चिकित्सा सेवामा प्रकाश जस्तै चम्किएका डा. प्रकाश नाग


बाँके, ३० असोज ।
मानिसले जस्तो कर्म गर्छ, त्यस्तै फल पाउँछ । कुकर्म गर्नेले फल पनि नराम्रो नै भोग्नु पर्छ । तर, सत्कर्म गर्ने वा मेहनत गर्नेले फल पनि मिठो नै प्राप्त गर्छ । नेपालगन्ज उपमहानगरपालिका–७, रानीतलाउमा जन्मिएका डा. प्रकाश नाग यसको उदाहरण बनेका छन् । उनले विद्यालयमा पढ्दा दैनिक १६–१७ घण्टा पढ्थे । त्यसको फलस्वरुप उनले महेन्द्र नमुना माविबाट विक्रम् सम्वत् २०५३ सालमा एसएलसी उत्तीर्ण गरे । आफ्नो ब्याचको सवैभन्दा धेरै अंक ल्याएर एसएलसी उत्तीर्ण गर्ने विद्यार्थी हुन् डा. प्रकाश नाग ।
उनको अध्ययन गर्ने बानी देखेर उनका बाबुआमा प्रभावित भएर प्लस टु अध्ययनका लागि भारतको लखनऊ पठाए । त्यहाँ पनि राम्रो अंक ल्याएर प्लस टु उत्तीर्ण गरेपछि उनका अभिभावकमा झनै हौसला मिल्यो । त्यसपछि उनले एमविविएस अध्ययनका लागि तयारी गरे । अध्ययन बाहेक अन्यत्र ध्यान नदिएकै कारण उनले एमविविएस अध्ययनका लागि आग्रा युनिभर्सिटीमा नाम निकाल्न सफल भए । राम्रोसँग अध्ययन गरेको फलस्वरुप सन् २००९ मा एमविविएस उत्तीर्ण गरेर नेपालगन्ज फर्किए । ‘पढाईमा एकोहोरो ध्यान दिएका कारण चिकित्सा क्षेत्रमा आउने बाटो खुल्यो,’ उनले भने ।
उनले आफ्नो क्यारियरलाई एमविविएसमै सीमित राख्न चाहेनन् । फलस्वरुप उनले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट फिजिसियनमा एमडी गर्ने अवसर पाए । उनले सन् २०१६ मा एमडी उत्तीर्ण गरेर अध्ययन गरेकै संस्था नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको मेडिसिन विभागमा कार्यरत छन् ।
निजी विद्यालय छोडेर सामुदायिकमा भर्ना
डा. नागले प्रारम्भिक शिक्षा निजी तथा आवासिय विद्यालयबाट लिए । उनले नर्सरीदेखि एक कक्षाको अध्ययन जय बागेश्वरी माविबाट पूरा गरे । तर, निजी तथा आवासिय विद्यालयको भन्दा सामुदायिक विद्यालयको शिक्षा गुणस्तरिय र ब्यवहारिक हुने भएकोले निष्कर्ष निकाल्दै उनका बाबु एस. पाल चौरसियाले उनलाई चन्द्र मेवालाल माविमा भर्ना गरिदिए । उनले त्यहाँ कक्षा २–कक्षा ६ सम्म अध्ययन पूरा गरेपछि उनी महेन्द्र नमुना माविमा कक्षा ७ भर्ना भए ।
निजी विद्यालयभन्दा सामुदायिक विद्यालयमा उत्कृष्ट एवम् दक्ष शिक्षक भएकोले बाबुआमाले माध्यमिक शिक्षाका लागि महेन्द्र नमुना माविमा भर्ना गरेका थिए । त्यतिबेला महेन्द्र माविमा नेपालगन्जमा नाम चलेका शिक्षकले अध्यापन गर्थे ।
उनी भन्छन्, ‘त्यतिबेला गणित विषयमा दक्षता हासिल गरेका पुरन तमोली, सिराज अहमद अंग्रेजी र केदार गुप्ता एकाउन्ट विषयका दक्ष शिक्षकले अध्यापन गराउनु हुन्थ्यो । त्यसैले मेरा बाबाले मलाई महेन्द्र माविमा भर्ना गरिदिनुभयो ।’ उनका अनुसार, महेन्द्र माविका यी शिक्षकले नै निजी तथा आवासिय विद्यालयलाई गाइड गर्थे ।
चुक्ता गर्न नसकिने बुवाआमाको गुण
एमविविएस अध्ययन गर्ने बेला डा. प्रकाशका बुवा नेपाल राष्ट्र बैंक, नेपालगन्जका प्रमुख थिए । घरको सम्पूर्ण खर्च बुवा एस. पाल चौरसियको आम्दानीमा निर्भर थियो । तै पनि छोराको लगनशीलता र पढाई प्रतिको रुचीलाई बुझेर उनका बुवाले छोरालाई एमविविएस पढाउने आँट गरे ।
उनले बुवाले छोरालाई एमविविएस पढाउँछु भन्ने आँट गरेका कारण अहिले चिकित्सकको रुपमा काम गर्ने अवसर पाएको उनले बताए । उनले बाबुआमाको आँट र साहसलाई कहिल्यै नभुल्ने बताए । चिकित्सक बन्नुमा उनको अथक प्रयास, मेहनत र लगनशीलताले काम गरे पनि बुवाआमाले खाइनखाई जम्मा गरेको पैँसा नै चिकित्सक बन्ने ढोका बन्यो ।
बाबुआमाले कमाएको रुपैयाँ उनको शिक्षामा खर्च नगरेको भए उनी उक्त पेशामा सायदै हुने थिए । उनले बाबुआमाले कुनै हालतमा चुक्ता गर्न नसकिने गुण लगाएको उनले बताए । ‘बुवाको आँटले मलाई भरोसा दियो, उहाँको आँटले अगाडी बढ्ने प्रेरणा मिल्यो,’ उनले भने, ‘बुवाको अथक मेहनत, परिश्रम र आँटलाई मेरो सलाम छ ।’
दाजु प्रमोद नाग आदर्श पुरुष
चिकित्सक पेशामा आउनुमा उनले बुवा एस. पाल चौरसिया र दाजु प्रमोद नागलाई आदर्श पुरुषको रुपमा लिन्छन् । लखनऊमा प्लस टु पढ्दा उनका दाजु प्रमोद विएससी पढ्थे । डा. प्रकाश नागका बुवाआमाले उनलाई दाजु प्रमोदसँगै पढ्न पठाए ।
त्यतिबेला उनका दाजुले उनलाई सुमार्गमा लाग्ने र चिकित्सा क्षेत्रमा लाग्न प्रेरित गरे । आफू पनि विएससीको विद्यार्थी भएकोले उनलाई दाजुले एमविविएसको तयारी गर्न लगाए । ‘बाबुआमाको इच्छा पनि चिकित्सक बनाउने थियो, तर चिकित्सा शिक्षा अध्ययन गर्ने मार्गमा लगाउने श्रेय दाजु प्रमोदलाई जान्छ,’ उनले भने ।
प्रमोद अहिले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको विएससी बोट्नी विषयको प्राध्यापक हुन् । ‘दाईले चिकित्सा विषय पढ्ने मोटिभेसन नगरेको भए म यो पेशामा सायदै हुने थिएँ,’ उनले भने ।

गरिव, असहायको निशुल्क उपचार
चिकित्सा पेशाबाट उनी पूर्ण सन्तुष्ट छन् । चिकित्सा सेवा मार्फत गरिव, असहाय विरामीको उपचार गर्न पाउँदा उनलाई गर्व लाग्छ । त्यसैले त उनले पैँसा नभएर उपचारबाट बञ्चित भएका विरामीलाई निशुल्क स्वास्थ्य सेवा दिन्छन् । उनले स्वास्थ्य परीक्षणमात्र निशुल्क गर्दैनन्, रुपैयाँ अभावमा उपचार गराउन नसकेका विरामीलाई औषधि समेत निशुल्क दिन्छन् ।
उनले चिकित्सा क्षेत्रलाई सामाजिक कार्यको रुपमा लिन्छन् । यो पेशा पैँसा कमाउने मात्र नभई गरिव, असहायको सेवा गर्ने भएकोले सामाजिक सेवाको रुपमा लिने गरेको उनले बताए । उनले चिकित्सा सेवामा लागेर नेम र फेम दुवै पाएको बताए ।
उनले चिकित्सा पेशामा नाम र दाम दुवै भए पनि ब्यक्तिगत जीवन नभएको बताउँछन् । उनले चिकित्सकले परिवारलाई मात्र नभई आफ्नो लागि समेत समय दिन नसकेको बताए । उनले चिकित्सा क्षेत्र राम्रो भए पनि दिनरात नभनि सेवा दिनुपर्ने भएकोले पारिवारिक र ब्यक्तिगत जीवन नभएको बताए । ‘चिकित्सा क्षेत्रमा नाम र दाम दुवै छ, तर ब्यक्तिगत जीवन नै छैन,’ उनले भने, ‘जस्तोसुकै अवस्थामा पनि विरामीको सेवा गर्नुपर्ने हुन्छ । तै पनि म यो पेशाबाट सन्तुष्ट छु ।’



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *