जब उनले आफ्नै विवाह रोकिन्

जब उनले आफ्नै विवाह रोकिन्


६ पुस, डोटी । गंगा उमेरले १८ वर्षकी भइन् । उनी स्थानीय महाकाली माविमा कक्षा ११ मा पढ्दैछिन् । उनी आफ्नो पढाइ सँगसँगै दौंतरीहरुलाई उमेर नपुगी विवाह नगर्न आग्रह गर्दै छिन् ।

कलिलै उमेरमा अभिभावकहरुले आफ्नो बिहे गराउन गरेको निर्णयको विरोधपछि अचेल उनी बालविवाहविरुद्धकी सामाजिक अभियन्ता नै बनेकी छिन् ।

२०७४ मंसिर पहिलो साताको कुरा हो, जतिबेला गंगा १५ वर्षकी मात्रै थिइन् । उनको बिहे हुने पक्का भयो । कक्षा ८ मा पढ्दै गरेकी उनले आफ्नो बिहे हुने कुरा साथीहरुबाट सुनिन् । साथीहरुले उनलाई बिहे हुन लागेकोमा बधाई दिए, कसैकसैले जिस्काए पनि । उनको मंसिर १७ गते लगन पनि तय भइसकेको थियो ।

‘मलाई बिहे के हो भन्ने बारेमा पनि राम्रोसँग जानकारी थिएन, आमाबुवाले बिहे छिनिसकेका रहेछन्,’ डोटी शिखर नगरपालिका-२, मुडेगाउँकी गंगा भन्छिन्, ‘विद्यालयबाट फर्किदै गर्दा साथीहरुले तेरो त बिहे हुने भयो, बधाई छ भनेपछि म झस्किएँ,’ उनी थप्छिन्, ‘मैले आमाबुवासँग झगडा गरेँ ।’

उनका आमाबुलाले उनलाई लाख सम्झाए । एकपटक बिहे गर्नैपर्छ, केटा र उसको परिवार राम्रो छ भन्दै उनलाई फकाउने काम पनि भयो तर बिहे नगर्ने अडानबाट उनी टसमस भइनन् ।

आफूले त्यतिबेला यदि मेरो बिहे नरोकिए आत्महत्या गर्ने धम्की दिएको उनी सम्झिन्छिन् । भन्छिन्, ‘मैले प्रहरीलाई खबर गर्छु पनि भनें, जिद्दी गरेपछि आमाबुवाहरु बिहे रोक्न बाध्य हुनुभयो ।’

आफूले पढेर सामाजिक अभियन्ता बन्ने गंगाको सपना थियो । उनले विद्यालयमा हुने विभिन्न कार्यक्रममा बालबिवाहबाट जीवनमा पर्ने असरका बारेमा धेरै कुरा सुनेकी थिइन् । यिनै कुराहरुको बलमा उनले आमाबुवालाई मनाइन् । उनलाई बिहे भएपछि आफ्नो पढाइ बिग्रने चिन्ता थियो । अहिले गंगाको मनमा एक प्रश्न खेलिरहेको छ, ‘सानै उमेरमा विवाह भैदिएको भए अहिले मेरो हालत के हुन्थ्यो होला ?’ यो प्रश्नले उनलाई पटक-पटक भावुक वनाउँछ, झस्काउँछ पनि ।

गंगा अहिले बालविवाह लगायत सामाजिक कुरीतिविरुद्धमा आवाज उठाउँदै आएकी छिन् । उनका आमाबुवाले पनि उनलाई हौसला दिन थालेका छन् । उनी आमाबुवाले आफ्नो अभियानमा साथ दिएकोमा अझ बढी खुशी छिन् । बुवा प्रताप पार्की र आमा नन्दा पार्कीका चार सन्तानमध्ये जेठी गंगाको बिहे रोकिएकोमा त्यतिबेला प्रतापलाई दुःख लागको थियो तर अचेल भने उनी पनि खुशी देखिन्छन् । प्रताप भन्छन्, ‘कलिकै उमेरमा बिहे गरिदिनु त छोरीको जीवन बर्वाद गर्नु रहेछ, अचेल धेरै कुरा बुझेँ मैले ।’

गंगाकी आमा नन्दालाई अचेल छोरीको बिहे रोकिएकोमा पछुतो छैन । शारीरिक रुपमा अपाङ्गता भएकी नन्दा भन्छिन्, ‘छोरीले बिहे गर्दैन भनेर जिद्दी गर्दा के पो हुन्छ भन्ने डर लागेको थियो, तर अचेल ठिकै भयो भन्ने लाग्छ ।’ उनी छोरीले सामाजिक कुरीतिविरुद्ध आवाज उठाएको देख्दा खुशी हुन्छिन् ।

गंगालाई धेरै पढेर शिक्षक बन्ने रहर छ । ‘बालबालिकाहरुलाई उचित शिक्षा दिनका लागि शिक्षण पेशा नै उपयुक्त लाग्यो मलाई,’ गंगा भन्छिन्, ‘शिक्षक बन्ने धोको पूरा हुन्छ/हुन्न थाहा छैन तर मलाई विश्वास छ म शिक्षक हुन सक्छु ।’



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *