‘प्रसव पीडा’मा माथिल्लो तामाकोसी

‘प्रसव पीडा’मा माथिल्लो तामाकोसी


१९ माघ, काठमाडौं । निर्माण सुरु गर्दाताकाको लक्ष्यअनुसार काम भएको भए ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना २०७३ असार मसान्तमै बनिसक्नुपर्ने हो । तर समयमै काम नभएपछि स्वदेशी लगानीमा बनिरहेको आयोजनाको म्याद पटक–पटक थपियो । तर अझै आयोजना बनिसकेको छैन ।

आयोजनाका अधिकारीहरुको दाबी पत्याउने हो भने आगामी चैत मसान्तसम्म आयोजनाको एउटा युनिटबाट परीक्षण उत्पादन सुरु हुनेछ र असारसम्ममा सबै युनिटबाट व्यवसायिक उत्पादन सुरु हुनेछ । तर त्यसका लागि कार्यतालिका अनुसार काम हुनुपर्छ ।

र, कार्यतालिका अनुसार काम हुन नसकेकै कारण आयोजना निर्माण सक्ने समय धकेलिँदै आएको छ ।

यो पटक चाहिँ कार्यतालिका प्रभावित हुन्न भन्ने के ग्यारेन्टी त छ ? तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठ भन्छन्, ‘थोरै तर, महत्वपूर्ण बाँकी कामहरु बाँकी छ । योजनाअनुसार काम भए म्याद थप्न पर्दैन ।’

उनकाअनुसार आयोजनाका दुई ठाडो सुरुङलाई बीचमा जोड्ने ‘एक्सपान्सन जोइन’मा ‘डिस्मेन्सेबल बक्स’ प्रयोग गर्नुपर्ने थियो । भारतीय ठेकदार ‘टेक्सम्याको’ले ढिलाइ गर्ने देखिएपछि पाइप जोडेर कंक्रिटिङ गर्ने गरी डिजाइन नै परिवर्तन गरिएको छ ।

तर समस्या के छ भने अहिलेसम्म दुई वटा पाइप अहिलेसम्म भारतको कोलकातामै छ । डिजाइन अनुसार पाइप बनाउने काम चल्दैछ । प्राधिकरणका दुई कर्मचारी काम छिटो गराउन कोलकाता नै पुगेका छन् । तालिकाअनुसार अबको दुई हप्ताभित्र पाइप निर्माण भएर साइटमा आउनुपर्छ र जोड्ने काम सुरु गर्नुपर्छ ।

यदि समयमै पाइप आपूर्ति हुन सकेन भने तामाकोसीमा एकपटक फेरि पुरानै नियति दोहोरिनसक्छ ।

सीईओ श्रेष्ठ भने आयोजनाको अहिलेको अवस्थालाई बच्चा जन्माउनु अघिको प्रसव पीडासँग तुलना गर्छन् । भन्छन्, ‘यो अन्तिम घडीको चुनौतीलाई पार लगाएपछि तामाकोसीले दिने परिणाम प्रसव पीडापछिको सन्तान प्राप्ति जस्तै हुने हो ।’

आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार ‘एक्सपान्सन जोइन’ गरेको केही दिनमा सुरुङमा पानी भर्न सुरु हुनेछ । विस्तारै पानी भरेर सुरुङको परीक्षण गर्दै परीक्षण उत्पादन हुनेछ । ‘सुरुङको परीक्षण सफल भयो भने चैतको अन्तिमसम्म आयोजनाबाट विद्युत निकाल्न सक्छौं,’ उनले भने,‘यसपटक अरु खालका चुनौती पनि छैनन् ।’

तामाकोसीमा उत्पादित बिजुली रामेछापमा बनाइँदै गरेको नयाँ सबस्टेसनमा जोड्ने योजना छ । सबस्टेसन निर्माणको काम भने अपेक्षित गतिमा हुन सकेको छैन । बन्दै गरेको सबस्टेसनमा जोड्न सम्भव नभएमा खम्तिमा लैजाने विकल्प रहेको प्रवक्ता न्यौपानेले बताए ।

व्यग्र प्रतिक्षा गरेको आयोजना

विद्युत प्राधिकरणले तामाकोसीलाई गेमचेन्जर आयोजना भन्दै आएको छ । यो आयोजनाबाट वर्षमा करिब २ अर्ब ४५ करोड युनिटसम्म बिजुली उत्पादन हुनेछ ।

२२ मेगावाटको रोल्बालिङ खोला मिसाएपछि त्यस्तो क्षमता २ अर्ब ६२ करोड युनिटसम्म पुग्नेछ । त्यसका लागि रोल्बालिङलाई तामाकोसीमा मिसाउन निर्माण प्रक्रिया सुरु भइसकेको छ । प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार तामाकोसी बनेपछि पिक आवर (धेरै बिजुली माग हुने बिहान–बेलुकीको समय) मा यो आयोजनाबाट ४५६ मेगावाट उत्पादन गर्न सकिन्छ । सुख्खायाममा साँझको समयमा तामाकोसीमा ४ घण्टासम्म पानी थुनेर चलाउने (पिकिङ) योजना छ ।

विद्युत प्राधिकरणका अधिकारीहरुका अनुसार माथिल्लो तामाकोसी साँझमा चलाए हिउँद महिनाका पिक आवरमा समेत भारतबाट ल्याउनुपर्ने बिजुलीको परिमाण घट्नेछ भने अरु बेला नेपालले राम्रै परिमाणमा बिजुली बेच्नसक्छ । त्यो परिमाण हिउँदमा नेपालले भारतसँग किन्नेभन्दा बढी हुने प्राधिकरणको अनुमान छ ।

लागत भने झण्डै दोब्बर

यो आयोजना निर्माणमा जति लम्बियो, त्यति नै लागत पनि बढ्यो । २०६५ सालमा निर्माण थाल्दा आयोजनाको लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख लागत अनुमान थियो । तर, निर्माण सम्पन्न हुँदासम्म ब्याजबाहेककै लागत ५३ अर्ब नाघ्ने अनुमान छ । अहिले पछिल्लो समयमा अनुमानित लागत आकासिएर करिब ८० अर्ब पुग्ने अनुमान गरिएको सीईओ श्रेष्ठ बताउँछन् । निर्माण अवधि करिब ५ वर्ष लम्बिँदा ब्याज, मूल्य समायोजन, विदेशी विनिमय दरमा भएका नोक्सानी र प्रशासनिक खर्च पनि बढेको आयोजनाको दाबी छ ।

ठेकेदारहरुले भुक्तानीमा पाउने डलर र युरोको मूल्य बढ्दा पनि आयोजनाको लागत थपियो । २०६६ सालमा अमेरिकी डलरको भाउ ८० रुपैयाँ आकलन गरिएको थियो, अहिले १२० भन्दा माथि छ । भूकम्प, नाकाबन्दी र कोरोना महामारीका कारण ढिला बनेको आयोजनाले अन्तर्राष्ट्रिय रुपमा भएको मूल्यवृद्धि र डलरको मूल्य बढेर नेपाली मुद्रामा भएको अवमूल्यनले पनि मार खेपेको सीईओ श्रेष्ठ बताउँछन् ।

हाइड्रोमेकानिकलतर्फ भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोले समयमा काम नसक्दा लागत भारी वृद्धि भयो । भूकम्पपछि आयोजनाको काम डेढ वर्षसम्म रोकिएको थियो । भूकम्पका कारण पहुँचमार्गहरु भत्किएपछि करिब तीन सय ६० मिटरको सुरुङ निर्माण गर्नुपरेको थियो । बाँधबाट सुरुङभित्र पानी पठाउने इन्टेक १९ सेन्टिमिटर भासिएको थियो । ठेकेदारका आवासगृह पनि क्षतिग्रस्त भएका थिए ।

रुग्ण बनिसकेको यो आयोजनालाई प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले ब्युँताएका थिए । आयोजनामा ढिलाइ हुन नदिन घिसिङ महिनाको एक पटक आयोजनास्थल दोलखाको लामाबगर जाने गरेका थिए । यो बीचमा मुख्य सुरुङको अन्तिम खण्डमा पानीको भार थेग्न नसक्ने कमजोर चट्टान फेला परेपछि डिजाइन परिवर्तन गर्नुपर्‍यो । यो स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना हो ।

आयोजनामा सुरुमा कर्मचारी सञ्चयकोषको १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब, नागरिक लगानी कोषको दुई अर्ब र राष्ट्रिय बीमा संस्थानको दुई अर्ब लगानी गरेका थिए । सरकारको ११ अर्ब आठ करोड लगानी छ । १० अर्ब ५९ करोडको स्वपुँजीसहित यो आयोजना सुरु गर्दा ४१ अर्ब ६७ करोडको वित्तीय स्रोत सुनिश्चित गरिएको थियो ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *