार दौडिएर प्रोफेसर हिजबिजबिजतर्फ जान्थ्यो । तीन सय वर्ष पुरानो घरलाई मर्मत गरेर त्यो मान्छे त्यहाँ कसरी बसेको होला ? अनि षष्ठिचरण ? साँढे जस्तो यो नोकरलाई उसले त्यहाँ कसरी राख्यो होला ? वास्तवमै उसले पूर्वपटिको कोठामा भनेजस्तै अद्भूत काम गर्थ्यो ? उसको कुरा कहाँसम्म सत्य हो ?

उसको पुरा कुरालाई पागलको प्रलाप भनेर उडाउन सकिन्थ्यो तर उसको कानलाई देखेर गडबडी पैदा भइरहेको छ । त्यो कानलाई राम्ररी जोडेको त छैन तर मैले मधुरो प्रकासमा देखें कि त्यसको भित्री भागमा छाला थियो । यसबाट के अनुमान गर्न कठिन छैन भने त्यो कान उनको शरीरकै हिस्सा हो । शरीरको अन्य हिस्सा जस्तै त्यो पनि नसा र स्नायु हुन् । त्यहाँ रगत सञ्चालन पनि हुन्छ ।

म जतिपनि सोच्न थाल्छु, यदि त्यो कान नहुँदो हो त म राहतको सास लिने थिएँ होला ।

अर्को बिहान सबेरै साढे पाँच बजे उठेर हेरें, रात परिवर्तन भएको छ । चिया पिउन बस्दा हिजबिजबिजको कुरा याद आयो । त्यो धिमा उज्यालोमा मैले उनलाई आधा मात्र देखेको थिएँ र आधा चाहिँ कल्पना गरेको थिएँ । होटलमा फर्किएपछि पनि त्यही किसिमको अन्धकार भएको थियो । मनको सन्देह हटाउन मिलेको थिएन । आज तटमा बिहानको घाम र शान्त समुद्र देखेपछि मलाई लाग्यो कि त्यो मान्छे पागलभन्दा अरु केही होइन ।

खुट्टाको जोर्नीमा थोरै दुखाइ महसुस भइरहेको थियो । राम्ररी हेर्दा थाहा भयो त्यहाँ चोट लागेको रहेछ । अनुमान गरें, हिजो राती बालुवामा दौडदै फर्कदा कुनै चिज गाडिएछ । आफूसँग आइडिन वा डिटोल थिएन, त्यसैले बजारतर्फ निस्किएँ ।

न्यू बेंगाली होटलको बाटो हुँदै बजार पुगिन्छ । होटलको सामुन्ने आँगनमा घनश्याम बाबू एक पत्थर लिएर त्यसलाई ओल्टाई पल्टाइ हेरिरहेका थिए । मेरो पदचाप सुनेर उनले टाउको उठाएर मतर्फ हेरे । उनको अनुहार देख्नसाथ मेरो मुटु काँप्यो ।

यो अनुहार त दुरुस्तै त्यस्तै थियो, जस्तो कि, हिजबिजबिजले देखाएको फोटोमा थियो । पागल हिजबिजबिज ठीक यस्तै अनुहारको खोजीमा थियो । यसमा कुनै शंका थिएन कि, त्यसैगरी चौडा नाकको दुबैतर्फ फैलिएको लामो जुँगा छ । लामो गालाको दुबैतर्फ देखिने पातलो दाह्री पनि तस्बिरसँग मिल्छ । खासमा हिजो उनको हाउभाउ मलाई मन परेको थिएन, त्यसैले मैले ध्यानपूर्वक उसको अनुहार हेरिन । आज हामी दुबैको आँखा जुध्यो र नमस्कार पनि गरियो । यद्यपि उनले धेरै ध्यान भने दिएनन् । एकदमै अभद्र जस्तो लाग्यो ।

फेरि पनि मलाई तीं व्यक्तिको चिन्ता लाग्यो । हिजबिजबिज वा उनको नोकरले यी मान्छेलाई देख्यो भने जरुर पनि उनीहरूको त्यो भत्किएको घरमा लग्नेछन् । त्यसपछि उसको हालत के होला ?

सोचें, बजारबाट फर्किएपछि एक पटक राधाविनोद बाबूसँग भेट्नेछु । र, सम्पूर्ण कुरा सुनाउनेछु । उनलाई सर्तक गराउने छु कि, तपाईंको होटलको यो एकमात्र अतिथिमाथि निगरानी राख्नुहोला ।

तर डिटोल खरिद गर्ने समय मेरो मनबाट यो विचार पनि हट्यो । राधाविनोद बाबूसँग म यस्ता अनौठो अनौठो कुरा गर्नेछु, जुन उनले पत्याउँलान्? मेरो कुरा सुनेर उनले मलाई नै पागल भन्ने हुन कि ! त्योसँगै उनको कुरा नमानेर म जसरी हिजबिजबिजकहाँ गएको थिए, यो कुरा पनि उनलाई मनपर्ने छैन ।

फर्कँदा घनश्याम बाबूसँग जब दोस्रोपटक आँख जुध्यो, मलाई के लाग्यो भने मेरो आँखाबाट जुन व्यक्तिको अनुहार त्यो तस्बिरसँग मिल्दो देखिन्छ हिजबिजबिजको आँखाबाट त्यस्तो नदेखिन पनि सक्छ । त्यसैले जति भय महसुस भइरहेको छ, त्यति नहुन पनि सक्छ । त्यसैले बुद्धिमानी त के हुन्छ भने, मान्छेलाई यसबारे केही नबताउने र प्रोफेसरलाई पनि ।

अब म केवल पश्चिमतर्फ मात्र घुम्न जानेछु र बाँकी समय होटलको कोठामा बसेर आफ्नो काम गर्नेछु ।

होटल आउनसाथ वेटरले भन्यो कि– मलाई खोज्नका लागि एकजना मान्छे त्यहाँ आएका थिए । मसँग नभेटिएपछि एउटा चिठी छाडेर गए । एकदमै साना, कमिलाजस्तो अक्षरमा यो कुरा लेखिको छ ।

प्रिय षडांगुलजी !

आज साँझ अवश्य पनि मेरो घरमा आउनुहोस् । सिंहको पछिल्लो हिस्सासँग दुम्सीको काँडा र भालुको रौं जोडेको छु । एउटा ठूलो घन पनि तयार छ । अब तीनवटा सिंगको लागि एउटा निधारको जरुरत छ । निधार र हातको बन्दोबस्ती भयो भने काम बन्छ । षष्ठिचरणले एउटा मान्छे भेटेका छन्, जसको अनुहार मूल चित्रसँग मिल्दोजुल्दो छ । आशा छ, आज नै मेरो परीक्षण सफल हुनेछ । यसैले आज साँझ एक पटक किंकर्तव्यविमूढआउने कष्ट गर्नुभयो भने एकदमै खुसी हुनुहुनेछ ।

 भवदीय

-एचबीबी 

****

सम्झना भयो, हिजबिजबिजले बताएका थिए कि ‘हषबरल’ का अनुसार उनको घरको नाम ‘किंकर्तव्यविमूढ’ राखिएको हो । चिठी पढेपछि फेरि मनको चिन्ता बढ्यो । मलाई लाग्यो, षष्ठिचरणले सायद घनश्याम बाबूलाई देखेको हुनुपर्छ ।

मध्यान्हसम्म लेख्ने काम गरियो । त्यसपछि तीब्र हावा चल्न थाल्यो । आँगनमा रहेको कुर्सीमा बसेर समुद्र हेर्न थालें, मनमा एक किसिमको हल्कापन महसुस भयो । उत्तर पश्चिमबाट आएको हावाको लहर ठोक्कियो । हेर्नमा बहुत मज्जा आयो ।

६ बजेतिर राधाविनोद बाबू तट हुँदै आफ्नो आँगनतर्फ गएको देखियो ।

‘मेरो त्यो गेस्ट यतातिर हिँड्दै गरेको देख्नुभयो ?’

‘को ? घनश्याम बाबू?’

‘हजुर साहेब । हिजो हामीले जहाँ भेटेका थियौं, त्यही बस्ने कुरा भएको थियो । अहिलेसम्म गएको त थाहा भएन । त्यहाँ आसपासमा अरु मान्छे पनि थिएनन्, जसलाई सोध्न सकियोस् । यता होटलमा पनि हल्ला भयो । मेरो सुनको घडी चोरी भयो । नोकरसँग बादबिवाद गर्न ढिला भयो । के ऊ यता बाट गएन ?’

म कुर्सी छाडेर उभिएँ ।

‘छैन, यताबाट त गएन’ मैले भनें, ‘अँ, मलाई शंका लागिरहेको छ । एक ठाउँ जाउँ, त्यहाँ पुगेपछि थाहा हुनसक्छ । तपाईंको हातमा जुन लठ्ठी छ, त्यो बलियो छ, होइन ?’

राधाविनोद बाबूले अकमकिँदै भने, ‘लठ्ठी…? लठ्ठी त मेरो बाजेको पालाको हो । बलियो छ ।’

मसँग अरु केही चिज छैन । जब यहाँ आएको थिएँ, आरा माछाको एउटा दाँत खरिद गरेको थिएँ ।

पूर्वतर्फ जाँदै गरेको देखेर राधाविनोद बाबू चर्को आवाजमा कराए, ‘माझीको बस्ती पारी जाने हो ?’

‘हो, तर धेरै टाढा छैन, एकाध मिल ।’

बाटोभर राधाविनोद बाबूले एकैकुरा तीनपटक भने ‘केही पनि सम्झन सकिरहेको छैन साहब ।’

एक बुढा मान्छेसँग डेढ मिलको बाटो काट्न एक घण्टा लाग्यो । साँझ ढल्किसकेको थियो । जबसम्म घर नजिक पुगिँदैन, तबसम्म यो टुंगो हुँदैन कि त्यहाँ मान्छे छ वा छैन । हामी त्यस घरतर्फ जति जति बढ्दै थियौं, उत्तिनै राधाविनोद बाबूको उत्साह घट्दै थियो । अन्ततः त्यो घरको दश हात जति नजिक पुगिसकेपछि एकाएक रोकिएर भन्यो, ‘तपाईंको मतलब के हो ?’

मैले भनेँ, ‘जब यति टाढा त आइयो भने अब दश हात हिँड्न केको आपत्ति ?’

आखिर उनी मेरो पछिपछि लाग्न थाले ।

घरभित्र जानका लागि टर्चलाइट बाल्नुपर्ने भयो । किनभने त्यहाँ गहिरो अँध्यारो थियो । हिजो जुन मट्टितेलको टुकी बालिएको थियो, त्यो थिएन । जब ढोकाको अघिल्तिर पुगियो त्यहाँ एउटा मान्छे उत्तानो परेर लडेको देखियो । अझैपनि ऊ मरेको थिएन, किनभने उसको विशाल छाती धड्किरहेको थियो ।

‘यो त त्यही नोकर हो ।’ राधाविनोद बाबूले भारी आवाजमा भने ।

‘हो त यो षष्ठिचरण नै हो ।’

‘तपाईंलाई यसको नाम थाहा छ ?’

यो प्रश्नको उत्तर नदिई म बैठक कोठातर्फ लागें । कोठा खाली छ । त्यहाँ प्रोफेसरको कुनै नामोनिसाना छैन । त्यहाँबाट फेरि म उनको प्रयोगशालातर्फ लागें ।

त्यो कोठा पनि बैठकजस्तै ठूलो र फराकिलो थियो । टेबुलमा सबै सामान थुपारिएको छ, सिसा, बोत्तल, काँटा, छुरी । कुनै तीब्र गन्धले कोठा भरिएको छ । बाल्यकालमा चिडियाखानामा जनवारको पिंजडा सामुन्ने पुग्दा यस्तै गन्ध महसुस भयो ।

‘त्यो व्यक्तिको कमिज त यहीँ छ’ राधाविनोद बाबू चिच्यायो ।

बिहान मैले पनि उसको त्यो कमिज देखेको थिएँ । तीन चौथाई आवरण भएको खैरो रंगको कमिज छ, छातीको नजिक सेतो बटन । यसमा कुनै सन्देह रहेन कि यो कमिज घनश्याम बाबूकै हो ।

कमिजको गोजीमा हात हालेपछि भयावह स्थिचिमा राधाविनोद बाबू अचम्मित भए । त्यहाँ उनको सुनको घडी थियो ।

‘यहाँ के गरिएको हो ? यी सबै सामान यहाँ किन ? कमिज छ, खल्तीमा घडी छ । तर, त्यो मूर्ख कहाँ भाग्यो । त्यो बुढोको पनि अत्तोपत्तो छैन ।’

मैले भने, ‘घरभित्र त छैन । बाहिर निस्कौं ।’

षष्ठिचरण अहिले पनि बेहोस छ । उसलाई नाघेर हामी बाहिर आँगनमा आइपुग्यौं । समुद्र किनारमा मधुर उज्यालोमा एउटा मान्छेको आकृति देखियो । त्यो हामीतर्फ नै आउँदै थियो । जब ऊ नजिक आयो, मैले टर्चले उसको अनुहारमा प्रकाश पारेँ । देखें, प्रोफेसर हिजबिजबिज आइरहेका छन् ।

‘षडांगुल होइन ?’

‘हो, म हिमांशु चौधरी हुँ ।’

‘थोरै समय अघि किन नआएको ?’ उसले गुनासोको आवजमा भन्यो ।

‘किन ?’ मैले सोधें ।

‘ऊ त गयो । तस्वीरको जस्तो मान्छे भेटिएको थियो । एकै घण्टामा मैले जोडिदिएँ । घुमफिर गर्यो, कुराकानी पनि गर्यो । षष्ठिचरण डराउन थाले तब उसको गलामा थप्पड हानेर ऊ समुद्रतर्फ दौडियो । सोचें, उसलाई कराएर बोलाऔं । तर, उसको नाम थाहा थिएन । मान्छेको टाउको, सिंहको खुट्टा, दुम्सीको पीठ, बाख्राको सिंह…तर पानीमा किन भाग्यो ? म सम्झन सकिरहेको छैन ।’

कुरा गर्दा गर्दै ऊ अध्याँरो घरभित्र पस्यो । अहिलेसम्म मेरो टर्चको प्रकास उसमाथि थियो । जब भूँइमा टर्चको उज्यालो पर्यो, त्यहाँ पैतलाको छाप देखियो । पैतला हैन पञ्जा भनौं ।

पैतलाको छाप पच्छ्याउँदै हामी अगाडि बढ्यौं । क्रमस हामी ओसिलो बालुवा भएकोमा पुग्यौ । त्यहाँ पैतलाको छाप अरु स्पष्ट थियो । त्यो छाप समुद्रमा गएर बिलायो ।

यति लामो समयपछि राधाविनोद बाबूको मुखबाट आवाज निस्कियो, ‘सबैकुरा थाहा भयो । ती व्यक्ति घनघोर पागल हुन् । तपाईं सायद अर्धपागल । तर, मेरो होटलको त्यो पाहुना कता गयो ?’

होटलतर्फ बढ्दै मैले भने, ‘यसको जाँच गर्नका लागि प्रहरीलाई खबर गर्नुपर्छ । कमिज यहाँ पाइयो भने खोजतलास यहीँबाट गर्नुपर्छ । अँ, मलाई यस कुराको आशंका छ कि, रहस्य पत्ता लगाउने चक्करमा प्रहरी पनि मजस्तो नहोस् ।

अर्थात, ‘किंकर्तव्यविमूढ ।’



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *