पढाइसँगै खेतीपाती सिकाउने स्कुल !

पढाइसँगै खेतीपाती सिकाउने स्कुल !


२२ कात्तिक, काठमाडौं । दीपेश निजार भर्खरै १२ वर्ष पूरा भएर १३ लागे । उनी सुर्खेतको बबड्डी चौरमा रहेको जनज्योती उच्च मावीको कक्षा ५ मा पढ्छन् । उनी कक्षाका प्रथम छात्र हुन् ।

स्कुलका प्रधानाध्यापकलाई आग्रह गरेर दीपेशले गत फागुनमा १८ वटा कुखुरा किन्न सहयोग मागे । स्कुलले उनलाई कुखुराको चल्ला दियो । दीपेशले स्कुलमै १८ वटा चल्ला पाल्न सुरु गरे ।

कोरोनाका कारण स्कुल लामो समय बन्द हुने अवस्था आयो । त्यही बीचमा उनले पालेका १८ मध्ये ७ वटा चल्ला स्कुलबाटै चोरी भए ।

स्कुलमा चल्ला सुरक्षित नरहेपछि उनले घरमै ल्याएर ११ वटा लोकल कुखराका चल्ला पाल्न थाले । १२ वर्षकै उमेरमा छोराले कुखुरा पाल्न रहर गरेपछि दीपेशलाई आमा साबित्राले बोईलर कुखुरा पनि किनिदिइन् ।

फागुन यता दीपेशले पालेको लोकल कुखुरा बढेर तीन किलोसम्म भएको छ । केही कुखरा राम्रो दाममा बिक्री भयो केहीका दीपेशले अण्डा बिक्री गरे केही माउले अहिले पनि चल्ला कोरलेका छन् । यस अवधिमा दीपेशले दुई सिजन बोईलर कुखुरा हुर्काएर बिक्री पनि गरिसकेका छन् । फागुनयता दीपेशले खर्च कटाएर १२ हजार रुपैयाँ आम्दानी गरेको आमा पबित्रा बताउँछिन् ।

छोराको रहरपछि घरमा अहिले चिकेन मिट सप खुलेको छ, आमा साबित्रा निजारले घर टोलभरिका लागि तयारी मासु बिक्री गर्छिन् ।

****

महाबु गाउँपालिका ५ दैलेखका १९ वर्षीय शेरबहादुर पौडेल २२ विगाह जमिनमा एकीकृत कृषि फर्म सञ्चालन गर्छन् । डिप्लोमा इन भेटेरेनरी पढेका उनको फर्मले गत वर्ष ४० लाख रुपैयाँ बराबरको कारोबार ग¥यो । फर्म सञ्चालनको झण्डै दुई वर्षमा शेरबहादुर यस सिजनमा २५ लाख नाफा निकाल्ने गरी काम गरिरहेको बताउँछन् ।

कक्षा पाँच भन्दा माथिका बालबालिकालाई विद्यालयले विभिन्न समूह बनाएर उनीहरुको चाहना अनुसारको कृषि उद्यममा लगानी गर्छ

नेपालगञ्ज मेडिकल कलेजले उपलब्ध गराएको उनको फर्ममा ३५ वटा बाख्रा, दुई विगाहमा फैलिएको पोखरीमा माछा,  झण्डै आठ विगाहामा रिठ्ठाको नर्सरी, ७ विगाहामा धान, मकै गहुँ र ५ कठ्ठामा केरा र मेवा तथा ३ विगाहामा हरियो तरकारी फलेका छन् । शेरबहादुरले खेतीपातीको सिजनमा स्थानीयलाई रोजगारी पनि दिन्छन् । उनको पौरखमा साथ दिन पहाडबाट बुबा, आमा र हजुरबुवा पनि नेपालगञ्ज आएका छन् ।

दीपेश र शेरबहादुरको आँट 

१३ वर्षको उमेरमा पाँच कक्षा पढ्दै गरेको ‘फुच्चे’ले कुखुरा पालन गरेर १०/१२ हजार रुपैयाँ कमाउँछ ? १९ वर्षको अल्लारे केटोले २२ विगाह जमिनमा व्यवस्थित कृषि फर्म सञ्चालन गर्न सक्छ ? अझ भनौं न, यति सानै उमेरमा मानिसले व्यवसाय सिक्छ ? खै हाम्रो वरिपरि त यस्तो छैन ? पाठकलाई यस्तै प्रश्न उब्जिन सक्छ र यो स्वाभाविक पनि हो ।

तर, यो सही हो कि सुर्खेतको एउटा माध्यमिक विद्यालयले आफ्ना बालबालिकालाई सानै उमेरमा उद्यम सिकाउँछ । विद्यालयले सिकाएको उद्यमका कारण बालबालिका उमेरले कलिलै भएपनि कामले भने परपक्व बन्छन् ।

दीपेश र शेरबहादुर यहाँ चर्चा गरिएका पात्र मात्रै हुन् उनीहरु जस्तै सयौं युवालाई सुर्खेतको बबड्डी चौरमा रहेको जनज्योति उच्च माविले किशोर अवस्थामै व्यवसायी बनाएको छ । दीपेश र शेरबहादुरहरुले इच्छा गर्छन र सोहीअनुसार आँट भर्ने काम विद्यालयले गर्छ । यसमा ज्ञान, शीप र लगानी विद्यालयले गर्छ भने नतिजा विद्यार्थीकै हातमा हुन्छ ।

विद्यार्थीलाई शीप र लगानी गर्ने विद्यालय

सुर्खेतको जनज्योती उच्च माध्यमिक विद्यालय हाम्रो गाउँ घरमा हुनेजस्तै सामान्य सरकारी स्कुल हो । यहाँ प्रारम्भीक कक्षा सिकाइदेखि १२ कक्षासम्मको औपचारिक शिक्षा पढाइन्छ । यसका अलावा विद्यालयले सीटीईभिटी अन्तर्गतको तीन वर्षे डिप्लोमा कृषि बाली विज्ञान र ३ वर्षे पशु विज्ञान,१८ महिने कृषि जेटिए, १८ महिने भेटेरिनरी जेटिए लगायतका विषय यहाँ पढाइ हुन्छ । सीटीईभीटीको कोर्ष पढ्ने विद्यार्थीहरुले विद्यालय हाता वा नजिकैको जग्गामा प्रयोगात्मक काम गर्छन् ।

आफूभन्दा ठूला दाइहरुले गरेको काम देखेर स साना बालबालिका पनि त्यस्तै गर्न रुचाउँछन् । जस्ले गर्दा विद्यालय एउटा एकीकृत कृषि फर्म जस्तो बनेको छ । जसको माछा पोखरी, धान खेत, मह बगैँचा,कुखुरा पालन, तरकारी खेतिदेखि नभएको कुनै चीज छैन । विद्यालयको धरौटी रकमबाट विद्यार्थीलाई ऋण लगानी गरिएको प्रधानाध्यापक सिग्देल बताउँछन् । ‘शीप सरहरुले सिकाउनु हुन्छ, लगानी विद्यार्थीमाथि विद्यालयले गर्छ, बजार पनि खोज्छ तर विद्यार्थीको काम लगानी नडुबाइ आफ्नो लागि नाफा कमाउने हुन्छ,’ प्रधानाध्यापक सिग्देलले भने ।

विद्यालयको यही सूत्रले सफल नतिजा दिँदा विद्यार्थीहरु शीपमा पोख्त भएको र देशभर फैलिएको उनको बुझाइ छ । तीन वर्षको अवधिमा प्राविधिक शिक्षामामार्फत केही सय विद्यार्थी शेरबहादुर जसरी सफल भएका छन् भने ठूला दाजुहरुले विद्यालयमा गरेको प्रयोगको ज्ञान प्रसार हुँदा साना बालबालिकाहरु पनि उद्यममा लागेका छन् । कक्षा पाँच भन्दा माथिका बालबालिकालाई विद्यालयले विभिन्न समूह बनाएर उनीहरुको चाहना अनुसारको कृषि उद्यममा लगानी गर्छ । १३ वर्षीय दीपेशले कुखुरा पाल्न रहर गरे । उनलाई विद्यालयले १८ वटा लोकल कुखुराको चल्ला दियो । जसले गर्दा दीपेशले घरमा मासु पसल खोल्न भ्याए । यस्त धेरै उदाहरण विद्यालयमा छन् ।

विद्यार्थी जागिर नपाएर विदेशिन नपसोस्

नारायण सिग्देलले अध्यापन पेशा गरेको ३२ वर्ष भयो । उनी जनज्योति माध्यमिक विद्यालयको प्रधानाध्यापक भएकै ३० वर्ष बित्यो । आफ्नो विद्यालयबाट औपचारिक शिक्षा दिएर पठाइसकेपछि विद्यार्थीहरुमा पाइएको बिचलनले सिग्देललाई निकै मन पोल्थ्यो । ‘आफ्ना विद्यार्थी भेट्दाँ सोध्थेँ पढाइ कहाँ पुग्यो ? कम्तीमा १२ देखि डिग्री गरेकाहरुसम्म भेटिन्थे तर पेशा नभएर उनीहरु टहलिरहेका हुन्थे, केहीको जवाफ विदेश जाने हुन्थ्यो,’ सिग्देल भन्छन्, ‘हामीले के पढायौँ यस्तो जसले मेरा बच्चाहरु जागिरका लागि योग्य छैनन्, उनीहरु केही गरिखान सक्दैनन् ।’ उनको मनमा सवाल उठ्यो त्यसो भए गरिखान योग्य कसरी बनाउने ?

आफ्नो वरपर रहेका सम्भावनालाई भरपूर सदुपयोग गरेर त्यसैबाट आर्जन गर्ने । फलस्वरुप २०७३ सालमा विद्यालयले प्रविधिक शिक्षा अंगिकार गर्यो । औपचारिक शिक्षाको अलवा विद्यालयमा पशु विज्ञान, कृषि र भेटेरेनरी जेटिए पढाइ सुरु भयो । औपचारिक शिक्षापछि विद्यार्थीलाई झारा टार्ने प्रयोगात्मक गरेर विदा गर्ने परम्परालाई तोडेर विद्यालयले जोखिमपूर्ण लगानी विद्यार्थीको लागि गर्यो । विद्यार्थी पनि इमान्दार भएर नतिजा देखाए । अहिले जनज्योतिबाट पास आउट १८/१९ वर्षका किशोर किशोरीहरु विद्यार्थीहरु कि त आफ्नो व्यवसायमा जमेका छन् कि त देशभरी विद्यालयमा पढाउन लैजान विद्यालयहरुले हारालुछ गरिरहेका छन् । धादिङ, रामेछाप लगायतका धेरै स्कुलहरुमा जनज्योतिका विद्यार्थीहरुले अध्यापन गराउने गरेको प्रधानाध्यापक सिग्देल बताउँछन् ।

पढ्दै कमाउँदै कार्यक्रम

एसएलसी पास गरेपछि दैलेखबाट कृषि विज्ञान पढ्न शेरबहादुर चार वर्ष अघि सुर्खेत आए । एक जना चिनेको दाइमार्फत उनी जनज्योति स्कुल पुगेका थिए । उनलाई कृषि विज्ञान पढ्न मन थियो । प्रवेश परीक्षा दिए तर पास भएनन् । भेटरेनरी जेटीएमा भर्ना भए । कुल पढाइ सक्न चार लाख खर्च हुने विद्यालयले जानकारी गराएको थियो । उनले ६५ हजार रुपैयाँ पहिलो वर्षको लागि स्कुलमा तिरे पनि । विद्यालयले त्यसै साल पढ्दै कमाउँदै भन्ने कार्यक्रम सञ्चालनमा ल्यायो ।

विद्यार्थीहरुले आफ्नो योजनासहितको प्रस्ताव पेश गरे विद्यालयले प्रतिव्यक्ति पाँच हजार रुपैयाँ पाउने भए । शेरबहादुरको समूहका पाँच जनाले २५ हजार पाए । त्यही पैसाबाट तेस्रो वर्षको अन्तिम परीक्षा सकेर फर्किँदा ९८ क्वीन्टल बोइलरको मासु, २ क्वीन्टल माछा, ७ क्वीन्टल हरियो तरकारी उक्त समूहले फलायो । त्यसबाट भएको आर्जनले खान, बस्न, पढाइको फी तिर्न र पकेट खर्चका लागि शेरबहादुरले एक पैसा पनि घरबाट ल्याउनु परेन । उनका साथीहरुको अवस्था पनि यस्तै थियो ।

उत्कृष्ठताको नमूना स्कुल उस्तै विद्यार्थी पनि 

सानै उमेरदेखि पढ्दै कमाउँदै गरेका विद्यार्थीहरु कहिल्यै पनि उठ्न नसक्ने गरी नलड्ने प्रधानाध्यापक सिग्देल बताउँछन् । आफ्ना विद्यार्थीहरुलाई लड्न भर्याङको पहिलो खुड्किलोमै सिकाएको उनको दाबी छ । आफ्नो लागि कमाउने र परिवारलाई समेत सही दिशामा अघि बढाउन सानै उमेरमा आफ्नो स्कुलका विद्यार्थीले जानको उनको भनाई छ । विद्यार्थीहरुले उत्कृष्ठ काम गरेपछि विद्यालयको साख बढेको र कृषि उद्यममा नयाँ सोच पैदा भएको सिग्देल बताउँछन् । देशभर रहेका ८० लाख विद्यार्थीलाई यही मोडलमा कृषि उद्यममा लगाउने हो भने देशले काँचुली फेर्ने उनको विश्वास छ ।

शेरबहादुर पौडेललाई नेपालगन्जको २२ विगाह जमिनमा लगानी गरेर खेति गर्न दिन नेपालगन्ज मेडिकल कलेज राजी हुनुको कारण विद्यालयप्रतिको विश्वास भएको उनी बताउँछन् ।

‘एक दिन त्यहाँका सरहरु हाम्रो स्कुल घुम्न आउनु भएको थियो, हाम्रो कामले निकै प्रभावित हुनुभयो र आफ्नो बाँझो जमिनमा कृषि उद्यम गर्न शेरबहादुरलाई दिनु भयो,’ प्रधानाध्यापक सिग्देल थप्छन्, ‘हिजो आज मलाई देशभरबाट धेरै फोन आउँछ, तपाईंको विद्यार्थी हाम्रो स्कुलमा पढाउनका लागि दिन पर्यो भनेर, उहाँहरुले सौध्नु हुन्छ, यसका लागि हामीले के दिनु पर्छ ?’ मैले सीधा उत्तर भन्ने गरेको छु, ‘मेरा बच्चालाई बाँझो जमिन देऊ सुन फलाउन उनीहरुले जानेका छन् ।’



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *