बाँकेको खजुरा गाउँपालिकाका जनप्रतिनिधि सहित कर्मचारीहरुको टोलीले जनताको गुनासो वडामै पुगेर सुन्ने भएको छ । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले त्यसका लागि ‘जनतासँग स्थानीय सरकार’ कार्यक्रम आज सोमबारबाट औपचारिक रुपमा सुरु गरिने जानकारी दिएका छन् । ‘जनप्रतिनिधि निर्वाचित भएर आएपछि खजुरामा गरेका काम, त्यसमा वडाबासीको सुझाव राय, थप गर्नुपर्ने काम, स्थानीयको गुनासो तथा अपेक्षा बुझ्न गाउँपालिकाका जनप्रतिनिधि तथा विषयगत शाखाका प्रमुख सहितको टोली वडा पुग्ने योजना बनाएका छौं’, उनले भने ।
खजुरा गाउँपालिकाले आज सामाजिक सुरक्षा भत्ता पाउने नागरिकहरुका लागि वडा नं. १ मा निःशुल्क आँखा शिविर सञ्चालन गरी जनतासँग स्थानीय सरकार कार्यक्रमको उद्घाटन गर्दैछ । ‘सोमबार आँखा शिविर गरेर जनतासँग स्थानीय सरकार कार्यक्रमको औपचारिक उद्घाटन गर्न लागिएको हो’, अध्यक्ष कक्षपतिले भने, ‘त्यसपछि चालु आ.व.को अन्त्यसम्म वडा, वडामा पुगेर जनताको सुझाव, गुनासो लिनेछौं ।’ आगामी दिनमा हुने जनतासँग स्थानीय सरकार कार्यक्रममा आउने गुनासो र सुझावलाई सम्भव भए सोही ठाउँमै, नभए योजनाबद्ध र आगामी आ.व.को बजेटमा समेट्नु पर्ने खालका गुनासो सुझाव भए आगामी आ.व.मा समेटिने अध्यक्ष कक्षपतिले बताए ।
गाउँपालिकाले आठ वटै वडामा निशुल्क आँखा शिविर संचालन गर्ने भएको छ । स्वास्थ्य शाखाको आयोजना तथा भिजन आँखा अस्पतालको सहकार्यमा खजुरा गाउँपालिका अन्तर्गतका आठै वटा वडाका स्वास्थ्य संस्थामा निशुल्क आँखा शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले जानकारी दिएका छन् ।
शिबिरमा भेटिएका जेष्ठ नागरिकलाई अपरेसन गर्नुपर्ने भएमा निशुल्क अपरेसन गरिने स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए । आज सोमबार राधापुर स्वास्थ्य चौकीबाट शुभारम्भ भै फागुन ३ गते रनियापुर स्वास्थ्य चौकीमा समापन गरिने स्वास्थ्य शाखाले जनाएको छ ।
The submit जनता माझ पुग्दै खजुराका जनप्रतिनिधि, ‘जनतासँग स्थानीय सरकार’ कार्यक्रम आजबाट appeared first on Nepalgunj News.