जनता मालिक कहिले हुने ?


आदीः
नेता र जनता एक–अर्काका पुरक हुन् यी दुबै एक–अर्का बिना अधुरा र अपुरा छन् । परापूर्वकालमा राजनैतीक गतिविधी सुरु भएबाटै आम–मान्छेहरु नेता र जनतामा विभक्त भए । केही थोरै मान्छे जन्मदै शासकको गुण लिएर आएका हुन्छन् उनीहरु कालान्तरमा नेता बन्छन् भने बाँकी धेरै मान्छे आफुलाई शासित हुन नै जन्मिएको ठान्छन् ।

उनीहरु आदेशको पालनालाई आफ्नो धर्म सम्झिन्छन् अरुको ईशारामा चल्दा चल्दा आफ्नो स्व. विवेक पनि गुमाइसकेका हुन्छन् । सेवा र चाकडीलाई द्रुत प्रगतीको अचुक साधनको रुपमा बुझेका उनीहरु आफ्नो आत्म–सम्मान दल र नेता लाई सुम्पेर सिंगो जीवन कमैयाँ बनेर बिताउन राजी हुन्छन् । बहु–संख्यक कार्यकर्ताका रुपमा रहेका जनताको जीवन दास मानसिकता बाटै शुरु हुन्छ र अन्त्य पनि त्यही हुन्छ । यसैको भरपुर फाइदा मुट्ठिभरका नेतागणले उठाउँछन् राजनीतिलाई व्यबसाय बनाएका उनीहरुका लागि त कार्यकर्ता फगत ज्यामी हुन् ।
त्यो पनि लगभग निःशुल्क ! निश्चित पारीश्रमिक न लिएरै दिन–रात, सजिलो–अप्ठेरो, सहि–गलत केही नभनी–नसोंची एकोहोरो कथित दलको सिद्दान्त र नेताको मधुर वाणी कै खातिर अन्धभक्ती सहितको सेवामा तल्लिन छन् ।
ईतिहासका विबिध कालखण्डमा जनतालाई हेर्ने दृष्टिकोण र गरिने व्यबहारमा समय–सापेक्ष केही परिवर्तन भए होलान् । फरक–फरक वाक्यांशले सम्वोधन गरिए होलान तर उनीहरु हरेक कालखण्डमा शासकद्वारा प्रयोग मात्र गरिए ।
मध्यः
हाम्रो देशको सन्दर्भमा ईतिहासका कुरा गर्दा नेपाल कहिल्लै कुनै साम्राज्यको दास त भएन तर पनि नेपाली जनता सधैं आफ्नै शासकका दास भएर बसे ।

समग्र नेपाल को कुरा गर्दा पृथ्वी नारायण देखि राणाहरुको उदयसम्मको शाह वंश, १०४ बर्षको राणा शासन, २००७–२०१७ सम्मको प्रजातन्त्र काल, पञ्चायतकाल, ४६ सालको आन्दोलन पछीको बहुदलिय शासन, माओवादी को जनयुद्द, ६३ सालको परिवर्तन पछि प्राप्त लोकतन्त्रकाल र वर्तमानको संघिय गणतन्त्र यी विबिध कालखण्डमा फरक–फरक शासन प्रणाली थिए । शासन प्रणाली फरक भएपनि आम जनताको नियती उही रह्यो शासक र शासित बीचको ठुलो खाडल अहिले पनि उस्तै छ ।

राणा शासन कालसम्म त आम–जनतालाई दास कै रुपमा लिइन्थ्यो । मुलभुत मानवीय अधिकारको उपभोग र परै जाओस त्यसकाबारे चुइँक्क बोल्न समेत मनाही थियो । शासन प्रणाली प्रति तिब्र असन्तोष हुँदापनि शासक प्रति वफादार दास मानसिकताका कार्यकर्ताको बलमा शासन टिकिरह्यो । राणा शासनको उत्तरार्धमा शासक केही लचिलो हुने प्रयत्न गरेपनि व्यापक जनदवाव पछि व्यबस्था परिवर्तन भयो ।

२००७ सालमा प्रजातन्त्र को प्राप्तिपछि राणा काल भन्दा अवस्था केही फरक त भयो । नेताहरुले फरक स्पस्ट अनुभव गरे परिवर्तनमा प्रयोग गरिएका जनताहरुले अलिकति स्वत्रन्त्रतापूर्वक श्वास फेरे होलान् । त्यस बाहेक देखिने परिवर्तन त नेतालाई मात्र भयो तिनै मध्य एक प्रधानमन्त्री भयो अरु मन्त्री भए ।

जनताका लागि त के फरक भयो र ? हिजो सत्तामा राणा थिए उनको आदेश बमोजिम चल्नु पथ्र्याे आज कुर्सिमा बस्ने फेरियो तर आदेश र हाउभाउ उस्तै छन् । जनतालाई त पुरानो राणा गयो अर्को नयाँ राणा आए जस्तै भयो किनकी उसको प्रयोगको सिलसिला त रोकिनेवाला थिएन । महेन्द्रको ’कू’ पछि फेरी एकपटक जनता चाहिने भए खोसिएको प्रजातन्त्र फिर्ता ल्याउने ल्याकत त नेतामा मात्र हुने कुरै भएन । पञ्चायत विरोधी भावना देशभर फैलाउन कार्यकर्ता त चाहिने नै भयो । देशभरका जनताहरु मध्य केहीलाई पञ्चायतले प्रयोग ग¥यो भने केही परिवर्तनका सम्वाहक बन्ने लालसामा पञ्चायत विरोधीद्वारा प्रयोग गरिए । यो क्रम चलीरह्यो फेरी व्यबस्था फेरियो बहुदल आयो शासक फेरिए उनीहरुको हैसियत फेरियो तर जनताहरु उस्तै रहे ।

यसै विचमा प्रजातन्त्रबाट जनताको अवस्थामा आमुल परिवर्तन आउनै सक्दैन भन्ने मन्त्रका साथ क्रान्तिकारी परिवर्तनका खातिर माओवादको नाममा जनयुद्ध छेडियो । दलको सिद्दान्तको दुहाई र नेतागणको मधुरवाणीको भरमा लाखौँ जनता प्रयोग गरिए उधारो बोलिको भरमा ज्यान लिने र दिने सम्म भयो ।

हजारौं को ज्यान गएपनि अन्तत २०६३ सालमा माओवादी मुलधारको राजनीतिमा आए प्रजातन्त्रलाई लोकतन्त्र भनिन थाल्यो । फेरी एकपटक पुरानै नियती दोहोरियो शासक फेरिए तर १० बर्षे युद्धको बेला भनिएको जस्तो आमुल परिवर्तन केही पनि भएन । विगतमा भएका राणा र पञ्चायत विरुद्धका लडाईंमा भन्दा जनयुद्धबाट साँच्चिकै अनुभव गर्न सकिने परिवर्तनको आशा धेरैलाई थियो तर विडम्बना त्यस्तो केही हुन सकेन ।
असल र सरल जनजिविकाको आशा राखेका आम जनताको कुरा छोडौं जनयुद्धमा प्रत्यक्ष सहभागी लडाकुहरुले समेत उनीहरुको जीवनस्तरमा रत्तिभर परिवर्तन अनुभव गरेनन् । बरु नेता र आफन्तहरुमा छर्लँग देखिने परिवर्तन आयो । त्यसैले होला आफुलाई परिवर्तनका खातिर जनयुद्धमा लाग्न प्रेरित गर्ने नेतागण प्रति उनीहरुको भावना त्यति मिठो छैन ।
अन्त्यः
समग्रमा भन्नु पर्दा राणादेखि गणतन्त्रसम्मको राजनैतिक परिपाटि र अभ्यास हेर्दा जनता मात्र प्रयोग भएका र गरिएका छन् । यहाँ मात्र होइन संसार भर आम जनतालाई दल र नेताले आफु अनुकुल प्रयोग गरेका छन् ।
दलका एजेन्डालाई जनजनमा पुर्याउने, सत्ता विरोधी गतिबिधी संचालन गर्ने, चुनावका बेला परिचालित हुने, आन्दोलन हडतालमा अग्रपङ्तिमा तैनाथ भएर पानीको फोहोरा, अश्रु ग्याँस, लाठी, गोली खाने, युद्धजन्य गतिविधिमा प्राणको आहुती दिने देखि नेताको नितान्त व्यक्तिगत काममा समेत जनतालाई प्रयोग गरियो ।
विडम्बना !
स्वर्णिम भोलीको एकोहोरो आशामा दल र नेताको ईशारामा नाचेका निरिह जनतालाई स्वप्निल भोली कहिल्लै आएन । बरु कतिले प्राण त्यागे, कतिको अंग–भंग भयो, कति अहिले पनि मानसिक रुपमा विक्षिप्त छन् उनीहरुको जीवनस्तर जहाँको त्यही छ । जनजिविकाको सवालमा न केही महत्वपूर्ण पहल गरिए न कुनै परिवर्तन आयो ।
तर,

अर्कोतिर आश्चर्यजनक रुपमा नेतागणका हरेक कुरामा आमुल परिवर्तन देखियो । हवाई चप्पलको स्थान जुत्ताले लियो, सुर्तीका सामान्य कमिज–पाइन्टलाई कोट–पाइन्टले प्रतिस्थापन ग¥यो । साइकिलको ठाउँमा आरामदायी गाडी आयो ।

रहन–सहन, खान–पान, भेषभुषामा व्यापक परिवर्तन देखियो । जनताले बिकासको ‘ब’ र सुशासन को ‘स’ पनि अनुभव नगर्दा नेताको मात्रै प्रगतीले स्पस्ट रुपमा सुविधाभोगी संस्कार, सत्ताको चरम दुरुपयोग र भ्रष्टाचार सहितको राजनैतिक विचलनको संकेत गर्छ । राजनैतिक सह–यात्रामा महत्वपूर्ण योगदान दिनेलाई पाखा लगाएर हरेक अवसरलाई परिवार र आफन्त मै सिमित पार्ने एकदमै गलत परिपाटि बिकसित भएको छ ।

विश्वास गर्नुस !

यतीविधि हुँदापनि जनता जनार्दनको चेत खुल्दैन ! अझैपनि चाकडी सहितको सेवामा विश्वास घटेकै छैन । आफ्नो छानो चुहिए पनि, चुलो नबले पनि, आङको लुगा धुजा परेपनि, खाली खुट्टा हिंडेपनि सर्वश्री नेतागणको भव्य बंगला, भान्सामा पाकेको मार्सीको भात, जिउको महंगा कपडा र खुट्टामा लगाएको छायाँ देखिने गरी टल्किने जुत्तामा गर्व गर्ने संस्कार र अवस्था रहेसम्म देश र जनताको पक्षमा केही हुनेवाला छैन ।

हामी !
अरुका लागि कहिलेसम्म प्रयोगमा आइरहने हो ? आफ्नो स्व–विवेक कहिले प्रयोग गर्ने हो ? हामीलाई सिंढी बनाएर नेताहरु कहाँबाट कहाँ पुगिसके ? ढिंडोबाट मार्सीसम्मको यात्रा तय गरिसके हामीले आफ्नो बारे कहिले सोच्ने ? अब त अती भएन र ? नेताहरुलाई तिनिहरुको हैसियत र धरातल देखाउने बेला आएन र ?

भन्नलाई हामी गणतन्त्रमा छौँ तर आंशिक गणतन्त्र उपभोग गरिरहेका छौँ । गणतन्त्रको मर्म अनुसार मालिक जनता हुनुपर्ने हो तर यहाँ त सेवकको खोल ओढेर नेता पो मालिक हुँदै राजासम्म भइसके । मिल्ने भए शायद भगवान पनि बन्न खोज्थे होला ।

होसियार !
हिजो जे गल्ती भयो त्यो अब दोहोरिनु हुँदैन । नेता देश र जनताका सेवक हुन तसर्थ तिनीहरुलाई त्यही भूमिकामा मात्र स्विकार गरौँ । आफ्नो महत्व र भूमिकाबारे आफै सचेत बनौं गणतन्त्रमा मालिक जनता हो जनताको भूमिका र हक खोस्न खोज्ने दल र नेतालाई बहिष्कार गर्न सक्ने सामथ्र्य हामीले राख्न सक्नुपर्छ ।

The publish जनता मालिक कहिले हुने ? appeared first on Nepalgunj News.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *