गुमनाम जीवनगाथा


केही यस्ता जीवनगाथा जो परिवारका लागि बोझ र समुदायका लागि कलंकको भारी बोकेर बांच्दैंछन् जसको आधिकारिक रुपमा कुनै पहिचान र सरकारसंग जसको बारेमा कुनै अभिलेख छैन् । आज  नेपालको भूमिमा जन्मेर पनि गुमनाम जीवन बिताइरहेकी तिनै महिलाहरुको विषयमा चर्चा गर्छौं । जो नेपालगंजभित्र नभइ नेपालभरी नै अधिक संख्यामा छिन् । तर उदाहरण स्वरूप नेपालगंजकै कुरा गर्ने हो भने यहां विभिन्न ठांउमा यस्ती महिला छिन् , जसको विवाह भारत र नेपालमा भयो तर घरेलुहिंसा, छोरी जन्माउने कारणले उनीहरु आफु र आफ्ना बच्चाहरु सहित माईतीमा बसेर कष्टपुर्ण जीवन बिताईरहेकीछिन् । भारतमा विवाह भएकी महिला मात्र होईन् नेपालकै चेली नेपालमै विवाह भएको हुदां पनि उनीहरुसंग अहिले कुनै भौगोलिक पहिचान छैन् ।

नेपालगंज परसपुर बस्ने १९ वर्षीय लक्ष्मी पासीको विवाह नेपालगंज, परसपुर थुकैला घर भएका थुकयी पासीसंग भयो जो मजदूर थिए । उनको विवाह १० वर्षको उमेरमा भयो । अनि जस्तो कि तराईमा प्रचलन छ विवाहको केही वर्षपछि गौना दिने । उनको पनि गौना ५ वर्ष पछि १५ वर्षको उमेरमा भयो गौनामा जादां उनी २ दिन पतिको घरमा बसिन् । गौना पश्चात थौना हुन्छ जुनकि एक वा दुई वर्षपछि दिईन्छ तर अहिले थौना दिन बाकी नै थियो त्यही बीचको पतिको मृत्यु भइहाल्यो । अब उनीसंग न विवाहदर्ता छ न त नागरिकता नै उनले मात्र ५ कक्षा सम्म शिक्षा हासिल गरेकीछिन् । उनी भर्खर १९ वर्षकी भइछिन् उनको सामु अहिले पहाड सरह जीवन छ तर त्यस बारे कुनै बाटो छैन् कि अब अगाडि कसरी जीवन बित्ने होला । केही समय अघि उनले सिलाइकटाइ सिकेकीछिन् ।

उनीको विवाह त भयो तर सफल हुन सकेन् । विवाह भएर पनि उनीसंग वैवाहिक जीवनको अनुभव छैन् । उल्टो विवाह भएकै कारण अहिले नागरिकता बनाउन समस्या भइरहेछ । गौना पश्चात उनी पतिको घरमा बसेकी छैनिन् अनि पतिको मृत्यु भइसकेपछि पति नै रहेपछि कुन आधारले पतिको घर गएर विवाहदर्ता नागरिकता बनाइदिनुस् भन्ने । उमेर पुगेपछि माईतबाट बनाउन प्रयास गर्दा विवाहदर्ता माग्छ । उनीसंग नागरिकता नहेकोले यदि केही गर्न खोजे पछि चाहेर नि गर्न सकिरहेकी छैनिन् । सिलाइकटाइ सिकेछिन् टेलरको पसल खोल्न दर्ता गर्नु पर्दा पनि नागरिकता नै चाहिन्छ । पसल खोल्न बैंकबाट ऋण लिन खोज्दा पनि नागरिकता नै चाहिन्छ । लक्ष्मीसंग नागरिकता नहुदां नेपाली आमाबुवाकी छोरी भएपनि उनीसंग कुनै आधार नै छैन् कि उनी नेपाली नागरिक हुन् भनेर । यसै विषयमा केन्द्रीत रही उनीसंग गरेको कुराकानी उनको अनुमति लिइ साझा गरेकाछौं ।

के कस्तो व्यस्तता छ आजभोलि ?

खासै व्यस्तता त छैन् म त्यति पढेलेखेकी छैन् त्यसकारण कतै नोकरी गर्न सक्दिन् तर आफुलाई व्यस्त राख्न सिलाइकटाइ सिकेकीछु ।

सबैले पढ्न पाउनुपर्छ भनी सरकारले भनेछ तर पनि तपाई किन पढ्नु भएन् ?

कसरी पढ्थे १० वर्षको उमेरमा विवाह भइहाल्यो विवाह पछि ५ कक्षा सम्म मात्र पढ्न सके । किनकि विवाहको ५ वर्षपछि गौना भइहाल्यो । समाजको सोच त त्यही छ नि एउटी विवाहिताले घरगृहस्थी सम्हाल्नु पर्छ त्यसकारण घरगृहस्थीको काम सिकाउन थालियो ।

भनेपछि तपाईको गौना गएपछि तपाई पतिको घर जानुपर्ने भयो त्यस कारण अगाडि पढ्न सक्नु भएन् ?

त्यो कुरा सम्झिदां मन उदास भइहाल्छ किनभने गौना त गयो र म दुईदिन पतिको घरमा बसे पनि । गौनाबाट फर्केर आइसकेपछि थौना दिनु बाकी नै थियो कि पतिको मृत्यु भइहाल्यो । पतिको मृत्यु हुदांकोबेला गए । तब करिब १४ दिन जति बसेर फर्के देखि न कोही बोलाउन आयो न मेरो घरकाले जान भने । जान्थे पनि कुन आधारमा जससंग नाता थियो त्यो नै नरहे पछि कुन नाताले जान्थे ।

दुख लाग्यो तपाईको कुरा सुनेर तर जो आएछ यो धर्तीमा उसलाई जानै पर्छ । जीवन कसैको जानले रुक्दैन् । तपाई पनि आफ्नो जीवनमा अघि बढ्न साहस गर्नुभयो साह्रै गाह्रो भयो होला?

हजुर यो जीवन कसैको जानले रोकिदैंन् भनी मेरो माइती परिवारले मलाई हौसला दिए । आफ्नो माइती परिवारले दिएको हौसला र उत्साहका कारण नै म पुनः सामान्य जीवनमा फर्के अनि आफ्नो पीडा बिर्सिनका लागि सिलाइकटाइ सिक्न थाले । अहिले सिलाइकटाइ सिकीसकेकीछु ।

तपाईले निकै साहस देखाउनु भयो र सिलाइकटाइ पनि सिक्नुभयो अहिले सिलाइकटाइ गर्दै हुनुहुन्छ त ?

हजुर मैले आफ्नो पीडा बिर्सिनका लागि सिलाइकटाइ त सिके तर सिकेर पनि के फाईदा जब आफुले चाहे अनुसार त्यसलाई अगाडि बढाउन सक्दिन् । त्यस कारण घरमै  टोलछिमेकका कपडा सिलाउने गर्छु ।

किन तपाईले आफ्नो इच्छा अनुसार आफ्नो शीपलाई अगाडि बढाउन सक्दिन् भन्नुहुन्छ ?

हेर्नुस् सिलाइकटाइ त सिके तर मसंग नागरिकता छैन् । त्यसकारण मलाई आफ्नो पसल खोल्नका लागि बैंकबाट ऋण लिन नागरिकता चाहिन्छ, पसल दर्ता गर्न नागरिकता नै चाहिन्छ । यदि म कुनै ठांउमा प्रशिक्षक भएर सिकाउन बन्न गए भने नागरिकता नै चाहिन्छ । तर मसंग नागरिकता छैन् ।

तपाईसंग नागरिकता छैन् किन ?

म नेपाली आमाबुवाकी सन्तानको रुपमा जन्मे पनि मसंग नेपाली हुने कुनै आधार र पहिचान नै छैन् । १० वर्षको उमेरमा विवाह भयो १५ वर्षमा गौना गयो १६ वर्षमा विधवा भएं । पतिको मृत्यु भइसकेपछि पतिको घर जाने कुनै कारण नै रहेन् । यता समाजले गौना गइसकेपछि यो विवाहित हो भन्ना थाले । त्यस कारण आमाबुवाले पटक पटक प्रयास गर्दा पनि सफलता मिलेन् किनकि सम्बंधित निकायकाले विवाह भएकी छोरीको विवाहदर्ता ल्याउनुपर्छ अनि मात्र बन्छ भन्छन् । तर पति नै नरहेपछि आफु पतिको घरमा नबसेपछि कुन मुखले विवाहदर्ता गराईदिने र कसरी गराईदिने भनी जाने । विवाहदर्ता न भएको कारणले म नेपाली चेली हुदां नेपालमै विवाह भए पनि मसंग नेपाली हुने कुनै आधार र प्रमाण नै छैन् ।जसले गर्दा मैले जीवनमा अगाडि बढ्न खोज्दा पनि निकै चुनौतीपूर्ण अवस्था छ मेरो सामु ।

तपाईको पारिवारिक अवस्था बारे जानकारी गराउनु हुन्छ?

मेरो परिवारमा आमाबुवा, दिदी उनको विवाह भइसक्यो आफ्नो घर हुनुहुन्छ । दाई भाउजु र उनको बच्चा , म भन्दा सानो भाई अनि म स्वयं ।  पतिको परिवार तर्फ उनका चार भाई , दुई दिदी अनि आमा बुवा ।

सानै उमेरमा विधवा हुनुको दुख सहनु भयो । तपाईको उमेर भर्खर १९ वर्ष भएछ जीवन त अझै धेरै लामो छ सो भविष्यको बारे के सोच्नु भएछ ?

घरकाले त अर्को विवाह गर्दा हुन्छ भन्छन् तर मैले अहिले सम्म अर्को विवाह गर्ने सोच त बनाएकी छैन् । तथापि जीवनमा अगाडि बढ्न आफ्नो परिवारमाथि आफ्नो बोझ कम गर्न आफ्नो खुट्टामा उभिन चाहन्छु आर्थिक रुपमा सक्षम बन्न चाहन्छु । किन एक पटक विवाह भएर पनि वैवाहिक जीवन सफल हुन सकेन् त्यसकारण अर्को पल्टका लागि मनमा धेरै डर र शंकाहरुले घर गरिसकेछन् । अर्को कुरा यदि कसैले मसंग पुनः विवाह गरे पनि ममाथि उपकार गरे सरह व्यवहार नै गर्छ परेको बेला भन्न बेर लाउदैंन् कि मैले तिमीलाई आश्रय दिए पुर्नजीवन दिए । अनि यदि विवाह पश्चात उसको इच्छा भयो भने नागरिकता बनाइदेला तर उसले ममाथि विश्वास गरेन् वा उसले पनि आफ्नो सम्पतिको लोभ मान्यो र नागरिकता बनाइदिएन भने त म विवाह गरेर पनि भौगोलिक र राष्ट्रीयताको पहिचान बिहीन नै रहन्छु नि त । त्यतिखेर मेरो मनको पीडा दोब्बर भइहाल्छ होला । तर यदि म आर्थिक रुपले मजबूत भएं भने म आफ्नो परिवारमाथि बोझ पनि हुदैंन् अनि पछि अर्को विवाह नगरे पनि बाच्ने आधार त रहन्छ । त्यसको लागि त मसंग पहिला पैतालामुनि धर्ती हुनु पर्यो अर्थात नागरिकता हुनु पर्यो ।

नागरिकता बनाइयो भने के गर्नु हुन्छ कुनै योजना छ ?

यदि मसंग नागरिकता भयो भने म आफ्नो शीपलाई अरुसंग साट्छु त्यसबाट सेवा पुर्याउंछु भन्नाले जब नागरिकता हुन्छ अनि मलाई पसल खोल्न सहजता हुन्छ । पसल दर्ता गराउन र पसललाई ठुलो बनाइ अरुलाई रोजगार दिन यदि बैंकबाट ऋण लिन पर्यो भने त्यतिबेला पनि सहज हुन्छ । नागरिकता भयो भने म आफ्नो पसल खोलेर अरुलाई रोजगार  दिने आफुलज सिकेको शीप अरुलाई सिकाउन तालिम कक्षाहरु संचालन गर्न सक्छु । आफ्नो कमाइबाट आफ्नो लागि घर बनाउन सक्छु ।

अन्तमा केही भन्नुछ ?

मलाई नेपालको कानूनी व्यवस्था महिलाको हकमा विभेदकारी लाग्छ हेर्नुस् न एउटा पुरुषको पत्नी मर्छ भने उसलाई सरकारी कामकाजमा विदुर भएको कुनै प्रमाण चाहिदैंन् । तर एउटी महिला विधवा हुदां उसलाई विधवाको प्रमाण विवाहदर्ताको प्रमाण जहां माइत छ त्यहांको सिफारिश जहां विवाह भयो त्यहांको शिफारिश जस्ता कागज प्रमाण खोजिन्छ । यस्तो लाग्छ कि एउटी महिलाको आफ्नो कुनै अस्तित्व कुनै पहिचान कुनै इच्छा नै छैन् । देश भरी नै यस्ती कति महिला होलिन् जो म जस्तै पहिचान बिना बाच्दै होलिन् कति त पहिचान बिना मरिसकेकी पनि होलिन् । सम्बंधित निकायहरुसंग मेरो यति भन्नुछ कि हामी जस्ती पहिचान बिहीन महिलाहरुको खोजिनीति गरेर उनीहरुको अभिलेख राखियोस् र सरकारी कामकाजमा सहजता प्रदान गर्न उनीहरुलाई नागरिकता बनाइदिन अग्रसरता देखाओस् । हामी जस्ता महिलाहरुले पहिचान बिहीन मर्न नपरोस् ।

अवस्था

बालविधवा र एकल महिलाका रुपमा गुमनाम जीवन बिताइरहेकी यी महिलाहरुसंग न पतिको साथ छ न कुनै अधिकार अनि न त कुनै पहिचान । हुन् त हामीले उदाहरणका रुपमा लक्ष्मी पासीको जीवनानुभव उनको समस्या र पीडालाई महसुस गर्न सक्छौं । तर उनी जस्ती अरु एकल महिला पनि छिन् जसको अवस्था निकै दयानीय छ । उनीहरुसंग दुई गांस खानाको जुगाड छैन् अरु घरमा काम गरेर , भाडा माझेर आफ्नो र आफ्नो सन्तानहरुको जीविकोपार्जन गर्दैछिन् भने कतिले अरुको खेतमा ज्याला मजदूरी गरी आफ्नो पेट भर्न जोहो गर्दैछिन् । कतिसंग कुनै शीप छैन् कुनै सम्पति छैन् आफ्नो माईतमा बोझ बनेर बसेछिन् भने कति संग शीप छ तर त्यसलाई उपयोग गरी चार पैसा कमाउन सक्ने बाटो छैन् । लक्ष्मी त एक उदाहरण मात्र हुन् जसले शीप सिकेर त्यसबाट आम्दानी गर्न खोज्दा उनलाई नागरिकता नभएको कारणले निकै गाह्रो भइरहेछ ।

चुनौती

यस्ती विवाहित एकल महिला जसलाई पतिले न छोडपत्र गरे न आफ्नो घर लगे जो विवाह पश्चात पनि माईतमै जीवन बिताउदैंछिन् र ती बालविधवा महिला जसको विवाह भयो तर विवाहित जीवनको अनुभव बिना नै सानै उमेरमा विधवा भइन् । विवाह भएकै कारण उनीहरुलाई समस्याको सामना गर्नु पर्यो तिनीहरुका लागि निकै चुनौतीहरु छन् । उनीहरुको लागि सबभन्दा ठुलो चुनौती यो छ कि पतिले अर्को विवाह गरेपछि वास्तै नगरी आफ्नो जीवनमा मस्त भए । पत्नीले अंश दावी गर्छिन् कि भनी न विवाहदर्ता गराए न नागरिकता बनाईदिए । यता बालविधवाहरुलाई पनि यस्तै चुनौती छ पति नभपछि पतिको परिवारले पनि सम्पतिको मोहमा विधवा बुहारीलाई घृणा गर्ने आफ्नो छोराको मृत्युको दोष बुहारीको भाग्यमाथि थुपार्ने र सम्पतिको मोहमा बुहारीको नागरिकता विवाहदर्ता आदि नबनाईदिने गरेका छन् । अब विवाह भइसकेपछि जब पतिको परिवारले स्वीकार नगरेर सम्पतिको मोह मान्ने हुन् भने माईतपरिवारमा पनि सम्पतिको मोह हुने मानिस हुनु स्वाभाविक नै हो । यस कारण यी गुमनाम महिलाहरु निकै चुनौतीपूर्ण जीवन बिताउन बाध्य छिन् । जो एक्लै छिन् उनीहरुसंग भविष्यको सुरक्षाका लागि कुनै आधार र व्यवस्था छैन् । जसको साथमा उनका सन्तान छन् उनीहरुसंग त अझ् बढी चुनौती छ कि भविष्य उनले आफ्नो लागि कसरी सहजता सृजना गर्ने र आफ्नो सन्तानहरुको भविष्य कसरी सुरक्षित गर्ने भनी दिनरात गरिने सोच बाहेक अरु केही छैन् । आखिर यी गुमनाम महिला र यिनका सन्तान कसरी बाच्ने भनी अभिलेखीकरण गरी विचार र पहल गर्न राज्य सामु पनि एउटा गहन विषय र चुनौती हो ।

सिकाइ र आशातित उप्लब्धि

अहिलेको अवस्थालाई मध्ये नजर गर्दा यिनी गुमनाम महिलाहरुभित्र विभिन्न शीप, गुण, दक्षता, क्षमता, आंट र साहसको खानी छ जसलाई नकार्न सकिदैंन् । उनीहरु आफ्नो गुण, शीप ,दक्षता, क्षमताको प्रयोग गरी आम्दानी गरेर जीविकोपार्जन त गर्छन् तर आफ्नो आयबाट कर तिर्दैन्न् । कर तिर्ने पनि कसरी उनीहरुसंग कुनै आधार नै छैन् कर तिर्ने । बस्न त घरमा बस्छन् तर अरुको घरमा त्यसकारण घरको कर बुझाउने आधार छैन् किनभने उनीहरुको आफ्नो घर नै छैन् । यदि यी महिलाहरुको शीप गुण दक्षता र क्षमता अझै निखार्ने र  आंट र साहसलाई अझै तिखार्ने मौका दिइयो भने यसबाट धेरै सकारात्मक असर पर्न सक्छ । यिनीहरु आफै पनि आर्थिक रुपमा सक्षम भइ सामाजिक रुपमा आफु र आफ्नो सन्तानहरुलाई स्थापित गर्न सक्छिन् । यिनको साहस र आंटलाई हेर्दै बढेका सन्तानहरु  साहसी वीर योद्धा रुपमा राज्यको लागि योगदान दिन सक्नेछन् । भनिन्छ कि अवस्थाले मानिसलाई तिखार्छ निखार्छ भने अवसरले त्यही तिखारिएको निखारिएको व्यक्तिलाई अगाडि बढ्ने र योगदान दिने मौका दिन्छ । यदि यी महिलाहरुलाई उचित व्यवस्थापन गरी उनीहरुको गुण र शीपलाई अरुमा हस्तांतरण गर्न सक्ने वातावरण सृजना गरियो भने समुदाय र देशमा सम्वृद्धि आउन सक्छ देश विकासको नयां दिशातिर मोडिन सक्छ । आर्थिक रुपले सक्षम भइसकेपछि उनीहरुले पनि देशलाई कर बुझाउनेछन् जसले गर्दा देशलाई आर्थिक लाभ हुन सक्छ ।

गर्नु पर्ने पहल

यदि यी गुमनाम महिला र तिनका सन्तानहरुको समयमा उचित व्यवस्थापन गरियो भने देशले नंया दिशा पाउनेछ । तर त्यसका लागि गुमनाम महिला र यिनका सन्तानलाई पहिचान र अधिकार दिलाउन सबैले आ आफ्नो स्तरबाट उचित कदम चाल्नु पर्ने आवश्यक छ । किन भने जब सम्म यिनीहरुसंग कुनै आधिकारिक पहिचान हुदैंन् यिनले आफ्नो गुण शीप आंट साहसको सही सदुपयोग गर्न सक्दैन्न् । त्यसकारण समुदायस्तरमा यी महिलाहरुको पहिचान गरी उनीहरुको आधिकारिक अभिलेखीकरण गर्नु आवश्यक छ । अभिलेखीकरण पश्चात उनीहरुलाई नेपालमा जन्मेको आधारमा नागरिकता दिई उनको शीप गुणलाई वैधानिकता दिएर त्यसलाई देशको विकास र देशहितमा सदुपयोग गर्न सकिन्छ । एकातिर उनीहरुको लागि वैधानिक रुपमा रोजगारको सृजना हुन्छ भने उनीहरु नागरिक भइसकेपछि राज्यलाई आफ्नो आयकर तिर्नेछन् । कर नै राज्यको मूल आयश्रोत रहेकोले आयश्रोतमा वृद्धि हुनेछ ।  यस कारण यस बारे राज्यले नीति बनाई उचित कदम चाल्दा सबैले आ आफ्नो स्तरबाट सहयोग गर्नुपर्छ ।

परिदृश्य /परिकल्पना

जब गुमनाम जीवन बिताइरहेकी महिला र तिनका सन्तानले राष्ट्रीय पहिचान पाएर यस राज्यबाट आफुलाई सम्मानित गरिएको महसुस गर्छन् । उनीहरुको आफ्नो घर हुनेछ आफ्नो व्यापार हुनेछ उनीहरुको जीवनमा सहजता आउनेछ । तब तिनीहरुभित्र उत्साह र यस धर्तीप्रति असीम प्रेम उत्पन्न हुन्छ । एकातिर उनीहरुको गुण शीप दक्षताबाट समुदायका साथै राज्यलाई फाईदा हुन्छ । त्यही उनीहरु आफ्नो  भूमिको लागि आफ्नो बलिदान दिन पछि पर्दैन्न् ।   जहां एकातिर गुमनाम जीवनको अन्त्य हुन्छ भने अर्कोतिर उदास जीवन र व्यक्तिहरुमा उल्लास उत्साह उत्प्रेरणा र आर्थिक सबलताको जग हालिन्छ ।

The submit गुमनाम जीवनगाथा appeared first on Nepalgunj News.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *