डढेलोले वन सखाप हुँदै, बस्ती पनि उच्च जोखिममा

डढेलोले वन सखाप हुँदै, बस्ती पनि उच्च जोखिममा


१४ चैत, काठमाडौं । सुख्खायाम शुरु भएसँगै महोत्तरीका वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी हुने क्रम बढेको छ । पूर्वपश्चिम राजमार्गको दुवैतिर (उत्तर–दक्षिण)का बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने जंगलमा दिनदिनै बढेको डढेलोले दुई/तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो । डढेलोले वयस्क र पुराना रुख पनि मारेको छ ।

चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड हुने क्रम बढेको हो । बर्दिवास र गौशाला नगरपालिकामा पर्ने राष्ट्रिय वन, सामुदायिक वन, साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा सधैँजसो देखिने डढेलोले वन क्षेत्रका रुख, बुटा खरानीमा परिणत भएका छन् । डढेलोले साखु र अन्य संरक्षित जातिका नयाँ बिरुवा डढेर खरानी हुने र वयस्क रुख आगो लागेर सुक्दै गएपछि वनक्षेत्र उजाड हुने क्रम बढेको हो ।

अहिले रुख बिरुवाले पालुवा फेर्न झारेका पुराना पात सुकेका बेला वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गर्छ । वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुख, बिरुवा सखाप हुनुका साथै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा परेका छन् ।

यसपालि हिउँदे वर्षा नभएको हुँदा डढेलो झन् । फैलिएको बर्दिवास–५ गणन्ताका सामाजिक कार्यकर्ता कहरमान स्याङ्वाले बताए । हिउँदे वर्षाले रुख, बिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगतको अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपालि हिउँदे वर्षा नहुँदा चैतमध्यभित्रै डढेलोले विकराल रूप लिएको उनी बताउँछन् ।

जिल्लाको सघन वन क्षेत्रमा चार ठाउँ वन सुरक्षा पोष्ट र बाँके मरहा साझेदारी वनको कार्यालय नै भए पनि डढेलो नियन्त्रणमा भने उदासिनता देखिएको सर्वसाधारणको गुनासो छ । फागुन मध्यदेखि नै वनमा डढेलो देखिन थाल्छ । घाँसे, दाउरे र गोठालाले डढेलो लगाउने गरेका वनसम्वद्ध सरकारी सेवाबाट अवकाश लिएका हाल बर्दिबास–१ का बासिन्दा चन्देश्वर यादव बताउँछन् । फागुन–चैतमा वनमा डढेलो लगाए त्यसपछि हुने वर्षासँगै नयाँ घाँस पलाउने विश्वासले वन क्षेत्र नजिककै पशुपालकले डढेलो लगाउने गरेको यादवको अनुभव छ ।

पूर्वपश्चिम राजमार्गको भव्सी नदीदेखि पश्चिममा बाँके नदीसम्मको १६ किलोमिटर दूरीको दुवैतिर सघन वन क्षेत्र छ । वनसँगै जोडिएका बर्दिवासका हाथिलेट फार्लाइन, लटियानी, भव्सी, माईस्थान, वरडाँडा, चेरु, गणन्ता, ढुङ्ग्रे, सोनापेटी, खयरमारासहित दर्जनभन्दा बढी बस्ती छन् । त्यसैगरी गौशाला नगरपालिकाका पनि ढल्केबर, बेलगाछी, भण्टाबारी, लक्ष्मीनियाँ, कालीपुरसहितका बस्ती पनि वनसँगै जोडिएका हुँदा आगलागीको जोखिममा रहेको गौशाला नगरपालिका–१० बटौवाका विवेककुमार कुशवाहाले बताए ।

महोत्तरीमा सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत गरी २४ हजार ४६५ हेक्टर क्षेत्रफलमा वन रहेको डिभिजन वन कार्यालयको अभिलेखमा उल्लेख छ । वनक्षेत्रमा बढेको अनधिकृत अतिक्रमण र डढेलोले गर्दा अहिले मुस्किलले १६ हजार हेक्टरको सेरोफेरोमा मात्र वन बाँकी रहेको कार्यालयका अधिकृत नै बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले वन क्षेत्रको नियमित गस्ती र कारबाही प्रक्रिया दुरुस्त गर्न वन सुरक्षा तथा जिल्लास्थित अन्य सुरक्षा निकायको समन्वयमा संयुक्त टोली परिचालन गरिने बताए । कुनै पनि निहुँमा वन क्षेत्र सखाप पार्ने कामले छुट नपाउने उनको भनाइ छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *