घुसको जोडघटाउ

घुसको जोडघटाउ


उसले तलब थाप्नेबित्तिकै रकमको जोड-घटाउ गर्न थाल्यो । चिया पसलको उधारो दुई हजार । मोबाइल खर्च एक हजार । आगामी महिनाको खाजा खर्च तीन हजार । बुट फाटेको छ, किन्नको लागि दुई हजार । युनिफर्म खुईलिएर सेतै भएको छ ।

हाकिमबाट तीन पुस्तालाई पुग्ने गाली खाइसकिएको छ । स्केलमा पाउनुपर्ने पोशाक वर्षौं बित्दा पनि पाइँदैन । नयाँ किन्नको लागि तीन हजार । अरुको भर परेर भएन । हातमा लगाउने पञ्जा, मास्क, अन्य खत्र्याकखुत्रुक किन्नको लागि एक हजार । बाँकी रहेको रकम घर पठाउने । सबै रकमको प्लस-माइनस मिलेपछि बैंक गयो र केही रकम घर पठायो ।

भोलिपल्ट बिहानै उठ्यो, नित्यकर्म गर्‍यो । ट्राफिकको युनिफर्म लगायो र दिनभरको डिउटीको लागि रोडतिर निस्कियो । आफैंले खाना खान सजिलो हुन्छ । अरुलाई खुवाउन गाह्रो हुन्छ । ट्राफिक नियम पनि त्यस्तै हो । पालना गराउनु गाह्रो हुन्छ । पब्लिकसँग छलफल गर्दा कहिलेकाँही आफ्नै बोलीमा फुत्काउन नमिल्ने बोलीहरू निस्किहाल्छ । अनि, त्यही भाइरल बनिदिन्छ । हातमा कारबाहीको पत्र आउँदा तीन तारा देखिन्छ ।

शंकास्पद माइक्रोबस देखेपछि उसले रोक्नलाई हातले ईशारा गर्‍यो । कागपत्रहरू माग्यो ।

रुट परमिट खै ? – उसले सडक इजाजत-पत्र देखाउन अनुरोध गर्‍यो ।

छैन सर । – चालकले मसिनो स्वरमा भने ।

‘दुईचार पैसा दिनुस् न छोडिहाल्छ’ – एकजना यात्रुले निर्देशित भावमा चालकलाई ईशारा गर्दै भने ।

अर्को यात्रुले प्याच्च मुख फोरिहाले – यी ट्राफिकहरू कम्ता चुतिया हुन्छन् । पैसा भनेपछि जुत्ताको तलुवा चाट्छन् ।

यी सबैकुरा सुनेको ट्राफिक चुपचाप थियो । गाडीलाई साइड लगाउन अनुरोध गर्‍यो र माथिल्लो कमाण्डरलाई रिपोर्ट गर्नको लागि खल्तीबाट मोबाइल झिक्यो ।

‘सर माथि कुरा नपुर्‍याउनुस् न । लफडा हुन्छ । तीनचार दिन यतै भौंतारिनुपर्छ । बैंक जाउल ट्राफिक कार्यालय जाउ । यातायात कार्यालय जाउ । मेरो त जिना हराम हुन्छ ।

बरु यतै मिलाईदिनुस् !’ चालकले बिनम्र हुँदै अनुरोध गर्‍यो ।

‘कानुन उलंघन गर्ने तपाईं । सजाय पनि तपाईले नै भोग्नुपर्यो नि ? एकछिन यतै बस्नुस् । म माथि रिपोर्ट गर्छु । कानुनी प्रक्रिया पुरा गरेर मात्र सवारी लिएर जानुस्’- उसले निर्देशित भावमा भन्यो ।

यत्तिकैमा उसको फोनको घण्टी बज्यो । श्रीमतीको फोन रहेछ । हतार हतारमा फोन उठाउदै म डिउटीमा छु भन्दै फोन राख्न खोज्यो ।

उताबाट कर्कस आवाज आईहाल्यो- ‘तिमी डिउटी भन्दै बस । तिम्ले पठा’को पाँच हजारले डल्ले साहूको पसलमा उधारो तिर्न पनि पुगेन । चामल सकिएको छ । नुन तेल छैन । छोरीको स्कुल फी तिर्नुछ । तिम्री आमाको औषधी किन्ने पैसा छैन । बुवाको क्रिया गर्दा लागेको ऋण तिम्ले निकालेको संचय कोषले छेउटुप्पो भएन । म घर व्यवहार चलाउन सक्दिन । जे गर्नुछ गर ।’

ऊ चुपचाप श्रीमतीको आवाज सुनिरह्यो । केही बोलेन ।

सडकमा उभिएर डिउटी गर्नु भन्दा घर व्यवहार चलाउन गाह्रो छ । धन्न गरेकी छे । नकराई के गरोस्, बिचरी । सिपाहीको नोकरीले के नै पुग्छ र ? घर व्यवहार चलाउनु दुरको कुरा, आफ्नै खर्च पनि पुग्दैन । जत्तिनै मख्खीचुस भएपनि नसकिने रहेछ । उसले मनमनै धेरै कुरा खेलायो ।

उसले केही नबोली फोन काट्यो । यतिकैमा माइक्रोबसको अगाडि पुग्यो । चालकले उसलाई छोडिदिन पुन अनुरोध गर्‍यो । उसले इन्कार गर्‍यो ।

चालकले खल्तीबाट अलिकति रकम दिदै एकपटक माफी दिन बिन्ती बिसायो । उसले नियमानुसार काम गर्ने भन्दै ठूलाठूला आँखाले चालकलाई घुरेर हेर्‍यो।

एकछिन शान्त भएर उभियो । मनमनै कुरा खेलाइरह्यो । श्रीमतीले भनेका कुराहरुले मनमा खैलाबैला मच्चाइरह्यो । सानो परिवार समेत चलाउन नसकिने सिपाहीको जागिरप्रति आफैलाई घृणा लागेर आयो । आफ्नै नोकरी प्रति तुच्छभाव जागेर आयो । भोको पेटले राष्ट्रप्रेम जाग्ने रहेनछ । मनमनै आफ्नो खोक्रो राष्ट्रप्रेमलाई निचभावले बेस्सरी गाली गर्‍यो ।

ऊ चालक अगाडि गयो । अघि दिएको केही रकम हातमा लियो र गाडी लैजान अनुरोध गर्‍यो । चालकले खुशी हुँदै गाडि अगाडि बढाए ।

यसरी उसले पहिलोपटक हिसाब-किताबको सुरक्षाकवचमा पहिलोपटक घुस खायो । र त्यसदिन उसले अरू कुनै पनि गाडिलाई चेक गरेन ।

(सामाजिक घटनामा आधारित)

 



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *