नागरिक आन्दोलनमाथि नै प्रश्न

नागरिक आन्दोलनमाथि नै प्रश्न


आज धर्मभक्त माथेमाले शहादत प्राप्त गरेको ठाउँबाट उहाँलाई सम्झिँदै छौं । उहाँकै परिवार विश्वविद्यालयका मेरा गुरु केदारभक्त माथेमासँग बसेर सम्पूर्ण शहीदलाई सम्झिँदै छौं । तर समस्या के हो भने आज पनि हामी लोकतन्त्रकै चिन्ता गर्दैछौं ।

अहिले खगेन्द्र संग्रौला लगायत अग्रजहरूको छत्रछायाँमा हामी आन्दोलनमा छौं । खगेन्द्र दाइ पनि आन्दोलनमा हुनुहुन्छ, हामी पनि आन्दोलनमा छौं र मेरा छोराको पुस्ता पनि आन्दोलनमा आइसकेको छ ।नेपालमा लोकतन्त्रको लागि कतिले आन्दोलन गर्ने ? कुनकुन पुस्ताले आन्दोलन गर्ने ? आज सबैभन्दा ठूलो चिन्ताको विषय हो यो ।

शहीदमाथिको विभेद

शहीदहरूलाई सम्झने क्रममा म शहीद दुर्गानन्द झालाई सम्झन चाहन्छु । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रको अपहरण गरेपछि माघ २०१८ मा जनकपुर भ्रमण गर्नुभएको थियो । धनुषा निवासी दुर्गानन्द त्यतिबेला नेपाली कांग्रेसको युवा दस्तामा रहनुभएको थियो । पार्टीको निर्णयानुसार राजा महेन्द्रलाई बमले आक्रमण गर्ने दस्तामा उहाँ खटिनुभएको थियो । उहाँ जानकी मन्दिरको टोलीमा हुनुहुन्थ्यो । एयरपोर्टको टोलीले बम आक्रमण गर्न नसकेपछि जानकी मन्दिरमा सवारी हुँदा दुर्गानन्द झाले बम आक्रमण गर्नुभयो । तर त्यो बलले त्यति ठूलो क्षति भएन । राजा महेन्द्र सवार गाडीको झ्यालको सिसा मात्र फुट्यो । दुर्गानन्द त्यहाँबाट भाग्न सफल भई भारतको जयनगर गएर बस्नुभयो ।

तर दुर्गानन्दलाई भ्रममा पारेर जनकपुर बोलाइयो । विशेष अदालतले उहाँलाई फाँसी दिने निर्णय गर्‍यो । जसको न्यायाधीश भगवतीप्रसाद सिंह हुनुहुन्थ्यो । दुर्गानन्दलाई १५ माघ २०२० सालमा फाँसीमा झुण्डाइयो ।

त्यसअघि नेपालमा ब्राहृमणलाई फाँसी दिनुहुन्न भन्ने मान्यता थियो । तर दुर्गानन्दलाई फाँसी दिनको लागि मुलुकी ऐन संशोधन गरिएको थियो । पहिलो मधेशी ब्राहृमणलाई फाँसीमा चढाइयो । तर त्यसअघि त्योभन्दा ठूला अपराध लगाइएकाहरूलाई समेत फाँसी दिइएको थिएन । मैले दुर्गानन्द झालाई यसकारण पनि सम्भि“mदै छु कि राज्यले मात्रै समाजमा विभेद गरेको थिएन । शहीदहरूमा पनि विभेद गरेको थियो ।

०४६ सालको आन्दोलनमा धनुषाको यदुकोहामा पाँच जना एकैदिन मरेका थिए । जसमा तीन जना महिला थिए । तर नेपालको त्यो आन्दोलनको सहादतहरूको जब चर्चा हुन्छ, मधेशी यी नामहरू छुट्ने गर्छन् । म दुर्गानन्दलगायत सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु । यो लोकतन्त्रको आन्दोलन र यात्रामा मधेशको योगदानलाई पनि बिर्सने प्रयास नहोस् ।

नेपालमा आन्दोलनहरूबाट स्थापित भएको व्यवस्थाले एउटा यस्तो समाज र राज्यको निर्माण हुन गयो । एक समुदाय धेरै अगाडि बढ्यो र अर्को मधेशी, आदिवासी जनजाति, दलितलगायतका सीमान्तकृत समुदाय धेरै पछाडि परे । जब त्यो समुदायको विषयमा काठमाडौंमा छलफल हुन्छ । सबै मधेशी, जनजाति, दलितलाई एक ठाउँमा राखेर हेर्ने गरिन्छ । मेरो विनम्र आग्रह के छ भने ती समुदायभित्र पनि विभिन्न खालका पात्रहरू छन् । दुर्गानन्द झा पनि त्यही समुदायका थिए र भगवती प्रसाद सिंह पनि त्यही समुदायका थिए । हामीले दृष्टिकोणमा परिवर्तन गर्नु जरुरी छ ।

नागरिक आन्दोलनमाथि नै प्रश्न

प्रतिगमनविरुद्ध सुरु भएको बृहत् नागरिक आन्दोलमा आउन मन लागेको थिएन । हामीलाई आन्दोलनमा आउनुपर्‍योभन्दा यसमा समर्थन रहन्छ भनेका थियौं । तर भौतिक रूपमा उपस्थितिको विषयमा मधेशका साथीहरूको बीचमा एउटा चर्चाको विषय बन्यो ।

केपी ओलीले आजमात्र प्रतिगमन गरेको कसैलाई लागेको हुन सक्छ । तर हाम्रो नजरमा, मधेशीको नजरमा यो प्रतिगमन आज आएर मात्र भएको होइन । ओली एकदिनमा उदाएका होइनन् । आज काठमाडौंका मिडियाले यो आन्दोलनलाई समर्थन गर्नुभएको । नागरिक आन्दोलन प्रतिगमनकोविरुद्धमा छ । यहाँसम्म हामी साथ साथ छौं ।

आजभन्दा दुई वर्ष अगाडि १० हजार कर्मचारीको लागि लोकसेवा आयोगले विज्ञापन खुलाएको थियो । जहाँ मधेशी, आदिवासी जनजाति, दलितको लागि चार हजार दुई सय सिट हुनुपर्ने थियो । तर बेइमानी गरेर दुई हजार सिट मात्रै राखियो । त्यतिबेला पनि केपी ओलीकै सरकार थियो । त्यतिबेलाको नागरिक समाज किन बोलेन ? त्यतिबेलाको मिडियाको व्याख्या के थियो ? हाम्रो मनमा यो प्रश्न थियो ।

त्यतिबेला हामी सर्वोच्च अदालतमा मुद्दा हाल्न पुग्यौं । तर सर्वोच्च अदालतले भन्यो, ‘प्रक्रिया धेरै अगाडि बढेको हुनाले अब यो विज्ञापन रद्द गर्न मिल्दैन । नागरिक समाजका क-कसले बोले यो विषयमा अबको नागरिक आन्दोलनमा सोचिनुपर्छ ।

तर हामी आज आएर एउटा निष्कर्षमा पुगेका छौं । हिजो सिएन थारुजीको नेतृत्वमा तराईका साथीहरू बसेका थिए, गोविन्द छन्त्यालजीको नेतृत्वमा जनजाति साथीहरू बसिरहेका छन् । जेवी विश्वकर्मा लगायतका साथीहरूले दलित साथीहरूलाई एकत्रित गर्दै हुनुहुन्छ । अहिले आएर हामी एउटा निष्कर्षमा पुगेका छौं ।

अहिलेसम्मका सबै व्यवस्थाले एउटा समुदायको मान्छे मात्रै राज्यमा देखिने व्यवस्थाको निर्माण गर्‍यो । तर राज्य चल्नको लागि जुन राजस्वको संकलन हुन्छ त्यसमा हाम्रो पनि पसिना गएको छ । तलब खाने हाम्रो पैसाबाट, तलब खुवाउने ठाउँमा हामी किन छैनौं भन्ने प्रश्न हामीले गरेका थियौं । त्यसैले समावेशी संघीयताको कुरा गरेका थियौं, हामी निर्वाचन प्रणालीमा संशोधनका कुरा गरेका थियौं । हामी शिक्षा नीतिमा भाषाका कुरा गरेका थियौं, मधेशको मानिसको नागरिकता सहजतापूर्वक मिल्नुपर्छ भनेका थियौं । तर ती कुराहरू संविधानमा नपारिकनै माननीयहरूले जारी गर्नुभयो । हिजोको दिनसम्म त्यसमो हाम्रो विरोध थियो ।

तर जारी भएको संविधानले राजनीतिक स्थायित्वको कुरा गरेको छ । यो संविधानले एउटा सपना बोकेको छ कि जसले चाह्यो त्यसले संसद विघटन नगरोस् भनेर । यो संविधानले लोकतन्त्रका आधारभूत कुराहरूमा सहमति जनाएको छ । यो विघटनले नेपालको संविधानमा राजनीतिक स्थायित्वको सपनामाथि तुषारापात गरेको छ । त्यसकारण हामीले यसलाई प्रतिगमन मानेका छौं । हामी आन्दोलनमा पूर्ण प्रतिबद्धताका साथ सकि्रय सहभागिता जनाउन चाहन्छौं । तर हाम्रो मुद्दामा पनि काठमाडौंको नागरिक समाजले समर्थन गर्नुपर्छ । त्यो मुद्दा के हो त ?

धेरै साथीहरूलाई लाग्न सक्छ, लोकतन्त्र भएपछि देशमा सबै कुरा ठीक हुन्छ । गलत हो, लोकतन्त्र प्रणाली हो । कसैका लागि प्रणाली मात्रै सबै कुरा हुन सक्छ । तर सीमान्तकृतहरूको लागि परिणाम महत्वपूर्ण कुरा हो । लोकतन्त्र अभ्यास हुँदै गर्दा आज यो देशमा मधेशका लाखौं दलितहरू किन भूमिहीन भएका छन् ? किन यहाँको न्यायिक सेवामा १० प्रतिशत पनि जनजाति छैनन् ? मधेशी, दलित छैनन् ? यो प्रश्नको जवाफ कसले दिने ? तपाईंहरूको लागि लोकतन्त्र प्रणाली मात्रै महत्वपूर्ण हो, सीमान्तकृत समुदायको लागि परिणाम महत्वपूर्ण कुरा हो । अबको आन्दोलन हामीले परिणामको लागि पनि गर्नुपर्छ । तब मात्र हामी यो आन्दोलनमा साथसाथ रहन्छौं ।

अहिलेको संसदको पुनस्र्थापना होला । त्यसपछि फेरि आन्दोलन टुङ्िगने हो भने हामी परिणामको लागि गर्ने आन्दोलनमा एक्लै पर्नेछौं । यो देशमा विनोद चौधरीको लागि कुनै आन्दोलन हुनुपर्दैन, राणाजीलाई कुनै देशको राजदूत हुनको लागि कसैले आन्दोलन गर्न पर्दैन । तर एकजना दलित राजदूत बन्नको लागि धेरै आन्दोलन गर्नुपर्छ । तपाईं कुन आन्दोलन गर्ने यसको जवाफ तपाईंले दिन सक्नुपर्छ ।

हामीले खोजेको पञ्चायती निर्वाचन होइन

लोकतन्त्र नभएसम्म सीमान्तकृत समुदायले कुनै पनि अधिकार प्राप्त गर्न सक्दैन । यो कुरा इतिहास, अनुसन्धान, तथ्यले देखाएको छ । हामीले जे पाएका छौं त्यो प्रजातन्त्रको कारण मात्रै पाएका छौं । आज संसद विघटन गरेर प्रजातन्त्रको हत्या गर्ने काम भएको छ ।

आज संसद विघटन गरिँदैछ । भोलि संघीयतालाई विघटन गरिदिन्छ । पर्सि आरक्षण खारेज गरिदिन सक्छ, अर्कोदिन निर्वाचन प्रणालीलाई संशोधन गरेर समानुपातिकलाई हटाइदिन सक्छ । त्यसपछि पनि निर्वाचन भने भइरहन्छ । जुन निर्वाचनको कुरा शेरबहादुर देउवाजी कुरा गर्दै हुनुुहुन्छ । उहाँलाई विनम्रताका साथ आग्रह गर्न चाहन्छु कि देशमा पञ्चायत कालभरि ३० वर्षसम्म निर्वाचन भइराख्यो । राजा महाराजाहरूले एउटै कुरा भनिराखे कि आवधिक निर्वाचन हुन्छ, राष्ट्रिय पञ्चायतबाट प्रधानमन्त्री छनोट हुन्छ, त्यसकारण यो पनि प्रजातन्त्र हो । त्यतिबेला पनि अहिलेका प्रदीप ज्ञवालीले जस्तो दलविहीन प्रजातन्त्र भनिएको थियो । फेरि तपाईंहरू किन पञ्चायतको विरुद्ध आन्दोलनमा जानुभयो । तपाईंका नेता वीपी कोइरालाले किन आन्दोलन गर्नुभयो । किनभने त्यो लोकतान्त्रिक मूल्यमान्यताहरू नभएको व्यवस्था थियो ।

तपाईं केवल निर्वाचनको कुरा गर्नुहुन्छ, लोकतन्त्रमा निर्वाचनमा डराउनुहुन्न भन्नुहुन्छ भने तपाईंको बोली र कमल थापाको बोलीमा भिन्नता हुँदैन । शेरबहाुर र जसपाका महन्थ ठाकुरजीले आफ्नो स्ट्यान्ड क्लियर गर्नुपर्छ । निर्वाचनविरुद्ध डराउनुहुन्न भनेपछि किन तपाईंले प्रजातन्त्रको विरुद्धमा आन्दोलन गर्नुभयो ? हामीले खोजेको प्रजातन्त्र भनेको राजनीतिक स्थायित्वको कल्पना गरेको संविधानलाई टकेर हुने निर्वाचन हो ।

(विश्लेषक साहले आइतबार काठमाडौंको बृहत् नागरिक आन्दोलनलाई गरेको सम्बोधनको सम्पादित अंश)



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *